उक्लिँदै छौँ सिन्धुपाल्चोकको घोप्टेघ्याङमा अवस्थित हिमालयन ग्रेट ट्रेलरमा। ग्रेटवाल शैलीमा निर्माण भएको सिँढीमा रमाउँदै छन् स्रष्टा पदयात्रीहरू।
शैलुङ पनि गएकी थिएँ केही महिना अगाडि। त्यहाँ निर्माण गरिएको मिनी ग्रेटवालभन्दा हेलम्बुको सिँढी अलि मझ्यौला खालको लाग्यो। तर यताको सिँढी चढ्दा हृदय रोएन। सरसफाइमा निकै ध्यान गएको रहेछ। फोहोर फाल्ने भाँडाहरू सिँढीको छेउछेउमा राखिएका। चिल्लो सिँढी तेल लगाएर पुछे जस्तो टिलिक्क छ। आँखाहरू सिँढीको माथिमाथिसम्म पुग्छन्। घुम्न आएका मान्छेहरू धेरै छैनन्। सायद मान्छेको भीड नभएर नै यो किसिमको सफाइ सम्भव भएको होला।
सल्लाघारीले शितलता फैल्याएको छ। फुल्दै गरेका वनफूल, सल्लाका फूलको मिश्रित सुगन्धले रोमाञ्चित गराउँदै छ। हाँस्दै उक्लिएका छौं जङ्गलको छातीमा निर्माण गरिएको सुन्दर मार्गबाट। प्रकृतिको विमुग्धतामा बिभोर भएर भिडिओ बनाउन पनि पछि परेका छैनौं। रिल, टिकटक प्रविधिले भ्याएजति यहाँको सौन्दर्यलाई सुरक्षित गर्न लागिपरेका छौं।
बालकृष्ण सर भन्दै हुनुहुन्छ, ‘यो हिमालयन ग्रेट ट्रेलर हो थाहा छ अनिता म्याम। यो सिन्धुपाल्चोकको हेलम्बुदेखि रसुवाको गोसाइँकुण्डसम्म पुग्ने ६० किलोमिटर लामो बन्ने योजना छ। यो ग्रेट ट्रेल चीनको ग्रेटवाल पछिको एसियाकै दोस्रो ठूलो हिमाली पदमार्गको रूप दिने परिकल्पनाका साथ इचोक गाउँको घोप्टे घ्याङबाट निर्माण कार्य अघि बढ्दै गएको छ।’
सरको कुराले म जिज्ञासु बन्दै गएँ। यस्तो सुन्दर योजनाको जानकारी पाएपछि मेरो मनले भनिहाल्यो ‘निर्माण सम्पन्न भएपछि यो ग्रेट ट्रेलको मात्र पदयात्रा गर्नुपर्छ।
हेरेकी छु अग्लो ठाउँबाट चारैतिर। होचा अग्ला डाँडाले हेलम्बुको सौन्दर्यलाई भिन्न किसिमको आकर्षण दिएको छ। घण्टौं बसेर यहाँको छटालाई हेर्न मन छ तर गन्तव्यको हाँगा धेरै भएकाले पाइला दगुरेका छन्।
समयलाई मध्यनजर गर्दै निर्माण भइसकेको ट्रेलसम्म पनि नजाने निर्णय भयो। चैत्यभन्दा अझ माथिसम्म छ रे यो सुन्दर संरचना। सोचेँ प्राकृतिक यात्रामा यो किसिमको हतार! यो किसिमको भेँडा दौड त गर्नु नहुनेरहेछ। लाग्यो आनन्दले आत्मविभोर भएर, आँखा चिम्म गर्दै हृदयको गहिराइसम्म पुगेर प्रकृतिको शीतल बतास लैजान पाए! हृदय कति हर्षविभोर हुनेथियो। यहाँको अद्भुत प्रकृतिलाई हृदय र मस्तिष्कको क्यानभासमा सुस्तरी उतार्न मन थियो तर हामीलाई हतारको लौरोले लखेट्न थाल्यो।
हतारै सही तर पनि सुन्दर, शान्त र स्निग्ध चैत्यको वरिपरि घुम्दै गीत पनि गाउन छोडे नै। शोभा म्यामले त बडो सुन्दर टिकटक पनि बनाउनुभयो।
निमेषभरका लागि म उडेँ हरियो वासन्ती मौसममा। प्रकृतिको सुरम्य सुरापान गरेर मोहित भएकी छु। प्रकृतिको अमृत पिएर आनन्दातिरेक अवस्थामा छु।
प्रकृतिको खुमारीमा मदहोस हुँदै हामी ओरालियौँ अर्को गन्तव्यको लागि।

अबको यात्रा मेलम्चीघ्याङ वा खास हेलम्बुका लागि आरम्भ भयो। हृदय गद्गद भयो। पुनः आँखामा आएर राजेश्वरी मुस्कुराउन थालिन्। घुमाउरो कच्चीबाटो। आफ्नै पाइलाले यी पहराका छातीमा टेकेर हिँड्दा त लडिएला जस्तो लाग्छ, अहिले यति ठूलो बस गुडेको छ। म हेर्न सक्दिनँ झ्यालबाट देखिने बाटोको विकटता। मुटु फुत्त निस्केला जस्तो हुन्छ छातीबाट।
गाडीमै देख्छु हरिबोल सरको हातमा लालीगुराँस फूलको गुच्छा। लोभिन्छन् आँखा ती लालीगुराँसलाई स्पर्श गर्न अनि मुखै फोडेर आग्रह गर्छु, ‘सर! एउटा लालीगुराँसको फूल मलाई पनि।’
सहर्ष दिनुहुन्छ पहरामा पुगेर जोखिम मोल्दै टिपेर ल्याएको लालीगुराँस। बिना र मैले फूललाई नमन गर्दै फोटोमा पनि कैद गर्न थाल्यौँ। मनमा विचारहरू एकएक गर्दै आउनथाले। गाडी आफ्नै रफ्तारमा गुडेको छ तलतल। पुग्नुपर्ने अर्को गन्तव्य ठ्याक्कै पारिपट्टिको भीमकाय पहाडको टुप्पोमा छ। हेर्दै डरलाग्दो छ पहाडको यात्रा। आँखाहरू गाडीभित्र समेटिन्छन्।
लालीगुराँसलाई हातमा लिएर दङ्गिएकी छु। आहा! प्रकृतिको कस्तो सुन्दर उपहार। लालीगुराँस रूप रङमा मात्र हैन औषधीय गुणले पनि भरिपूर्ण छ। नदी किनारमा हुर्किएकी मान्छे माछा तरकारीको राम्रो स्रोत थियो। गाउँमा कसैलाई माछाको काँडा अड्किए गुराँसको फूल खोज्न दौडिन्थे आमाहरूका पाइला। सुकाएर राखेको लालीगुराँसको फूल खान देने चलन। त्यो नभए गुराँस-गुराँस भन्दै गर्धनमा ठ्याकठ्याक पारेर काँडा निकाल्ने प्रयास सबै सादृश्य भए।
आज पनि मेलम्ची घ्याङ्मा रातिको खानामा ट्राउट माछाकै तरकारी भएको सुनिँदै छ। कतै काँडा घाँटीमा गएर फस्यो भने! लालीगुराँसको स्वाद कस्तो हुँदोरहेछ त भन्दै बिना र म लालीगुराँसको फूल चपाउन थाल्छौँ। अमिलो-अमिलो टर्रो-टर्रो स्वाद पाउँ खाए झैँ हुन्छ। फूलको बीचमा भएको पातलो सिन्का जस्तो लामो जिब्रो पनि चपाउँछौँ। तीतो हुन्छ। काफ्ले सर भन्नुहुन्छ, ‘त्यो मुन्टाहरूमा एउटा मुन्टा लामो हुन्छ त्यो हटाएर खानू त!’
हामी साना बालकझैँ सरको आज्ञा मान्छौँ। लालीगुराँस फूलभित्रको पातलो सिन्कामध्ये लामो सिन्का हटाउँदै चपाउँछौँ। छक्क लाग्यो त्यो त काभ्रो चपाए जस्तै भयो। चैत वैशाखमा काभ्रोको अचार कति स्वादिलो हुन्थ्यो। अविस्मरणीय अतीत पुनः मुखभरि आएर पग्लिन थाल्यो। ठ्याकै हामीभन्दा अगाडिको सिटमा बस्नुभएको छ परा सर, पराजुली सर र शारदा म्याम। मैले काभ्रोलाई काम्रो भनेर उच्चारण गर्दा सच्याइदिनुहुन्छ। साँच्चै भाषा र शब्दहरू प्रयोगमा नआउँदा त हराउने पो रहेछन्। हिजो गाउँमा बोलिने मौलिक भाषा र शब्दहरू मबाट पनि हराउँदै गएको देखेर कता कता डर पनि लाग्यो। अँगेनामा बसेर आमाले ओदानमाथि कित्ली बसालेर लालीगुराँसको सुकेको फूल उमाल्दै भन्नुहुन्थ्यो, ‘घाँटीसम्म पुर्याएर खा जाती हुन्छ। मैनाले ल्याइदिएकी महाभारत डाँडातिरबाट। यता रानीचुरी र चुरेतिर पाउने भा त अरू लिन पठाउँदी हुँ । कसरी छिचोल्नु महाभारतको डाँडा। नपोखाई खानू।’
आमाले पिउन दिएको लालीगुराँसको झोल झलझली देख्न थालेँ ताजा लागीगुराँसको आँखीझ्यालबाट।
ओरालो, भिरपाखा, कच्ची सडक हुँदै विभिन्न गाउँ, बस्ती, जङ्गल, खोला, खोल्सा तर्दै विकट पहाडि भूभाग छिचोल्दै अब हामी तिम्बु बजारमा आइपुगेका छौँ। गाडी उकालिनुभन्दा अगाडि गाडी त केहीबेर रोक्नैपर्ने भयो र गङ्गा सरलाई अनुरोध गरेँ। अनुरोध अनुमोदन भयो। आखिर धेरै जनालाई ओर्लिनु परेको रहेछ, वाक्य मात्र फुट्न नसकेका।
पैसा नलिई झरेकी त शौचालय अगाडि सेवा पात्र राखेको रहेछ। पछि राखौँला सेवा भन्दै काम फत्ते गरेर गाडीमा फर्किएँ र पैसा शारदा म्यामलाई दिएँ।
अरू साथीहरू त लघुशङ्का गरेर बजारतिर पो गएछन्। झ्यालबाट हेर्छु मज्जाले जेरी पो चाख्न थाल्नुभयो। मेरो मुख पनि नरसाएको त कहाँ होर तर पुनः गाडीबाट झरेर जान मन भएन। अप्सरा म्यामले इसाराले सोध्नुभयो जेरी खाने? मैले पनि टाउको हल्लाएर भनेँ- खानेँ। आयो जेरी गाडीमै। मुख रसिलो भयो। गाडी पुनः उकालियो।
जङ्गलको बीचमा पुगेका छौँ अचानक ड्याम्म गरेर केही पड्कियो। लाग्यो गाडीले ठूलै ढुङ्गा छोयो। तर चालक भाइ नीलोकालो अनुहार लगाउँदै भन्छन्, ‘पट्टा भाँच्चियो।’ अब परेन त फसाद! आकाश कालोनीलो छ। चारैतिर बादल मडारिएको। घडीले पनि साँझ पर्नै लागेको सङ्केत गर्दैछ। गन्तव्य लामो छ। हिँडेर जानसक्ने ल्याकत कसैको पनि छैन। गाडीको पट्टा फेर्ने मान्छे नजिकै कतै छैनन्। अचानक असहजताको स्थिति ओइरियो। अब के गर्ने भन्ने छलफल मै एक घण्टा त बित्यो। नबितोस् पनि कसरी प्रतिकूल मौसमको पूर्वसन्ध्यामा छौँ। सौदामिनी पनि हामीलाई देखेर तस्बिर उतार्न लालायित छिन्।
आकाशले घरी सेल्फी खिच्छ, घरी भिडिओ। बेलाबेला ढोल पनि पिट्न थाल्यो अब भने हाम्रो अवस्था बर्सातको मुसो होला भन्ने भयो तर स्थिर भएर बसेको गाडी जिन्दावाद, बिहान आउँदा दालमोठ र चिउरा ल्याएकै छ। उता ट्राउट माछा र भात पनि सेलाइसक्यो। आयोजकहरूको चिन्ताको रेखा मस्तकभरी उठ्न थाल्यो। प्रकृतिको योजनालाई कसैले विफल पार्न सकेको छैन। प्रकृतिले जे भन्छिन् हामीले त्यो स्वीकार्नै पर्छ। पानी पर्न सकेको छैन अझ। मालाक्कमिलिक्क चर्को छ तर पनि हामी कविता वाचन गर्दै भिडिओ बनाएका छौँ। कोही अमला टिपेर चाख्दै हुनुहुन्छ। चालक लक्ष्मण बन्जारे भाइ सामान लिन आफै गए।
‘भ्याए भरे नै आउँछु नभ्याए भोलि सखारै आएर गाडी बनाउँछु’ भन्दै आजको यात्रा रोकिएको जानकारी पनि दिए।
अब हाम्रो आयउपाय केही लागेन। तिम्बु बजारतिर फर्किनै पर्यो। पानीको थोपा टाप्पपिट्ट पर्न थालेपछि सम्झिएँ सुभाष सरलाई हिजैराति भन्नुभएको थियो, ‘भोलि मौसम खराब हुनसक्छ छाता हाल्नू है!’ हिँड्दा छाता भारी हुन्छ भनेर नहाली हिँडेकी, देखेँ अल्पज्ञानको नतिजा अब पाइला लम्ब्याउनु बाहेक मेरो केही रहेन।
साथीहरूसँग त छाता छ भन्ने अनुमानमा झोला बोकेर हान्निएँ धावक बनेर। छोटो बाटो स्थानीयलाई सोध्दै हिँडेका छौँ। हरिबोल सर भिरबाटै फालकुद्दौँ झैँ गरेर भिरबाट हिँड्न खोज्नुहुन्छ। कुकुरहरू पनि हाम्रो फौजलाई देखेर एकोहोरो कराउन थालेका छन्। घरघरबाट हामीलाई हेर्न निस्किएका स्थानीयका आँखामा कौतुहलता मडारिएको देख्छु। निमेषभर पनि अडिएका छैनन् पाइताला। केहीबेर हिँडेपछि सिँढीको बाटो आयो। देखियो तिम्बु बजारको सम्पूर्ण स्वरूप डाँडाबाट।
झोगुङ्गे पुल तरेर हामी एउटा विद्यालय भवनको छेउ हुँदै हिँडेका छौँ। मन डराउँछ कतै बास पाइएन भनेँ। तथापि देखिन्छन् स्कुलका खाली कोठा। हाँस्छ हृदय। भूकम्प जाँदा कसरी बसिएका थियौँ पालमा आज पनि बास नपाए बसिएला ओत लागेर। हामी मुख्य सडकमा आइपुग्यौँ। अघि जेरी किनेको पसल पो रहेछ। मैले जिस्किँदै पसलकी दिदीलाई भनेँ, ‘के हो दिदी जेरीमा जादूटोना त थिएन! हामीलाई सम्मोहित पारेर पुनः आफ्नै पसलमा पो ल्याउनु भयो त!’ मेरो ठट्टा सुनेर, दिदी मिठो मुस्कान मात्र छोड्छिन्।
स्रष्टाहरू ओरालिने क्रम निकैबेर चल्यो। कोही बासको व्यवस्थापनमा भौंतारिनु भएको छ। पसलकी दिदीलाई हतारिँदै सोधेँ, ‘दिदी यहाँ बस्ने ठाउँ छ?’
दिदीले पनि बिस्तारै बोलिन्, ‘धेरै ता छाइन दुई वटा कोठा छा। मिलेर बस्दा त हुन्छा।’
मैले पनि आशाको ओठ खोल्दै भनेँ, ‘ कतिवटा खाट छन् दिदी?’
‘तीन तीनवटा खाट छा बाहिर प्यासेजमा पानि एउटा छा।’
‘उसोभए हामी केटी मान्छेहरू मिलेर बस्दा अट्छौँ’
‘तापाइँहरू कति जाना छा?’
‘हामी दशजना छौ दिदी।’
‘उसो भा ता आट्छा एउटा खाटमा चाहिँ दुई जाना बास्दा मिल्छा कि!’
दिदीको कुरा सुनेर हृदय हाँस्यो। बसेरै त रात काटौँला भन्ने आशले स्कुलको कोठा देख्दा भर्खर हाँसेकी मान्छे अब त कोठै फेलापरिस्यो। ढुक्कको श्वास फेर्दै, चिया अडर्र गरेर बस्दैगर्दा अरू साथीहरू पनि जम्मा हुँदै जानुभयो।
आकाश गर्जेर अँध्यारो खस्यो। बिजुली चम्कियो। गुडुङ्ग, चट्याङ्डट्याङ्। बत्ती झ्याप्प गयो। मोबाइलको नेटवर्क बन्द। चैतको आकाशले चट्याङको सङ्गीत अलाप्न छोडेन। चिया पानी पिउँदै तिम्बुमा साँझको पाहुना भएर रमाउँदै भित्र बस्यौँ। चियापानी खाँदै गर्दा सबै स्रष्टाहरूलाई बासको व्यवस्था मिल्यो भन्ने सुन्न पाउँदा असहज अवस्थामा पनि हाँसोको माहोल बनाउँदै गयौँ। घरकाहरूले पनि पक्कै सोचे होलान् फोन नलाग्ने ठाउँमा छन्।
होटलको तल्लो तल्लामा आजको बासस्थान भयो। दुई वटा कोठामा पाँच-पाँच जना बाँडियौँ। तीन वटा खाट भएको कोठामा सबै खाट उस्तै आकारका रहेछ। एक जना एउटा खाटमा अरू दुई दुई जनाको दरले बाँडियौँ। नौलो ठाउँ। बाहिरको शौचालय। पानीको कलकल आवाज। आकाशबाट परेको
पानीको दररर अर्को मिठो संगीत। रातको सुस्केरा। प्रकृतिको सुसाहट मिसिएर मिठो नाद फैलिएको छ। मन आनन्दमय छ। फ्रेस भएपछि आरम्भ भयो। गफका अनेक पोया। हाँसोको झन्कार। सबैका स्मृतिका पुराना सन्दुकहरू उघारिन थाले। आ-आफ्ना कथाहरूले मज्जाले स्थान पाए। हाँसोको ध्वनीले तिम्बुको पहरा पनि थर्किएको थियो सायद। अनुभवका उकाली-ओराली सादृश्य भए।
साहित्य, सत्सङ, सङ्गीतदेखि सद्भाव, सहयोग, समर्पण र संघर्षका कुरा भए। हाम्रो कुरा सुनेर अमृता प्रितमले हामी नजिकै आएर हामीलाई हेर्दै भनेको सुनेँ, ‘इंसान भी एक समुद्र है। किसी को क्या मालूम कि कितने हादसे औ कितनी यादेँ उसमें समाई हुई होती है।’ मुस्कुराएँ अतीतका रमाइला प्रसङ्गहरूमा। तिम्बुको बासमा उमेरको ओरालो झरेर खुल्ला चौतारीमा निकैबेर गफियौँ। माथिबाट होटलकी दिदीले बोलाइन् खाना खान। निकै स्वादिलो दाल, लेकको बन्दा, टमाटरको अचारसँग तातो भात खाएर हामी पुनः कोठामा आउँदा त मेरा आँखा बटारिन लागिसकेका। कतिखेर निदाएँ होसै भएन।। क्रमशः