प्राकृतिक विविधताको उत्कृष्ट नमूना हाम्रो देश नेपाल विश्वका केही मुलुकहरूमध्येको एक हो।
अनुपम सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण यो देवभूमिमा मेरो मन सधैं विचरण गरिरहन्छ।
घुमन्ते मन कहिल्यै एक ठाउँमा अडेर बस्न सक्दैन, आशाका झिल्काहरू पछ्याउँदै अनन्त सुखको खोजीमा हिँड्ने एक यात्री हुँ म।
महेन्द्र राजमार्ग र पुष्पलाल लोकमार्गहरू पछ्याउँदै सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मको यात्राको अनुभव बटुलिसकेको मेरा लागि नयाँ ठाउँमा घुम्ने योजना तारान्तार आइरहेका हुन्छन्।
नेपाल, जन्मभूमिभन्दा पृथक रहेर पनि यसको प्रकृति, यसको सुन्दरता र ऐतिहासिकताले जो कोहीलाई मन्त्रमुग्ध पार्दछ। उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्किएका हिमालका चुचुराहरू, तिनको काखमा छचल्किइरहेका तालतलैयाहरूले कसको पो मन नछोला र! प्रकृतिको यो अनुपम उपहारले भरिपूर्ण नेपालसँग जोडिएको इतिहास र त्यसैसँग सम्बन्धित संस्कृतिले मनलाई सधैं लोभ्याउने गर्छ।
हरेक ठाउँका आफ्नै विशेषता, ऐतिहासिकता र प्रेरणाको स्रोत हुन्छन्। नयाँ ठाउँको यात्राले पुराना सिमाना तोड्दै नयाँ सम्भावनाका ढोका खोल्ने अवसर प्रदान गर्छ।
दसैं–तिहारको बिदालाई अर्थपूर्ण बनाउन र शैक्षिक गतिविधिमा नयाँपन विकासको निम्ति पोखरा महानगरपालिका–१०, रामबजारस्थित कालिका माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले हरेक वर्ष अवलोकन भ्रमण आयोजना गर्दै आएका छौँ।
त्यही उत्साहलाई निरन्तरता दिँदै, यो वर्ष रहस्य र साहसिक किस्साहरूले भरिपूर्ण मुस्ताङ जिल्लाको भ्रमण गर्यौं।
पहिलो दिन: स्याङ्गबोचेको बास
भदौ महिनाको जेनजी आन्दोलनका कारण देश अस्तव्यस्त अवस्थामा थियो। असोजको सुरूआतसँगै विभिन्न ठाउँमा आएको बाढी, पहिरो र सडक दुर्घटनाले सयौंको ज्यान लिँदै हजारौं मानिसलाई प्रभावित बनाइसकेको थियो। यस्तो जोखिमपूर्ण परिस्थितिमा यात्रा गर्नु आफैमा एक चुनौती थियो। तर, हामीले यात्रा भनेकै साहसी र आँटिला मानिसहरूको परीक्षा हो भन्ने विश्वासका साथ अघि बढ्यौं।
असोज २९ को बिहान, विद्यालयका ३३ जना शिक्षक र कर्मचारीले भ्रमणको सुरूआत गर्दा चिसो हावा हल्का बगिरहेको थियो। आकाश नीलो र सुनौलो रङले रंगिएको थियो। मेरो मनमा यो नयाँ अनुभव र सम्झनाहरूको अध्याय लेख्ने शुभ संकेतझैं लागिरहेको थियो।
हिमाली जिल्लाको यात्रा भएको हुँदा साथीहरूमाझ लेक लाग्ने डरत्रास र आफूले भोगेका आफ्नो अनुभवहरू सुनाउँदै, रमाइला कहानीहरू भन्दै हाम्रो यात्रा अगाडि बढिरहेको थियो। मुटु छुने लुम्लेको हावाले भन्ने बोलको गीतमा लय मिलाउँदै लुम्लेमा गएर तातो चियाको चुस्की लियौँ।
हिमाली जिल्लाको यात्रा भएकाले साथीहरूबीच लेक लाग्ने डर र त्यससँग सम्बन्धित आफ्ना पुराना अनुभव साझा गर्ने क्रम चलिरहेको थियो। कसैले हास्यरसका कुरा गरिरहनुभएको थियो, कसैले आफ्ना रमाइला घटना सुनाइरहनुभएको थियो। यात्राको माहोल उत्साहपूर्ण र जीवन्त बन्दै गइरहेको थियो। मुटु छुने "लुम्लेको हावाले" भन्ने बोलको गीतमा सबैले स्वर मिलाउँदै, हामी लुम्ले पुग्यौं र त्यहाँको तातो चियाको चुस्कीले बिहानको चिसो हटायौं।
लुम्लेमा चियापानपछि हाम्रो यात्रा पर्वतको कुश्मा हुँदै म्याग्दीको सदरमुकाम बेनी बजार पार गरेर, करिब तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वरधामतर्फ अघि बढ्यो।

गलेश्वर मन्दिर, प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रूपमा चिनिन्छ। म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा एउटै चक्रशिलामा अवस्थित यो तीर्थस्थल धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। कालीगण्डकी नदीका वारि–पारिका गाउँहरू र मुस्ताङ जिल्लालाई समेट्दै अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएको यस भेगमा गलेश्वर पर्यटकीय प्रवेशद्वारको रूपमा पनि परिचित रहँदै आएको छ।
इतिहासका पानाहरू पल्टाउँदा, उन्नाइसौं शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नामका एक साधुले सानो कुटी र मन्दिर निर्माण गरी यहाँ वास गर्न थालेपछि यो स्थान तीर्थस्थलको रूपमा स्थापित भएको पाइन्छ।
शास्त्र अनुसार, श्रीस्वस्थानी ब्रतकथामा वर्णित घटनामा सतीदेवीले आफ्ना लोग्ने भगवान शिवको अपमान सहन नसकी आत्मदाह गरेपछि, भगवान शिवले उनको लाश काँधमा बोकेर हिमालयतर्फ प्रस्थान गर्दा गला पतन भएको स्थानलाई गलेश्वर नाम दिइएको उल्लेख स्कन्द पुराणमा पाइन्छ।

यहाँको प्रमुख आकर्षणहरूमा—लामो खडेरीमा पनि कहिल्यै नसुक्ने बराहा पोखरी, जडभरत गुफा, ९ रोपनी क्षेत्रफलमा फैलिएको विशाल शालिग्राम जगबिनाको कलात्मक शिव मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, र विशाल साँढे मूर्तिहरू उल्लेखनीय रहेछन्।
केही समय पूजाआजा गरेर सम्झनास्वरूप तस्बिर लिँदै हाम्रो यात्रा अगाडि बढ्दै गयो। दानामा गएर बिहानको खाना खायौं।
पोखराबाट झण्डै ११० किलोमिटरको यात्रापछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको रूप्से झरनामा पुग्यौं। समुद्र सतहदेखि करिब १८०० मिटर उचाइमा अवस्थित रूप्से झरना नाम सुन्नासाथै मनमा एक किसिमको चञ्चलता जाग्यो। रूप्से पुग्ने बित्तिकै टाढाबाटै सुनिन्थ्यो झरनाको गर्जन, जसले यात्राको थकान पलभरमै हराइदियो। पहाडको काखबाट गर्जँदै बग्ने सेतो पानी, अनि सडक किनारमै उभिँदा अनुहारमा ठोक्किने स–साना पानीका थोपा,त्यो क्षण यति जीवन्त थियो कि लाग्थ्यो, प्रकृतिले आफैंले स्वागत गरिरहेकी छन्।
वरिपरिका हरियाली, ठूला ढुंगामाथि टकरिँदै तल झर्ने पानीको चमक, अनि शीतल हावासँग मिसिएको पानीको फुहार—सबैले मिलेर एक अद्भुत दृश्य कोरेका छन्। रूप्से झरनाको सुन्दरता शब्दमा बयान गर्न कठिन छ। यो त अनुभूति गर्नुपर्ने स्थल हो, जसले यात्रुलाई क्षणभरका लागि प्रकृतिसँगै विलीन गरिदिन्छ। यहि मनमोहक दृश्यलाई केही समय मन र फोटोमा कैद गरेर हामी मुस्ताङतर्फ अगाडि बढ्यौं।
बाटोमा पर्ने लेते, मार्फा, जोमसोम, कागबेनी, छुसाङ जस्ता सुन्दर ऐतिहासिक स्थलहरुको दृश्यालोकन गर्दै करिबकरिब २१३ किलोमिटरको यात्रापश्चात स्याङ्गबोचेमा गएर बास बस्यौं।
९०० मिटरको उचाइबाट सुरू भएको हाम्रो यात्रा लगभग ३८०० मिटरमा पुगेर विश्राम लियो। एक्कासि धेरै उचाइमा पुगेको हुँदा केही साथीहरूमा रिंगटा लाग्ने, टाउको दुख्ने, खाना खान मन नलाग्ने जस्ता समस्या देखापरे। विभिन्न घरेलु तथा एलोपेथिक औषधिको सहायताले उहाँहरूलाई सहजीकरण गरियो।
स्याङ्बोचेको विश्रामका क्रममा हाम्रो यात्राको अर्को रमाइलो पाटो पनि जोडियो।
यात्रामा सँगै रहनुभएका हामी सबैका प्रिय पात्र, सहायक प्र.अ. वाशुदेव अधिकारी सरको शुभजन्मोत्सव त्यही रात मनाइयो। स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्दै तयार गरिएको स्याउ र तिब्बती परिकारका साथ जन्मोत्सवको माहोल झन् उल्लासमय बन्यो।
गीत–संगीत, हाँसो–ठट्टा र आत्मीयताले भरिएको त्यो रात हाम्रो यात्राको अविस्मरणीय स्मृति बन्यो।सबै जना खुशीका साथ शुभकामना साट्दै सुत्यौं।
दिनभरको थकान र अत्यन्त चिसो वातावरणका कारण हाम्रो कोठामा रहेका कुनै पनि साथीहरू राम्रोसँग निदाउन सकेनौं। जतिसुकै प्रयत्न गरे पनि निद्रा लागेन। नाक पोल्ने, ओठ र मुख सुक्ने समस्या देखा पर्यो। रातको करिब १ बजे तातोपानीको अत्यावश्यकता महसुस भयो। अञ्जान ठाउँ, त्यो पनि मध्यरात कतै पानीको व्यवस्था नहुँदा हामी अलि आत्तियौं। प्रिय मित्र नारायण लामिछानेले होटलका मालिकलाई उठाउन लाग्नुभयो। सुरूमा होटलका साहुले उहाँलाई झपारे, तर उहाँको वाक्पटुता र मधुर स्वरको अगाडि होटल साहुको मन पग्लियो।
अन्ततः तातोपानीको व्यवस्था भयो। तातोपानी पिएपछि सबैको असहजता कम भयो। वास्तवमा, यात्रामा साथीहरू हुनु मात्र ठूलो कुरा होइन। यात्रामा सँगै रहेका साथीहरूबीचको आपसी सहयोग र माया नै साथित्वको साँचो अर्थ रहेछ, जसले कहिल्यै नबिर्सिने आत्मीयताको प्रादुर्भाव गरिदियो।
दोस्रो दिन: लोमान्थाङको बास
स्थानीय चाउमिनबाट बनेको अत्यन्त स्वादिष्ट थुक्पाको स्वाद लिएर हाम्रो यात्रा नेपाल–चीनको नाका कोरोलातर्फ अघि बढ्यो। बाटोमा देखिने मनमोहक दृश्यहरू अवलोकन गर्दै करिब १२ बजेतिर हामी कोरोला पुग्यौं।
समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा मुस्ताङको उपल्लो भेगमा अवस्थित कोरोला नाका नेपाल–चीन सीमाको २४ नम्बर सीमास्तम्भ रहेको फराकिलो पठार रहेछ।
चीनतर्फ पक्की संरचना बनेका भए पनि नेपालतर्फ भने नेपाली सुरक्षाकर्मीका लागि अस्थायी आश्रयस्थल मात्र तयार गरिएको रहेछ। भन्सार कार्यालय करिब १२ किलोमिटर तल नेचुङमा नै रहेछ। कोरोला नाकामा चिनियाँ भन्सारको आमनेसामने हुने गरी पूर्वाधार निर्माणका लागि करिब एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको भनिए पनि आवश्यक पूर्वाधार भने अहिलेसम्म निर्माण गरिएको देखिएन।
स्थानीयहरूले व्यापारका लागि पाल टाँगेर अस्थायी पसल सञ्चालन गरिरहेका रहेछन्।
उनीहरूका अनुसार उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई परिचयपत्रका आधारमा तिब्बततर्फ करिब ३० किलोमिटर दूरीसम्मका बजारमा आवतजावत गर्ने छुटको व्यवस्था गरिएको रहेछ।
चीनतर्फ बजार अत्यन्त व्यवस्थित भए पनि नेपालतर्फ पानीको अभावका कारण त्यहाँको जनजीवन अत्यन्त कष्टकर देखिन्थ्यो। त्यहाँको तीव्र र चिसो हावाले लामो समय बस्ने इच्छा भए पनि सम्भव भएन। केही किनमेल र तातो चियाको चुस्कीसँगै हामी कोरोला नाकाबाट लोमन्थाङतर्फ फर्कियौं।
कोरोलाबाट फर्किँदै गर्दा ल्होमन्थाङ गाउँपालिका–१ को छोसेर गाउँमा अवस्थित जोङ गुफा (स्थानीय भाषामा ‘सिजा जोङ) गुफाको अवलोकन गर्यौँ।
यो नेपालको सबैभन्दा पुरानो मानवनिर्मित गुफामध्ये एक रहेछ। समुद्री सतहदेखि करिब तीन हजार ७८५ मिटर उचाइमा रहेको यो गुफा अवलोकन गर्दा प्राचीन मानव सभ्यताको झल्को दियो।
गुफाको प्रवेशद्वार जमिनभन्दा माथि रहेका कारण भित्र प्रवेश गर्न पहाड चढ्नुपर्यो । यो गुफा करिब १५५ फिट अग्लो चट्टानमा खोपिएको रहेछ । जोङ गुफा भुइँसहित छ तला भएको यस्तो संरचना रहेछ जसमा करिब ५० वटा कोठा रहेछन् । हरेक तलाको बिचमा बाटो र दायाँबायाँ कोठा रहेछन् ।
एक तलाबाट अर्को तलामा जान काठका भर्याङ प्रयोग गरिएको रहेछ । गुफाभित्र बत्ती बाल्ने ठाउँ, सामग्री भण्डारण गर्ने स्थान र विभिन्न कलाकृति देख्न सकिन्छ । यहाँका कोठामा धुवाँ लागेका भित्ता र सामग्री भण्डारण गर्ने ठाउँ देखिएकाले यो गुफाले कुनै समय दीर्घकालीन बसोवासका लागि प्रयोग भएको प्राचीन जीवनशैलीको सङ्केत दिन्छ ।
छोसर गुफाको नजिकै अर्को झोङ गुफा (Jhong Cave), गर्फु र निफु गुम्बा रहेछन तिनीहरुलाई हामिले टाढाबाट नै हेरेर फर्कियौँ।
लोमन्थाङ दरबार क्षेत्रमा झरेपछि स्थानीयहरूले वर्णन गरेअनुसार स्थानीय भाषामा जोङ गुफालाई सिजा जोङ भनिने रहेछ। जसको अर्थ राजाको गुफा वा गोप्य दरबार भन्ने हुँदोरहेछ। स्थानीयको अनुसार मुस्ताङ राज्यमा बाह्य आक्रमण (विशेषतः तिब्बती आक्रमण) बढेपछि राजा र बासिन्दाले यो गुफालाई गोप्य र सुरक्षित बस्तीका रूपमा विकास गरेका थिए रे। गुफाभित्रका कोठा, भण्डारण कक्ष र चुलोको अवशेषले के देखाउँछ भने यहाँ लामो समयसम्म बाँच्न सकिने तयारी थियो।
गुफाको भ्रमणपछि हामी पहिले नै बुकिङ गरेको सांग्रिला गेस्ट हाउस पुग्यौं। कोरोलाबाट फर्किँदा भएको जाडोलाई कार्सुङ बिष्ट र गंगा कार्कीले पस्किएको मिठो चियाले तुरून्तै भगाइदियो। बिहे योग्य उमेरका उहाँहरूसँग नाम जोडेर अविवाहितलाई साथीहरूले अलिकति जिस्काउनुभयो।
होटलका सञ्चालक कार्सुङ बिष्टकी आमाले 'घरज्वाँइ नै बस्ने हो भने विवाह गराइदिने' भन्नुभयो, जसले केही समयका लागि निकै रमाइलो माहोल सिर्जना गर्यो। चियापानपछि हामी लोमान्थाङ दरबार क्षेत्रको भ्रमणका लागि निस्कियौं।
नीलगिरि र धौलागिरि हिमशृङ्खलाको बीचमा रहेको ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार। मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो भन्ने सुनेका हामीलाई निकै उत्साहित तुल्यायो। त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको रहेछ।
६ सय वर्षअघि सैनिकहरूले पहरा दिइरहने दरबारको रक्षा यतिबेला एउटा डरलाग्दो भोटे कुकुरले गरिरहेको झैँ देखियो। १५ औँ शताब्दीमा माटो ढुंगा र दाउराले बनेको यो दरबारलाई स्थानीयहरू टास्सी ध्याफेल दरबार भन्दारहेछन्। जसको अर्थ भाग्यमानी दरबार भन्ने हुँदोरहेछ।
तत्कालीन समयमा यहाँका पहिलो राजा आमेपालले बाहिरी आक्रमणबाट बच्न नौ मिटर अग्लो र ५६३ मिटर लामो पर्खाल निर्माण गर्नुभएको इतिहास रहेछ। दिनभरि खुला हुने दरबार साँझ बजेपछि भने बन्द गरिन्थ्यो रे। यही बन्द पर्खालभित्र जनताका घर, गुम्बा र बीच भागमा काँचो माटोले बनेको भव्य दरबार अझै देख्न सकिन्छ। घुम्दै गर्दा भेटिएका स्थानीयको अनुसार पर्खालभित्र १२८ वटा घर रहेछन्। अचेल पनि दरबार परिसरमा २१ वटा परिवार बसोबास गरिरहेका रहेछन्। बाँकी परिवारहरू त्यहाँबाट बसाइँ सरिसकेका रहेछन्। केहि मानिसहरू त्यहीँ पसलहरू सञ्चालन गरेर बसेका रहेछन् भने धेरैले बाहिरी भागमा होटल तथा गेस्ट हाउस सञ्चालन गर्दै आएका रहेछन्।
तत्कालीन समयमा पर्खालभित्र मात्रै घर निर्माण गर्ने चलन रहेछ, त्यसताका पर्खालबाहिर घर बनाउँदा यहाँका राजालाई शत्रुको आक्रमण हुन्छ भन्ने लाग्थ्यो रे। तर, मुलुकमा गणतन्त्र आइसकेपछि पर्खालबाहिर पनि बस्ती विस्तार भइरहेको रहेछ। बस्ती दरबारबाट टाढिँदै गर्दा दरबारको रेखदेखमा पनि कमी आएको रहेछ। यसले दरबार एक्लिँदै गएको भान भयो। स्थानीयले यहाँका अन्तिम राजा जिग्मीपलवर बिस्टलाई हाल पनि निकै श्रद्धापूर्वक नामोच्चारण गर्दारहेछन्।
हामी बास बसेको गेस्ट हाउस संचालिका स्थानीय सुन्दर युवती कार्सुङ बिष्टका अनुसार कुल पाँचवटा वडा रहेको लोमान्थाङमा करिब दुई हजार जनसङ्ख्या रहेछ। चौतर्फी माटोको पर्खालले घेरिएको यो बस्ती सुक्खा पहाडको काखमा छ। बस्ती प्राकृतिक सुन्दरताले जति आकर्षक छ, सांस्कृतिक सम्पदाले त्यत्ति नै भरिपूर्ण छ। यहाँका दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको पहिचान रहेछ। म जस्तो इतिहास र धर्ममा रूचि राख्नेका लागि विविध कारणले यो क्षेत्र निकै महत्वपूर्ण गन्तव्य रहेछ।
दरबार क्षेत्रको भ्रमणपछि गेस्ट हाउस फर्किएर केही समय सबै जना साथीहरूले रमाइलो नाचगान गर्यौं। थकानका बीच पनि संगीत र हाँसोले गेस्ट हाउस गुञ्जायमान बनायो।
मासु खाने साथीहरूले स्थानीय च्यांग्राको एक खुर (अर्थात् च्यांग्राकोएकचौथाइ भाग) मासुसँग स्वादिष्ट खाना खानुभयो भने नखाने साथीहरूले मुस्ताङको आलुको तरकारी र स्वादिष्ट दाल–भातको मजा लिनुभयो। पेटभर खानापछि सबैजना आरामको निन्द्रामा तल्लिन भयौं।
तेस्रो दिन: मुक्तिनाथ रानिपौवामा बास
लोमान्थाङमा चियाको चुस्की लिएर हाम्रो यात्रा छुसाङतर्फ अघि बढ्यो। झण्डै चार घण्टाको यात्रापछि छुसाङ आइपुगियो। बिहानको भोजनपछि हामी स्याउको बगैंचा घुम्न गयौं। आफ्नै हातले स्याउ टिपेर खाने अद्वितीय अनुभव संगाल्ने अवसर प्राप्त भयो। छुसाङमा ताजा स्याउ किनेसँगै हाम्रो यात्रा ढुम्बा तालतर्फ अघि बढ्यो।
घरपझोङ गाउँपालिका–५ मा अवस्थित ढुम्बा ताल जोमसोम बजारबाट करिब १५ मिनेटको दूरीमा रहेको आकर्षक पर्यटकीय स्थल रहेछ। ताल वरपर भौतिक पूर्वाधार निर्माणसँगै पर्यटकहरूको सुविधाका लागि रेस्टुरेन्टहरू सञ्चालनमा आएका रहेछन्।
निलो रङमा झल्किने यो ताल मुटु आकारको भएकाले मुस्ताङ भ्रमणमा आएका युवायुवतीहरू यहाँ पुगेर टिकटक बनाउने, फोटो र भिडियो खिच्ने गर्दारहेछन्। साँच्चै, ढुम्बा ताल प्राकृतिक सुन्दरताको खानीजस्तै लाग्यो।
तालको प्रवेशद्वारमा रहेका कर्मचारीका अनुसार जोमसोमदेखि ठिनी हुँदै ढुम्बा ताल पुग्ने सडक विस्तार र वरपर पर्यटन पूर्वाधार निर्माण भएपछि पछिल्ला केही वर्षयता ताल अवलोकन गर्ने पर्यटकहरूको संख्या उल्लेख्य रूपमा बढेको रहेछ।उपल्लो मुस्ताङ, कोरला र मुक्तिनाथ पुग्ने अधिकांश पर्यटकहरू ढुम्बा तालमा पनि पुग्ने रहेछन्।

समुद्र सतहदेखि करिब तीन हजार मिटर उचाइमा रहेको ढुम्बा तालको लम्बाइ करिब १६० मिटर, चौडाइ १३० मिटर, र गहिराइ १० मिटर जति रहेछ।ताललाई फन्को लगाउन करिब १५ मिनेट समय लाग्दोरहेछ। ताल र त्यससँगै देखिने अन्य मनोरम दृश्यहरूको अवलोकन गर्दै, फोटो र भिडियोमा ती क्षणहरू कैद गर्यौं। त्यसपछि रानिपौवामा पहिले नै बुकिङ गरेको गेस्टहाउस पुगेर आराम गर्यौं।
चौथो दिन: मुक्तिनाथ दर्शन गरेर पोखरा
समुद्र सतहदेखि ३ हजार ६१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरूको दृष्टिमा पवित्र तीर्थस्थलको रूपमा प्रख्यात छ। मन्दिर परिसरमा रहेका साधु–सन्तका अनुसार, मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरूप यज्ञ गरेको धार्मिक उल्लेख पाइन्छ। त्यसैगरी, बौद्धमार्गीहरूको विश्वासअनुसार तिब्बतबाट आएका एक बौद्ध पण्डितले कैलाश पर्वतको दर्शन गरी त्यहाँको पवित्र जल ल्याएर मुक्तिनाथमा सञ्चय गरेपछि १०८ धारा निर्माण गरिएको धर्मग्रन्थमा उल्लेख छ।
मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा भित्री मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। संसारको जुनसुकै स्थानमा भए पनि एकपटक मुक्तिनाथको दर्शन गरी त्यहाँका १०८ धारामा स्नान गरे मोक्ष प्राप्ति हुन्छ भन्ने दृढ आस्था छ। यही विश्वासका साथ हामीले पनि स्नान र पूजापाठ गर्यौं।
मन्दिरको दर्शनपछि भजन–कीर्तन गर्दै हामी पोखरा फर्कियौं।
यो यात्रा केवल भौगोलिक गन्तव्यमा पुग्ने उद्देश्यले होइन, आत्मिक शान्ति र अनुभव संकलनका लागि पनि अविस्मरणीय रह्यो। प्रकृतिको साक्षात्कार, धार्मिक आस्था र साथीहरूबीचको आत्मीय सम्बन्धले यो मुस्ताङ भ्रमण हाम्रो जीवनकै यादगार अध्याय बन्यो। आन्तरिक पर्यटनको विकासमा सबैले हातेमालो गरौँ। सबैलाई शुभकामना।
