मिति २०८३, बैशाख १७। पानी परिरहेको छ। हामी मुक्तिनाथ तीर्थाटनमा छौँ।
वर्षाले सडक बिगारेको छ भन्ठानेर हामीले आफ्नो मोटर म्याग्दीको बेनी बजारमै थन्क्याएका छौँ। दिनको १२ बज्नै लागेको छ। म्याग्दीको बेनी बजारबाट हामीले माइक्रोबस समात्यौँ। हाम्रो मुक्तिनाथसम्मको बाँकी यात्रा अब यसैमा हुन्छ।
म्याग्दीकै दाना भन्ने स्थानमा रहेछ– इभी माइक्रोबसको चार्जिङ स्टेशन। यही रहेछ– खाना/खाजाको होटल पनि। राजमार्गमा चार्जिङ स्टेशन र खाना/खाजाको होटलको स्वीकनेस मिलाउन खोजेको बाक्लै देखिन्छ; दानामा भने चकाचक रहेछ।
यहाँकै चालु होटलमा हामीले पनि खाना खायौँ।
खाना खाईवरि माइक्रोबसमा बसेपछि र मोटर स्टार्ट भएपछि थाहा भयो– एक जना छुटेको छ। खानाको समयमा होटलमा राम्रै भीडभाड थियो। उसको टेबुलमा खाना नै ढिलो पुगेछ। खाना खाएका यात्रु लिएर चार्ज भएको माइक्रोबसले गति समात्यो।
ड्राइभर बोलाइया छन्। माइक्रोबसको सिटमा डेस्सिएर बसेका छन्– लामा दाइ। उनको घर माथि रानीपौवामै हो। उनको घर तल पोखरामा पनि छ।
घर सोध्दा उनले पहिले ‘पोखरा’ भने। अनि केही नपुगे जस्तै गरी फेरि भने– ‘म जन्मिएको त ‘माथि’ नै हो। माथि पनि घर छ।’
उनको ‘माथि’को अर्थ बुझ्न मलाई केही समय लाग्यो। पछि खुल्यो, ‘मुक्तिनाथ’ रहेछ।
यी पनि बोलाइया छन्। भन्छन्– ‘पन्ध्र दिनमा एक पटक मैले यो सडक ओहोरदोहोर गर्नु पर्छ।’
यो सडकमा नियमित जस्तै ओहोरदोहोर गर्ने ड्राइभर र लामा दाइ गरी दुई जना छन्– भनेर। यात्रा रमाइलो नहोस् त!
‘लौ, धेरै समय नलगाउनु होला। यसो फोटोसोटो खिचेर फर्की हाल्नु होला,’ माइक्रोबस घ्याच्च रोकेर ड्राइभरले भने।
हामी रूप्से झरना नजिकै रहेछौँ।
रूप्से झरना म्याग्दी जिल्लाको बेनी बजारबाट ३० किलोमिटर उत्तर पूर्वमा पर्ने। म्याग्दीकै अन्नपूर्ण गाउँपालिकामा अवस्थित। रूप्से झरना समुन्द्र सतहबाट करिब १८०० मिटरको उचाइमा रहेको छ। यसको उचाइ करिब ३०० मिटर। तीन तहमा विभाजित छ यो। झरनाको पानी तल आएर कालीगण्डकी नदीमा मिसिन्छ। विसं २०३२ (सन् १९७५) सालमा ७५ पैसाको हुलाक टिकटमा रूप्से झरना अङ्कित भएको थियो।
सडक किनारामा धेरैवटा मोटरसाइकल, माइक्रोबस, जिप र बसहरू रोकिएका थिए। यात्रुहरूको भीडभाड पनि उस्तै। रूप्से झरनातिर यात्रुको झन् भीडभाड रहेछ। कोही रूप्सेलाई पृष्ठभूमिमा राखेर फोटोका लागि पोज दिइरहेका। कोही मोबाइलको लेन्सले त्यो पोज टिप्न र आफ्नो पालो छोप्न हतारिरहेका।
रूप्से मुक्तिनाथको तीर्थाटनका लागि निस्किएका हामी जस्ता यात्रुका लागि सौन्दर्यपानको सहज स्थल। यस्तो मौका कसले गुमाओस्! हामी पनि यही भीडमा मिसियौँ।
अग्लो भूमिबाट छङछङ गर्दै छाँगो खस्छ; छाँगाको आवाज वरिपरि गुन्जयमान छ। यो अग्लो सेतो छाँगो र वरिपरिको हरियालीमा केही क्षण रमाउने रहर कसलाई हुँदैन र! यो विशाल छाँगो, यो हरियालीलाई पृष्ठभूमिमा राखेर आफ्नो फोटो खिच्ने रहर कसलाई हुँदैन र!
कोही फोटो खिच्दै छन्, कोही भिडियो बनाउँदै छन्।
हामी पनि त पहिलो पटक आएका छौँ यहाँ। रूप्सेको यस्तो मुग्ध बनाउने सौन्दर्यमा रमाउने यस्तो मौका कसले गुमाओस्!
पोहोर हामी श्रीलङ्का गएका थियौँ। मिरिसाबाट एला जाने बाटोमा पर्ने रहेछ– ‘रावण्स फल्स’। त्यो पनि विविध खण्डमा विभक्त भएर झरेको छाँगो थियो। रावण्स फल्समा रूप्सेको जति पानी थिएन। त्यसको एउटा खण्डबाट अर्को खण्डसम्मको उचाइ पनि रूप्सेको जति होइन। तर त्यहाँ गोरा पर्यटकहरूको राम्रै भीडभाड थियो।
यहाँ त भारत र नेपालका तीर्थयात्री मात्र थिए।
रूप्सेमा भने गोरा पर्यटकहरू हामीले देखेनौँ। अमेरिकी र युरोपेली पर्यटकलाई आकर्षित नगरेसम्म पर्यटन उद्योग जम्दैन।
‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखान हाम्रो पर्यटन उद्योगमा पनि लागू हुन्छ होला। हामीले हाम्रा पर्यटकीय महत्त्वका प्राकृतिक सम्पदाहरूलाई विश्वका पर्यटकहरूमाझ राम्रोसँग बताउन/प्रस्तुत गर्न सकेका छैनौँ।
केही यता सडक यातायात केही सहज भएपछि भारतीय पर्यटकहरूको संख्या उल्लेखनीय देखिन्छ। यिनीहरूको मुख्य साधन मोटरसाइकल हुँदोरहेछ।
रूप्से झरनाको दृश्यावलोकनपछि माइक्रोबसको सिटमा बस्दै मैले शेर्पा दाइलाई सोधेँ– ‘यसको शीर कहाँ हो?’
उनले भने– ‘यसको शीरको बारेमा कसैले पनि बताउन सकेको छैन’ उनले फेरि भने– ‘यस झरनामा कान्छा भूमे देवताको निवास रहेको विश्वास गरिन्छ। जेठ महिनामा यहाँ मेला जस्तै हुन्छ। स्थानीय बासिन्दाहरू आफ्नो भाकल पूरा गर्न जेठमा यहाँ बली दिने पनि गर्दछन्।’
रूप्से झरना छाडेर केही अगाडि गएपछि ड्राइभरले उसै गरी भने– ‘हामी अहिले विश्वकै गहिरो गल्छीमा छौँ। धौलागिरी र अन्नपूर्ण हिमालको बीच भएर बग्ने कालीगण्डकीले बनाएको यस गल्छीलाई ‘अन्धगल्छी’ भनिन्छ र यो खोँचलाई विश्वकै गहिरो मानिएको छ।’
यस माइक्रोबसमा ड्राइभिङ गरिरहेका पोखराका यी दाहाल युवक हाम्रो हकमा ड्राइभर र टुरिस्ट गाइडको दोहोरो भूमिका रहे।
अन्धगल्छी कटेर केही अगाडि गएपछि यिनले फेरि जानकारी गराए– ‘लौ, काभ्रेभीर आइपुगियो।’
हेर्छु, बायाँपट्टिको बिकट ढुङ्गे पहरो छ। दायाँतिर कालीगण्डकीको गहिरो खोँच। अनि कालीगण्डकीको अविछिन्न आवाज। बीचमा ढुङ्गा बिछ्याइएको कच्ची सडक। पहाड खोपेर निर्माण गरेजस्तो जसोतसो मोटर गुड्ने सडक! यहाँ मोटरबाट उत्रिएर तल कालीगण्डकीमा हेर्ने कल्पना मात्र गर्दा पनि आङ सिरिङ्ग हुन्छ। यही रहेछ– काभ्रेभीर!
डरैडरमा सास रोकेर पार गर्नुपर्ने जस्तो काभ्रेभीरमा माइक्रोबसभित्र कोही उच्च स्वरमा ठट्टा गर्दै हुन्छ– ‘काभ्रेभीर काभ्रेपलाञ्चोकमा हुनुपर्ने। काभ्रेभीर काभ्रेपलाञ्चोकमा बढी सुहाउँछ, यहाँ कसरी हुनसक्छ?’ मान्छेले आफ्नो स्वभाव कसरी लुकाओस्! ठट्ट्यौलो स्वभाव भएको मानिस जस्तोसुकै परिस्थिति होस्; ठट्टा गर्न कसरी चुक्छ!
लामा दाइले भने– ‘यो सडक निर्माण भएको धेरै वर्ष भएको छैन।’ उनले कालीगण्डकी पारिको पहरो देखाउँदै फेरि भने– ‘पहिले त त्यो पाखाबाट पाइला मात्र अड्ने बाटोमा लहरा समाउँदै हिँड्नुपर्थ्यो।’
काभ्रेभीरकै बीचमा एउटा सानो पुल रहेछ। त्यही पुलले छुट्याउने रहेछ– म्याग्दी र मुस्ताङ जिल्लालाई।
डराएरै सही, हामी मुस्ताङको धर्तीमा टेक्न आइपुगेछौँ।
