बसमा बौद्ध झण्डा फरफर्याइएको छ। बसको पहिलो पङ्क्तिमा भन्ते र ५ जना गुरुआमाहरू बसेका थिए। अरू ५० जना धर्म यात्रीहरू दुइटा बसमा सवार थिए। सबैमा उत्साह र उमङ्ग थियो। एक रात लालगढको होटलमा बिताएर जनकपुर हुँदै भारतको वैशाली जान जलेश्वरको भिट्टामोड नाकामा पुग्यौँ। भिट्टामोडमा सबैले आ-आफ्नो नागरिकता हातमा लियौँ र भारतीय अध्यागमनका प्रहरीको पर्खाइमा बस्यौँ। केही बेरकै पर्खाइमै भारतीय प्रहरीको पोसाक लाएर एकजना भित्र पसे। हामीलाई एक-दुइटा साधारण प्रश्न सोधे, दस मिनेटको पर्खाइमै अध्यागमनबाट सजिलै जान दिए।
कोही श्रीमानले श्रीमती साथी ल्याएको, कोही श्रीमतीले श्रीमान् साथी ल्याएको, कोही दिदीले बहिनी ल्याएको, कोही छोरा र छोरीले आमालाई घुमाउन ल्याएका, कोही साथीसँग त कोही एक्लै पनि आएका थिए। सबैले आ-आफ्नो अनुकूलता अनुसार कोसँग जाँदा आफूलाई १६ दिने यात्रा रमाइलो हुन्छ भन्ने सोचेर ल्याएको देखिन्छ। मैले यो उमेरमा श्रीमतीलाई छोडेर एक्लै जाने सोच्न पनि सकिनँ। श्रीमतीलाई प्रस्ताव गर्दा इफ, बट केही नभनी सजिलै जान तयार भइन्। तर सबैलाई मलाई जस्तै सहज चाहिँ भएन।
एकजना सहभागीले भन्दै थिए— मलाई दिदीले जाने भनेर एक हप्ता अगाडि मात्र फोन गर्नुभयो। मैले पहिला श्रीमानसँग सोधेँ, श्रीमानले जाऊ भनेपछि ससुरा र सासूसँग सोधेँ, सासू-ससुराले जाऊ-जाऊ भनेपछि देउरानीसँग सोधेँ, देउरानीले हुन्छ, हुन्छ म सासू-ससुराको हेरविचार गरुँला भनेपछि अन्त्यमा दिदीलाई हुन्छ भनेर कन्फर्म गरेँ।
चार जना पुरुषहरू त एक्लै आएका थिए श्रीमतीलाई सँगै ल्याउन अनुकूल नभएकोले। तर यात्राभरि सबै एउटै ठुलो परिवार जस्तै गरी सबै रमाएको देखियो। हामी सबै थेरवाद बौद्ध एकेडेमीबाट स्नाकोत्तर तहका पूर्व तथा नियमित विद्यार्थीहरू तथा विभिन्न विहारमा जोडिएका बौद्ध आठ-धाम यात्रामा आएका हौँ।
‘संसार एउटा किताब हो र यात्रा नगर्नेहरूले एउटा मात्र पृष्ठ पढ्छन्।’ (सेन्ट अगस्टिन, पहिलो शताब्दीका धर्मशास्त्रीको यो उक्तिले संसार चिन्न यात्रा गर्नु पर्ने मान्यता त्यतिबेलै रहेको देखिन्छ)। मेरो आमा वि.सं २०३२ सालमै चार धाम भ्रमणमा गएको सुनेको थिएँ। मेरो लागि पनि समय यस पटक जुरेको देखियो। यात्रा अवधिभरि नै आयोजकले नै ताजा ताजा पकाएर खुवाउँथे। बिहान र बेलुकाको खाना त बासस्थानमै हुने भयो, दिउँसोको खाना भने कहिले नदीको किनारमा, कहिले मठमा त कहिले मन्दिरमा त कहिले हाइवेको छेउमा। आयोजकहरूले ४ जनाको कुकको टिम नै सँगै लगेका थिए। ४५ मिनेटमै खाना तयार गर्थे, कति चुस्त! खाना स्वादिलो हुनाको साथै कम तेल र तात्तातो हुने भएकोले ताजा, स्वादिलो र स्वच्छ थियो। कसैलाई पनि अपच भएन यात्राभरि।
बसाइ अक्सर विहारमै भयो। विहारमा बस्ने राम्रै व्यवस्थापन हुँदो रहेछ। समूहमा महिला छुट्टै पुरुष छुट्टै कोठामा सुत्ने व्यवस्था गरिएको थियो। एउटा कोठामा ११ जना, ७ जना, ५ जना, ४ जना, ३ जना र दुईजना मिलेर बस्नु पर्ने (कोठाको उपलब्धता हेरी)। घ्वार-घ्वार गरी घुर्नेहरू पनि थिए। तर पछि घ्वार-घ्वार प्रुफ भइएछ आफू पनि। अवस्थालाई स्वीकार गर्यो भने जस्तो परिस्थितिमा पनि आफूलाई समायोजन गर्न सकिने देखियो।
हामी १६ दिनमा १२ दिन त निरन्तर बसमा ६/७ घण्टा त बिताएकै हुन्थ्यौँ। यो यात्रामा विभिन्न कुराहरू जानकारी भयो। जस्तै बुद्ध हुनलाई बुद्धगयाकै बोधीवृक्षकै मुनि तपस्या गर्नु पर्छ भन्ने मान्यता रहेछ, सिद्धार्थ गौतमले पनि यही बुद्धत्व प्राप्त गरेका थिए। बुद्धले छ वर्षसम्म कठोर तपस्या गरेको उरुवेल वन नजिकै सुजाताले निरञ्जन नदीको किनारमा खिर दान गरेको इतिहासमा उल्लेख भएको छ। सुजाता, श्रेष्ठ थरका रहेछन् भन्ने जानकारी पाइयो। सुजाताको माइती यही उरुवेल वन र निरञ्जन नदीको आसपासमा रहेछ, जहाँ हामी पुग्यौँ पनि। सुजाताको श्रीमान् पूर्ण बदन श्रेष्ठ, बनारसका महाजन रहेछन्। नेपालका श्रेष्ठ पनि बनारसबाटै आएको भन्ने थाहा पाइयो, जसरी गिरी, जंगम आएका थिए बनारसबाटै। बनारस हिन्दु विश्वविद्यालय पनि यहीँ छ। मेरो छिमेकी भट्टराईजी पनि यहीँ पढेका हुन्।
यात्राको दोस्रो दिन जनकपुरबाट वैशाली जानु थियो। वैशाली बिहार प्रदेशमा पर्दछ। नेपाल भारतको बोर्डर महोत्तरी जिल्लाको भिट्टामोड छिचोल्नासाथ भारतको राष्ट्रिय राजमार्गबाट वैशाली जोडिन्छ। सडक मार्गबाट भारतको यात्रा मेरो पहिलो अनुभव हो। सडक छ लेनको उच्च कोटीको थियो। नेपालको तराईको सामाजिक परिवेश र भारतको बिहारको सामाजिक परिवेशमा समानता देखिन्थ्यो जस्तै अव्यवस्थित बस्ती तथा ट्राफिक, उच्च आवाजको हर्न। बुद्धगयामा बिहेको नाचगानसहितको जन्ती देख्दा म जनकपुरमा छु जस्तो लागेको थियो। बुद्धगयाकै श्रीलङ्का विहार नजिकैको बस्ती कता कता मधेस प्रदेशको हुलाकी राजमार्ग नजिकै भेटिने बस्ती जस्तै देखिन्थे। तर फरक चाहिँ घरसम्म पुग्ने बाटोको स्तर तथा घरको स्तर नेपालको भन्दा गुणस्तरीय थिए। राष्ट्रिय राजमार्गबाट सरदर ८० किलोमिटर प्रति घण्टाको वेगमा बसमा सवार हुँदा दायाँबायाँ पुरै बाली लगाएको देखियो, सायद त्यो गहुँ हुनु पर्छ। कृषि व्यापक रूपमा भएको रहेछ। मैले सहयात्रीलाई भनेँ— हेर भारतलाई किन नेपालको नदी चाहिएको रहेछ त? यही कृषिको लागि हो।
वैशाली
भारतको बिहारको कोल्हुआ गाउँमा अवस्थित अशोक स्तम्भ तथा बौद्ध विहार परिसरको भग्नावशेष अवलोकन गरियो। ईसापूर्व तेस्रो शताब्दीमा मौर्य सम्राट अशोकले निर्माण गरेका सबैभन्दा राम्रोसँग संरक्षित स्तम्भहरू मध्ये एक रहेछ यहाँ। यहाँ भगवान् बुद्धको अन्तिम उपदेशहरू मध्ये एक सप्तअपरिहानिय धर्म देशना गरेको रहेछ। त्यसको साथै, वैशालीमा बुद्धको अस्तिधातुबाट निर्मित चैत्यको भग्नावशेष पनि सुरक्षित राखेको ठाउँको अवलोकन गरियो।
लिच्छविहरू बुद्धका अनुयायी थिए। उनीहरूको राजधानी वैशाली वर्तमान उत्तर बिहारको बसाढ भन्ने ठाउँ रहेछ जुन त्यस बेला शक्तिशाली गणतन्त्र थियो। यहाँ ७७०७ पुष्करिणी, उद्यान, दरबारहरू रहेछन्। वैशाली बुद्धले प्रशंसा गरेको देश हो। नेपालमा पनि यिनीहरूको एक शाखाले इसं ४००-७५० सम्म राज्य गरेका थिए। वैशालीमा दोस्रो सङ्गायना भएको रहेछ।
राजगृह स्थित, गृद्धकुट पर्वत, वेलुवनाराम, तथा उरुवेल वन
हामी तेस्रो दिन तत्कालीन मगध देशको राजगृह स्थित, गृद्धकुट पर्वत, वेलुवनाराम, तथा उरुवेल वन गयौँ। बुद्धको समयमा यो बिम्बिसारको राज्य रहेछ। राजगृहमा मात्र १८ वटा महाविहार बिम्बिसारले बनाउन लगाएका रहेछन्। यो हालको दक्षिण बिहारको पटना, गया जिल्लाको भूभागमा पर्दछ। यसको राजधानी गिरिव्रज वा राजगृह (वर्तमान पटनाको राजगिर) थियो। बिम्बिसारले राजगृहमा बुद्धलाई वेणुवन (वेलुवनाराम) दान दिएको थियो। हाल यहाँ राम्रो उद्यान बनाएको छ, बिचमा ठुलो पोखरी पनि छ। त्यो पोखरी बुद्धको स्नानको लागी बनाइएको भन्ने भनाइ छ, हालकि अहिलेको यो पोखरीको स्वरूप पटक-पटक फेरिएको भन्न सकिन्छ। सङ्गायना पनि राजगृहकै वेभार पर्वतको सप्तपर्णि गुफामा भएको थियो। सप्तपर्णि गुफा गृद्धकुटबाट ४५ मिनेटको हिँडाइ रहेछ, जुन हामीले टाढैबाट हेर्न पायौँ। त्यसै गरी बुद्धलाई यही गृद्धकुट पर्वतमा उनकै भतिजाले ढुङ्गा हानेर घाइते बनाएको स्थल पनि हेर्न पायौँ। साथै यो पर्वतमा एउटा विशाल शान्ति स्तूप पनि बनाइएको छ। नेपालमा यस्ता स्तूपहरू लुम्बिनी र पोखरामा देख्न सकिन्छ।
राजा बिम्बिसारको पौराणिक खजाना राजगिरमा अवस्थित सोन (सुन) भण्डार गुफाहरूमा राखिएको भनिन्छ। वैभर पहाडको फेदमा अवस्थित यी प्राचीन चट्टान काटिएका गुफाहरूमा सुनले भरिएको गोप्य कोठा रहेको हल्ला छ, जुन रहस्यमय प्राचीन शिलालेखहरूमा कुदिएका जटिल प्रश्नहरूको समाधान गर्न सक्नेले मात्र पाउने मान्यता छ। यहाँ बाँदरहरू पनि असङ्ख्य थिए, सायद यही खजानाको सुरक्षार्थ खटिएको हो कि! सायद ती बाँदरलाई लाग्यो कि हाम्रा दुईजना साथीले यो खजाना प्राप्त गर्ने अभिलाषा मनमा राखेका छन् भनेर। एकजना साथीलाई फोटो खिच्दै गर्दा नङ्ग्राले कोपर्यो भने अर्कोलाई दाँतले टोक्यो। टिटानस र रेबिजको सुई लिनु पर्ने गरी झन्झट आइलाग्यो।
बुद्ध धर्ममा आस्था तथा विश्वास भएकोले उहाँहरू दुवैजना भन्दै हुनुहुन्थ्यो— ‘हामीले पूर्व जन्ममा यी बाँदरहरूलाई केही हानि पुर्याएको हुनुपर्छ’। हाम्रो यात्रामा एकजना मेडिकल डाक्टर पनि भएकोले धेरै सजिलो भयो। त्यसपछि हामी बुद्धले ६ वर्ष निरन्तर तपस्या गरेको ठाउँ उरुवेल वन गयौँ। तपस्या गरेको ठाउँ भनेर चट्टान भित्र सानो गुफा जस्तो कोठा थियो, झन्डै ८ फिट लम्बाइ ७ फिट चौडाइ र १२ फिटको उचाइ भएको कोठा। त्यहाँ बुद्धको हाड र छाला मात्र भएको मूर्ति तपस्वी मुद्रामा राखिएको थियो। यो स्थान बाटो भन्दा अलि उचाइमा रहेछ, हिँड्नु पर्ने। भन्तेले पाँच जना गुरुआमाको सहयोगमा बुद्धपूजा गर्नु भएको थियो यहाँ।
बुद्धगया
बुद्धगया जाँदै थियौँ। बाटोमा डिजेल भर्न बस रोक्यो। हामी पनि खुट्टा तन्काउन ओर्लियौँ। एक हुल भारतका स्कुले विद्यार्थीहरू बुद्धगया जान लागेका रहेछन्। हामी मध्येकोले उनीहरूसँग छोटो संवाद गरेका थिए समय कटाउन। हामी नेपालबाट आएका भनेर परिचय दिएँ। कुरैकुरामा हामीले दुइटा प्रश्न राख्यौँ— बुद्धको जन्म कहाँ भएको थियो? बुद्धका पिताको नाम के थियो? उत्तर थियो— बुद्धको जन्म भारतमा भएको थियो। बुद्धका पिताको नाम दुर्योधन थियो। हामी एकछिन असमञ्जसतामा पर्यौँ।
उरुवेल वनमा ६ वर्ष अति कठिन ध्यान गर्दा पनि केही सफलता हासिल नभएपछि सिद्धार्थले निरञ्जना नदीको किनारमा सेनानी गाउँका सुजाताले खिर दान गरेको स्वीकार गर्नु भएको रहेछ। यसरी खिर खाएको देखेपछि उनीसँग छ वर्ष सँगै रहेका पाँच ब्राह्मणहरूले अब यो सिद्धार्थले ज्ञान प्राप्त गर्न सक्दैन भनेर साथ छोडेका थिए। खिर आहारले केही शक्ति आएपछि उनी बुद्धगयाको बोधीवृक्षमुनि फेरि तपस्या गर्न थाले। तपस्या गरेको ७ दिनमै सिद्धार्थ गौतमलाई ज्ञान प्राप्त भएको मानिन्छ।
महाबोधि मन्दिर परिसरमा प्रवेश गर्दा धेरैले मनमा प्रफुल्लता अनुभूति गरेको पाइयो। मन्दिर भित्र बुद्धको अति नै आकर्षक मूर्ति छ। यस परिसरमा बोधीवृक्ष अर्को महत्त्वपूर्ण आकर्षण रह्यो, जहाँ असङ्ख्य मानिसहरू पूजा, ध्यान गरी राखेका थिए। हामी पनि बिहान र बेलुका गरी दुई पटक ध्यान गर्न बस्यौँ। धेरैले यहाँ तुरुन्तै ध्यान लाभ भएको अनुभव गरेको सुनाए। बोधीवृक्षका झरेका पातहरू उपहारको लागी ल्याए। राती बत्तीको प्रकाशमा यहाँको सौन्दर्य अझै निखारिएको थियो। जस्तै बुद्धको महाबोधि मन्दिरमा रहेको बुद्धको प्रतिमा, मुचलिन्द सरोवरमा बुद्धको मूर्तिको छाया पानीमा पर्दाको सौन्दर्य।
अक्सर यो यात्राभरि नै ४ बजे उठेर ५ बजे नास्ता गर्ने अनि ५:३० मा बसमा आइसक्थ्यौँ। यसो गर्दा बिहान ट्राफिक जाममा नपर्ने अनि बेलुका पनि समयमै गन्तव्यमा पुग्ने। हामी जब गाडीको यात्रामा निस्कन्थ्यौँ, त्यहाँका स्थानीयहरूको शौच गर्ने बेला हुने रहेछ। खुला आकाशमुनि शौच गरेका लाइनका लाइन सधैँ जसो देख्ने गर्थ्यौँ। यो दृश्य सहरमा बसेकाले नदेखेको धेरै वर्ष भएको हुनु पर्छ। तर म अक्सर नेपालको तराईमा गइराख्ने भएकोले मलाई चाहिँ नौलो लागेन।
वाराणसी र काशी र सारनाथ
हामी समयमै सारनाथ पुग्यौँ। यो वाराणसीबाट ८ किलोमिटरको दूरीमा अवस्थित छ। बुद्धपूर्व काशी शक्तिशाली महाजनपद (अहिलेको महानगर सरह) थियो। यसको राजधानी वाराणसी हो। जातकमा यहाँ ब्रह्मदत्त राजाहरूले राज्य गरेको वर्णन छ।
सारनाथ बुद्ध धर्मसँग सम्बन्धित एउटा महत्त्वपूर्ण स्थल हो। सिद्धार्थले बुद्धत्व प्राप्त गरिसकेपछि उनलाई साथ दिएका पाँच जना ब्राह्मणहरू सारनाथमा छन् भन्ने थाहा पाएपछि त्यही पाँच जनालाई पहिलो पटक धर्मचक्र प्रवर्तन गरेको ठाउँ नै यही सारनाथमा हो, त्यसैले सङ्घको स्थापना यहाँ भएको मानिन्छ। यहाँ बुद्ध बस्ने मूल गन्धकुटी विहार, पञ्चवर्गीय भिक्षुलाई ज्ञान दिने विहार तथा पञ्चवर्गीय भिक्षुहरूले टहल्ने मृगदावन रहेको छ।
वाराणसीको विश्वनाथ मन्दिर प्रसिद्ध तीर्थ स्थल हो। मन्दिर जान सबै लालायित थिए। बिहान ५ बजे पुग्दा पनि झन्डै ३ घण्टा लाइन बसेपछि मात्र विश्वनाथ (शिव) को मन्दिर दर्शन गर्न पाइयो। लाइन लामो भएकोले बिच-बिचमा जबर्जस्ती बेलाइनमा आउने जमातको पनि सामना गर्न पर्यो। मन्दिरमा आएका भक्तजनलाई निक्कै व्यवस्थित रूपमा दर्शनको व्यवस्था गरिएको छ। मेरो आँखा टक्क परिसरसँगै रहेको विशाल मस्जिदमा पर्यो। सो मस्जिद विशाल हुँदाहुँदै पनि रङ्गरोगन नगरीकन बेवास्ता गरी छोडेको भान हुन्थ्यो। मलाई यस्तो लाग्यो कि, हिन्दु र मुस्लिमको आस्थाका लागि बनाइने स्थलहरू सँगसँगै हुने अनि जसको प्रभुत्व बलियो हुन्छ त्यसैको आस्थाको प्रतीक बाँकी हुने रैछ। यही कुरो यहाँ पनि देखियो। अयोध्यामा त्यस्तै भएर हिन्दु मुस्लिमको दङ्गा भइराखेको हामी बेलाबेला सुन्ने गर्छौँ।
नेपालमा पनि पशुपतिनाथमा बौद्ध विहार छ भनिन्छ तर त्यो धार्मिक अतिक्रमणले विलय भएको मान्नेहरू छन्। जसको शक्ति उसको भक्ति भन्ने उखान यही प्रवृत्तिले बनेको हुनु पर्छ। विश्वनाथ मन्दिर परिसर गङ्गा नदीकै तटमा भएकोले त्यसलाई प्रस्टसँग हेर्न डुङ्गा सयर गर्नु पर्ने हुन्छ। त्यहाँ श्राद्ध गर्नेहरू पनि थिए हाम्रै टोलीका। यस यात्रामा सहभागी भएका सबैजसो शान्त र संयम थिए। तर पनि एउटा दुइटा अपवाद त हुने नै भो। विश्वनाथ मन्दिरबाट आउँदाको एउटा सन्दर्भ उल्लेख गर्न सान्दर्भिक लाग्यो यहाँ।
हामी ५-५ जनाको समूहमा सारनाथबाट विश्वनाथ मन्दिर टेम्पोमा गएका थियौँ। फर्कँदा, एक जोडीले आफू चढेको पूर्ववत् टेम्पोमा नबसी म र श्रीमती बसेको टेम्पोमा चढे। आफूलाई त सजिलो गरे होलान् तर हामीलाई ती जोडी बसेको टेम्पो कुन हो कुन खोज्न हैरान भयो। हामीले भन्यौँ पनि— तपाईंहरू त हाम्रोमा बस्नुभयो तर तपाईंहरू बसेको टेम्पो त हामीलाई थाहा भएन नि! यसरी आफूलाई सजिलो गर्दा त्यसले अरूलाई अप्ठ्यारो पर्छ भनेर चेत नभएका पनि देखियो। यस्तो प्रवृत्तिलाई आफूलाई सजिलो भयो भन्दैमा जहाँ मन लाग्यो त्यहीँ दिशा गरेर अरूलाई झाडापखाला लगाउने कार्यसँग तुलना गर्न सकिन्छ कि। वाराणसीमा किनमेल पनि केही गरियो, त्यसले मनलाई प्रफुल्लित बनायो। म बार्गेनिङ गर्न नरुचाउने भएकोले ब्रान्डेड सप तिर लागेँ। साडी, कुर्ता किनमेल गर्न गोलघर क्षेत्र प्रख्यात रहेछ। बाटा, गान्धीको खादी दुकान, एम बजार, म्याक्सको कपडा पसलमा केही केही किनियो।
कुशीनगर
बसको यात्रा निकै रमाइलो भइराखेको थियो। काराओके गाउनेहरू त्यत्तिकै थिए, ज्ञानमाला भजन गाउने पनि थिए, आधुनिक गीत गाउने त प्रोफेसनल जस्तै राम्रो गाउँथे। अनि एकजना रोमान्टिक गीत गाउनेले गाएको टुक्रा यहाँ राख्न चाहन्छु— ‘असं त्वा या दबु लिउने मिया तगु ग्वास् ल्यासे मयजु अति हे बाला भतिचा हाकु ख्वा!’
यसरी रमाइलो गर्दै जाँदा बाटो कटेको अत्तोपत्तो हुन्नथ्यो। २५०-३०० किलोमिटरको दूरी छिचोल्न ५-६ घण्टा गएको थाहै पाइन्न। बिच-बिचमा थरीथरीका खानेकुराहरू बाँड्थे एक आपसमा। बदाम, चकलेट, काजु, छोकडा, बजी, भुजिया, पाउ, बिस्कुट, निम्की आदि आदि। गुरुजी टिम पनि सारै मिजासिलो। सबैले यस्तै गुरुजी टिम पाउँछ भन्ने हुन्न। मेरो एकजना साथी माउन्ट आबु राजस्थान गएका थिए यस्तै ग्रुपमा। उनलाई बसको खलासीले एक ठाउँमा बसमा चढ्न आउँदा अलि ढिलो भएपछि झर्केर ‘यस्तोलाई त छोडेर जानु पर्ने’ भनेर मनमा चिसो पस्ने वाक्य प्रयोग गरेका रहेछन्। उनी परे लेखक, लेख्नलाई मसला पाइहाले। उनले त्यही सन्दर्भमा एउटा निबन्ध नै लेखेका थिए मधुपर्कमा ‘पाए पो दिनु’ शीर्षकमा (अर्थात् बसका खलासीहरूले छुच्चो बोली नै यात्रीहरूबाट सुनिरहेका हुन्छन् भने उनीहरूले मात्र कसरी सभ्य बोली यात्रीलाई फर्काउँछन् भन्ने आशय झल्काउन खोजेको)।
हाम्रो गुरुजी टिमले राम्रा धर्मयात्रीहरू मात्र चार र आठ धाम लिएर जाने भएकाले निकै मिजासिलो र सभ्य शब्द मात्र सुनेको र उनीहरूले पनि त्यस्तै शब्द मात्र जानेको देखियो।
कुशीनगर त्यस्तै ३ बजे तिर पुगियो। बुद्धको महापरिनिर्वाण स्थल कुशीनगरमा बौद्ध परम्पराअनुसार पूजाआजा गरियो। त्यसै गरी अन्तिम अवस्थामा बुद्धले पानी पिएको स्थान भनेर छुट्याइएको स्थानमा पनि गइयो। बौद्ध साहित्यअनुसार मल्ल गणतन्त्र दुई वटा थियो— कुशीनगर र पावा। बुद्धको महापरिनिर्वाण पछि दुवै राज्यले बुद्धको अस्थिधातु मागी स्तूप बनाएको उल्लेख छ। महापरिनिब्बाण सुत्तका अनुसार, बुद्ध कुशीनगरको यात्रामा हुँदा, सालका रूखहरूको बगैँचामा हिँड्दा उहाँ अस्वस्थ हुनुभयो। आफ्नो टाउको दाहिने कुहिनोमा भर परेर, आफ्नो हातले टाउकोलाई बिसाएर कोल्टे पर्नुभयो। त्यहाँ, उहाँले परिनिर्वाण प्राप्त गर्नुभयो र सात दिनपछि उनको शरीरलाई कुशीनगरमा दाहसंस्कार गरियो।
संकिसा
नियमित दिन सरह ४ बजे उठ्ने, ४:३० मा चिया सिया खाने। ५ बजे बस चढ्ने कार्य गरियो। बस गुड्नासाथ बुद्ध वन्दना गुरुआमाले सुरु गर्नुहुन्थ्यो। हामीले साथ दिन्थ्यौँ। सबै सुखी जुइमा (होस्), निरोगी जुइमा (होस्), यात्रा सहज होस् भन्ने कामना सबैले गर्थे। थाइल्यान्डका भन्तेले सुखी जुइमालाई छुस् खी (नेपालीमा मुसाको दिसा) जुइमा भनेको भनेर ठट्यौली गरेका थिए। ८ बजेबाट सहयात्रीहरूले लस्करै जिब्रो चपाउने कुराहरू बाँड्न ल्याउनुहुन्थ्यो। यात्रा तिन चौथाइ सकिसकेको थियो तर घर जान कसैलाई हतारको सङ्केत देखिएको थिएन। अघिल्लो दिन हामी ताजमहल हेर्न गएका थियौँ। हाम्रै समूहका एकजना पुरुषले ताजमहल हेरेर फर्केपछि उनलाई मनमा लागेको कुरा सुनाउँदै भने— ‘म अविवाहित भएको कारण बिहेपछि आफ्नो श्रीमतीलाई ताजमहल जस्तै महल बनाइदिनु पर्छ, आफूसँग भने पैसा छैन’ भनेर ठट्यौली गरेर सबैलाई हँसाएका थिए। यात्राभरि नै बुद्धको प्रतिमा देखेकोले ताजमहलमा पनि बुद्धको मूर्ति खोज्दै थिए कोही। यात्रालाई रमणीय बनाउँदै हामी संकिसा पुग्यौँ।
संकिसा भारतको एक प्राचीन सहर हो जुन गौतम बुद्धको तुषिता स्वर्गबाट अवतरणको लागि प्रसिद्ध छ जहाँ उनले संकिसामा अवतरण गर्नु अघि आफ्नी स्वर्गबासी आमालाई शिक्षा दिएका थिए। गौतम बुद्धको महापरिनिर्वाणको लगभग ३०० वर्षपछि राजा अशोकले अशोक स्तम्भको निर्माण गरे जसमा हात्तीको प्रस्तर मूर्ति छ। उनले स्वर्गबाट बुद्धको अवतरणको सम्झनामा एक स्तूप र एक मन्दिर पनि निर्माण गरे। संकिसामा शाक्य थर भएका व्यक्तिहरू भेटियो, जो कपिलवस्तुबाटै आएका मानिन्छन् जसरी काठमाडौँका शाक्यहरू कपिलवस्तुबाट आए। संकिसामा नेपाल विहार पनि रहेछ, नेपालकै धर्मात्माहरूले सहयोग गरी बनाइएको रहेछ। त्यसै गरी एउटा विहारमा अशोकका छोरा महिन्दा र छोरी सङ्घमित्ताको प्रस्तर मूर्ति बनाइएको छ।
श्रावस्ती
संकिसाबाट श्रावस्ती जाँदा एउटा प्रसङ्ग रोचक रह्यो। हाम्रो समूहको एउटा सदस्यले संकिसामा एक हुल केटाकेटी भएको ठाउँमा एकजना ८-९ वर्षकी केटीलाई नाम के हो? घर कहाँ हो? भन्ने सामान्य प्रश्न गरेका थिए। उत्तर पर्खेर बसेका ती प्रश्नकर्ता उत्तर सुनेर हैरान भएछन्। किनभने उत्तर ‘वा वा वा वा वा वा’ मात्र आएछ। कुरो के रहेछ भने ती केटी दुर्भाग्यवश बोल्न नसक्ने रहेछिन्।
श्रावस्ती, गोरखपुरबाट ७० माइल उत्तरपश्चिममा पर्दछ। पालि भाषामा श्रावस्तीको अर्थ सम्पूर्ण (सबै भएको) रहेछ। १६ महाजनपदहरू मध्ये एक महत्त्वपूर्ण राज्य कोसलको समृद्ध राजधानीको रूपमा, श्रावस्ती पाँचौँ र छैटौँ शताब्दी ईसापूर्वमा राजनीतिक, आर्थिक, धार्मिक र दार्शनिकहरूको केन्द्र रहेछ। श्रावस्तीमा जेतवन प्रसिद्ध छ। गन्धकुटी विहार, जहाँ बुद्ध वर्षावास (मनसुन महिनामा एक ठाउँमा बस्ने) बस्नुहुन्थ्यो, बोधीवृक्ष, तथा अन्य असङ्ख्य विहारका भग्नावशेषहरू यहाँको आकर्षण हुन्। विहार परिसरमा पानीको स्रोत इनार पनि संरक्षण गरिएको छ। आनन्दलाई बुद्ध श्रावस्तीमा नहुँदा यहाँको बोधीवृक्षलाई उहाँको प्रतिनिधिको रूपमा पूजा गर्नु भनेको उल्लेख छ र यो वृक्ष बुद्धकालीन नै भएको विश्वास गरिन्छ जबकि बोधगयाको बोधीवृक्ष पटक-पटक जलाइएकोले सो वृक्ष १४० वर्ष अगाडि मात्र श्रीलङ्काबाट ल्याएर रोपेको मानिन्छ।
यदि तपाईं धार्मिक हुनुहुन्न भने पनि, तपाईंलाई यो पवित्र स्थानको शान्तिमा डुब्न मन लाग्नेछ, चुपचाप बस्नुहुनेछ र कल्पना गर्नुहुनेछ कि गौतम बुद्धको ओछ्यान सहितको निवास, गन्धकुटी कति भव्य हुनुपर्छ भन्ने मनमा राख्दै हामीहरूले यहाँ बुद्ध पूजा गरेका थियौँ।
यो पहिले अनाथपिण्डिकले बनाएको ७ तले चन्दन काठको भवन रहेछ, जुन पछि आगोले ध्वस्त भयो। फाहियान र ह्युएन साङले जीर्ण दुई तले इँटाको संरचना देखेका रहेछन्। सूर्यास्तको समयमा चम्किरहेको, कम पर्खालहरूले घेरिएको मुख्य ढुङ्गाको प्लेटफर्मको प्रवेशद्वार नजिकै एउटा सानो चैत्य आकारको प्रतिकृति खडा छ। तीर्थयात्रीहरूले यसलाई सुनको पत्र चढाएकोले पुरै सुनौलो छ। यसको छेउमा कोसंबीकुटी बुद्धको ध्यान कक्ष छ। गन्धकुटीको सामुन्ने स्तूप एच छ जहाँ उनले आफ्ना अनुयायीलाई उपदेश दिन्थे।
लुम्बिनी
आठ धाम मध्येको एउटा धाम लुम्बिनी हो। नेपाल आइपुगेको सम्झाउनलाई अब हिन्दी बोल्न पाइँदैन भनेर निर्देशन दिएको थियो टोली नेताले, ठट्टा गर्दै। हुन पनि भारतमा सबैले हिन्दी बोल्ने अभ्यास गरेको देखियो, सुन्दा रमाइलो नै लागेको थियो। मैले चाहिँ हिन्दी बोलिनँ, गान्धीको खादीको कुर्ता चाहिँ लगाएँ बनारसमा। लुम्बिनीको विस्तृत विवरण मैले पहिले लेखिसकेकोले यहाँ दोहोर्याउन उपयुक्त ठानिनँ।
निष्कर्षमा बौद्ध आठधाम यात्रा विविध अनुभवको सँगालो भएको छ। ५० जनाको समूहमा बसबाट १६ दिन रमाउन सम्भव छ भन्ने अनुभव गरियो। त्यस बाहेक, बुद्धको जन्मथलो पटक पटक पुगे तापनि कर्मथलोसँग सम्बन्धित आठ वटा महत्त्वपूर्ण स्थलहरूको भ्रमणले बुद्धकालीन साम्राज्य तथा वर्तमानसँग परिचित हुने अवसर मिल्यो। यो भ्रमणले मनोरञ्जनको साथै बुद्धदर्शन सम्बन्धी ज्ञानमा स्तरोन्नति भएको अनुभव भयो।






