तिहारको ५ दिनअघि मसँगै मेरो बुवा, आमा, श्रीमती, छोरी, फुपू अनि साथीहरू सहित १३ जना मुस्ताङको लागि गएका थियौं।
काठमाडौंमा सधैंको दौडादौड त्यसमा पनि मुटुको सर्जरीमा खट्नुपर्ने व्यस्तताको थकाइलाई केही दिनका लागि पनि आराम दिन मन थियो। त्यही भएर पनि अहिलेसम्म नगएको मुस्ताङ जान मन लाग्यो।
काठमाडौंदेखि पोखरा, पर्वत, बागलुङ, म्याग्दी अनि जोमसोम हुँदै कागबेनीसम्म म आफैले गाडी चलाएँ। त्यसपछि भने कागबेनीबाट ओम मगर भन्ने साथीको गाडीमा गयौं।
कागबेनीसम्म बीचबीचमा बाटो बिग्रिएको भए पनि पिच बाटो छ। म्याग्दी खण्डमा बिग्रिए पनि मुस्ताङदेखि बाटो राम्रो रहेछ।
कागबेनीबाट ग्राभेल सडक छ। कागबेनी आफैमा सुन्दर लाग्यो।
मुक्तिनाथबाट आउने कागखोला र कालीगण्डकी मिसिने ठाउँलाई कागबेनी भनिएको रहेछ। त्यो दोभानमा आफ्ना पितृको श्राद्ध गरिने भएकाले मेरो ममीले पनि आफ्नो आमाको श्राद्ध गर्नुभयो।
मुस्ताङको सबभन्दा सुन्दर पक्ष भनेको त्यहाँबाट हिमाल दक्षिण देख्न पाइन्छ। यता हरियो देखेको तर त्यहाँका डाँडा नांगै थियो। यद्यपि मिलाएर बनाएजस्तो लाग्ने कुनै खैरो, कुनै रातो, कुनै पहेंलो अनि कुनै कालो रङको थियो। घाम परेको बेलामा ती डाँडाहरू झनै चिटिक्क देखिने रहेछ।
-1763120469.jpg)
कागबेनीमा अडिएर हेर्दा तल कालीगण्डकी, माथि मुक्तिनाथ दक्षिणमा हिमाल वरिपरि नांगा डाँडा देख्न सकिन्छ।
कागबेनी हुँदै हामी मुक्तिनाथ गएर बस्यौं। अर्को दिन लोमान्थाङमा बसेर कोरला घुमेपछि हामी म्याग्दीको तातोपानीमा बस्न आइपुग्यौं।
अर्को दिन फेरि पोखरा पुग्यौं। पोखराबाट गएको चौथो रात हामी पोखरा नै बस्न आइपुग्यौं।
पोखराबाट सिधैं मुक्तिनाथ पुगेकाले लेक लाग्ने रहेछ। समुन्द्री सतहबाट ३८ सय मिटरको उचाइमा रहेको ठाउँमा अक्सिजन नपुगेजस्तो हुनु स्वाभाविक पनि हो। त्यसैले केही औषधि लैजान पर्ने मेरो सुझाव छ। हामीले पनि लगेका थियौं।
मुक्तिनाथ र लोमान्थाङ दुवैतिर बस्नको लागि ठाउँ राम्रो रहेछ। तिहारको थोरै अघि भएकाले धेरै भीड पनि थिएन। तिहारपछि जानेहरूलाई भने भीडले गर्दा केही अप्ठ्यारो परेको सुन्नमा आएको थियो।
पर्वतमै जन्मिए, हुर्किएको भए पनि म म्याग्दीको गलेश्वरभन्दा माथि गएको थिइनँ। मुटु परीक्षणका शिविरहरू देशका विभिन्न ठाउँमा गर्दा पनि ती ठाउँ जाने अवसर जुरेन। कहिल्यै नगएको हुनाले यात्रामा यसै पनि उत्सुकता हुने नै भयो।
मुस्ताङ लाग्नसाथ हाम्रा लागि वाउ भन्ने खालको दृष्य देख्न सकिन्छ। घरहरू पनि फरक खाले देखिन्छन्। माथिल्लो मुस्ताङ लागेपछि ठाउँ ठाउँमा केही रूखहरू देख्न पाइए पनि अरू हरियाली देख्न पाइँदैन। चौरीगाईं, भेंडा च्याङ्ग्रा चरेका दृष्य हेर्दै फरक भूगोलको यात्रा गरेको अनुभूति गर्ने अवसर मिल्यो।
यसो भन्दै गर्दा त्यहाँ सधैं बस्नेलाई कस्तो लाग्छ सोध्न पाइएन तर हामी घुम्न जानेलाई मुस्ताङ साँच्चै रमाइलो छ।
घाम लागेको दिन एकदमै घमाइलो भए पनि २ बजेपछि बेस्किन हावा चल्ने रहेछ।
-1763120469.jpg)
अर्को त्यहाँको रमाइलो र राम्रो पक्ष भनेको सफा र स्वच्छ पनि हो। किनकि त्यहाँ फोहोर देख्न पर्दैन। अनि मान्छेहरू शान्त र तनावरहित पनि लाग्ने रहेछ।
त्यहाँको आकर्षक भनेको कोरला नाका पनि हो। पहाड छिचोलेर गएपछि समथर भूभागमा कोरला नाका छ।
समथर भूभागको बीचमा २४ नम्बर पिलर छ। पिलर उता चीन छ अनि यता नेपाल। एउटै भूगोल भए पनि उता र यतामा धेरै फरक छ। धेरै मात्र होइन आकाश र जमिनकै फरक छ भन्न मिल्ने अवस्था छ। चीन तर्फको भौतिक संरचना कति व्यवस्थित छ तर हाम्रातिर सानो झुपडी छ।
तलदेखि मोटरसाइकलबाट जाँदै गर्दा सबै जसोले नेपालको झण्डा बोकेका थिए। किन बोकेका होलान् भन्ने लागेको थियो। त्यहाँ पुगेपछि थाहा भयो कि हाम्रो पिलरमा बसेर झण्डा बोक्नलाई रहेछ। चीनतर्फ ठूलो झण्डा छ तर हामीले झण्डा पनि राखेका छैनौं।
झण्डा बोकेर नेपालतर्फ फर्किएर फोटो खिच्न पाइने रहेछ तर चीनतर्फ फर्किन पाइँदैन। झण्डा नबोकिकन भने चीनतर्फ फर्किएर फोटो खिच्न पाइन्छ।
त्यहाँका बासिन्दाले घरमा राखेको झण्डा लिएर हामीले पनि फोटो खिच्यौं।
बोर्डरमा रहेको पिलरभन्दा उता गएमा चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिने रहेछन्। नियम मिचेको भनेर केही पर्यटकलाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएर केही दिन राखेको घटना पनि हामीलाई स्थानीयले सुनाएका थिए।
-1763120468.jpg)
स्थानीयका अनुसार उनीहरू भने १० किलोमिटर परसम्म चीनतर्फ जान पाउँछन्। त्यहाँबाट सामान ल्याउने अनि बेच्ने पनि गर्छन्।
हाम्रो भन्सार अलि तल रहेकाले त्यहाँ त कन्टेनर जस्तो मात्र रहेछ अनि सुरक्षाकर्मी पनि देख्न पाइएन। एउटा भवन त राज्यले जसरी पनि बनाउन सक्थ्यो होला भन्ने लाग्यो। हुन त हामीजस्ता सर्वसाधारणलाई लाग्ने मात्र न हो। आखिर काम गर्ने सरकारले हो। उसले अहिलेसम्म गरेको छैन।
एकातिर राज्यको उपस्थितिको सवाल छ अनि अर्कोतिर पर्यटकीय क्षेत्र पनि हो।
मुस्ताङ, जहाँ पर्यटकीय हिसाबले प्रचुर सम्भावना छ। त्यहाँ जाने सडक अनि भौतिक संरचना निर्माणमा ध्यान पुर्याउन सके आन्तरिक र बाह्य पर्यटकको हब बनाउन सकिन्छ। सँगै भारतबाट धार्मिक पर्यटकको सम्भावना पनि उत्तिकै छ। किनकि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ गएर सेल्फी खिचेको फोटो समेत त्यो बेला निकै चर्चित बनेको थियो। हामीले त्यसलाई पनि मार्केटिङ गर्न सकेनौं। अब योभन्दा ढिलो गर्नु हुँदैन।राज्यले मुस्ताङको विकासमा जति ढिलो गर्छ घाटा हामीलाई नै हुने हो।
-1763120469.jpg)
-1763120466.jpg)
-1763120467.jpg)
-1763120466.jpg)
-1763120466.jpg)
