'हेर्नेकथा' ले धेरै अगाडि चुम भ्यालीसँग सम्बन्धित धेरै कथाहरू दर्शक माझ ल्याइसकेको थियो।गोरखामा कार्यरत रहेको हिसाबले पनि मलाई चुम भ्याली पुग्न एकदमै मन थियो।मनास्लु हिमाल वरिपरिको सामागाउँ पुगिसकेको म अब गणेश हिमाल वरिपरि पुग्न चाहन्थें।त्यस्तैमा चुनाव अघि फागुनको तेस्रो हप्ता एउटा संयोग जुर्यो।
एउटै कार्यालयका हामी चार जना लाग्यौं चुमनुब्री गाउँपालिकामा अवस्थित चुम भ्यालीको यात्रामा।गोरखा बजारबाट आरुघाट हुँदै माछीखोला र सिर्दिवासको यात्रा पहिलो दिन तय गर्यौँ।त्यसपछि त्यो रात त्यही बास बसेर अर्को दिन हिँड्न थाल्यौं।
बूढीगण्डकीको तीरैतीर पान्सिङ हुँदै लोक्पा सम्मको यात्रामा आङ नै सिरिंग हुने बाटाहरू थिए। भिरैभिर अनि खच्चडहरूको लावालस्कर थियो। धेरै नै जोखिम मोलेर हामी अघि बढिरहेका थियौं।
-1775633715.jpeg)
त्यो दिनको बास हामी चुमलिङ गएर बस्यौं। होस्टेल बसेर बिदामा घर आएकी पेमाले पकाएको मिठो खाना खायौं। योसँगै हामी भोलिपल्ट बिहानै उठेर अघि बढ्यौं। रूद्र सर, सुदिप सर, सौरभ सर र म अनेक कहानीहरू सुन्दै हाँस्दै अघि बढिरहेका थियौं। लामो तेर्सो बाटो हिँडेपछि रेन्जन आइपुग्यो। त्यहाँ खाना खाने मेसो पर्यो। त्यो थकाइलाई बिसाउँदा खेरी नै जीवन निर्माणको आनन्द प्रतिभूत हुन्थ्यो। पेटभरि खाना खाएर उकालो उक्लिन बाँकी नै थियो। हात टेकेरै उक्लिन पर्ने त्यस्तो उकालो पश्चात बल्ल चौरी खर्क आइपुग्यो। त्यसपश्चात अलिमाथि पुगेपछि बल्ल छेकम देखियो। हामी सबैले लामो सास फेर्यौं।
त्यो रात हामी त्यही छेकममा बस्यौं। रात परिसकेको थियो। खाना खाएर सुत्यौं। खानामा उही आलु र टिमुर हालेको अचार र दाल थियो। मासु त्यहाँ बर्जित थियो। काटमार गर्न चुम भ्यालीमा मनाही थियो।
भोलिपल्ट बिहानै उठेर गाउँ डुल्न थाल्यौं। स्वर्गको झिल्का टिप्ने ती जीवनहरू प्रकृतिको नजिक रहेर रहस्यमय बाँचिरहेका थिए। संसारलाई उज्यालो देखाएर जीवनको मूल्य सिकिरहेका जस्ता।
घिउ चियासँगै सुरू भएको बिहानी त्यहाँका स-साना नानीबाबुहरूसँग खेल्दैमा बित्यो। धेरै त काठमाडौंतिरै रहेछन् पढ्नका लागि तर जति त्यहाँ थिए एकदम विन्दास थिए। हँसिलो चेहेरा अनि राता राता गाला, कोमल र सहृदयी मन त्यहाँको विशेषता थियो नै। यता दगुर्यो, उता दगुर्यो फुर्सदैको कमी हुने उनीहरूलाई।
खेतीपाती पनि गरेकै थिए, बडा राम्रा थिए बलिया थिए। सरसफाइप्रति त्यति धेरै चिन्तित थिएनन्, मैलाको वास्ता गर्दैनथे, प्राकृतिक चालमा चाल मिलाएर चौरीसँग मितेरी लाउँथे।
-1775633716.jpeg)
३०२० मि उचाइमा रहेको छेकम पछि हामी झोङतर्फ लाग्यौं जुन ३०८० मिमा अवस्थित थियो। लेरू गाउँ पुग्दा पाएको आतिथ्यताको सायद कुनै मूल्य हुँदैन होला। हिउँ पग्लिएर बगेका निर्मल खोला नालाहरू अनि थकित चौरीहरूले मेटिरहेका आफ्ना प्यास। त्यो दृश्य एकदम मनमोहक थियो। ३२२५ मि मा अवस्थित लामा गाउँ समेत पुग्यौं। त्यहाँको गुम्बा अति विशाल थियो। ३२५० मिमा अवस्थित राजेन गुम्बा पनि पुग्यौं। निर्माण हुँदै गरेको रहेछ केही भाग। फराकिलो र धेरै स्पेस ओगटेको जस्तो भान भयो र यो गुम्बा निकै नै प्रख्यात पनि छ।
३२४५ मिमा रहेको सम्म भाग लार पुग्दा अति नै हावा चल्यो। हावाको बेग थाम्नै नसकिने किसिमको थियो। त्यो फाँट देख्दा लाग्यो हिमाल पारि पनि मानिसहरू केही न केही उमारिरहेका छन्, गोडिरहेका छन्, फलाइरहेका छन् र खाइरहेका छन्। उनीहरूको भूगोल चट्ट मिलेको कोरी बाटी सिंगारिएको नहोला तर पनि सानो टुक्रालाई स्वर्ग समान बनाएका छन्। चौरी, घोडा, खच्चड बानिएका गोठहरू अनि बुट्टेदार काठका घरहरू, आहा! हेर्दैमा मन लोभ्याउने किसिमको थियो।
धर्म प्रतिको विश्वास जुन हावामा र ढुंगा ढुंगामा मन्त्रद्वारा प्रवाह भइरहेको थियो। एउटा खुला पाठशाला जस्तै लाइरहेको थियो त्यो भूमि जहाँ ध्यानस्थ थिए हरेक बोट बिरूवा जीवजन्तु र चरा चुरूंगीहरू।
त्यो रात लारको बसाइँ सँगै बिहानै उठेर फुर्बे पाङ्दुन हुँदै छुले गाउँ पुग्यौं। ३२५० मिको उचाइमा रहेको त्यस गाउँमा कुनै बनावटीको छनक थिएन।अन्तिम गाउँ निले जुन ३३०० मिमा अवस्थित छ, त्यहाँ पुग्दा हामी थाकिसकेका थियौं। आडैमा बगिरहेको स्यार खोलाले हामीमा अझै उडान भर्नका निम्ति पंखहरू उमारिरहेको थियो।
गालामा फुलाएर गुलाबी रंगका फूलहरू, भिरेर काँधमा सिंगै पहाड अनि मुस्काएर ओठमा हिमाल जस्तै चोखो मिठो हाँसो त्यहाँका नारीहरू बाँचिरहेका थिए। अझ एउटा बोर्डमा आमा समूहद्वारा लेखिएको आह्वान- ‘दिगो विकासका लागि सम्पूर्ण महिलाहरू एकजुट होऔं’ पढेपछि त लाग्यो कति धेरै बुझेका रहेछन् उनीहरूले प्रकृतिबाट। तापमा पग्लिरहेका हिमाल जो परिणत भएका छन् काला पत्थरहरूमा। त्यसैलाई देखेर अनि जलवायु परिवर्तनका जोखिमका शिकार भएर पनि होला आफैमा सजग हुन सिकेका छन् जस्तो अनुभूति भयो।
-1775633716.jpeg)
नीले पश्चात हामी प्राचीन मुगुम्बातर्फ लाग्यौं। ३६८० मिमा अवस्थित उक्त गुम्बा चुम भ्यालीको अन्तिम पर्यटकीय गन्तव्य हो। त्यहाँ पुग्दा हामीलाई त्यहाँ रहनुभएको एक जना बुवाले कफी, उसिनेको आलु र नुन खुर्सानी दिनुभयो खानका लागि। हामी अत्यन्त आभारी भयौं।
त्यहाँबाट हेर्दा स-साना गोरेटा बाटाहरू तिब्बत भेट्न आतुर गरिरहेका जस्ता देखिन्थे। तेल, कपडा, नुन, किनमेल गर्न जान सिजन अनुसार सीमा खुल्ने गर्दो रहेछ। सनातन विश्वास, स्रद्धा र भक्तिको प्रतीक मुगुम्बाबाट झरेर हामी छेकम आएर बास बस्यौं। अब छेकमबाट बिदाइ मागेर हिँड्नुपर्ने बेला आइसकेको थियो।
भोलिपल्ट बिहानै छेकमबाट उठेर खाप्सीलाई कोसेलीका रूपमा ग्रहण गर्दै खादा माला लाएर हामी ओरालो लाग्यौं। बुद्ध हिमाल पारि गणेश हिमालको वरिपरि एउटा छुट्टै सभ्यतामा बाँचिरहेको चुम भ्यालीका गामहरू साना स्वर्गभन्दा कम थिएनन्। शान्त भूमि, सिधा र सोझो जीवनशैली अनि पौरखी आत्मविश्वासहरू जो सहरभन्दा निकै दूरदूर छन्। केही दु:ख विमार हुँदा समेत हेली उद्धार गर्नुपर्ने त्यो भेगमा अझै सरकार पुग्न सकेको छैन! चौरी नै जीवन छ त्यहाँ। आधुनिकताले विस्तारै छुँदै गएको छ। छेकममा भेटिएका वाङचुक सरले भने जस्तै त्यहाँको शिक्षा र स्वास्थ्यमा क्रमिक परिवर्तन, आजको आवश्यकता भइसकेको छ।
ओरालोमा पाइलाको गति बढाउँदै लैजाँदा १८०० मिमा रहेको लोक्पामा आएर खाना खायौं। त्यो रात माछी खोलामा बास बसेर भोलिपल्ट गोरखा बजार आइपुग्यौं। एउटा कल्पनाभन्दा बाहिरको जस्तो देखिने चुम भ्यालीको रीतिरिवाज, चलन अनि मानव विश्वासहरु सधैं मेरो मनमा प्रभावकारी भएर रहिरहनेछन्।
-1775633715.jpeg)
-1775633714.jpeg)
-1775633714.jpeg)
-1775633715.jpeg)
-1775633713.jpeg)