सोमबार साँझ गौशालाको भण्डारखाल बगैंचामा टहलिँदै गर्दा मोबाइल फोनमा कुरा गर्न व्यस्त एक अचम्मका पात्र टुप्लुक्क मेरो अगाडि आइपुगे।
टाउकोमा ढाकाको टोपी, गलामा ढाकाकै गलबन्दी र अगाडि गणेशको मूर्ति अंकित टिसर्ट बाहिर ढाकाकै इस्टकोट लगाएका गोरा ती युवक भाषा भने अर्कै बोल्दै थिए।
उनले बोलेको रूसी जस्तो सुनियो।
केही बेरपछि फेरि जम्काभेट हुँदा उनले आफू रूसी नागरिक नै रहेको पक्का गर्दै भर्खरै आफ्नी आमासँग कुरा गरिरहेको बताए।
'रूसमा इन्टर्नेट बन्द छ। त्यसैले ह्वाट्सएप, टेलिग्राम, फेसबुक जस्ता कुनै पनि एप चल्दैनन्,' आफ्नो घर युक्रेन–रूस सीमा नजिकैको लुका सहर बताउने सेर्गेइ (गोपनियताका लागि नाम परिवर्तन) ले कनीकुथी अंग्रेजीमा भने, 'मेरी आमाले रूस–युक्रेन सीमापारि आएर ह्वाट्सएपमा फोन गरेकी थिइन्। गाह्रो छ।'
सन् २०२२ फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि हमला थालेपछि रूस सरकारले युवाहरूलाई सेनामा भर्ती हुन दबाब दिन थाल्यो। सेनामा जबर्जस्ती भर्ती हुन नचाहेका सेर्गेइ करिब एक वर्षपछि दक्षिणी सीमापार गर्दै काजखस्तान, उज्बेकिस्तान, किर्गिजस्तानमा समय बिताएर भारत आइपुगेका रहेछन्।
भारतमा बस्न एक हिन्दु धार्मिक संस्थाको सिफारिसमा पाँच वर्षको भिसा पाएका उनी तीन महिनाअघि बिहार हुँदै नेपाल पसेका रहेछन्।
२७ वर्षको उमेरमा रूस छाडेका उनी अहिले ३० वर्षको उमेरमा हिँडिरहेका छन्।
'नेपाल आइपुगेका रूसी र युक्रेनी'
आफ्ना देशबीच लडाइँ चलिरहे पनि क्षेत्रपाटीमा दुई वर्षअघि भेटिएका रूसका डिमा र युक्रेनका युरा। उनीहरू आपसमा मिलेर नेपाल भ्रमण गर्दै थिए। उनीहरूको देशमा युद्ध आजसम्म पनि जारी छ। तस्बिर: सुरेन्द्र फुयाल
कुराकानी क्रममा उनले नयाँ जानकारी खुलासा गरे।
जारी रूस–युक्रेन लडाइँका कारण आफ्नो देश छाडेर दक्षिण एसिया आइपुगेर नेपालमा शरण लिइरहेको सेर्गेइ एक्ला होइन रहेछन्।
'म गोंगबु बसपार्कको एक लजमा बस्छु। काठमाडौं घुम्ने क्रममा मैले म जस्ता थुप्रै रूसी यतै बसिरहेको देखेको छु,' उनले भने, 'रूसी मात्रै होइन यहाँ थुप्रै युक्रेनी पनि बसिरहेका रहेछन्।'
प्राय: पर्यटक भिसामा नेपाल छिर्ने सेर्गेइ जस्ता कति जना रूसी वा युक्रेनी युवा नेपालमा समय बिताइरहेका छन्, त्यो संख्या उनले खुलाउन सकेनन्। तर उनको अनुमानमा युद्धका कारण विदेश भासिन थालेका लाखौं युवामध्ये थुप्रै नेपालसम्मै आइपुगेका छन्।
सेर्गेइको विचारमा नेपाल आइपुगेका रूसी र युक्रेनी युवा उनीजस्तै भारतबाट नेपाल छिरेर यहाँ भिसा पर्यटक भिसा पाउने १५० दिनको अवधिसम्म बसिरहेका हुन सक्छन्।
सेर्गेइको भनाइ अध्यागमन विभागको पछिल्लो तथ्यांकले मेल खाएको देखायो।
विभागका निर्देशक एवं प्रवक्ता टिकाराम ढकालले बिहीबार उपलब्ध गराएको विवरण अनुसार नेपालमा यतिखेर सैयौं युक्रेनी तथा रूसी नागरिक पर्यटक भिसामा बसेका छन्।
सन् २०२६ जनवरी १ देखि अप्रिल २९ सम्म ८३७ युक्रेनी नेपाल आएकामा ७७ जना मात्र फर्किएका छन्। त्यही अवधिमा नेपाल आएका ५,८५० रूसी नागरिकमध्ये ६३३ जना मात्र फर्किसकेको देखिन्छ।
रूस–युक्रेन युद्ध चर्किन थाल्ने बित्तिकै ती देशका युवामाझ देश छोड्ने लहर सुरू हुन थाल्यो। जुन अहिले भयावह बन्न थालेका विवरणहरूले देखाएका छन्।
सन् २०२५ मा मात्र युक्रेनबाट एक लाख युवा छिमेकी पोल्यान्ड गएको जर्मन समाचार वेबसाइट डुएचेवेलेले उल्लेख गरेको छ।
सेर्गेइसँग जम्काभेट भएको दुई वर्ष र केही महिनाअघि मैले क्षेत्रपाटीको एक मःम पसलभित्र रूस र युक्रेनका दुई युवा भेटेको थिएँ। आफ्ना देशबीच लडाइँ चलिरहे पनि रूसका डिमा र युक्रेनका युरा आपसमा मिलेर नेपाल भ्रमण गर्दै थिए।
उनीहरूले आपसमा हात मिलाएर खुसीसाथ मलाई फोटो खिच्न अनुमति दिएका थिए।
रूसका डिमा र युक्रेनका युराले क्षेत्रपाटीमा त्यसरी आपसी प्रेम, मैत्रीभाव र सौहार्दता देखाए पनि उनीहरूको देशबीचको युद्ध आजसम्म पनि जारी छ।
चार वर्षदेखि जारी युद्धका कारण रूसमा करिब २ लाख र युक्रेनमा ५५ हजार मानिसको ज्यान गइसकेको छ। त्यसैले दुवै देशको आर्थिक तथा सामाजिक अवस्था नाजुक अवस्थामा पुगिसकेको प्रस्ट छ।
भण्डारखालमा चहलपहल गर्ने बाँदरहरूको झैझगडा र चित्कारको आवाजबीच सेर्गेइले भने, 'रूसभित्र रोजगारी पाउन गाह्रो छ। महँगी एकदमै बढेको छ। युद्धका कारण ज्यान जोगाउन पनि मुस्किल हुने अवस्था आएपछि मैले देश छाडेँ। म जस्ता धेरै युवाले रूस छोडिसकेका छन्।'
रूस हान्निएका नेपाली युवा
सेर्गेइलाई आफू जस्ता थुप्रै युवाले रूस छाडे पनि नेपाल जस्ता देशबाट थुप्रै युवा रूसी सेनामा भर्ती भएको र कैयौंले ज्यान गुमाएको पनि थाहा रहेछ।
द काठमाण्डु पोस्टका अनुसार करिब १५०० नेपाली युवा रूसी सेनामा भर्ती भएका छन्।
तथापी मस्कोले त्यसबारे यकिन संख्या खुलाएको छैन। त्यसरी भर्ती भएका नेपालीहरू भारत मलेसिया र युएई हुँदै अवैध र अनौपचारिक तौरतरिकाले रूस पुगेको बताइएको छ।
रूसमा अध्ययन गरिरहेका केही नेपालीहरूले समेत त्यहाँको सेनामा भर्ती भएको बताइन्छ।
तर चार वर्षदेखि जारी युद्धमा ११८ जना नेपालीले ज्यान गुमाइसकेका छन् भने १३२ जना बेपत्ता रहेको नेपाली अधिकारीहरूको भनाइ छ। उनीहरू राम्रो तलब सुविधा र छिटोछिटो रूसी नागरिकता पाइने भनेर लोभिने गरेको पाइएको छ।
त्यसरी भर्ती भएका कैयौं नेपाली युवा रूसी सेनाको जागिर छाडेर नेपाल फर्किन सफल भइसकेका छन्।
रूसी सेनाको तर्फबाट युक्रेनी सेनासँग भिड्न खटाइएका सात जना नेपालीलाई दुई वर्षअघि युक्रेनले नियन्त्रणमा लिई युद्धबन्दी समेत बनाएको थियो। उनीहरूलाई फर्काइदिन नेपालले गरेको कूटनैतिक पहल विफल भएको थियो। उनीहरूबारेको ताजा विवरण स्पष्ट छैन।
त्यसका अतिरिक्त युक्रेनको बाटो विभिन्न युरोपेली देश जान खोजेका नेपाली युवाहरू समेत बेला बेलामा युक्रेनी नियन्त्रणमा पर्ने गरेका छन्। ती मध्ये अधिकांश रिहा भएर घर फर्किसकेका छन्।
भविष्यको बाटो
भण्डारखालमा भेटिएका रूसी युवा सेर्गेइजस्ता सयौं रूसी युवा अहिले नेपालमै रमाइरहेका छन्।
भारत र नेपालमा जीविका चलाउन अन्य देशभन्दा सस्तो पर्ने भएकाले उनलाई सहज भएको रहेछ। रातको ८०० रूपैयाँ पर्ने कोठामा बसिरहेका उनको मासिक खर्च ६० हजार रूपैयाँ जति पुग्दो रहेछ।
अधिकांश समय बिहारको पट्ना, नालन्दा जस्ता सहरमा बिताउँदै आएका उनले आफ्नो गुजारा कसरी चलाउँछन् होला?
'म लजको आफ्नो कोठाबाटै एउटा रूसी कम्पनीका लागि अनलाइन काम गर्छु र त्यसबाट आउने कमाइले पुगिरहेको छ,' सेर्गेइले भने।
उनी आफ्नो कमाइ खुलाउँदैनन्। तर जेनतेन पुगिरहेकोमा सन्तुष्ट छन्।
रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न केही महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै पहल गरेका थिए। तर रूसले युक्रेनको ठूलो भूभागमा आँखा लगाएका कारण युक्रेनी पक्ष क्रुद्ध भयो। यस कारण दुवै पक्षबीच कुनै सहमति हुन सकेन।
छुट्टिनुअघि मैले सेर्गेइलाई सोधेँ, 'अब कहिलेसम्म नेपाल र भारत हुँदै बसिरहने त?'
नेपालमा अन्तिम पटक एक महिनाका लागि थपिएको भिसाको अवधि सकिएपछि रक्सौल हुँदै फेरि भारत फर्किने बताउँदै उनले भने, 'केही थाहा छैन। कति वर्ष जाला यो युद्ध! अर्को एक वर्ष, दुई वर्ष, तीन वर्ष वा चार वर्ष...!'
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal