केही समयअघि मात्र म मनास्लु बेस क्याम्प पुगेर आएको थिएँ। त्यहाँ पुग्दा किन म यति ढिलो गरें यहाँ आइपुग्न जस्ता कुराहरूले धिक्कारिरहेका थिए।
बुढीगण्डकीलाई पछ्याउँदै पछ्याउँदै गोरखाका उपल्ला गाउँहरूको स्वरूप, बनावट र सौन्दर्यलाई नियाल्दै गोरखाको सिर्दिबासबाट पैदल यात्रा सुरू गरेको थिएँ। सिर्दिबाससम्म गोरखा बजारबाट आरूघाट हुँदै जिपमा गएको थिएँ। सिर्दिबासबाट जगत, नामरूङ र ल्हो हुँदै तीन दिन लगाएर बल्ल तल्ल सामागाउँ पुगेको थिएँ। र सामागाउँबाट एक बिहान लगाएर बेसक्याम्प।
३५३० मिको उचाइमा रहेको सामागाउँ धेरै नै चिसो थियो। त्यहाँको बासले मलाई अक्सिजन लेभलसँग एकोमोटाइज हुन मद्दत गर्यो। बिहानै हिँडेर मनास्लु बेस क्याम्पतर्फ लागेँ। ४८०० मिको उचाइमा रहेको बेस क्याम्पमा पुग्नसाथ यस्तो लाग्यो सहरी हाउभाउमा यतिन्जेल निस्सासिँदो भएका सासहरू पनि बेफिक्री फेरिरहेका थिए। त्यतै पलेँटी मारेर मनास्लुको नाममा एउटा कविताको पंक्ति लेख्न मन लाग्यो अनि लेखें-
मनास्लु!
तिमी कति सुन्दर छौ
नजिक बाटै
महसुस गरिरहेछु,
तिमीलाई चुँडेर टपक्क
म आफ्नो बनाउन सक्दिनँ
तिमी त्यति विशाल छौ,
तिम्रो समिपमा आउँदा
म आफ्नो जीवन बुझ्दैछु
जिउने आधार भेट्टाउँदैछु,
तिमी कति निश्छल छौ
दाग लाग्छ
तिम्लाई छुँदा
हिम्मतहरू हार्छन्
तिमी नहुँदा
हरेक सिजनमा
आरोहीहरूको
इतिहास जन्माउने तिमी
कति चाहिँ
जलवायु परिवर्तनको चपेटामा
परि
आफै पनि रोइबसेका छौ होला?
अझ दृढ भई
सभ्यताको झण्डा फर्फराई
नमूना बन्नु छ तिमीले,
प्रदूषणको अत्याचार उपर
पनि लाखौं पर्यटकलाई
लोभ्याउनु छ तिमीले,
त्यो टुना त्यो मन्त्र लगाइराख्नु
प्रिय मनास्लु!
म फेरि फेरि
तिमीलाई भेट्न
हतारिँदै आइराख्नेछु,
तिम्रो विश्वास अड्याएर
यो मुटुमा सानो स्वर्ग बनाइराख्नेछु।
-1778916410.jpg)
बेस क्याम्पमा धेरै चिज साक्षात्कार गर्न पाइयो। जब घामको पहिलो किरण मनास्लु हिमालको टुप्पोमा पर्थ्यो र विस्तारै तल झर्थ्यो अनि हिउँमाथि ताप परेपछि राफहरू निस्कन्थ्यो- लाग्थ्यो जब घाम उदाउँछ तब मात्र हिमालको जन्म हुन्छ। गर्भबाट बाहिर आएपछि पहिलो मुस्कान दिन्छ हिमालले। अनि हिउँमा घामका बाछिट्टा पर्दा टल्किन्छ हिमाल उसैगरी जसरी जन्मेको बालकको ललाटमा टल्कन्छ आमाको ममता!
८१६३ मिको मनास्लु समिट गर्ने सिजन थियो। हिमाल चढ्न चाहनेहरूको लाम थियो। भरियाहरू भारी बोक्दै थिए, कामदारहरू बस्ने ठाउँ मिलाउन माटो सम्याउँदै थिए। फुर्सदिलो त्यहाँ कोही थिएन, हिमाल आरोहणको कामना स्वरूप धुपहरू पनि बलिरहेका थिए, हावा पनि उस्तै बहिरहेको थियो अनि हावालाई बेग हान्दै हेली पनि ओहोर दोहोर गरिरहेको थियो। ती आरोहीहरूलाई देख्दा फेरि मेरो मनमा एउटा कविता फुर्यो-
कौतूहलता अनि डरहरू
त्यति गहिरा हुँदा रहेछन्
आरोहण अघि
आरोहीको मुहारमा देखिन्थ्यो,
खुसी अनि सफलताहरू
त्यति भीषण हुँदा रहेछन्,
आरोहण पछि
आरोहीको उही मुहारमा देखिन्थ्यो,
धन्यवाद
सम्पूर्ण आरोहीहरूलाई!
जसले दिलाउँछन्
हामीमा धुलो टक्टक्याएर
उठ्ने साहस,
अभाव र शोकलाई
शक्तिमा बदल्ने अठोट,
झोक्राएर मात्र समाधान नहुने किस्सा,
वेदनालाई पनि मात खुवाउने अनौठो ऊर्जा
अनि
आफै उपर विश्वासका साथ लाग्नु
पर्ने सन्देश।
धन्यवाद सम्पूर्ण आरोहीहरूलाई!
जो कठ्याग्रिँदो हिमालमा
साहसहरू रोपेर
इतिहास उमार्दछन्
जो काँडाहरूमा उक्लिएर
आत्मविश्वासको
सुन्दर फूल टिप्दछन्।
धेरैबेर नै त्यो चिसो उचाइमा बसेपछि मलाई सास फेर्न अप्ठ्यारो भयो अनि हात गोडा चल्न छोडेझैं भयो। अक्सिमिटरमा नाप्दा spo2 घटिसकेको रहेछ। त्यहीँ कफी र थुक्पा खाएर म हिँड्दै ओह्रालो लागेँ। ठाडै बाटो ओह्रलिंदै गर्दा मन आफ्नो नियन्त्रणमा थिएन। सामुन्नेको वीरेन्द्र तालको आकारले मन लोभ्याउथ्यो भने भारी बोक्दै उक्लिएका भरिया अनि खच्चडका दुःख देखेर मन अमिलो हुन्थ्यो। अनेकौं झरनाहरूलाई पार गर्दैगर्दै प्रकृतिको लहडको दास भएर म अनेक तरंगको मजा लिइरहेको थिएँ।
त्यो रात सामागाउँ नै बसेर गोरखा फर्किंदै गर्दा मनास्लुको छाँयाले मलाई तानिरह्यो। त्यो आमन्त्रण पक्कै पनि अनौठो किसिमको थियो। मेरो सफा मनमा छुट्टै किसिमको संकल्प गरेर आएको थिएँ, त्यसलाई पूरा गर्नु पनि थियो।
मनास्लु आफैमा जोखिमपूर्ण हिमालमध्ये पर्छ। यो संसारको आठौँ अग्लो हिमाल पनि हो। हिउँ पहिरो, खराब मौसम, र कठिन मार्गका कारण यहाँ पनि धेरै दुर्घटना भएका छन्।
त्यस्तै हाम्रो जिन्दगी पनि मनास्लु हिमालभन्दा कम जोखिमपूर्ण छैन। जीवनमा दु:खका पहिरो कति आउँछन् कति। जति नै जोखिम भए पनि ७० औं वर्ष आइपुग्दा मनास्लु आरोहण गर्ने आरोहीहरू बढिरहेका छन्, उसैगरी हाम्रो जीवनमा आइपर्ने जति नै अवरोहमा समेत हामी अघि बढ्न छोड्नु हुन्न। अझ भनौं जीवनका 'मनास्लुहरू' आरोहण गरिराख्नुपर्छ।
