पहिलो यात्रा
मुडे बजारभन्दा अलिमाथि गाडी चार्ज गर्न राखेर सुमित होटलतिर ओरालियौं। कालिन्चोकमा खाएको दुई वटा पुरी र तरकारीले अघि नै छोडेको अवस्थामा बोली पनि मधुरो भइसकेको छ।
भोकले आँत हरहर भएको बेला बास्नाले अझ खन्तीको काम गरेको छ। देखिन्छन् छुर्पीका अनेकौं प्रकार। दाँत भरेर जम्मै घाइते भएका छन्। आँखाहरू लोभिन्छन् छुर्पीका अनेकौं आकृतिमा। लाग्छ छुर्पीको मालाहरू कुनै जनावरका हड्डी हुन्। हरेक पसलको अगाडि झुन्डिएर बडो सुन्दर देखिएको छ छुर्पीको सौन्दर्य।
तर्कको ओदानमा म हराउँछु ‘आहा! तरल पदार्थलाई ठोस बनाउने कला पनि त चाहिँदो रहेछ। समय, सन्दर्भ र परिस्थिति अनुसार विचारलाई पनि त यसरी नै रूपान्तरिण गरेर नवीन आकारमा ढाल्न सकिन्छ होला नि! रूप परिवर्तन हुनु समाप्त हुनु होइन रहेछ, परिवर्तन त नवीन सिर्जना पनि त रहेछ। अस्तित्वको रूपान्तरण गर्न सके फाइदै हुनेरहेछ। यदि दूधको अस्तित्व नामेट हुनदिन्न भनेर किसानले अड्डी कसेका भए! दूधलाई नै घाममा सुकाएर सुरक्षित राख्छु भनेर हिँडेका भए! यति लामो समयसम्म घाममा सुकाउँदा दूधको हालत के हुन्थ्यो? मन हाँस्छ आफ्नै कुराले।
तुरून्तै आँखा गुलियोतिर लोभिन्छ। इलामको विशेष चकलेट त चाखेकी थिएँ। यहाँ पनि उस्तै छन् चकलेटहरू। प्लाष्टिकका विभिन्न रङका खोलमा बेरिएका चकलेटहरू लोभलाग्दा देखिएका छन्।
रातो, हरियो, पहेँलो टलटल चम्केका प्लास्टिकका खोलले खुवाको चकलेटलाई अझ सुन्दर पारेको छ। चकलेटहरू पृथक आकारमा छन्। कोही लामा। कोही छोटा। नजिकैको पसलमा सौदा गर्ने मनसायले दाम पनि सोधें, ‘कसरी हो नानु यो चकलेट?’
पसल अगाडि त्यस्तै सात आठ वर्षकी नानी छिन्। बडो फूर्ती साथ भनिन्, ‘यी यो चकलेटको १५० हो। अनि यो चकलेटको चाहिँ १०० हो। छुर्पी पनि लैजानू न! यो धुवाँमा सुकाएको छुर्पी हो। यो चाहिँ जाडोमा खाने नरम छुर्पी हो। एउटाको १०० रुपैयाँ। पिसमा लैजानू हुन्छ भने पाँच रुपैयाँ पिस। हाल्दिऊँ छुर्पी पनि?’ कति टाठी नानी।
मैले ३०० मा दुई प्याकेट खुवाको चकलेट किनें। नियालेर हेरेँ छुर्पीको बजार। तर आँट आएन किन्न। सम्झिएँ दाँंत भर्दाको पीडा। साह्रो कुरा नखानू भन्ने निर्देशन छ डेन्टिसको। हेर्छु नजिकै गएर। छाम्छु। खराउ जस्ता छुर्पीहरू पनि झुन्डिएका छन् बजारको डोरीमा। कुनै गाडा खैरो त कुनै निक्खर सेतो रङका।
देख्छु मुडेको आलु बोरा-बोरामा मक्ख परेर बसेका। मुडेको कोसेली बन्न आतुर छन्। मुडेको आलु आफ्नो अस्तित्वमा अटल छ। आफ्नो मागप्रति सन्तुष्ट छ। बोराबाट हामीलाई चिहाउँदै छ। आलु छोडेर मेरा आँखाहरू आकाशतिर तानिन्छन्। मौसम बडो लोभलाग्दो छ। आन्तरिक पर्यटन निकै फस्टाएको देखिन्छ बजारको चहलपहलमा। भरिभराउ छन् सबै होटलहरू। नेपालीहरू आन्तरिक पर्यटक बनेर आफ्नो देशको विभिन्न ठाउँको भ्रमण गर्दा हृदय आनन्दले भरिएको छ। आफ्नो आँगन नडुलेका हामी अरूको समृद्धिमा मोहित भएर आफ्नै ढिकुटी अरूलाई लुटाउन उद्धत हुन्छौँ। तर अहिले समय फेरिए छ। हिजोआज यात्राले आफ्नो अर्थमा लचकता ल्याएको छ। हिजोको यात्रा प्रायः धार्मिक तीर्थको वैशाखी टेकेर डुल्थ्यो। त्यही संस्कार प्रचलित थियो। आज विविधतामा विशिष्ट हुँदैछ यात्रा।
यात्रा संस्कृति बन्दै गरेको देख्दा मनभरी आनन्दको घाम उदाउँछ। यात्रालाई अब हामीले पनि जीवनको एक भाग बनाउँदै छौं। गर्विलो महसुस गर्छ मेरो हृदय।
हामी अब सुमित होटलमा छिरेका छौँ। भ्याइनभ्याई छ होटल सञ्चालकलाई। हामी पनि हतारिँदै एउटा टेबलमा बसेका छौँ। तात्तातो भात कुकुरबाट झिक्दै गरेको र सपासप यात्रीहरूले खाना खाएको देखेर मन सन्तुष्ट भयो। पक्कै यहाँको खाना मीठो छ। सफा पनि छ होटल। साँच्चै यहाँको स्वादिलो भोजनले उदरस्त भएपश्चात हामी पूरा चार्ज भयौं। सन्तुष्ट पनि भयौं। खाना खाएर गफिँदै गर्दा गाडी पनि ओरालियो।
शैलुङको उकालोमा छोरीहरूलाई उक्लिन कठिन होला भन्दै गुलियोको जोर्जाम गर्दागर्दै गाडी शैलुङतिर सोझियो। हतारका गोडा उक्लिए। झ्यालतिरकै सिट सुरक्षित लाग्छ मलाई। झ्यालभित्र थपक्क बस्न कहाँ मान्छन् र पहिलोचोटि नौलो भूगोलमा मोहित भएका आँखाहरू। झ्यालबाट हामफाल्छन्। बाटो सुन्दर छ। पहाडी भूसंरचना लोमहर्षक र सफा उस्तै। डाँडै-डाँडा छन् परपरसम्म। सल्लोको जङ्गल भेटिन्छ ठाउँ- ठाउँमा। मीमांसा गीत बजाउँछे उमेर अनुसार। म झ्यालबाट हेर्छु पर डाँडामा छरिएको चरिकोट बजारलाई। गाडी सलल बगेको छ आफ्नो रफ्तारमा। चालक शान्त र शालीन छन्। उत्तम छ उनको गाडी हाँक्ने कला। चालकको वाणी पनि मधुर छ।
निकै तल पुगेपछि गाडी पिचबाटो छोडेर उकालियो। बाटो त ट्याक्टर हिँड्ने जस्तो छ। बाटोमै देखिन्छ हिमाल, पहाड र तराई। इभी गाडीलाई सडकको हिमालले छोला छोला हुन्छ। त्यति सानो मार्गमा एकातिर अझ गिट्टी थुपारेको छ। गाडी हिँड्न निकै मुस्किल देखिन्छ। विपरीत दिशाबाट गाडी आएको देखिए साइड दिन कुर्नुपर्ने अवस्था छ। घडीले १२ बजेको सुइँ छोडेर एकातिर दगुरेको लामै समय भइसक्यो। मुटु थरर हुन्छ इभी गाडीले सडक बीच-बीचमा उठेका चुलीमा छुँदा।
पर्यटनको सम्भावना अत्यधिक भएको ठाउँमा किन होला काममा ढिलासुस्ती। यहाँ त रातदिन एक गरेर शीघ्रातिशीघ्र सडक निर्माणको कार्य सम्पन्न गर्नु पर्ने हो। यो सडकको चाप र व्यस्तता यहाँका मान्छेलाई थाहा हुनुपर्ने। जनप्रतिनिधिहरू किन मौन होलान्? कि आज मात्र हो यो सडकको अप्ठ्यारो? मन भन्छ- बर्खामा बिग्रेको सडक अझ उठ्न सकेको रहेनछ। 'ओ गड!' मीमांसा छोरी आत्तिन्छे। नभन्दै हाम्रो गाडी एउटा खाल्टोतिर जान खोज्छ।
चालकको कुशलताले धन्न गाडी भिरको खाडलतिर जानबाट जोगिन्छ।
बाटो कठिन भएकोले हतासिएको मन भन्छ, ‘आ बेक्कार आएको यस्तो बाटोमा।’ छातीभरी डरको पहाड लिएर गुडेकी छु। झुलुक्क शैलुङ गाउँ देखिन्छ मन ढुक्क हुन्छ अब सक्कियो उबडखाबड बाटो। हामी गाडी राख्ने ठाउँबाट सोझै मास्तिर उक्लिन्छौँ।
भव्य छ सिँढीको बाटो। अग्लो पर्खाल लगाएको बाटोमा खुड्किला पनि फराकिला छन्। प्रवेशद्वारमा एउटा बोर्ड छ मेरा आँखा ती बोर्डमा गएर केहीबेर रोकिन्छन्। प्लास्टिकका बोतल लैजान सख्त मनाही छ। प्रज्ज्वलशील पदार्थ लैजान मनाही छ। धारिलो हातहतियार लैजान मनाही छ। नियम पढेर म दङ्ग परेकी छु। चाइनाको ग्रेटवालको झ-झल्को दिने मिनी ग्रेटवालमा मन नाच्न थाल्छ।
मन हर्षित छ। उक्लिँदै गएकी सिँढीको सौन्दर्य। यात्रीहरू रमाएका छन्। हामी नेपालीहरू सिक्दैछौँ यात्रा गर्न। म देख्छु उकालोका यात्रीहरू डिङ्गो बुटमा आएका छन् अझ ओभरकोट लगाएका छन्। कोटको टाँक खुला छ। हावाको गतिमा तीव्रता छ। मिनिस्कटमा पनि देख्छु यात्रीहरू। सजिलो छैन यात्रामा यस्ता पहिरन। कोही पातलो वानपिसमा छन्। म हेर्दै छु हिल जुत्ता हातमा बोकेर हिँड्दै गरेका हिम्मतिला दिदीबहिनीहरूलाई। माया लाग्छ हुरुक्क हुने गरी। फेरि खुसीको लालीगुराँस फलाउँछु। धन्न घर छोडेर केही दिनको लागि हिँड्ने संस्कृति त निर्माण हुँदैछ। यात्राको वेशभूषा पनि सकिहाल्छन् बिस्तारै।
चिसो छ मौसम। हावा चल्दैछ छ बेतोडले। पदयात्राको लागि उपयुक्त पहिरन लगाउन सिक्नसके हामी नेपालीहरू पनि सुरक्षित यात्रा गर्न सक्ने रहेछौँ। फराकिला खुड्किला चढ्दै गर्दा आनन्दको छाती फुल्छ। चाइनाको ग्रेटवाल जान नसके पनि शैलुङको मिनी ग्रेटवाल देख्न र उक्लिन पाएका छौं हामीले पनि।
आफ्नै देशको बेग्लाबेग्लै माटोलाई छुन पाएका छौं। भिन्न-भिन्न भूगोललाई हेर्न पाएका छौँ। अलि माथि पुगेपछि एउटा बोर्डमा मेरा आँखाहरू पुनः दौडिए ‘कृपया पर्खालको माथि उक्लिएर फोटो नखिच्नुहोला, पर्खालमाथि चढेर टिकटक नबनाउनूहोला तपाईंहरूको सुरक्षाको लागि हामी सतर्क छौं। अन्यथा जरिवानाको भागिदार हुनुहुने छ।’
सभ्य समाजका सचेत र सुसंकृत पुस्तालाई वास्तवमा यस्तो सूचना नभए पनि आफ्नो शालीनता छोड्दैनन् जस्तो लाग्थ्यो। तर मेरो मन निरासी भयो हातमा स्मार्टफोन बोक्ने दुई किशोरीहरू पर्खालको माथि चढेर धमाधम टिकटक बनाउँदै छन्। भिर छ डरलाग्दो छेउमै। गीतको हाउभाउमा बिर्सिएका छन् आइपर्ने सम्भावित दुर्घटना। मलाई खसखस भएर भनिहालेँ, ‘नानी हो तल बोर्डमा लेखेको सायद देखेनौ होला। पर्खाल माथि नचड्नू, ननाच्नू , पर्खालमाथि उक्लिएर टिकटक पनि नबनाउनू भनेको छ।’
प्रविधिको चक्करमा चर्किएका युवतीले ठाडो उत्तर दिए, ‘हामी यहाँ चढ्दा के यो भत्किन्छ र?’ अझ सम्झाएँ, त्यहाँबाट लडियो भने कहाँ पुगिन्छ? हेर त उता!’ अर्की सुन्दरी अज्ञानताको ढल खोल्दै प्वाक्क बोली, ‘लडिँदैन।’ मनले अशान्त वायु अनुभव गर्दैछ। आखिर किन पढ्नु यी मान्छेले। साधारण सूचना पनि पढ्न र बुझ्न नसक्ने भएपछि। भारी भयो मन। ध्यानी मनले मेरो व्याकुलतालाई बुझेर त होला सम्झाउन थाल्छ ‘घुम्न आएकी मान्छे किन चिन्तामा डुबेकी। राम्रो राम्रो कुराहरूमा ध्यान केन्द्रित गर। उ: हेर त माथि झण्डा फरफराएको ठाउँसम्म पुग्नुपर्छ। तेरा छोरीहरू उ: माथि पुगिसके। छिटो गर।’
माथि शैलुङे डाँडातिर हेरेर आत्तिन्छु। अहो! कसरी पुगिएला! डाँडा त परै छ त! चालक भाइ पनि भन्छन्, ‘२:४० भइसक्यो त्यहाँ पुगेर फर्किन सकिएला!’ शङ्का उठ्छ। काठमाडौ फर्किनु छ। बाटो त्यस्तो उबडखाबड छ। उज्यालोमा यो भत्किएको बाटो कट्न सके! तर फेरि अर्को मन हौसला दिन नजिकै आउँछ, जा जा फेरि कहिले आउने हो। आएको बेला घुमेर जानुपर्छ।’
जाने निधो भएपछि उचालिन्छन् पैंतालाहरू। जङ्गल काटेपछि देखिन्छन् उजाड थुम्काहरू। दाइँ गरेर सफा पारेको पहेँला धानको चुली जस्तै छन् थुम्काहरू। सय वटा छन् रे यस्ता बोटबिरूवाविहीन अचम्मका थुम्काहरू। छुट्टै छ भू-संरचना। अचम्म लाग्दो छ यहाँको भूगोल। अद्भुत छ प्रकृतिको कलाकारिता। ठूलो क्षेत्रमा फैलिएको शैलुङ डाँडा प्रकृतिको अनुपम उपहार नै रहेछ।
सजिलैसँग उक्लिन सक्ने थुम्काहरू छन्। जसको सौन्दर्य हेरिरहूँ जस्तो छ। युवाहरू दगुरेका छन् थुम्काको टुप्पा-टुप्पामा। हेर्छु चारैतिर दङ्गिएकी छु। डाँडाहरूको बुनोट पनि अचम्म लाग्दो छ। कुनै डाँडाले कुनै डाँडालाई छेकेको छैन। सबैको अस्तित्व देखिएको छ। मन प्रश्नात्मक भएर उठ्छ यहाँ कुनै पनि रूख बिरूवा नहुनुको कारण के होला? कि यो पहाड ढुङ्गाले निर्मित छ? सँगै हिँडेका यात्री भन्छन् ‘शैलुङ त औषधिको खानी भएको डाँडा हो रे नि! हनुमानले लक्ष्मण मुर्छा पर्दा उचालेर लगेको डाँडा नै यही हो! त्यही भएर यो भूमिमा रूख छैनन्।’ अचम्मित हुन्छु। यही होला त! प्रश्नको चक्र घुम्छ फनफनी। कल्पना गर्छु सायद होला पनि। जराबाट उखलेको पहाड पुन: ल्याएर राखेको हुनाले यहाँ कुनै रूख बिरूवा छैन्न। कि त यी डाँडाहरूको गर्भमा रहस्यको अर्को संसार त छैन?
चिसो बतासले मेरो कपाल उडाउँछ। मान्छेको ताँती देखिन्छ परपरको थुम्कोतिर। कोही दगुरेका छन् भित्ता-भित्तामा। अप्ठ्यारो उकालोमा तीन जना केटीहरू बेतोडले कुद्छन्। हेर्दै डरलाग्छ। माथि देखिन्छ भ्यूटावर र गुम्बा। नजिकै एक हूल काग कराउँछन्। काग पनि निकै ठूला। मोटाएका काग देखेर सोच्छु कतै सिनो छ कि के हो ? तर अलि कोल्टेतिर देख्छु फोहोरको रक्षान। दिक्क लाग्छ। यस्तो पवित्र ठाउँलाई चोखो राख्न सके पो काइदा हुन्थ्यो। प्लास्टिकका बोटलहरू लैजान मिल्दैन भनेर तलै लेखेको थियो तर यहाँ, त खाएर फालेका प्लास्टिकका जुठा भाँडाहरू त असरल्ल रहेछन्।
पेप्सी र फेन्टाका बोतलहरू यत्रतत्र छन्। दोष कसको हो? यहाँ घुम्न आउने प्रायः युवा पुस्ता छन्। दुई अक्षर चिनेका। स्मार्ट युगमा स्मार्ट फोन चलाउने पुस्ता आफ्नो घरमा कति गैरजिम्मेवार। कागहरू आँखै अगाडिबाट उड्छन् चुच्चोमा फोहोर बोकेर। यस्तो भिडभाड हुने स्थानमा कुनै पुलिस प्रशासनको उपस्थिति देख्दिनँ। यात्रुहरूले मनलाग्दी गरेका छन्। मेरै अगाडि देख्छु एउटा सुन्दर युवालाई जो पानीको बोतललाई भुइँमा फालेर कुल्चिन्छ अनि फुटबल हाने झैं, हानेर हावामा फाल्छ। कुच्चिएको बोतल पल्लो डाँडामा पुग्छ।
पेप्सी, फेन्टाका बोतलहरू यत्रतत्र छरिएका छन्। चाउचाउ, चिप्स, बिस्कुट, चुरोट, गुट्खाका खोल असरल्ल छन्। मलाई ती दृश्य देखेर बडो विस्मात हुन्छ। हाम्रा अशिक्षित पूर्खाहरूलाई बरू देवीदेउता बस्छन् चुलीको टुप्पामा भनेर मस्तिष्कमा देउताको डर देखाएको भए यो किसिमको असावधानी गर्ने थिएनन् होलान्। तर पठित युवाहरूमा अथाह ज्ञान छ। पढेका छन् कक्षाकोठामा प्लास्टिकको असर पर्यावरणमा कस्तो हुन्छ भनेर। प्रकृति र पर्यावरणलाई प्रेम गर्नुपर्छ भन्ने कुरा पनि थाहा छ। तर कस्तो बिडम्बना व्यवहारमा एकरत्ती लागू गर्न जान्दैनन्। मन न्याउली हुन्छ। धाक लगाएको हैन मेरा छोरीहरू गाडीमा आफूले खाएको चोकोपाइको खोल पनि झोलामा हालेर ल्याएका छन्। सकिएको कोकको बोतल पनि ब्यागमै हालेका छन्। सबै यात्री यसरी नै सचेत भए शैलुङको यो डाँडा सधैं स्वच्छ रहने थियो।
हुसुसुसु गरेर उठ्छ हुस्सु चारैतिरबाट। लाग्छ वरिपरिको वातावरण तात्दै छ। लुकामारी खेल्दैछ प्रकृति। आफ्नो जादूले यात्रीहरूलाई मोहित पार्दैछ। आफ्नो सौन्दर्यले लोभ्याउँदैछ। कागहरू हराउँछन् कुहिरोमा। लाग्छ कागहरूको काँ-काँको कर्कस स्वरले ध्यानस्थ प्रकृतिलाई बिथोल्दै छ। त्यसैले माथि-माथि शैलुङ्गेमा शान्तिप्रेमी चौरी छैनन् अहिले।
आँखै अगाडिको अद्भुत भूगोल निमेष भरमा बादलमा परिवर्तन हुन्छ। लाग्छ अब किन उकालो चढ्नु। आकाशमा हराएको शैलुङ शून्यमा समाहित छ। पुनः झुलुक्क देखिन्छ चैत्यको शिर। बादलको फौज हामीलाई देखेर होला आफ्नो पाइन देखाउन उत्ताउलो भएको छ। लाग्छ बादल बालक बन्दै छ। घरी पश्चिम दिशामा आफ्ना सम्पूर्ण सेनामेना लिएर कबड्डी खेल्दै छ। घरी उत्तर दिशामा दगुर्छ सूर्यको प्रकाश चुम्न।
हेर्दैछु शैलुङको अनुपम सौन्दर्य। कल्पिन्छ हृदय ‘आनन्दले एकरात यहाँ बस्न पाए! उत्तिनै खेर देख्छु पल्लो डाँडामा पहेँलो टेन्ड गाडेर बास बस्ने तरखर गर्दै गरेका केही युवाहरूलाई। खुसीको आकाश लिएर उत्साहित भएका युवाहरू बेपर्वाह छ्न् बादलको चकचकबाट।
हेर्दाहेर्दै पुनः शैलुङको डाँडा आकाशमा विलिन भयो। अगाडि पछाडि केवल आकाश मात्र देखिन्छ। अविश्वसनीय छ यहाँको मौसम। निमेषभरमा केही देखिँदैन। जम्मै छेक्यो भुइँमा खसेको बादलले। चुलीहरूको आफ्नै सुन्दर संसार छ। लाग्छ चुली आफ्नो रूप हामीलाई खटाई खटाई देखाउन चाहन्छिन्। गुम्बम पुगेर फर्किएका यात्रीहरू बादल झरेको डाँडा देखाउँदै हामीलाई सचेत गर्छन्, ‘नगए पनि हुन्छ उ: बादल झरिसक्यो। डाँडातिर अब किन जानू! अब खुल्दैन प्रकृतिको जादू। त्यहाँ गए पनि अब केही देखिने हैन!’ फर्किएर आएका यात्रीहरूको कुरा पनि ठिकै हो भन्छ मेरो मन।
छोरीहरू पनि फर्किने मन गर्छन्र तर मेरो भित्रको मनले भन्छ के थाहा मौसमको भर हुँदैन हामी त्यहाँ पुग्दा बादल अन्तै जान पनि सक्छ। सूर्यको न्यानो किरण पोखिन पनि सक्छ। बादलले छोपेर राख्यो भने बादलको घुम्टो उघारेर हेरौंला शैलुङको गुम्बालाई। कम्तीमा शैलुङको चुचुरोमा त पुगेर आएँ भन्ने कुराले आफैलाई सन्तोष देला।
आहा! सोच नै त रहेछ सम्पन्नता। माथि पुग्नु पनि सम्पूर्ण सौन्दर्य प्रकटित भयो। लाटिएँ म प्रकृतिको मनमोहक दृश्य देखेर। शान्तिको नाद बज्दैछ वरिपरिबाट। म चैत्यभित्र छिरेँ। ध्यानमा केहीबेर पद्मासन लगाएँ। श्वासको माला फेर्न थालेँ। शरीर हलुको भएको छ। मन आनन्दको आलापमा नाच्न थालेको छ। हृदय भरिएपछि बाहिर निस्किएकी छु। मलाई यस्तो लाग्दैछ ईश्वरको पाइला शैलुङको कण कणमा छ। त्यसै-त्यसै आनन्दको उत्सव उठेको छ मनमा।
भाषा, धर्म र जातभन्दा कयौँ गुणा माथि छ प्रकृति। जात, धर्म, लिङ्ग अनुसार मान्छेलाई विभाजित गर्ने कुसंस्कार प्रकृतिमा छैन। प्रकृति नै ईश्वर हो। हिमाली भू-संरचनालाई सर्पका आँखा उत्पन्न गरेर हेरेपछि हामी ओरालो झर्दैछौँ तर पुनः मन दुख्यो। ग्रेटवालमा जता त्यतै बान्ता गरेर छोडेको छन्। सोचेँ के चाइनाको ग्रेटवालमा बान्ता आयो भने त्यहाँका नागरिकहरूले पनि यसै गरी छादेर हिँड्छन् होला! यात्रुहरूका पाइताला छादमा परेर चिप्लियो भने के होला? किन आफ्नो घरको माया छैन हामीलाई? विदेशमा कुकुरको गु पनि प्लाष्टिकमा उठाएर हिँड्ने हामी यति सुन्दर शैलुङमाथि किन गैरजिम्मेवार हुँदैछौँ ? हामीलाई सभ्यताको पाठ नसिकाएकै हो त! शैलुङ आखिर सबै नेपालीहरूको गौरव र शान हैन र!