केही वर्षयता लामो समयसम्म काठमाडौं बस्ने अवसर जुरेको थिएन। यसपटक महिनाभरि जसो काठमाडौंमै बस्नुपर्यो। हामी राजधानी बाहिर बस्ने मानिसहरूमा एउटा अनौठो मनोविज्ञान हुन्छ। काठमाडौंमा के के नै छ होला भन्ने उत्सुकता लाग्छ। प्राय: कामको लागि जानै पर्छ, तर केही दिन बित्न नपाउँदै काम छिट्टै सकियोस् र घर फर्किन पाइयोस् जस्तो हुन थाल्छ। पोखरा जो यस्तै छ।
काठमाडौंमा अझै केही दिन बस्नुपर्ने काम बाँकी नै थियो। तर त्यही बेला डाँडा उक्लिने प्रस्ताव आयो। यस्ता प्रस्तावहरू म प्रायः गुमाउन चाहन्नँ। बाँकी काम मित्र कमललाई नै जिम्मा लगाएँ र म भने पोखरातिर हुइँकिएँ।
यस यात्राको अर्को मिठो पक्ष पनि थियो। भाइको बिहेको रमझम सुरू हुनै लागेको थियो। यही मौका पारेर बहिनी सुस्मिता र ज्वाइँ सिद्धार्थ अस्ट्रेलियाबाट स्वदेश आएका थिए। बिहेको चहलपहल सुरू हुन अझै केही दिन बाँकी नै थियो, त्यसैले सबै मिलेर ट्रेक जाने योजना बन्यो। धेरै समयपछि परिवारसँग यसरी निस्कने अवसर जुरेको पनि थियो।
-1780134401.jpg)
सदाझै बिहान ४ बजे आलार्म बज्यो, टिङ टिङ टिङ। निद्राले अझै आँखा भारी थिए, तर यात्रा सुरू गर्ने उत्साहले शरीरलाई उठाइहाल्यो। बिहानै भाइ स्वतन्त्र गाडी लिएर आयो। मलाई र श्रीमती लक्ष्मीलाई चाउथेबाट पिकअप गर्यो। त्यसपछि हामी रत्नचोक पुग्यौँ, जहाँबाट ज्वाइँ सिद्धार्थ र बहिनी सुस्मितालाई साथ लियौँ।
अघिल्लो रातसम्म हाम्रो टोलीमा सामेल हुने योजना बनाए पनि अन्तिम समयमा ट्रेकमा जान नसकेको भाइले हामीलाई काँडेसम्म छाड्ने जिम्मा पाएको थियो।
निर्माण भएको दशक पुग्न लाग्दा, हजारौं पल्ट त्यही बाटो यात्रा गर्दा नचढेको सिर्जना चोकको पुल आकाशे पुल पार गर्यौँ। यस पुलको डिजाइनले कहिले आकर्षण गर्न सकेन। जिरोको फराकिलो सडक हुँदै, विन्दवासिनी मन्दिरलाई दाहिनेतिर पार्दै, हरिचोक, हेम्जा र पागलबस्तीका गाउँहरू पार गर्दै गाडी सररर अगाडि बढिरह्यो।
बिहान ठीक ६ बजे हामी काँडे पुग्यौँ। काँडे अन्नपूर्ण क्षेत्रको पदयात्रा सुरू हुने मुख्य प्रवेशद्वार हो। समुन्द्र सतहदेखि १७७० मिटरबाट सुरू हुनेछ यो यात्रा।
बिहानको चिसो हावा, डाँडामाथि बिस्तारै फैलँदै गरेको उज्यालो, अनि वरिपरिको शान्त वातावरणले यात्राको सुरूआतलाई झन् सुन्दर बनाइरहेको थियो।
अब हाम्रो पैदल यात्रा सुरू भयो। हामीले आफ्ना झोलाहरू काँधमा हाल्यौँ, टर्चको लाइट बाल्यौँ। अनि सेल्फी हान्दै पाइलाहरू अघि बढायौँ। झिसमिसे उज्यालोमा पहाड उक्लिँदै गर्दा सुरूमै आएका ढुंगे सिँढीहरूले शरीरलाई थकानको संकेत दिन थालेका थिए।
तर वरिपरिको हरियालीले त्यो थकान बिर्साइरहेको थियो। घना जंगल, चिसो हावा, चराचुरूङ्गीको आवाज, बाटोभरि देखिने गाउँ, खेतबारी र पहाडी दृश्यहरूले यात्रालाई अविस्मरणीय बनाइरहेका थिए।
करिब दुई घण्टाको उकालोपछि हामी अस्ट्रेलियन क्याम्प पुग्यौँ। यो २१०० मिटरमा अवस्थित छ। यो ठाउँ यस यात्राको सबैभन्दा आकर्षक गन्तव्यमध्ये एक हो। यहाँबाट अन्नपूर्ण रेन्ज, माछापुच्छ्रे लगायतका हिमशृंखलाको अद्भुत दृश्य देखिन्थ्यो।
बिहान नास्ता नगरी हिँडेका हामीले त्यहाँको तातो चियासँग साथ खोज्यौं। चिया र नास्तासँगै हिमाल हेर्दै बस्दा मन एकाएक शान्त भयो। सहरको हतार, भीडभाड र तनावभन्दा कति फरक संसार रहेछ यो।
पोखरा–काँडे–अस्ट्रेलियन क्याम्प यात्रा छोटो समयमै पूरा गर्न सकिने, सजिलो र अत्यन्तै यादगार पदयात्रा हो। पोखरा बसेर चार दशक उमेर बिताउनै लाग्दा पनि नजिकका स्थलहरू नपुग्नु पनि दु:खको कुरा नै रहेछ।
नास्तापछि फेरि यात्रा सुरू गर्यौँ। अस्ट्रेलियन क्याम्प धम्पुसतिरबाट पनि आउन सकिने रहेछ। यहाँबाट धम्पुस र पोथना, लान्द्रुक जाने गोरेटो भेटिन्छ, हामी पोथना/लान्द्रुकतिर लाग्यौ। म श्रीमती प्राय: ट्रेक गइरहने थियौं तर बहिनी ज्वाइँको लागि नयाँ अनुभव थियो। टोली निकै उत्साहित थियो।
-1780134401.jpg)
केही तल पुगेपछि अन्नपूर्ण कन्जरभेसन एरिया प्रोजेक्ट 'एक्याप' को चेकपोस्ट भेटियो। त्यहाँ नाम दर्ता गर्यौँ। नाम लेखाइसकेपछि त झन् हामी आफूलाई आधिकारिक ट्रेकर नै सम्झिन थाल्यौँ।
त्यसपछि हामी पोथना, देउरालीतिर लाग्यौँ। लगभग ३० मिनेट जति हिँड्दा एउटा दोबाटो आयो। बाटोमा आफ्नै तरिकाले समय लेखिएका थिए। अनमल परियो। कुन बाटो समाउने भन्नेमा केहीबेर छलफल भयो। अन्ततः हामीले एउटा बाटो रोज्यौँ।
तर त्यो निर्णयले पछि गाली पनि खानुपर्यो।
४५ मिनेटमा पुगिने देउराली भनिएको बाटोमा हामी ३ घण्टासम्म जंगलै जंगल हिँडिरह्यौँ। वरिपरि घना वन, सुनसान बाटो, मान्छेको नामोनिसान छैन। कहिले माथि, कहिले तल। एकछिन त लाग्यो कता पो लागियो। सानो झाप्रो र पोखरी भएको स्थान पुग्यौं। यहाँ वाटलुम्ले पुगिने रहेछ। लुम्लेतिरबाट आउँदा यो बाटो प्रयोग गर्न सकिने रहेछ। अहिलेसम्म ओरालो धेरै थियो। अब बाटो जस्तो लाग्ने बाटो उकालो लाग्यौं।
शरीर बिस्तारै शिथिल हुँदै गइरहेको थियो। थकान, भोक र अलमल मिसिएको त्यो समय अहिले सम्झिँदा पनि रमाइलो लाग्छ। अन्ततः बल्लतल्ल देउराली पुग्यौं। यो २१०० मिटर उचाइमा रहेको छ। यहाँबाट लान्द्रुक छुट्टिन्छ।
त्यही बेला महसुस भयो। यात्रा भनेको यस्तै रहेछ। बाटो बिराए पनि कथा पाइन्छ, दुःख पाए पनि हाँसो पाइन्छ।
दिउँसोको खाना त्यहीँ खायौँ। केहीबेर आराम गरेपछि फेरि उकालो समात्यौँ। खाना र विश्रामले शरीरलाई अलिक सहज बनाएको थियो।
जंगलभरि फुलेका लालीगुराँसका दृश्यले बाटोलाई झन् रंगीन बनाइरहेका थिए। कतै राताम्मे गुराँस, कतै कुहिरोले ढाकेका रूखहरू। फोटो र भिडिओ खिच्ने त होड नै चल्यो।
बेलुका करिब ६ बजे हामी फरेष्ट क्याप पुग्यौँ। यो २५५० मिटरमा रहेको छ। त्यो दिनको बसाइँ त्यहीँ थियो। बाटोभरि आगो तापेर, नाच्दै थकान मेटाउने योजना बनाउँदै हिँडेका हामी, हिस्स पर्यौं। आगो बाल्न र होहल्ला गर्न निषेध रहेछ। अब थाकेको शरीरले गफभन्दा निन्द्रा नै खोज्यो। खाना खायौँ र सबै जना चाँडै निदायौँ।
दोस्रो दिन कुनै हतार थिएन। बिहान ७ बजे नास्ता खाएर हामी फेरि यात्रामा निस्कियौँ। आधा घण्टा जति हिँडेपछि गुराँसले ढाकिएको एउटा रेष्ट ठाउँ आयो। त्यहीँ हामीले गुराँस साटासाट गर्दै प्रेमको शुभकामना आदानप्रदान गर्यौँ। चिसो मौसममा प्रियसँगको त्यो क्षण झन् न्यानो बनेको थियो। गुराँस टिप्न नसक्ने माथिमाथि थिए। हिँड्दै जाँदा बाटोमा भेटेका थियौं। हाम्रो हातमा गुराँस देखेपछि धेरैले एक्यापले देखेमा जरिवाना लगाउँछ भने डरले गुराँस झोलामा राख्यौं। गुराँसको हाँगा सहित भाँच्यो भने फेरि नपलाउने रहेछ। जति माथि उक्लिँदै गयौँ, चिसो त्यति बढ्दै गयो। लो क्यमामा चिया पियौं यो २९७० मिटरमा छ। दिउँसो १२ बजेतिर हामी बादल डाडा पुग्यौँ। यो ३२५० उचाइमा अवस्थित छ। त्यहीँ खाना खायौँ। अब चिसोको वाण सुरू बल्ल हुँदै थियो। खाना सकेर निस्किनेबित्तिकै पानी पर्न सुरू भयो। हामीले रेनकोट लगायौँ। केहीबेरपछि त साना–साना हिउँका कणहरू झर्न थाले। बिस्तारै जमिन सेताम्मे हुन भयो।
हामी चारै जनाले जीवनमै पहिलोपटक यसरी प्रत्यक्ष हिउँ परिरहेको देखिरहेका थियौँ। रमाइलोको सीमा नै रहेन। बाटोभरि हिउँ खेल्दै, हाँस्दै, फोटो खिच्दै अगाडि बढ्यौँ। भाइको बिहेको जोक मार्दै हिँड्यौं। जोक के भन्नु उडाउँदै हिँड्यौं। बिहेका योजनाहरू बुन्यौं। दुलाहाभन्दा हामी घुम्न हिँडेकालाई के के बितेझैं गफ चुट्यौं।
करिब ६ घण्टाको यात्रापछि हामी हाई क्याप पुग्यौँ। यो यात्राको अन्तिम बास बस्ने स्थान हो। यो ३५८० मिटरमा छ। त्यहाँ होटलको पालो प्रणाली रहेछ। हामीलाई परेको होटलमा पुगेर सामान कोठामा राख्यौँ र हलमा जम्मा भयौँ।
बाहिर हिउँले सबैतिर सेताम्मे बनाइसकेको थियो। बत्तीले भ्याएसम्म सबै सेतो मात्र देखिन्थ्यो।

त्यो रात त्यहाँ धेरै विदेशी र नेपाली ट्रेकरहरू थिए। कसैसँग गफ गर्यौँ, कसैका कथा सुन्यौँ। यात्राले अपरिचितलाई पनि चाँडै नजिक बनाइदिन्छ रहेछ। आज हामी बाटोभरि हिउँ भनेर रमाइरहेको त हिउँ असिना भन्दा रहेछन्।
त्यहीँ बस्दा थाहा भयो। मर्दी ट्रेकलाई सहज बनाउन र यहाँसम्म सुविधा पुर्याउन स्थानीय मानिसहरूको ठूलो योगदान रहेछ। पहिला भैंसी चराउने खर्कहरू आज ट्रेकरहरूको बसोबास बन्न पुगेका रहेछन्। पानी व्यवस्थापन गर्ने क्रममा पहाडबाट लडेर ज्यान गुमाएका एक स्थानीय व्यक्तिको कथा सुन्दा मन भारी भयो। यहाँका मानिसहरूका लागि उनी अझै सम्मानित र अमर रहेछन्।
भोलिपल्ट बिहान ३:३० बज्नुअघि नै ब्युँझियौँ। अर्लाम बज्नुअघि उठेर त्यसलाई बन्द गर्नु पनि एउटा विजय जस्तै लाग्यो। बाक्ला कपडा लगायौँ। आवश्यक बाहेकका सामान कोठामै छाड्यौँ। अँध्यारोमै टर्च बाल्दै हामी उकालो लाग्यौँ। बाहिर रातभरि परेको हिउँले बाटो सेताम्मे बनाएको थियो। चिप्लिने डर थियो। चिसोले हात कामिरहेका थिए।
तर मान्छेको ताँती थियो। कोही हामीलाई उछिन्दै अगाडि बढिरहेका थिए, हामी कसैलाई उछिन्दै हिँडिरहेका थियौँ। टाढा डाँडाको टुप्पोमा देखिने बत्तीलाई लक्ष्य बनाएर हामी अघि बढिरह्यौँ।
२५–३० मिनेटपछि 'अब त पुगियो' जस्तो लाग्थ्यो। तर त्यहाँ पुग्दा फेरि अर्को डाँडाको टुप्पोमा बत्ती देखिन्थ्यो। यात्राले धैर्य सिकाइरहेको थियो। हिजो अस्तिका झोलाका खाने कुरा खोजीमा पोका राखेका थियौं। बिस्तारै खाँदै, आराम गर्दै हिँडिरह्यौं। करिब ३ घण्टाको कठिन यात्रापछि झिसमिस उज्यालो हुन थाल्यो। हामी अपर भ्यू प्वइन्ट पुग्यौँ। त्यहाँ सानो टहराहरू रहेछन्। चिया पाइन्थ्यो। आगो ताप्न पाइन्थ्यो। हामीले चिया र बिस्कुटसँगै हातखुट्टा र पेट दुवै ततायौँ। बिस्तारै उज्यालो फैलिन थाल्यो। अनि एकाएक हिमालहरू देखापर्न थाले। त्यो क्षण वर्णन गर्न शब्द कम पर्छन्। अहिलेसम्मको सबै दुःख, थकान र चिसो एकैचोटि बिर्सियौँ।
सबै जना फोटो र भिडिओमा व्यस्त भयौँ। हामी समुद्री सतहबाट ४२०० मिटर माथि थियौँ। गएकाहरूका लागि स्मरण होस् तर नगएकाहरूलाई त्यो स्वर्गीय ठाउँ कसरी बयान गरूँ। सम्झनुस् तपाईं स्वर्गमा हुनुहुन्छ। प्राय: ट्रेकरहरूको यही अन्तिम गन्तव्य हो। कसैको शरीर त कहिले मौसमले अगाडि जान सक्दैन्न। स्वर्ग कल्पनाको सबभन्दा सुन्दर ठाउँ हो। अझ माथि मर्दी हिमाल बेस क्याम्प जाने जोश पनि थियो।
केही माथि हिँडेपछि बहिनीलाई गाह्रो हुन थाल्यो। ज्वाइँ सिद्धार्थ बहिनीसँगै बस्ने हुनुभयो। हामीले समूह सेल्फी खिच्यौँ। अनि 'बेस क्याम्प पुगेर फर्किन्छौँ' भन्दै म र श्रीमती लक्ष्मी अगाडि लाग्यौँ।
हिउँले ढाकिएको साँघुरो गोरेटो, एकातिर भिर, अर्कोतिर सेता हिमाल। हरेक पाइला सावधानीपूर्वक चाल्नुपर्थ्यो। तर जति माथि पुगिन्थ्यो, दृश्य त्यति नै अद्भुत बन्दै जान्थ्यो। हिउँमा खुट्टा गाडिँदा निकाल्न मुस्किल हुँदै थियो। चिप्लियो भने कहाँ पुगिन्छ ठेगान थिएन। बाटो आफै बनाउँदै हिँड्नु पर्ने थियो।

अन्ततः हामी मर्दी बेस क्याम्प पुग्यौँ। यो ४५०० मिटर उचाइमा छ। अझ माथिसम्म जान सक्छु कि भन्ने लाग्यो। श्रीमतीलाई त्यहीँ छाडेर म हिँडेँ।बाटोमा केही हिँडेको जस्तो पाइला थियो। हिजो कुकुरहरू मानिस सँगै हिँडेका थिए। उहाँ पनि आइपुगेछन् लाग्यो। अब म ४८०० उचाइमा पुगेर आफ्नै नर्थ एबिसीको रेकर्ड तोडेँ। त्यो क्षणमा कुनै ठूलो विजय हासिल गरेजस्तो अनुभूति भयो। वरिपरि अन्नपूर्ण हिमशृंखला, अगाडि माछापुच्छ्रेको विराट स्वरूप, तल बादलको समुद्र। प्रकृतिले मानौँ आफ्नो सबैभन्दा सुन्दर रूप त्यहीँ देखाइरहेको थियो। अब डर भो। एक्लै अनि अघिको पाइला शंका भो। अनि अरू माथि जाने आँट गर्न सकिनँ। पोखरा फर्किए पछि थाहा भयो त्यो पाइला हिउँ चितुवाको रहेछ।
ओहो, धन्न चितुवाको आहार हुनबाट बचिएछ। लक्ष्मी भएको ठाउँ पुगेँ। केहीबेर त्यहीँ बसेर हिमाल नियाल्यौँ। फोटो खिच्यौँ। मनभरि दृश्यहरू कैद गर्यौँ।
तर हिमालको मौसम भरोसालाग्दो हुँदैन। चिसो बढ्दै गइरहेको थियो। त्यसैले केहीबेरपछि हामी फर्कियौँ।
फर्किने बाटो उकालोभन्दा सजिलो लागे पनि हिउँका कारण धेरै ठाउँ चिप्लो थियो। सावधानीपूर्वक तल झर्यौँ। हिउमा लडिबुडी गर्दै खेल्यौं। जति हिँडे पनि हाइ क्याम्प पुगिँदैन। बिहान कहिले हिँडियो बाटो फर्कँदा कहालीलाग्दो भयो।
हाई क्याम्प फर्किँदा बहिनी र ज्वाइँ हाम्रो प्रतीक्षामा थिए। सबै भेटिएपछि मन झन् हलुका भयो। आज पोखरा फर्किने पर्ने नै थियो। हतार, हतार प्याकेजको नास्ता गर्यौं। अनि फेरि फर्किने यात्रा सुरू गर्यौं। हाई क्याम्पबाट निस्कियौं। पुग्नु पर्ने गन्तव्यको यात्रा सकियो। गफ, चिया र यात्राका अनुभवहरूमा बाटोको गफका विषय बन्दै गए। उकालो चढ्दा जति गाह्रो लागेको बाटो, झर्दा त्यति छोटो लागिरहेको थियो। जंगल फेरि सुरू भयो। गुराँसका फूलहरू फेरि भेटिए।
बिस्तारै फेरि चिसो झन् बढ्यो। पानी पर्यो। हिउँ पर्दै गयो। फेरि हरियाली सुरू भयो। लो क्याम्पमा पेट भर्यौं। थकान थियो। वर्षौंपछि यहाँ पनि हिउँ परेको रहेछ। यहाँका मानिस आन्नदित थिए। समय धेरै कटिसकेको थियो। लो क्याम्पबाट हामी सिदिङ्ग तिर लाग्यौं। जंगल, गाउँ हुँदै हामी तल झरिरह्यौँ। थकान थियो, तर मन सन्तुष्ट थियो। बाटोमा नेपालको संघर्षका कुरा भए। अस्ट्रेलियाको जीवनको कुरा भए। स्वदेशी र विदेशी बीचका कथाहरू सुन्ने सुनाउने काम भए। छोटो बाटो भनेर काँडेतिर नगइ यो बाटो तय गरेका हामी थमानको उच्च बिन्दुमा पुग्यौं। हिँड्न समस्या सबैलाई भयो। बीचतिरै बास बस्ने सल्लाह पनि दिए। तर राति ८ बजे सिदिङ्ग गाउँ पुग्यौं। स्थानीयले जिप बोलाइ दिनुभयो।
गाडीमा बस्दा एकछिन सबै चुपचाप भयौँ। सायद सबैले आ–आफ्नै तरिकाले यात्रालाई सम्झिरहेका थियौँ।
पोखरा फर्किने बाटोमा हिमाल बिस्तारै टाढिँदै गए। तर मनभित्र भने अझै सेताम्मे हिउँ, गुराँस, जंगल, चिसो हावा र बिहानको त्यो हिमाली उज्यालो जीवित नै थियो। थकान बीचमा आन्नदित मन हुनु सायद यात्राको जित हो। र यस्ता ट्रेकहरू केही दिनका लागि आफूलाई बाटोमा हराउनु, अनि फर्किँदा आफूलाई अझ नजिकबाट भेट्नु नै हो। यात्रा योजना बनाउने बहिनी सुस्मिता र ज्वाइँ सिद्धार्थलाई धेरै माया। यात्रालाई स्मरण लायक
बनाइदिने प्रिय श्रीमती ज्यूलाई लब यू।


