२०८३ साल जेठ ८ गते, शुक्रबार।
विद्यालयको नियमित कार्यभार सकिँदा नसकिँदै मनमा एउटा उत्कट आकांक्षाले पखेँटा हालिसकेको थियो।
गन्तव्य थियो— सिन्धुपाल्चोकको शिरमा अवस्थित पर्यटकीय एवं धार्मिक धरोहर 'आमा याङ्ग्री'।
लामो समयदेखि मनको कुनामा संगालिएको यो सपना साकार पार्ने लक्ष्य सहित म विद्यालयबाट सिधै साँखुतिर दौडिएँ, जहाँ सुकदेव भाइ आफ्नो मोटरसाइकलको स्टेरिङमा हात राखेर मेरो प्रतीक्षामा थिए। उनको साधनमा सवार भएसँगै हाम्रो यात्राले औपचारिक गति लियो। काठमाडौंको कोलाहल र धुवाँधुलोलाई चिर्दै हाम्रो बाइक मेलम्ची बजारतर्फ सोझियो।
मेलम्ची पुग्दा घाम ओरालो लाग्दै थियो। त्यहाँ काका तीर्थनाथ आचार्य, दाजुहरू शशिनाथ आचार्य (इन्द्रावती–५ का वडा अध्यक्ष), ज्योतिनाथ आचार्य, भूगोल आचार्य, खगोल आचार्य र भाइ शङ्खर कट्टेल हामीलाई पर्खेर बसिरहनुभएको रहेछ। मेलम्ची बजारकै एउटा मिठाइ पसलमा सामान्य खाजा, तातो चियाको चुस्की र आत्मीय भलाकुसारीसँगै हामीले यात्रा अगाडि बढाउने निधो गर्यौँ। समय ढिला भइसकेको थियो, तै पनि करिब बेलुकीको ५ बजे हामीले आमा याङ्ग्रीको मूल उकालोतर्फ मोटरसाइकलको गियर बदल्यौँ।
मेलम्ची बजारबाट दुवाचौरतर्फ उक्लने बाटो कतै ढलान त कतै कच्ची थियो तर दुवाचौर काटेर जब हामी अझ माथि लाग्यौँ, सडकले आफ्नो दूरुह र वास्तविक रूप प्रदर्शन गर्यो। पूर्ण रूपमा कच्ची र ढुङ्गै–ढुङ्गा छरपस्ट भएको त्यो सडकमा मोटरसाइकल सन्तुलनमा राख्न निकै धौ–धौ परिरहेको थियो तर मनमा आमायाङ्ग्री टेक्ने जुन तीव्र कौतूहलता थियो, त्यसका अगाडि बाटोको सास्ती फिका प्रमाणित भइरहेको थियो।
-1780146674.jpg)
पहाडी गाउँका बाटाहरूमा जताततै डोजर कुदाइएका कारण कतिपय चोकहरूमा हामी अलमलियौँ। कतै स्थानीयलाई सोध्दै त कतै हचुवाकै भरमा अनुमानको त्यान्द्रो समातेर हामी अगाडि बढ्यौँ।
बेलुकीको ठिक ६ः३० बजे हामी सुन्दर र पर्यटकीय गाउँ सेर्माथान आइपुग्यौँ। यात्राको थकाइ मेटाउन त्यहाँ केहीबेर अडिएर स्थानीय पालिकाले निर्माण गरेको ‘ग्रेट ट्रेल’ को अवलोकन गर्यौँ र केही तस्बिरहरू क्यामरामा कैद गर्यौँ। सेर्माथानको परिवेश अत्यन्तै रमणीय थियो। पूरै बारी ढाक्ने गरी बिनाड्याङ लगाइएको आलु खेतीले गाउँको मौलिक सुन्दरता झल्काउँथ्यो। पक्की बाटोघाटोको राम्रो सुविधा नभए पनि त्यहाँ ठूला तीन तारे ‘हिमालयन माउन्टेन होटल’, पक्की घर र पुरातन शैलीमा निर्मित कलात्मक गुम्बाहरू ठिङ्ग उभिएका थिए तर एउटा नमिठो यथार्थले मन अमिलो बनायो— यति सुन्दर भौतिक संरचना र प्राकृतिक सम्पदा भए पनि उच्च शिक्षा र रोजगारीका लागि युवाहरू अन्यत्र पलायन हुनुपर्ने बाध्यताका कारण सिङ्गो बस्ती सुनसान र उदास देखिन्थ्यो।
सेर्माथानबाट अगाडि बढेपछि हामी लाङ्टाङ राष्ट्रिय निकुञ्जको सीमाभित्र प्रवेश गर्यौँ। अबको यात्रा पूर्ण रूपमा सुनसान बन्यो। मानव बस्तीहरू धेरै पछाडि छुटिसकेका थिए र वरपर केवल घना जङ्गलको साम्राज्य थियो। कतै कालिजहरू अचानक बाटो काट्दै थिए त कतै थरीथरीका चराचुरुङ्गीहरूको सुमधुर धूनले जङ्गलको सन्नाटालाई तोडिरहेको थियो। जङ्गलको त्यो एकान्त र अनकन्टार रूप देखेपछि मलाई बाल्यकालको एउटा कौतूहल सम्झना आयो— लेकतिर हिँड्दा तामाङ समुदायका मानिसहरू सधैँ किन कम्मरमा खुकुरी भिरेर हिँड्दा रहेछन् भन्ने कुराको रहस्य बल्ल खुल्दै थियो। त्यो त वनका हिंस्रक जीव र आफ्नै सुरक्षाका लागि पो रहेछ!
अगाडिको बाटो पूर्ण रूपमा जानकार नभएकाले हामी गुगल म्यापको सहारामा अघि बढ्यौँ। घागेल हुँदै अगाडि बढ्ने क्रममा करिब १ घण्टाको यात्रापछि मोबाइलको स्क्रिनमा ‘आमायाङ्ग्री बेसक्याम्प’ भनेर देखाइएको ठाउँमा पुग्दा त त्यो ठाउँ ऐतिहासिक बस्ती ‘तार्केघ्याङ’ पो रहेछ!
सहरबाट निकै टाढा र दुर्गम भए पनि बिजुली बत्तीको झिलिमिली र बस्तीको संरचना हेर्दा त्यो ठाउँ कुनै आधुनिक सहरभन्दा कम देखिँदैनथ्यो। यसलाई पहिले आमायाङ्ग्रीको बेस क्याम्प पनि भनिँदो रहेछ। रात छिप्पिँदै गएकाले हामीले तार्केघ्याङलाई भोलि फर्कँदा घुम्ने निधो गर्यौँ र आफ्नो लक्ष्यतर्फ सोझियौँ।
समयले रातको ७ः३० नाघिसकेको थियो। बाटो पूरै ठाडो उकालो र भर्खरै ढुङ्गा बिछ्याइएको हुनाले मोटरसाइकल कुदाउन निकै सास्ती भयो। पहिलो पटकको यात्रा भएकाले भूगोल हाम्रा लागि सर्वथा नौलो थियो। उकालोमा साधनले नतानेपछि हामी कतिपय ठाउँमा ओर्लिनु पर्ने भयो। त्यही क्रममा एक पटक बाइक असन्तुलित हुँदा म चिप्लिएर लड्न पुगेँ र घुँडामा सामान्य चोट लाग्यो।
त्यो अँध्यारो र कठिन घडीमा बाटोमा दुई जना स्थानीय युवा फेला परे। उनीहरूले अघिल्लो दिन पानी परेकाले माथिको बाटो हिलाम्मे र असाध्यै जोखिमपूर्ण भएको बताउँदै साधन तलै छाडेर हिँड्न सल्लाह दिए। हामीले 'साधनमा दुई–दुई जना छौँ, अप्ठ्यारो परे घचेटेर लैजाउँला' भन्दा उनीहरूले भने, 'घचेट्न त सकिएला, तर रातको समयमा किन जोखिम मोल्नुहुन्छ?' त्यही समयमा काठमाडौँ महानगरपालिकाका केही कर्मचारी र अन्य टोलीहरू बाटोको सास्ती देखेर हतोत्साही हुँदै तलै फर्कने र बास बस्ने निष्कर्षमा पुगे तर हामी पहाडकै पाखापखेरामा हुर्किएका र भिरपहरासँग जुँध्न बानी परेका हुनाले ‘जस्तै परे पनि सकिन्छ’ भन्दै अदम्य साहसका साथ अगाडि बढ्यौँ।
-1780146674.jpg)
आकाशमा जूनको मधुर उज्यालो त थियो, तर हाम्रो यात्रा उत्तिकै चुनौतीपूर्ण थियो। जति माथि गयो, बाटो उति नै हिलाम्मे थियो। ट्र्याक्टर र ठूला गाडी हिँडेकाले हिलोको खाडल यति गहिरो थियो कि मोटरसाइकलको आधा पाङ्ग्रा हिलोमै डुब्थ्यो। कतै ओर्लेर त कतै हिलोमा घचेट्दै हामी अघि बढिरहेका थियौँ। त्यही बीचमा काठमाडौँबाट आएका कलेज पढ्ने एक जोडी युवायुवतीको मोटरसाइकल हिलोमा फसेर बिचल्ली परेको देख्यौँ।
हामीले मानवीय नाताले उनीहरूलाई मद्दत गर्यौँ र हिलोबाट साधन निकालिदियौँ। तर बिडम्बना! त्यत्रो सङ्कटमा सहयोग गर्दा पनि उनीहरूले सामान्य ‘धन्यवाद’ सम्म नभनी आफ्नो बाटो लागे। सँगै रहनुभएका ज्योति दाजुले लामो सास तान्दै भन्नुभयो, 'यो ‘जेन्जी’ पुस्ता हो भाइ! आजकलका पुस्ता यस्तै छन्, सामाजिक शिष्टाचार र कृतज्ञता भन्ने चिजै छैन।'
मलाई पनि उनीहरूको व्यवहारले खिन्न बनायो, तर मनले सोच्यो— सबै मानिस कहाँ एकैनासका हुन्छन् र!
त्यो हिलो, हण्डर र अनेकौँ ठक्करहरूलाई चिर्दै अन्ततः रातको ठिक ९ बजे हामी आफ्नो अन्तिम गन्तव्य— आमा याङ्ग्री बेस क्याम्प टेक्न सफल भयौँ।
बाइक पार्क गरेर जब हामीले भुइँमा बलियोसँग गोडा टेक्यौँ, तब शरीरको सम्पूर्ण थकाइ एकैपटक हराएजस्तो भयो। त्यो निष्पट्ट अँध्यारो, अनकन्टार जंगल र हिलोको साम्राज्यलाई जितेर त्यहाँ पुग्दा मनभित्र कुनै ठूलै र ऐतिहासिक युद्ध जितेजस्तो गर्विलो अनुभूति भइरहेको थियो। लाग्यो— साहस र दृढ इच्छाशक्ति छ भने जस्तोसुकै कठिन बाटो पनि फिका साबित हुँदो रहेछ।
हामीले सुरूमै देखिएको ‘आमा याङ्ग्री बेस क्याम्प होटल’ मा बस्ने निधो गर्यौँ तर ढिलो भइसकेकाले कोठाहरू सबै भरिभराउ भइसकेका रहेछन्। साहुजीले ‘टेन्ट’ मा बस्नुपर्ने कुरा सुनाए। यात्राको असली मज्जा नै टेन्टभित्रको बसाइँमा हुन्छ भन्ने ठानेर हामी खुसी हुँदै ८ जना अट्ने ठूलो टेन्टमा बस्न तयार भयौँ। बेस क्याम्पको व्यवस्थापन र खर्कजस्तो फराकिलो चौरमा झिलिमिली बलेको बत्ती देख्दा कुनै सहरी रेस्टुरेन्टको झल्को आउँथ्यो।
शरीर थाकेको भए पनि नेपालीको रगतमा बग्ने नाचगानको संस्कृतिलाई हामीले कसरी भुल्न सक्थ्यौँ र! उमेरले ६० वर्ष पुग्न लाग्नुभएका काका र हामीले स्पिकर बजाएर नाचगान सुरू गर्यौँ। हाम्रो रमाइलो देखेर क्याम्पमा रहेका अन्य अपरिचित साथीहरू पनि जोडिन आए र वातावरण उत्सवमय बन्यो। नाचगानपछि हामीले लेकाली स्वादको स्थानीय आलु र स्वादिष्ट तरकारीसँग तृप्त हुने गरी खाना खायौँ र टेन्टभित्र छिर्यौँ। वास्तविक परीक्षा त टेन्टभित्र सुतेपछि पो सुरू भयो ! दिनभरिको सास्ती र थकाइले होला— खगोल दाइ र शङ्खर भाइले पालैपालो यस्तो चर्को घुरघुर सुरू गर्नुभयो कि सिङ्गो टेन्ट नै हल्लिएजस्तो भयो। दुई जनाको त्यो ’युगल जुहारी’ र अर्केस्ट्रा जस्तो घुरघुरको अगाडि लेकाली सन्नाटा पनि लज्जित बन्यो। भोलिपल्ट बिहान सबेरै उठेर आमायाङ्ग्री चढ्नुपर्ने थियो तर रातभरिको त्यो भीषण घुरघुरका कारण आँखाको एक प्रहर पनि ओभानो हुन पाएन। निद्रा र सास्तीको त्यो गजबको सङ्घर्षमा रात बितेको पत्तै भएन।
-1780146674.jpg)
भोलिपल्ट बिहान सबेरै ४ः३० बजे अलार्मसँगै हाम्रा आँखा खुले। रातभर सुत्न नपाए पनि आमायाङ्ग्रीको दर्शन गर्ने मुख्य लक्ष्यका साथ हामी जोसका साथ तयार भयौँ। माथि खानेपानीको स्रोत नभएकाले हातमा पानीका बोतल र केही हल्का सामान बोकेर हाम्रो पैदल यात्रा सुरू भयो। तलबाट हेर्दा टाकुरा नजिकै देखिए पनि लेकको ठाडो उकालो र पातलो हावाका कारण हिँड्न निकै कठिन भइरहेको थियो।
हामी बिस्तारै पाइला चाल्दै थियौँ। तर पहाडी भेगको हिँडाइको बानी नभएर हो या सहरी खानपान र विलासिताका कारण— हामी त ‘बोइलर कुखुरा’ जस्तै भइसकेछौँ भन्ने भान भयो; किनकि हामीभन्दा अघि सँगै हिँड्नुभएका काका र ज्योति दाजुलाई त हामीले भेट्नै सकेनौँ। बाटोमा भेटिएका अन्य यात्रीहरूसँग गफिँदै, दुःख बिर्संदै करिब १ घण्टा ३० मिनेटको कडा परिश्रमपछि हामी अन्ततः आमायाङ्ग्रीको शिखर (३,७७१ मिटर) मा पाइला टेक्न सफल भयौँ।
त्यहाँ पुग्दा लाग्यो— हामी पृथ्वीमा होइन, स्वर्गको कुनै जादुमयी कुनामा उभिएका छौँ। उत्तरतर्फ चाँदीझैँ टल्किएका हिमशृङ्खलाहरूले घेरेको त्यो अग्लो स्थान, जसको बीचमा तीनतले सुन्दर र भव्य गुम्बा ठिङ्ग उभिएको थियो। वरपर लाङ्टाङ राष्ट्रिय निकुञ्जको हरियाली र ढकमक्क फुलेका राताम्मे र सेताम्मे लालीगुराँसले डाँडै रङ्गीन बनाएका थिए। तलतिर कुहिरोको घुम्टोभित्र लुकेका तार्केघ्याङ र मेलम्चीघ्याङ, अनि त्यही बस्तीभित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध विद्यालय मेलम्चीघ्याङ स्कुलसहित अन्य साना र सुन्दर बस्तीहरू स्पष्ट देखिन्थे। हामीले गुम्बाको दर्शन गर्यौँ। हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिरहरू खिच्यौँ, टिकटक बनायौँ र करिब एक घण्टासम्म प्रकृतिसँग एकाकार भएर त्यही स्वर्गमा रुमल्लियौँ।
स्वर्गको त्यो सुन्दर अनुभूतिलाई मनमा साँचेर हामी ओरालो झर्न थाल्यौँ। बाटोमा उक्लँदै गरेका थकित नेपाली साथीहरू र थुप्रै विदेशी नागरिकहरूसँग जम्काभेट भयो। एक विदेशी नागरिकले मुस्कुराउँदै हामीलाई भन्दै थिए, 'यू पुपल आर सो लक्की टु बि बर्न इन सच अ ब्युटिफूल कन्ट्री' उनको त्यो वाक्य सुनेर मेरो छाती नेपाली हुनुको गर्वले चौडा भयो।
करिब ३० मिनेटको ओरालो यात्रापछि हामी पुनः बेस क्याम्प फर्कियौँ र तातोतातो खाजा खाएर घर फर्कने निधो गर्यौँ।
हिजो बिग्रेको बाटोमा आज डोजरले काम गरिरहेकाले फर्कने यात्रा केही सहज र सुखद भयो, यद्यपि भर्खरै ढुङ्गा बिछ्याइएको ओरालो बाटोमा मोटरसाइकल जोगाउन उत्तिकै ध्यान दिनुपर्ने थियो।

हामी हिजो छुटेको ऐतिहासिक गाउँ तार्केघ्याङ पुग्यौँ। भर्खरै पुनर्निर्माण सम्पन्न हुन लागेको त्यहाँको प्रसिद्ध ऐतिहासिक गुम्बा र स्थानीय बजारको अवलोकन गर्यौँ। सफा, सुन्दर र ठूला–ठूला पक्की घरहरू भए पनि शिक्षा र रोजगारीको अभावमा गाउँ युवाविहीन र सुनसान देख्दा मन फेरि अमिलो भयो। तार्केघ्याङको भ्रमणपछि हामी हिजो आएको बाटो छाडेर अर्को नयाँ बाटो हुँदै तिम्बु बजारतर्फ ओर्लियौँ। यो बाटो पनि पूरै कच्ची र ढुङ्गा बिछ्याइएको हुनाले यात्रा निकै कष्टकर रह्यो।
यात्राकै क्रममा मनमा अनेकौँ प्रश्नहरू उब्जिए— काठमाडौँको यति नजिकै रहेको सिन्धुपाल्चोकको यो हविगत छ भने देशका अन्य दुर्गम कुनाहरूको अवस्था कस्तो होला? यहाँका सोझा जनता, जसको काखबाट कलकल बग्ने मेलम्चीको पानी लगेर काठमाडौँका ठूला ओहोदामा बस्ने शासकहरूको प्यास मेटाइन्छ, तिनै जनतालाई यति सास्ती दिँदा पनि राज्य किन मौन छ?
यति मिठो पानी खुवाउने हेलम्बुका सोझा जनताको पीडामा राज्यले कहिले आफ्नो भूभाग सम्झेर मलम लगाउला ? यस्तै कुराहरू मनमा खेल्दै गर्दा हामी तिम्बु बजार आइपुग्यौँ। भोक र थकाइले लखतरान भएका हामी त्यहाँको एक ट्राउट फिस फार्ममा छिर्यौँ। आफैले जालमा पारेर ताजा माछा मारियो र स्वादिष्ट भोजन ग्रहण गरियो। त्यसपछि हामी पुनः काठमाडौँतर्फ अगाडि बढ्यौँ।
तिम्बु बजार सकिएपछि हामी मेलम्ची नदीको किनारैकिनार गुडिरहेका थियौँ। प्रकृतिको दोहन र राज्यद्वारा उपेक्षित त्यहाँको बस्ती अनि भत्किएका बाटाहरू देख्दा मन आक्रोशले भरिएर आयो। लाग्यो— यदि मिल्ने भए काठमाडौँ पानी लैजाने त्यो सुरूङ नै भत्काइदिऊँ र मेलम्चीको पुरानै सुस्केरा र सुसाइलाई ब्युँझाइदिऊँ! विनाशतर्फ धकेलिएकी मेलम्ची नदी त अहिले शान्त भएकी थिई, बाढीको त्यो महाविपत्तिबाट तङ्ग्रिँदै मानिसहरू फेरि जीवनका नयाँ सपनाहरू कोर्दै थिए। तर, निदाएझैँ गरेर कहिल्यै नब्युँझने यो लाचार राज्य भने अझै ब्युँझने तरखरमा थिएन।
पीडा, आक्रोश, हिलो र हण्डरका बाबजुद आमायाङ्ग्रीको यो यात्रा मेरो जीवनकै एउटा अविस्मरणीय दस्तावेज बनेको छ।
यो भूगोल प्रकृतिले दिएको अनुपम वरदान र नेपाल सरकारको चरम उपेक्षाको एउटा जीवित उदाहरण हो। स्मृतिको ऐनामा सेर्माथानको अनुपम सुन्दरता र ‘ग्रेट ट्रेल’, ऐतिहासिक तार्केघ्याङको सांस्कृतिक दृढता, तिम्बुको ‘ट्राउट माछा’ को स्वाद र बाटोको सास्तीपूर्ण कच्ची बाटो अझै ताजा छन्।
बाढीको महाविपत्ति खेपेर पनि मुस्कुराउन खोज्ने मेलम्चीको किनारैकिनार फर्कँदै गर्दा लाग्यो— राज्यले सधैं यहाँबाट काठमाडौंको प्यास मेट्ने स्वार्थ मात्र राख्यो तर यहाँका सोझा जनताको पीडामा मलम लगाउन कहिल्यै चाहेन। केन्द्र सरकारको यही लाचारीले गर्दा यो धार्मिक र पर्यटकीय धरोहर ओझेलमा परेको छ।
यद्यपि, आमायाङ्ग्रीलाई देशकै एक प्रमुख पर्यटकीय एवं धार्मिक केन्द्र बनाउने प्रचुर सम्भावना अझै छ। यसका लागि अब स्थानीय तहले केन्द्रको मुख नताकी विशेष सक्रियता देखाउनु पर्छ। स्थानीय सरकारले बाह्रै महिना चल्ने सडक पूर्वाधार, बेस क्याम्पमा व्यवस्थित र गुणस्तरीय होटलहरू, यात्री अलमलिनु नपर्ने गरी ठाउँ–ठाउँमा ’लोकेसन गाइड’ (नक्सा बोर्डहरू), भरपर्दो मोबाइल नेटवर्क र लेक लाग्ने जोखिम तथा सम्भावित दुर्घटनालाई लक्षित गरी आपतकालीन प्राथमिक उपचार केन्द्र जस्ता आधुनिक सुविधाहरूको विकास र विस्तार गर्ने हो भने यो क्षेत्र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरकै उत्कृष्ट गन्तव्य बन्ने निश्चित छ।

रातको ९ बजे बेस क्याम्प पुग्दा ठूलै युद्ध जितेजस्तो भएको त्यो अदम्य साहस र टेन्टभित्र खगोल दाइ र शङ्खर भाइको घुरघुरले दिएको सास्तीपूर्ण रमाइलो मेरो डायरीको अमूल्य सम्पत्ति बनेका छन्।
मेलम्चीको यो सुस्केराले सिंहदरबारलाई ब्युँझाउन सकोस् या नसकोस्, तर आमायाङ्ग्रीको टाकुराले म भित्र प्रकृति, संस्कृति र भोगाइहरूबाट अझ परिपक्व बन्ने एउटा नयाँ चेतना र दृढता भने अवश्य जगाइदिएको छ।
(लेखक इन्द्रावती गाउपालिका–५, धुसेनी गोकर्णेश्वर लाइट एकेडेमी, माकलबारी, काठमाडौंका प्रिन्सिपल हुन्।)