व्यस्त जीवनबाट सन्चित केही खुसीहरू व्यक्तिगत शान्ति, अध्यात्मिकता र सुखको निमित्त खर्चिने, ठूलो रहरहरूमध्ये एक पूर्वको हिमाली तथा पहाडी जिल्ला हुँदै ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा माता तथा मुकारूङ सम्मको पदयात्रा!
पटक पटक यात्राको योजना बने पनि ती यात्रा विविध बहानामा अ-यात्रा मा परिणत हुन्थ्यो! मनमा बेग्लै प्रकारको तृष्णा बोकेर हिँडिरहेको हुन्छ मन! थोरै खलोपन!
दिदीभाइ यस्तै सल्लाह गर्थ्यौं। कति पटक त जाने भनेर ब्याग नै प्याक गर्दा पनि यात्राले पूर्णता पाएन! ती सबैथोकको दोष मातातिर तेर्स्याउँदै माताले बोलाउनु भएन भनेर पन्छने काम गर्यौं!
३/४ वर्ष नै भएछ! तर यस पटक भने दसैंको बिदामा पारिवारिक भेला र कतै घुम्न जाम भने योजना बन्दै गर्दा, गन्तव्य चाहिँ कहाँ? भन्ने प्रश्नमा अल्झियौं।
यतिमै एक न्युज फिल्टर फेसबुकको भित्तामा आँखा टक्क अडियो।
'वाउ… झापाकी श्रृङ्खला भट्टराईले पाथीभरा माताको २१ पटक दर्शन गर्नुभएको छ भने उहाँको १०० पटक पुर्याउने इच्छा रहेको छ। उहाँ भन्नुहुन्छ, 'पाथीभरा माताको कृपा यति रहोस् कि म ९० वर्षको उमेर हुन्जेल यसैगरी हिँडेर सय पटक पुर्याउन पाऊँ।'
-1767345419.jpg)
पाथीभरा क्षेत्र विकास समिति, ताप्लेजुङले हालेको देखियो।
आफ्नै दिजु २१ पटकसम्म हाल त २२ भयो क्यारे। हामी भने गएको छैनौं! एक पटक पनि! भन्ने कुरा भयो।
म त जाने निश्चित नै थियो। र मसँगै जाने पूर्व तयारी विस्तार रूपमा प्रियंका दिदीलाई पस्कने। यसरी ४ जना जाने निश्चित भयो। भाइटीकाको भोलिपल्ट जाने!
केही दिनपछि ! समय यस्तै कट्यो! समय नजिकिँदै गयो! हाम्रो ४ जनाको समूहमा तृसना दिदी, प्रविन भिनाजु, रमिता दिदी र दाजु जाने पक्का भयो।
जागिरे जीवनबाट छुटाइएको ४ दिन! ८ समूहको बिहानीको पहिलो घामको किरणसँगै यात्रा सुरू भयो। मधेसदेखि पहाडको धुम्तीहरू छेक्दै! बाटामा आत्मीय आफन्तहरूको न्यानो भेटघाटले पूर्ण ताजा हुने! हाम्रो पहिलो दिन बसाइँ 'आठ अ' को जिल्लामा भयो! अर्थात् इलामको कन्याममा भयो।
दोस्रो दिन यात्राले फेरि यात्रा नै रोज्यो। हरिया चिया बारीमा भर्ररै फुलेका मुनाहरूमा घामको दोस्रो दिनको किरण विस्तार स्पर्श गरेको थियो ती हिराझैं बलिरहेका थिए।
विगत दुई दिनको निरन्तर यात्रा! पछि ताप्लेजुङ जिल्ला पुगियो। ताप्लेजुङबाट काफ्ले पाटीसम्मको यात्रा बाटो अलि खराब र व्यक्तिगत साधन लैजान नपाउने बाध्यात्मक नियमले गर्दा त्यहाँबाट काफ्ले पाटीसम्म त्यहाँको एक लोकल गाडीमा गइयो। यहाँबाट सुरू भए हाम्रो पदयात्रा! डेढ घन्टाको सानो उकालो! खासै गाह्रो थिएन निकै व्यवस्थित सिँढीको खुट्किलाहरू! जुनको शित उज्यालोमा पत्थरका खुड्किलोसँग जिस्किँदै थिए। ती दुई दिनदेखि बन्दकमा पारि १६ जिल्ला पारि लेर्याएका पाइतालाहरू!
'कुनै पनि कुरा संयोगले हुँदैन, सबै कुरा लेखिएको हुन्छ।' भनेजस्तै हाम्रो पूर्वको ताप्लेजुङ जिल्लाको एक प्रसिद्ध तीर्थस्थल पाथीभारा मन्दिरसम्म जाने दिन जुरेको थियो। त्यसदिन बिदा भएर होला निकै भीड थिए माथि होटलहरूमा। हामी भने ९ नम्बरको होटलमा श्रृंखला दिदीले पहिले नै बुक गरेको भएर सहज भयो!
सीमित होटल र एकै दिन पुगेका असीमित भक्तजन! 'कहिले त डाइनिङमै सुत्नपर्छ! के गर्ने यस्तै छ सिनेमाको व्यवसाय!' भन्दै होटलका साइला दाइ सुनाउँछन्!
'भीड धेरै भएमा केमा बस्छन् र दाजु यात्रीहरू?,' मेरा प्रश्नका उत्तर!
'दिदी, तातो पानी भोलि बिहान मिलाइदिनुस् है?,' हाम्रो आदरपूर्ण प्रस्ताव सिधै अस्वीकार गर्दै उनले भनिन् 'बिहान ५ बजे यता पानी पाइन्न भाइ! गिजर नि बिग्रिएको छ!'
९ नम्बरदेखि माथि उक्लिँदै गर्दा बाटामा निकै रमाइला देखिन्थे! पदयात्रा मलाई जीवन जस्तै लाग्छ! कसैलाई सहज र कसैका लागि कठिन!

होटलहरू छुटेसी अँध्यारो बाटाहरू, हाम्रो टोलीमा आआफ्नो गतिले उकालाहरू अघि र पछि गर्दै पुगे। हिजो गाह्रो भएको रमिता दिदी आज सहजै उकालो उक्लिएको र सबभन्दा अघि गएको सुन्दा हामी सबै दंग पर्यौं!
म भने मेरो पहिलेकै सिद्धान्तमा! पाहाड चढ्ने भन्दा, चढाउनेको भूमिका खेल्दै थिएँ! त्रिसणा दिदी, पूर्णिमा र म!
वालमा हिँड्दा थाक्ने मेरी दिदी! त्यस्तो सिधा उकालो कसरी चढ्छे होला? भन्ठान्थेँ!
एक भिरमा टाँगिएको म्याप देखाउँदै त्रिसणा दिदी भन्नुहुन्छ! 'आबुई यत्रो बेरमा जम्मा ७०० मिटर मात्र हिँडेछौं हामी!'
बिहानी समय हिमालको चिसो र पातलो अक्सिजन केबल कम हुनु! उकालो उकालो मात्र न भयो! स्वर्ग जाने बाटो भएको थियो!
पानी र केही खानेकुरा अघिका टोलीसँग धेरै अघि पुगिसकेछ। त्यसभन्दा माथि कुनै पसल नहुँदा थोरै गाह्रो देखियो। तर नेपाली मन तीर्थस्थलको ठाउँ दिदीहरूलाई गाह्रो भएको देखेर सँगैको यात्रुहरूले 'गाह्रो भाको हो? यो लेग आलु ठिक हुन्छ' भन्दै सहयोग गर्नुभयो!
८१ वर्षीया धराने आमा तथा साना ४ वर्षीय सानो बाबु स्वाँ-स्वाँ गर्दै हिँडेको देखेर मनै प्रफुल्ल भयो! उहाँहरूकै पाइताला पछ्याउँदै हिँड्यौं हामी पनि!
मधेसका फाँटमा कुदेका खुट्टाहरूलाई एकाएक हिमाली डाँडा चढ्दा त त्यहीँका रैथाने पोटर दाजुहरू निधारमा नामको पारिवारिक बाध्यता तथा एक कोटा सीप बोकेर आफूभन्दा ठूला मानिसहरूलाई पिठ्युँमा यसरी बोकेका थिए कि मानौं उनीहरू कपासका भुवा हुन्!
जाँदै गर्दा ठूला घन्टीको आवाजले शान्त त्यस ठाउँमा एकाएक सन्तुष्टि छरेझैं भयो! निकै व्यवस्थित खुड्किलाहरू र सौन्दर्यीकरणमा प्रयोग गरिएका ती घन्टीका गेट तथा घन्टीहरूले मन भुल्याउने एक पाटाको रूपमा काम गरेको थियो!
काचो निन्द्रा, ठाडो उकालो चढेर थाकेका शरीर, अथाह आस्था र विश्वास एक एक पाथी बोकेर करिब बिहानको ६ बजे हामी मन्दिर प्राङ्गणमा पुग्यौं। सूर्योदय हुँदै थियो र खुलेर कञ्चनजङ्घा हाँसिरहेको दृश्यावलोकन शब्दमा व्यक्त गर्न सकिन्न!
कुम्भकर्ण, मकालु र लोत्से हिमालहरूको ३६० डिग्रीको मनमोहक दृश्यमा हेर्दा मनै लोभियो।
हामी ढिलो पुगेर होला मन्दिरमा लामो लाइन भइसकेको थियो। हामी पनि लाइन लाग्यौं।
कहिलेकाहीँ, दर्शनले जीवनको उद्देश्य र आध्यात्मिक मार्गको बारेमा नयाँ अन्तरदृष्टि वा बोध प्रदान गर्न सक्छ! माताप्रतिको अटूट आस्था, प्रेम र समर्पणको भावना मनमा अझ प्रगाढ हुनु ! कतिपय भक्त माता सँगको नजिक र करूणामय स्पर्श हुँदा भावुक हुनु आध्यात्मिक मार्गको पहिलो खुड्किलो हो! जसको बोध नै परम सन्तुष्टि हो!
केही पाउनु प्राप्ति हो भने केही पनि पाउने अपेक्षा नराख्नु आफ्नो कर्ममा विश्वास गर्नु सन्तुष्टि हो! सन्तुष्टिको पाथी भरेर हामी यात्राका धमिला अक्षरहरू र गहिरो आनुभूतिको साथमा फर्कियौं!