काउँखोला चोकैमा एउटा मिनिबस रोकिराखेको भेटियो। बसको अगाडि सिकलेस एक्सप्रेस लेखेको रहेछ। बस पदयात्रीहरूले भरिँदै थियो।
समय तेस्तै बिहानको सात बजेको थियो। सामुन्नेमा रहेको होटलको साहुनीले कालो चियामा कागती निचोर्दै भन्नुभयो, 'केही तातो खाएर हिँड्नुहोला सिकलेस पुग्न चार घण्टा लाग्छ।'
मैले तातो चियालाई सुरूप्प पारेँ, चियामा चिनी लागेनछ। ठिकै छ। यतिकैमा ड्राइभरले बस स्टार्ट गरेको देखेर हामी बस चढ्नतर्फ लाग्यौं।
हामी छ जना साथीभाइ मिलेर कपुचेदेखि कोरी सम्मको पदयात्राका लागि निस्केका थियौं। भनिन्छ नि ट्रेकमा जाँदा 'दुई जना डरमर्दो, चार जना भरपर्दो'। हामी त छ जना थियौं। अझ, बाटोमा यात्रा गर्दै जाँदा कति जना जोडिँदै जाने हुन् थाहा छैन।
हामी सकसलाई साहसमा बटुलेर रमाइलो गर्दै यात्रा गर्ने पक्षमा थियौं। बसले हामीलाई १०:३० बजेतिर सिकलेस पुर्यायो। अब यहाँबाट हाम्रो ट्रेकिङ सुरू हुने भयो।
कास्की जिल्लाको मादी गाउँपालिका १ भित्र पर्ने सिकलेस गाउँ विभिन्न उच्च हिमश्रृंखलाहरू अन्नपूर्ण दोस्रो र तेस्रो, लम्जुङ हिमालको दक्षिणी फेदी सम्म पुग्ने प्रवेशद्वार हो। सिकलेस एउटा पुरानो गुरूङ गाउँ हो। यो गाउँको आफ्नै भाषा, संस्कार, संस्कृति र परम्परा छ। गाउँको घरधुरीहरू ढुंगा र टिनबाट बनेका छन्। फराकिला आँगन सँगै छेउका पशु चौपाया र गोठहरूमा दाउराको खलिया देखिन्छन्।
-1762867347.jpg)
गाउँ प्रवेश गर्दा बित्तिकै फराकिला ढुंगाका छपनीहरूले छापिएका गोरेटो, पानी पँधेरो र चोक चौतारहरूले गाउँको शोभा बढाएको देख्न सकिन्छ। हरेकजसो सिजनमा यहाँका पदमार्गहरू सुरक्षित रहेकाले स्वदेशी तथा विदेशी पर्यटकहरू माझ ट्रेकिङका लागि व्यस्त नै रहन्छ। त्यसैले पर्यटनको वृद्धिसँगै सिकलेस गाउँ होमस्टे र होटल व्यवसायको लागि प्रख्यात रहेछ।
कपुचे तालः
हामी सिकलेसबाट कपुचेतर्फ अगाडि बढिरहेका थियौं। यात्रामा भेटिने पदयात्रीहरू कोही विदेशी छन्, कोही स्वदेशी, कोही जेनजी छन्, कोही मिलेनियल्स त कोही जेनएक्स समेत छन्। केही विदेशी पर्यटकले त आफ्ना ५-६ वर्ष उमेरका जेन अल्फा समेतलाई साथमा हिँडाइरहेका छन्। म यसो बाटोमा भेटिएका र पछि परेकाहरू सबैको अनुहार सरसर्ती हेर्छु, आफूजस्तै लाग्छ।
हरेकमा ऊर्जा र उमंग उस्तै, थकाइ उस्तै, झोलाको बोझदेखि भोकसम्म उस्तै छ। हिँड्दै गर्दा बाटो कतै निकै अप्ठ्यारो र साँघुरा थिए। कतै ठाडो उकालो त कतै छङ्गाछुर भिरहरू भेटिन्थे। बाटोमा पिउने पानीको भने समस्या कतै भएन। चिसो खनिजयुक्त खोला खोल्सीका पानीहरूले हाम्रो भोक भुलाइरहेझैं लाग्थ्यो। जंगलको भित्रभित्र यात्रा गर्दा निगालाका घारीहरू छिचोल्दै अघि बढ्नुपर्छ। तलपट्टि कपुचे तालबाट बग्दै आएको मादी नदीको गडगडाहट र बाटामा भेटिने अग्ला झरनाहरू सँगै झलुङ्गे पुल र काठेपुलहरूले यात्रालाई अझ रोमाञ्चक बनाइहेको थियो।
हामी सिकलेसबाट हिँडेको करिब ६ घण्टामा हुगु गोठ पुगियो। यो त्यही ठाउँ हो जहाँबाट कपुचे ताल र कोरी लेक जाने दुई बाटोहरू छुटिन्छन्। हामीले मादी नदीको किनारसँगै २१०० मिटरको उचाइमा रहेको हुगु गोठमा एकछिन आराम गर्ने निर्णय गर्यौं। यहाँ बीच बाटोमा कतै टी-सपहरू छैन। यही हुगु पुगेर खाजा-खाना खान सकिन्छ। हिँड्न गाह्रो हुनेहरूले पनि यही बास बस्न सक्ने रहेछन्।
हामी भने हुगुमा रहेको होटल आइसफलमा तातो झोलिलो चाउचाउ अण्डा खाएर अघि बढ्यौं। अगाडि बढ्दै जाँदा साँझ ढल्किँदै गयो। टर्चलाइट र मोबाइलको फ्ल्यास लाइट बाल्दै जसोतसो जंगल भित्रको रात छिचोल्दै राति करिब ८ बजेतिर हामी कपुचे ताल छेउमा रहेको होटल मल्लिकामा पुगेर बास बस्यौं।
भोलिपल्ट बिहानै ६ बजे उठेर समुद्री सतहबाट २५४६ मिटर उचाइमा रहेको कपुचे ताल हेर्ने गयौं। आठ हजार मिटरभन्दा अग्ला विश्वकै चर्चित अन्नपुर्ण हिमश्रृंखलाको शिरबाट खसेका हिमपहिरोबाट बनेको ताल हो यो। ताल निकै सुन्दर र निलो थियो। तालको पारि मुहानपट्टि अन्नपूर्णबाट बगेर झरेको झरना र हिमालबाट बिस्फोट भएर खसेका हिमपहिरोका अवशेष, हिमशिलाहरूको रास देख्न सकिन्थ्यो। यो ताल विश्वकै कम उचाइमा भएको हिमताल हो पनि भन्ने गरिन्छ। नदीको शिरविन्दु भएकाले मैले चिसो तालको पानीलाई अञ्जुलीमा लिएर ढोगेँ।
यहीबाट सुरू हुन्छ पवित्र मादी नदी।
मादी नदीको मुहान वा सुरूवाती विन्दु कास्की जिल्लाको यही मादी गाउँपालिका वडा नं १ मा पर्ने कपुचे तालबाट सुरू भएर लम्जुङको भोर्लेटार हुँदै तनहुँको दमौलीमा गएर सेती गण्डकीमा मिसिन्छ।
कोरीबाट हिमालः
दोस्रो दिन बिहान हामी कपुचेबाट कोरीतर्फको यात्रा सुरू गर्यौं। कोरी जानको लागि सवा घण्टा जति तल हुगु गोठ झरेर कोरी तर्फको बाटो समाउनु पर्ने थियो। हामीसित बाटोमा दुई जना अरू साथी थपिए। बसन्ती र मनिसा दुई दिदीबहिनी पनि हामी सँगै कोरी जाने सहयात्री बन्न पुगेकाले हाम्रो ग्रुप अब छ जनाबाट आठ जना भयौं।
हामीमा नयाँ बिहानीको जोस थियो। त्यसैले अबेला नगरी तल हुगु गोठ पुगेर खाना खाने अनि कोरीतर्फ उकालो लाग्ने योजना बनिसकेको थियो। हुगुमा रहेको नमस्ते गेष्ट हाउसको होटलमा बसेर हामीले खाना खायौं। खाना खाइसकेर कोही एकछिन घाम ताप्दै थियौं त कोही लत्ताकपडा र झोला मिलाउँदै थियौं। होटलबाट अगाडिपट्टि पृष्ठभूमिमा अग्लो अन्नपूर्ण हिमाल देखिरहेको थियो। होटल वरपर करेसाहरूमा सयपत्री फूलहरू ढकमक्क फुलिरहेका थिए। वातावरण रंगीन थियो।
ओहो! सिँढी नै सिँढी। कोरी पुग्न हामीले हुगुबाट ७०० मिटरको उचाइ हासिल गर्नका लागि ठाडो उकालो चढ्दै थियौं। एकोहोरो ढुंगाले चिटेका सिँढीहरू एकनासले चढिरहनुपर्दा बाटो निकै अत्यासलाग्दो थियो। साथी भाइहरू थाकिसकेका थिए। १-२-३ घण्टा उकालो लागिसक्दा पनि न खर्क भेटिन्छ, न गोठ भेटिन्छ। बाटो हामीले निकै कठिनताका साथ छिचोल्दै थियौं। बाटोमा कोरीतर्फ उक्लने पदयात्रीहरू मात्र थिए। बाटोमा भेटिने सबैको हालत उस्तै थियो। कोही बसेर सुस्केरा हाल्दै पसिना पुछ्दै गरेको भेटिन्थे त कोही झोलालाई सिरान हालेर पल्टिरहेको देखिन्थे। खाने कुरा बोक्नेले भारी घटाउन चकलेट चाउचाउ बाँडिरहेका छन्। कसैले बोतलमा पानी आधी मात्र भरेका छन्। कोही भने आफैले रहर गरेर बोकेका झोलाभित्रका सामानहरूसँग झर्को मानिसकेका छन्। कोही कसैलाई उछिनेर अघि बढिरहेका छन् त कोही अब योभन्दा अगाडि बढ्न सक्दिनँ भन्दै हरेस खाइसकेका भेटिन्छन्। तर हिँड्नुको विकल्प छैन। बाटोमा न गोठ छ न होटल। कोरी नपुगी बास छैन।
हुगुबाट हिँडेको करिब ६ घण्टापछि नोह्था भन्ने ठाउँमा पारिलो खुला ठाउँ देखियो। यउटा सानो टी-सप रहेछ। सबैको सास पलाएर आयो। ट्रेकमा आएका अरू केही २५-३० जना जति मानिसहरू पनि आराम गरिरहेका रहेछन्। पसलमा दुई वटा टेन्ट थियो, मुस्किलले दुई जना अट्ने खालको। भित्र पसलमा चियाका लागि चियापत्ती र चिनी, स-साना झोलामा चामल र आलु बाहेक अरू केही देखिनँ मैले।

सायद कतै कुनामा विस्कुटका केही पुरिया हुँदो हो। हामीले मनतातो चिया खाएर उकालो लाग्यौं। समय निकै घर्किसकेको थियो। हामीसँगै यात्रा गरिरहेकी बसन्ती पहिला पनि धेरै ठाउँहरूमा ट्रेकिङ गइसकेको अनुभवले विस्तारै हामीलाई अघि बढ्न प्रेरित गरिरहेकी थिइन्।
उसको सल्लाह बमोजिम थकाइ मारेर रोकिनुभन्दा आस्तै आस्तै नरोकिइकन अगाडि पाइला चाल्दै उकालो लाग्यौं। हामी कहिले अन्ताक्षरी खेल्थ्यौं त कहिले एक अर्कालाई खिस्याउँदै बिल्याउँदै हाँस्दै उकालो लागेका हुन्थ्यौं। जति माथि गयो उति हिमाली श्रृंखलाहरूको मनोरम दृष्य देखिन्थ्यो। घाम अस्ताउन लाग्दा सुनौला मुकुट जस्ता देखिन्थे हिमालहरू। यात्रामा हरेका क्षणहरू (थकान, हाँसो, दुखाई, परिवेश, वातावरण, दृष्य, हिमाल, हावा आदि) देखिने र अनुभूत गर्न सकिने नसकिने दुवै पक्षहरू महत्वपूर्ण हुँदै जान्छ। त्यसैमा रमाउँदै हिँड्न सकियो भने गन्तव्यमा पुग्न सहज हुन्छ।
बेलुकाको ६ बजिसकेको थियो। साँझ छिप्पिँदै गयो। हामीले आज पनि आफ्ना टर्च लाईट र मोबाइल फोनहरूले बाटो पहिल्याउँदै अघि बढ्न सुरू गरिसकेका थियौं। अधेँरो बढ्दै जाँदा बाटोमा हिँडेका पदयात्रीहरू पनि एकीकृत हुँदै समूह समूहमा हिँड्न थाले। माटोको भर ढुंगा, ढुंगाको भार माटो भनेझैं हिँड्न नसकेकालाई सक्नेको साथ चाहिएको थियो भने उज्यालोका लागि लाइट नहुनेहरूलाई उज्यालो हुनेको भर चाहिएको थियो।
हामी जसोतसो राति ८ बजेतिर कोरी पुगियो। कोरीमा जम्माजम्मी चार वटा होटल रहेछन्। हरेक होटलको पाहुना राख्ने क्षमता ३० देखि ४० जना भएता पनि मानिसहरूको भीडले गर्दा एउटै होटलमा ६० देखि ८० जना भन्दा धेरै पर्यटकको व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको थियो।
साथीभाइले होटलमा रूम मिलाउन सक्ने तैं होस् भनेर मलाई अघि सारिदिए। मैले कोरीको सबै होटलमा रिक्वेस्ट गर्दा पनि कहीँ बास मिलाउन सकिनँ। सबैजसो होटलले बास छैन 'सरी भाइ' अन्त म्यानेज गर्नु भनिदियो। मैले होटल कोरीको दाइलाई भने 'दाइ अन्त त कता जानुः जति छ होटल यहीँ छ, यति नै रहेछ। हामी जसोतसो किचनमै सुत्छौं त्यो पनि नभए कतै ओतमुनि म्याट राख्दिनु त्यतै रात काट्छौं' भने।
होटलको दाइले फेरि भन्नुभयो 'भाइ किचनको भुइँ पनि फूल भैसक्यो यार अब केही बिकल्प सोचौंला झोला राखेर आगो ताप्दै गर्नुस् एकछिन।'
त्यसो भनेपछि हामीलाई केही सन्तोक मिल्यो। राति हामी सानो कोठामा १७ जना सुत्यौं।
मादी गाउँपालिका १ मा पर्ने कोरी समुद्री सतहदेखि करिब ३८०० मिटरको उचाइमा रहेको छ। बिहान मुख धुन उठ्दा अगाडि अग्लो लम्जुङ हिमाल देखियो। मन ढक्क फुलेर आयो। मैले साथी सुजनलाई हिमाल हेर्न उठाएँ। मन पुलकित भएर रमायो। ओहो! यति राम्रो हिमाल, अनि यति नजिक। मलाई दुई दिनको दुःख गरेर कोरी पुगेको सार महसुस भयो। पदयात्राले सार्थकता पायो। हामी सबैजना कोरी भ्यूपोइन्ट पुगेर अन्नपूर्ण, माछापुच्छ्रे, लम्जुङ हिमाल लगायत साना ठूला हिमश्रृंखलाहरू हेरेर आनन्द लियौं। मौसम सफा भएकोले दक्षिण पट्टिको भागमा तल पोखरा, सिकलेस, तान्तिङ गाउँहरू देख्न सकिन्थ्यो।
-1762868297.png)
सूर्योदयसँगै सूर्यको पहिलो स्पर्शले पोतिएका सुनौला, रंगीन राता हिमालहरू केहीबेर हेरेर हामी भ्यू पोइन्टबाट होटल फर्कियौं। बिहानको खाजा (चिया, चना, तरकारी, रोटी) खाएर तल ओर्लियौं।
अब आजको हाम्रो यात्रा सिकलेस फर्किएर राति बास बस्ने थियो। पुगिन्छ पुगिँदैन कति बेला पुगिन्छ ट्रेकिङमा निस्किएछि यसै भन्न सकिँदैन। त्यसै माथि मलाई उकालो चढ्दा जति सहज थियो ओरालो झर्न उति नै गाह्रो हुन्छ। हामी फर्कंदा अर्को रूट भएर फर्कने योजनामा थियौं। कोरीबाट चिगा गोठ, तासा गाउँ, मार्ले कटेज हुदै मादी नदी तरेर सिकलेस फर्कने योजनामा कोरीलाई फेरि भेटौंला भन्दै उही हाम्रो आठ जनाको ग्रुप तल झर्यो।
हामीले बाटोमा थकाइ भुलाउन एकैछिन गीत गाउने र नाच्ने पनि गरेका थियौं। सोही गीतको एक अंश,
कोरीबाट हिमालै झलल
मादी खोला बगेको सलल
हाँसेर बोलिदेऊ माया,
यसै गरी भेट कैले हुन्छ र ...