म। आफू। आफै। एक्लै। हो एक्लै। कस्तो घमण्डी सुनिन्छ है? मपाईं जस्तो लाग्छ? तर के तपाईंले कहिल्यै आफैसँग समय बिताएर हेर्नु भएको छ? बिहान उठाउने अलार्म पनि आफै। उठ्न घच्घच्याउने पनि आफै। गन्तव्य पहिल्याउन सिकाउने पनि आफै अनि गन्तव्यसम्म पुग्न प्रेरित गर्ने पनि आफै।
न फोनमा नेटवर्क। न इन्टरनेट। आफैसँग बात मार्दै उकाली अनि ओराली। भीर पाखा। खर्क अनि देउराली। कहिले अनकन्टार जंगल त कहिले बाक्लो बस्ती। प्रश्नहरू पनि आफैलाई अनि जबाफ पनि आफैलाई। कहिले मुसुक्क मुस्कुरायो। कहिले टिलपिल गरेका आँखा मजेत्रोको फेरले ओभानो बनायो। कहिलेकाहीँ त एक्लै चिच्यायो पनि, मन हलुंगो हुने गरी। चिसो सिरेटोले थप्पड लगाउँदा न्यानो बनाएर जोगाउँदै।
देब्रे गालाबाट ओरालो लागेको पसिना पनि अलिकति निहुँरिएर आफ्नै कुमले पुछ्दै। पाइलामा बिझेका काँडा निकाल्दै बाटो छिचोल्दै। थकाइ लाग्दाको चौतारी र बिसौनी अनि फूर्तिलो हुँदाको आँट र साहस पनि। सबै सबै आफै। आफैलाई अँगालेर आफैमा हराउँदै। म मेरो कति भरपर्दो साथी है?
***
हरेक पटक पोखरा जाँदा माछापुच्छ्रे र अन्नपूर्णको प्रश्न मलाई काठमाडौं फर्कन तगारो हाल्थ्यो। झोला बोकेर उकालो लाग् भन्ने माछापुच्छ्रे र मलाई कहिले भेट्न आउँछ्यौ भन्ने अन्नपूर्णलाई सधैं एउटै जबाफ दिन्थेँ म, ‘कुनै दिन तिम्रो समीपमा पक्कै आउनेछु।’
पछिल्लो पटक पनि त्यही बाचा गरेर काठमाडौं फर्किएकी थिएँ। तर काठमाडौंमा पनि ती प्रश्नहरूले पछ्याउन नछोडेपछि वचन पूरा गर्नैपर्छ भन्ने लाग्यो। त्यो निम्तो र मौन आग्रह सहर्ष स्वीकार्दै कम्तीमा त्यो हिउँ छोएर आउने अठोट गरेँ अनि फेरि उडेँ पोखरा। एक्लै, एक्लै।
-1777712997.jpg)
जान त जाने तर म कहिल्यै पनि नहिँडेको मान्छे। न त बिहान साँझको हिँडाइ। न त कहिल्यै साथी सँगीसँग हाइकिङ गरेको अनुभव। एक पाइला पनि हिँड्न मन नगर्ने म। कुन मोहनीले तान्दै थियो थाहा छैन र थाहा छैन हिमालसँगको कुन साइनोको सप्कोले मलाई तानिरहेछ तर जानु थियो हिमाल। टेक्नु थियो हिउँको आँगन। कञ्चनपनको पवित्रतामा प्यार घोलेर जीवनको म, म हुनु थियो। भन्छन्- हर मान्छेभित्र हुन्छ कोमलता र स्निग्धता। मलाई त्यही स्निग्ध, कोमल र मनोहारी हिमालको काखमा त्यसै गरी सुस्ताउनु थियो जसरी किम्बदन्तीमा पार्वती पल्टिन्छिन् कैलाशपतिको काखमा। तयारी स्वरूप साथमा थियो एक जोर लौरी, केही बाक्ला कपडा, पन्जा अनि टोपी।
पोखरा ओर्लेको साँझ, साँझजस्तो मात्र थिएन। सपना फुलेको रहरको बाटोमा रहर आफै पोखराभन्दा सुन्दर। पोखरा ब्युँझनुअघि मै ब्युँझिसकेकी थिएँ। यात्रा सुरू भयो पोखराबाट। स्कार्पियोले बेगले बढायो यात्रा। हेम्जाको फराकिलो सडक। दायाँतिर, पहिले नै स्वागतमा उभिएको माछापुच्छ्रे र पछिपछि छुट्दै गयो पोखरा र केले तान्यो कुन्नि अघिअघि मन। मन जति कुद्ने स्कर्पियो कहाँ पाउनु?
मोहक थियो त्यो बिहानी। खासमा पितम देउराली पुगेर उकालो लाग्ने योजना थियो तर धम्पुस पुगेसी बाटो बन्द रैछ। धम्पुसबाटै उकालो सुरू भयो। स्वागतमा थिए चराहरू। मिठो गीत गाउँदै मेरो अघि पछि उडेर सँगै छौँ है हामी पनि भनिरहेका थिए। चराहरूको धुनमा म पनि आवाज मिसाउँदै अघि बढिरहेथेँ। चढ्दै गरेको पाइला र बढ्दै गरेको सासको साक्षी बनेथ्यो धम्पुस गाउँ। करिब साढे २ घण्टा उकालो लागेपछि पुगेँ पितम देउराली। मोटो ज्यानले देउराली पुग्दा नपुग्दै खुराक माग्दै थियो। बिहानै हिँडेकाले त्यहाँ खाना खाएर मात्र अघि बढ्ने सोचेँ। केहीबेर थकाइ मारेपछि फेरि सुरू भो एक्लो ‘म’ को सोलो ट्रेक।
***
छिनछिनमा बदलिने मौसमले कहिले घाम कहिले छाया देखाइरहेथ्यो। विस्तारै सुरू भयो बाक्लो जंगल यात्रा। पर पर कुन्नि के को हो आवाज आइरहेथ्यो। भेँडा बथान हो कि? खच्चर हो? वा अरू केही? भन्ने त्रासले मनमा डेरा जमाइसकेथ्यो। सान्त्वना दिएँ आफैलाई। साहस गरेर अघि बढेँ। अघि भन्दा अझ उकालो लागिरहेथ्यो। बाटोमा भेटिने यात्रीहरूले मेरै आग्रहमा मेरा तस्बिरहरू कैद गर्दिरहेका थिए।
'हेलो, नमस्ते, कहाँसम्म आज। बिस्तारै जानुस् है, एक्लै हुनुहुँदो रैछ। रमाइलो छ बाटो।'
यी संवादहरूले हौसला दिन्थे बेलाबेला। कतिखेर दिउँसै अँध्यारो लाग्ने घना जंगलको सुसेलीले तर्साउँथ्यो त कहिले एकान्त आफै कोलाहल भएर उठेजस्तो। कहिले झ्याउ ओढेर बसेको बुढो रूखले तर्साउँथ्यो त कहिले ठूलो ढुंगा पनि कुनै अज्ञात जीव निदाइरहेजस्तो। जंगलमा बिछ्याइएको खाने पानीको पाइप फुटेर स्वारर्रर्र निस्केको आवाजले तर्साउँथ्यो। तर आफ्नै अंगालोमा आफैलाई बाँधेर उकालो नलागेको भए कहाँ टेक्न पाउनु हिउँको सहर। हात आफ्नै समाएँ, साउती आफैसँग गरेँ र आफैसँग सवाल जबाफ गर्दै सर्सर्ती हिँडिरहेँ।
त्यो हिउँको सहर हरक्क थियो मनमा। यात्राको उकाली ओरालीमा भेटिने बटुवाहरूको मुस्कानले दिन उज्यालिएको थियो। लड्दै पनि र उठ्दै पनि। डराउँदै पनि र सम्हालिँदै पनि। चियाएर टाढा क्षितिज र फेरि आँखा ओछ्याएर बाटाभरि मन हिँडेको हो कि गोडा? आफै अन्योलमा। स्वच्छ सास फेर्दै तर त्यै सास पनि कहिले घाँटीभरि अड्किएजस्तो, कहिले फोक्सो भरिएजस्तो। नाक थुनिएजस्तो, खै के अड्किएजस्तो तर आनन्दको अनुभूतिमा आफूभित्र आफै हराएजस्तो। सात घण्टामा बल्ल पुगेँ फरेस्ट क्याम्प।
-1777712998.jpg)
पहिलो रातको मेरो घर। फरेस्ट क्याम्पमा अरू धेरै पाहुनाहरूको पनि पहिलो रात थियो। टिनको बाकस भित्रको आगोको न्यानो अनि तातो झ्वाईखट्टेले दिनभरको थकान मेट्दै थिए विदेशी पर्यटक पनि। डाइनिङ हलमा नै सबै जना भेला भएका। फोन चार्ज गर्न, इन्टरनेट चलाउन, अनि न्यानो हुन। मानौं एउटा संयुक्त परिवार जो दिनभर आ–आफ्नो काम सकेर साँझ घर फर्किएका थिए।
त्यो साँझको जंगली हावा एक फेर महसुस गर्न मन लाग्यो। सुटुक्क बाहिर निस्केँ। 'धेरै पर नजानू है' भन्दै थिए होटलका दाइ।
फरेस्ट क्याम्पको ठ्याक्कै पारिपट्टि घान्द्रुक झिलमिलाई रहेको थियो। त्यो उज्यालो भित्रको कहानी पनि सायद हाम्रो फरेष्ट क्याम्प भित्रको जस्तै हुँदो हो। कति मोहक!
***
दोस्रो दिनको डेस्टिनेसन थियो हाइ क्याम्प। बिहानै ब्रेकफास्ट गरेर यात्रा सुरू भयो। सिँढी सिँढीबाटै सुरू भएको हिँडाइले सुरूमै अत्त्याइहाल्यो। तर उकाली ओराली छिचोल्दै रेष्ट क्याम्प पुग्दा देखिएको माछापुच्छ्रेको शिरले हौसला उँचो बनाइदियो र ऊर्जा थपिदियो यात्रामा।
बिहानको घामसँगै मुस्कुराइरहेको लालीगुराँस नअंगाली कसरी अघि बढ्नु? अँगालोभरि गुराँस टिपेर। त्यै फूल खाँदै लागेँ उकाली। अब भने पदयात्रीहरू बाक्लै भेटिन थाले। कोही भ्यु पोइन्ट पुगेर फर्किएका। कोही हाइ क्याम्प बसेर आएका। मौसमको हिसाब किताब हुन्थ्यो उनीहरूसँग। गन्तव्य पुग्न हौस्याउँथे दृश्यको बयान गरेर। बाटाभरि थिए हिजो परेको असिना दाना। पग्लिई नसकेका। ती असिना दानाले बेलाबेला पानीको काम गर्थ्यो। गुलियो नहालेको आइसक्रिमजस्तै। अझ भनौं सानामा बाँसको डाँठ समाएर खाने बरफजस्तै।
हिँड्दै थकाइ मार्दै पुगेँ लो क्याम्प। लो क्याम्प, सिधिङ हुँदै पोखरा झर्ने र देउराली हुँदै पोखरा फिर्ने रूटको संगम। लो क्याम्पबाट माथि बाटो एउटै। लो क्याम्पमा खाना खाएपछि उही उकालो सुरू भो। बाटाभरि थिए जंगली फूलहरू अनि फुल्ने तरखरका गुराँस। गुराँस फुलेर जंगल राताम्मे हुँदा कस्तो हुँदो हो त्यो ट्रेकिङ ट्रेल। सायद प्रकृतिले नै बिछ्याएको रातो कार्पेट जस्तो। आफैसँग यस्तै यस्तै गन्थन गर्दै बाटो काटेँ। नजानी नजानी, बेसुरा गीतहरूले पहाड थर्काउँदै।
लो क्याम्पसम्म पुग्दा पर माछापुच्छ्रे मात्रै देखिन्थ्यो। तर लो क्याम्पबाट बादले डाँडा पुग्नै लाग्दा अब रूप खुलाइन् अन्नपूर्णले। माछापुच्छ्रे अनि अन्नपूर्णसँग लुकामारी खेल्दै आठ घण्टा पछि बल्ल पुगेँ हाई क्याम्प।
हाई क्याम्पभन्दा माथि बस्ने ठाउँ नभएकाले त्यो विश्राम अनिवार्य थियो। भोरमै उठेर उकालो लागे मात्रै सूर्योदय हुँदा माछापुच्छ्रे अनि अन्नपूर्णसँग चिया पिउन पाइन्थ्यो। प्राय: मानिसहरू चार बजे नै उठेर उकालो लाग्दा रहेछन्। दोस्रो रात पनि उस्तै थियो ठूलो परिवार एकै ठाउँमा। तर हिजो भेटिएका सदस्यहरू आज छुटिसकेका थिए। आज, त्यहाँ बास बस्नेमा भर्खरका भाइबहिनीहरू थिए। एक जना त भर्खर १६ लागेकी नानी पनि। आहा! कस्तो रमाइलो। मलाई आफूले यात्रामा निस्कन ढिलो गरेँ भन्ने लाग्यो। तर पनि यो यात्रामा समेट्न सक्ने जति खुसी र यादहरू समेटिरहेकी थिएँ।
***
भोलिपल्ट सबेरै सुरू भयो भ्यु पोइन्ट जाने उकालो। टर्च लाइटको उज्यालोमा। माइनस सातको चिसो सिरेटोलाई छेक्न बाक्लो ज्याकेट, टोपी र पन्जाको गज्जबको बन्दोबस्ती। आँखाले देखुन्जेल आकाश थियो शिरमाथि। नाङ्लोमा केलाउन राखेको चामल जस्तै आकाशै ढाक्ने गरी छरिएका थिए ताराहरू। बीचमा थियो चन्द्रमा। शब्दमा उर्तान कहाँ सहज हुनु मलाई।
अब भने लेक लाग्ने सम्भावना पनि थियो। म सतर्क थिएँ। केही यात्रीहरू आधा बाटोबाटै फर्किए। केही घण्टौं लगाएर पुगे। मलाई साढे दुई घण्टा लाग्यो। त्यो साढे दुई घण्टामा दर्जन पटक सास फुलेर मुटु फुट्ला जस्तो भयो। टाउको चट्चट् गर्दै थियो। बिसाउँदै, पानी पिउँदै। पैताला मुनिको हिउँलाई त्यो तातेको टाउकोमा राख्दै मलाई पुग्नु थियो भ्यु पोइन्ट, ४२ सय मिटरको उचाइमा।
जब जब ओराली आउँथ्यो मलाई रिस उठ्थ्यो, 'डाँडामा पुग्नु छ यो बेकामको ओराली किन आउँदो हो।'
एक्लै प्रश्न अनि आफैलाई जबाफ दिँदै म अघि बढ्थेँ। आज भने बाटाभरि ताँती थियो। कोही भ्यु पोइन्टको टी हाउसका व्यापारी, व्यापार गर्न हिँडेका। कोही विदेशी पर्यटक अनि धेरै स्वदेशी पर्यटक। त्यो अँध्यारो बिहानीमा हिउँमा जुत्ता बजारिएर घरप्प गरेको र आफ्नै छाती फुलेर आएको स्वाँस्वाँ आवाज स्पष्ट थियो। भ्यु पोइन्ट पुग्नै लाग्दा नाक ठोस्सिने उकालोले निकै चुनौती दियो। थचक्क बस्न बाध्य बनायो। चुनौती त मभन्दा निकै अघि मर्दी भ्यु पोइन्ट पुगेर आएको मेरो भाइ आयुषले पनि दिएकै थियो। मोटी कसरी पुगेर आउँछ्यौ भनेर गिज्याएथ्यो। तर पनि माछापुच्छ्रे र अन्नपूर्णसँग चिया पिउनु थियो। भेट्न आउँछु भनेर गरेको वाचा पूरा गर्नु थियो। खुट्टा उचालिएकै थिएन तर मन भने अघि नै उडेर माथि भ्यु पोइन्ट पुगिसकेको थियो। त्यो अप्ठ्यारो ठाउँमा रेलिङको सहारा, मेरा लौरीहरूको सहारामा बल्ल बल्ल शरीरले पनि छिचोल्यो गन्तव्य।
-1777712998.jpg)
त्यो दिनको सूर्योदय समय थियो बिहान ६ बजेर २७ मिनेट। म पनि ६ बजेर २५ मिनेटमा पुगेँ। त्यो उकालो छिचोल्दा ठूलै युद्ध जिते जस्तो लाग्यो। त्यो जितको उत्सव मनाएँ करिब दुई घण्टा, माछापुच्छ्रे धौलागिरि, अन्नपूर्ण, ग्वङ्गपूर्ण, हिमचुली, मर्दी, निलगिरी, सिंगुचुली, थार्पुचुली, बराह शिखर र लमजुङ हिमालसँगै बसेर।
सफा खुलेको मौसम। आँखा वरिपरि सबै सेताम्मे। नजिकै छुन मिल्ने गरी हिमाल। नजिकैबाट न्यानो बनाइरहेको सूर्यको किरण। ती क्षणहरू क्यामरामा कैद गरेँ। केही तस्बिर, केही भिडिओ। केहीबेर पर्यटकहरूको मुहार पढेँ। त्यो उत्साह, त्यो उमंग नियालेँ। मेरो पिताजीको पुस्तक बोकेरै गएकी थिएँ। सस्वर वाचन गरेँ पिताजीको कविताका हरफहरू। हिमाल र हिउँको बीचमा आफूलाई न्यानो राख्न आमाको मजेत्रो पनि साथै थियो। अनि साथै थियो मलाई काठमाडौंमा पर्खिरहेकी मेरी आयरा र अनिलजीको याद। एक्लै हिँडेँ पनि त साथै हिँड्छन् यादहरू। तर मलाई फर्किने हतारो भने पटक्कै थिएन। त्यहाँ बसुन्जेल ठिक पारेँ उनीहरू सबैलाई ल्याइदिने कोसेली पनि। हिउँमा लेखिएको उनीहरूकै नामको तस्बिर।
समय घर्किंदै थियो। अब ओर्लिन पर्थ्यो मैले। भ्यु पोइन्ट पुग्न जति हतारो थियो, उति नै मन गह्रुङ्गो भएको थियो फर्किन। फिटिक्कै मन मानेकै थिएन। टिलपिल गरेर बाटो नदेखिने गरी ड्याम्मै ढाकियो आँखा। किन हो कुन्नि, म भन्दा अघि मेरा आँसुहरू ओरालो लाग्न थाले। केही छुटे जस्तो। कोही छुटे जस्तो। मुटु बेस्सरी गाँठो परेथ्यो। त्यहीँनेर हो मजेत्रोले आँखामा लागेको बादल पुछेर ओराली झरेको। एक्लै रूँदै ओरालो झर्ने सायदै हुँदा हुन् कोही तर त्यो खुसीको अन्तर घुलन थियो। फैलिएको तृप्ति र अन्तरनन्दको स्वर्गानुभूति थियो।
प्रकृति आमा हो भन्छन्, त्यसमाथि मानव अतिक्रमणले छोई नसकेको कञ्चन र कोमल प्रकृति। आमाको काखबाट छुट्नु भनेको साँच्चै छुट्नु हो र छुटाइमा अनायास दिल आफै पग्लिँदो रहेछ र मान्छेहरू यसैलाई आँसु भन्दा रहेछन्।
जाँदा जसरी आफू आफैसँग गफिँदै गएकी थिएँ, फर्केर हाइ क्याम्प नआइपुगिन्जेल म आफैसँग पनि बोलिनँ। त्यहाँ ब्रेकफास्ट गरेर सुरू भो अब निरन्तर ओरालो। हिजो आउँदा उमङ्ग भए जस्तो छोड्दा भारी मन थियो। जति ओर्लिंदै गयो उति नै पर पर भयो माछापुच्छ्रे र अन्नपूर्ण। हाइ क्याम्पबाट लो क्याम्प हुँदै पाँच घण्टामा सिधिङ झरेँ। सिधिङबाट जिपमा पोखरा। अनि काठमाडौँ फर्किँदै गर्दा पोखराको आकाशबाट यो पल्टलाई अन्तिम पटक बिदा मागेँ माछापुच्छ्रे र अन्नपूर्णसँग।
मागेको बिदाजस्तो सरल रहेनछ, दिलबाट साँच्चै बिदा हुन।
-1777712998.jpg)
-1777712997.jpg)
-1777712997.jpg)
-1777712997.jpg)
-1777712998.jpg)
-1777712997.jpg)