बलम्बुदेखि हेलम्बुसम्म -४
पानीको आवाज बेजोड छ। छङछङ गरेको पानी लयबद्ध सुनिन्छ। नित्य तीन बजे उठ्ने शरीर फतक्क गलेको छ। उठ्न मन भएन। आँखा बन्द गरेर ओछ्यानमै प्रकृतिको लयमा हराउँदै गएकी छु। लाग्यो आज हिँड्न त के बाहिर निस्कन पनि सकिँदैन। हाम्रो यात्रा बिथोल्न कत्रो षड्यन्त्र गर्देछ प्रकृति पानी पठाएर!
तर म गलत रहेछु। कोठाभित्र बसेर गरेको अनुमान कोठाबाहिर आउँदा मिलेन। हामी बसेको होटल पछाडि ट्राउट माछा पालिएका रहेछन्। अग्लो ठाउँबाट पानी बग्दा शान्त वातावरणमा पानीको बहाबले ताण्डव नै मच्चाएको रहेछ।
बिहानको यात्राको तयारीमा लाग्यौँ। नयाँ गन्तव्य बनेछ। मेलम्ची खानेपानीको ड्यामतिर पदयात्रा गर्ने। रातिको पानीले अप्ठ्यारो बाटोबाट आमायाङ्ग्री जान असम्भव नै रहेको जानकारी भयो। आँखै अगाडिको सपना पनि कहाँ पूरा हुँदोरहेछ र! हाम्रो योजना प्रकृतिले तुषारापात गरिदियो। आमायाङ्ग्री र हेलम्बुको धरा चुम्ने योजनाका हर्षित टाकुराहरू पानीले भत्काइदिएको छ।
पानीको शक्ति त देख्दै आएकै हो। पानीले भूगोल मात्र कहाँ बगाउँदो रहेछ र मान्छेका मनभित्रका सपनाका अनेक सहर पनि त बगाउँदो रहेछ। हाम्रो पनि योजना बगायो पानीले।
बजार बोकेर ओराल्लिएको सडक हुँदै हामी तिम्बुको सुरम्य भूगोल हेर्दै सोझै तलतिर हिँडेका छौँ। नजिकै सुन्दर चैत्य देखिन्छ। लुङ्दरहरू फरफराइरहेका । शान्तिको धुन छरिरहेका। कुकुरहरू जुलुसमा हिँडेका जसरी सडक-सडक कुद्दै छन्। नजिक-नजिक आउँछन् टोक्लान् जसरी। कराउँदै छन् यताउता दगुरी। डरको पाइला चाल्दै घरी दायाँ, घरी बायाँ हिँडेकी छौँ। बाटोमा रिल्स र टिकटक बनाउन पनि छोडेका छैनौँ। गीत गाउँदा पनि उद्गीतको नाद छर्दैछौँ।
बत्ती रातभर आएन। मोबाइलमा चार्ज छैन। मैले त गोजीबाट झिक्दा पनि झिकिनँ।
बिहानीको मौसम लोभलाग्दो छ। हुस्सुले ढाकेको तिम्बुको भूगोलमा हराऊँ जस्तो लाग्दैछ। चराहरूको चिरबिर निकै श्रुतिमधुर छ। कलकल गरेर बगेको पानी ट्राउट पालनबाट आएको रहेछ देखियो पूर्ण आकारमा। डाँडाकाँडाले वसन्तको नवीन बस्त्र पहिरिएर निकै जवान भएका रहेछन्। यौवनको उन्मादमा सलबलाएका जोडी झैँ देखिन्छ प्रकृति। आफ्नै रूपको सम्मोहनमा हराएको छ प्रकृति। सुसेल्छ यौवनको सङ्गीत। चैत्य घुम्दै गर्दा देखिन्छन् स्थानीयहरू बिहानको ऊर्जा लिएर उभिएका। हाम्रो एउटा समूह तलतिरै लाग्दैछ। हामीलाई माथिबाट जाने हो भनेर माथि नै बोलाएको हुँदा हामी पुनः फर्किएर हिँडेका छौँ मास्तिरै। जङ्गलको बीचबाट निर्माण भएको फराकिलो बाटो हुँदै हामी मेलम्ची खाने पानी योजनातिर लम्किँदै छौँ ...।
अलि माथि पुगेपछि एउटा सुन्दर गाउँ देखिन्छ। बिहानको दैनिकीमा निमग्न छन् गृहस्थहरू। तल खोलाको किनारमा झर्दा देखियो चेकपोष्ट। केहीबेर भलाकुसारी गर्दै, मेलम्ची खानेपानी क्षेत्रतिर अघि बढेका छौँ। काकाकुल काठमाडौँको प्यास मेटेको छ यहाँको पानीले। दैनिक १७ करोड लिटर पानी काठमाडौँ पुग्छ। आफूलाई सुकाएर अरूलाई रसिलो बनाउने मेलम्ची मलाई गाईतुत्य लाग्दैछ। आफ्ना तीन थुन काठमाडौँलाई चुसाएर आफ्नो बाच्छालाई एउटा मात्र छोड्न लगाएको देख्दैछु। आमा जस्तै लाग्छिन् मेलम्ची। सौन्दर्य खोसिएकी। छैन खोलामा पानी।
छातीभरि भीमकाया ढुंगा बोकेर विवश हाँसो हाँस्छिन्। मलाई खुसुक्क भन्छिन् मेलम्ची, ‘मेरो लुटिएको रूप हेर्न बेक्कारमा तँ किन आएकी। यो त ध्यान गर्ने स्थान हो। देवताहरू बस्ने ठाउँ हो। देवता त बुझ्छेस् नि! अरूलाई दिन जानेको क्या!’ संवादबाट ध्यान हट्छ हेर्छु अग्ला-अग्ला पहाड सौन्दर्यको सौगातमा मुस्कुराइरहेका। बीचमा बगेकी मेलम्चीको आवाज मधुरो छ। पहराबाट खसेको अतुलनीय सङ्गीतको नाद मोहित पार्ने किसिमको छ। आँखा बन्द गरेर गीत गाउँछौँ ऋतुहरूमा तिमी हरियाली बसन्त हौ... नदीहरूमा तिमी पवित्र गङ्गा हौ... अम्बिका, राधिका, सावित्री, शारदा म्यामसँगसँगै रमाउनुहुन्छ विमुग्ध भएर।
खोलाको बीचबीचमा गजधम्म बसेको ढुंगाहरू पहाड फोडेर आएका होलान्। पानीको शक्ति कत्रो। पहाड नै उचाल्न सक्ने। कतै कतै त ढुंगाको आडमा लुक्दै बगेकी छन् गङ्गे। मेलम्चीले आफ्नो अमूल्य सम्पदा अरूलाई दिएकी छन्। कसैले नजिकै आएर बोलेको लाग्छ ‘यो ठाउँबाट प्राकृतिक सौन्दर्यलाई मात्र बोकेर न जा है । दिनुको महत्त्व बुझेर जा। भ्रमण गर्ने स्थान मात्र हैन यो भजन गर्ने उद्गम पनि हो। उः हेर त पर पहराबाट बेपर्बाह खस्दै गरेकी झरनालाई। जो मेरो अस्तित्वलाई जोगाउन नित्य झर्छिन् कठोर पहरामा बजारिएर। मलाई भिजाउन ओर्लिएका हुन् यी झरनाहरू।
मेलम्चीको सुरुङ्ग खन्दा निस्किएको माटो थुपारेको डम्पिङ साइडमा उभिएका छौँ। २०७९को भीषण बाढीले यहाँ थुपारेको माटो पनि पानीसँगै लैजाँदा तल मेलम्ची बजारलाई लेदोले छोपेको रहेछ। मनमा विचार आउँछ। प्रकृति अक्षत भएकी भए २०७९को त्यो भीषण बाढी आउने सम्भावना कति हुन्थ्यो होला? यो पावन धरामा मानवका स्वार्थी पाइला नपरेका भए ! २०७९ को बाढीमा जति क्षति भयो त्यसको मात्रा घट्थ्यो होला त! प्रकृतिलाई चलाएर नै प्रकृति कतै रिसाएकी त हैनन्? यो पहरा, यो छहरा र यो नदीलाई आफ्नै स्वराज्यमा बग्न दिएको भए मानव समुदायले प्रकृतिको प्रकोप झेल्नु पर्दैन थियो होला त! मन हाँस्न सक्दैन अतीतको आतङ्क सम्झेर ।यात्रामा मनलाई समेट्न खोज्दै फोटो खिच्न थाल्छु तर डर छ चार्ज सकिनै लागेको अवस्था छ । नेटवर्क आए घरमा खबर गर्नुहुन्थ्यो।
‘माथि अझ ठुलो झर्ना छ त्यहाँ खिच्नु नि फोटो।‘ कृष्ण भारद्वाज सर हामीलाई माथिको ठूलो झर्ना देखाउँदै अगाडि बढ्नुहुन्छ। हाम्रा पाइला पनि दौडिएका छन्। सुरुङमार्ग देखियो। हिँड्दै गरेको बाटो छेउमै कालो मुख खोलेर बसेको रहेछ सुरुङ। बाटोबाट ओर्लिएर भित्र पनि पस्यौँ। कलकल गरेर पानी बग्दैछ तर अँध्यारो अत्यन्तै भएकाले भित्र जान सकिनँ। मेलम्चीको सुरुङकै मुखमा आएको प्रमाण कैद गर्नथाल्यौँ क्यामरामा।
अब भने हृदय गद्गद् भएको छ। माथिबाट झरेको झरनाको पानीको स्वरमा स्वर मिलाएर नाच्न थालेका छौँ। सेता मोती जस्ता पानीका दाना लयबद्ध सङ्गीत आलाप्दैछन्। टोपी र चश्मा खोलेर मुख फर्काउँछु झरनातिर। आहा! पानीका चिसा कण अनुहारभरि आएर स्पर्श गर्छन्। नौलो ऊर्जा स्पन्दित हुन्छ सम्पूर्ण शरीरभरि। मलाई चिच्याउन मन लाग्छ प्रकृतिको आवाजसँगसँगै। विचित्रको संवेग उर्लिएको छ। घरी नाच्न मन लाग्छ। घरी झरनामै गएर टाँसिऊँ लाग्छ। घरी आँखा बन्द गरेर झरनालाई आफैँभित्र समेटौँ झैँ लाग्छ। वसन्तकी कोइली बनेर उल्लासिएकी छु। साथीहरूको अवस्था पनि मेरो जस्तै छ। मौन कोही छैनन्।
झर्नालाई सुन्न थाल्छु। ओम् नादले स्पन्दित गर्छ मेरा अवयवहरू। म पनि के कम ओम् को नाद उद्गीतबाट गर्छु। आउने जाने श्वास पनि ओम् मै एकाकार भएर निर्विचारको अवस्थामा निमेषभरमा पुग्छु। हृदय शान्त हुन्छ। आँखा नशालु बन्छ। म भरिन्छु प्रकृतिको सोमरसमा। म नशालु भएकी छु। प्रकृतिको सुरापानले। मलाई उड्न मन लाग्छ पहराको छहरा छहरामा। मलाई पनि माथिबाट सुरुली खेल्न मन लाग्छ पानी सँगसँगै। हात पसारेर थाप्छु पानीका अमूल्य मोती। हृदय भरिएको छैन। बस्न मन छ चुपचाप झरनालाई सुनेर तर समयको सर्पले टाउको उठाउँदै लघार्छ। प्रियसीलाई छोडेर हिँड्नु परेको अवस्थाले मलाई व्याकुल पार्छ तर विवशता त स्वीकार्नु त परिगयो। आँखामा मेलम्चीका झरना, पहरा, छहरा,वासन्ती वन बोकेर हलुका भएर अगाडि बढ्छु तर गोडामै ठोक्किन आउँछ जोर ढूङ्गाको कलात्मक दृश्य। मन मान्दैन छोडेर अगाडि बढ्न।
लक्ष्मी, शोभा र म पालैपालो ढुंगाको छातीमा टाउको राखेर ढुंगाको प्राण छाम्न खोज्छौँ। ढुंगाले हार्दिक स्वागत गरेको आभास हुन्छ। अहो! मलाई त मान्छेभन्दा ढुंगा पो सजीव भएर संवाद गरेको जस्तो लाग्छ। भन्छ- 'आफ्नो बलमा घमण्ड नगर्नू नानी! मलाई लाग्थ्यो पानीको के तागत हामीलाई हल्लाउने। हामी त आकारमा छौँ त्यो तुच्छ पानीको न आकार छ, न प्रकार। न रङ छ न स्वाद। न त्यसको अस्तित्व छ। अहिलेको अहिले बगेर जानुपर्ने अस्थाई प्रकृतिको जातले हामीलाई के गर्न सक्ला र ठानेको थिएँ तर म गलत रहेछु नानी! शक्ति बलमा छैन। आकारमा पनि होइन। एकतामा रहेछ , पानीको बल त हाम्रोभन्दा कता हो कता पो रहेछ। हिजो खोलालाई मात्र खोला देख्थेँ आज त थोपा थोपामा समुद्र देख्दैछु। जीवनको ठूलो पाठ सिकेर जाऊ है नानी! हामीले पानीलाई तुच्छ ठान्दा घमण्डको पहाड उचालेर बसेका थियौँ परिणाम आज आफ्नो स्थान छोडेर यहाँ आएर बस्नुपरेको छ।'
मेरा आँखा झ्वाट्ट खुल्छन्। ढुंगामा मस्तक लगरे लपक्क टाँसेकी छु। केहीबेर ढुंगाको संसारमा हराउन चाहन्छु। ढुंगालाई सिरानी हालेर सपना देख्न चाहन्छु प्रकृतिमय भएको।
मेरो मन भन्छ- मान्छेसँग बोल्दा त कति धेरै विचार पुर्याउनु पर्छ तर प्रकृति कति विशाल छिन्। हामीले बोलेको वाणीलाई तुच्छताको तराजुमा जोखेर बस्दिनन्। हामी प्रकृतिको काखमा सुरक्षित छौँ। प्रकृतिले स्वावलम्बी बन्न सिकाउँदैछ । स्वतन्त्रताको पाठ पढाउँदै छ। निर्बन्ध भएर बाँच्न अपिल गर्दैछ। निर्भिक झरना बनेर कठोर पहराहरूसँग मितेरी लगाउँदै आफ्नो अस्तित्व जोगाउनु पर्ने ज्ञानले आलोकित पार्दैछ। पानी भएर जीवन सङ्गीत भर्नुपर्ने आत्मज्ञान र अन्याय, अपमान र अज्ञानमा बाढी बनेर ताण्डव गर्नूपर्ने कुटनीति पनि सिकाउँदै छ। प्रकृति त मानव जीवनको लागि महाविद्यालय नै रहेछ। प्रकृतिमा हुर्किएको मान्छे पथभ्रष्ट हुनुनपर्ने हो। तर समय प्रकृतिबाट बिमुख हुन खोज्दै छ। प्रकृति बिनाको समृद्धि त चिताको आगो मात्र हो, भात पकाएर मानव समुदायको क्षुधा शान्त गर्न सकिँदैन।
प्रकृतिको कण कणबाट जीवन विज्ञानको अध्याय पढ्दै छु। यात्रा त यन्त्र रहेछ खुशीको। खुट्टा थाके पनि हृदय नाचेको छ। पेट बटारे पनि ओठ हाँसेको छ। पहाडका थुम्का थुम्कामा हिम्मत र सन्तोषको आहार प्रकृतिले प्रदान गर्दोरहेछ। त्यसैले होला पहाडमा विकट टाकुरामा मात्र हैन। यहाँका मान्छेले आफ्नो ओठओठमा, गालागालामा लालीगुराँस फुलाएर हिँड्दा रहेछन्। नमन गर्छु। पाखेहरू पाखे भनेर हेप्छौँ। आज मलाई पाखे भएर बाँच्न मन छ । असुविधाका पहराबाट पनि जीवन्त झरना खसाउँछन् पाखेहरू।
मेलम्चीको यो प्रकृतिमा आफूलाई नियाल्छु। फुरुङ्ग छ मन। हलुको छ शरीर। उमेरको बन्धन हटेको छ। जिम्मेवारीमा बाँधिएका कठोर पाइतालाहरू त यसरी चञ्चल भएर रमाउन सक्थे र ! खुसी पनि खटाइखटाइ देखाउनुपर्ने ढोङी सभ्यतामा छौँ हामी। वास्तवमा हामी अरू रोएको मन पराउँछौँ। अरूको हाँसोले जति पीडा दिन्छ त्योभन्दा दशगुणा खुशी हामीलाई अरूको आँसुले दिन्छ। हाँसो आगो पनि बन्छ जलाउँछ तर करुणाको आँसु पानी हो शीतल पार्छ।
विरोधाभाषपूर्ण छ हाम्रो व्यवहार। हामी जड हुँदै गएका छौँ जस्तो लाग्छ, किनकि हामीलाई हाँस्न पनि अरूको आँसु चाहिन्छ। शाश्वत हाँसो बेचिसकेका छौँ। हाँस्ने कला सिक्नुपर्छ। हाँसो त उन्नत बाली हो मानव जीवनको ठान्छु। आजको युगमा महाऔषधि हो हाँसो। हाँसेर बाँच्ने कलाको खाँचो छ यत्रतत्र। हाँस्ने कलालाई जीवनमा समेट्न सजाउन सके जीवन हलुको हुन्छ जस्तो लाग्छ। आज प्रकृतिको काखमा हाँस्दा हाँस्दै बालकको हृदय उदाएको छ। जसरी मन लाग्छ उसै गरी नाचेका छौँ। हाँसेका छौँ।
खोलो बीचमा देखिन्छ जोर ढुंगा। नजिकै जान्छु। स्पर्श गर्छु। जीवन्त लाग्छ छुवाई। सम्झिन्छु ‘कस्तो ढुंगाको हृदय रहेछ यो मान्छेको’ लाग्दैछ ढुंगाको हृदय बरु पग्लिएला तर वर्षौंदेखि ढुंगा बनेर बसेको मान्छेको हृदय पग्लिँदैन। ढुंगालाई स्पर्श गर्न अरू पनि नजिकिनुहुन्छ। हामी ढुंगाको ढाड ढाडमा उभिएर तस्बीर खिचाउँछौँ। ढ्यामतिर जानेबेला अप्सरा म्याम भन्नुहुन्छ, ‘अनिता म्याम यो ज्याकेट, सल यतै राखेर जानुर्छ कि क्या हो?’ आशङ्काको ओठ खोल्दै भन्छु ‘छुट्ला कि म्याम आउँदा ठाउँ चिन्न सकिएन भने! ढुंगाहरू उस्तै छन्।’
अप्सरा म्यामलाई असजिलो भएको थाहा पाउँछु , पसिना उम्रिएको छ। हिँड्न सहज छैन ज्याकेट लगाएर। अनि ढुंगाको ककारोमा ज्याकेट राखेर हामी ढ्यामतिर उक्लिन्छौँ ... क्रमश:
यो पनि:
जब जंगलको बीचमा अचानक ड्याम्म पड्केको सुनियो आवाज!
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)