झन्डै दुई महिनाअघि तय गरिएको भारत भ्रमणको योजना हाम्रो लागि प्रतिक्षित र उत्साहजनक बनेको थियो। नयाँ स्थानहरूको यात्रा गर्ने, फरक परिवेश अनुभूति गर्ने र केही अविस्मरणीय पलहरू संगाल्ने सोचले मन उत्साहले भरिएको थियो।
तर यात्राको प्रारम्भसँगै मनभित्र एउटा हल्का अपुरोपन पनि महसुस भयो। मेरी जीवनसंगिनी शिप्रा यस यात्रामा हामीसँग सहभागी हुन सकिनन्। कार्यालयको व्यस्त कार्यतालिका र सोही समयमा तालिमका लागि विदेश जानुपर्ने परिस्थितिका कारण उनले साथ दिन पाइनन्। यात्राको रमाइलोपन र उत्साहबीच पनि उनको अनुपस्थितिले मनमा एउटा सानो खालीपन र अधुरो अनुभूति भने निरन्तर गराइरह्यो।
२२ अप्रिलको साँझ हामीले पहिले तय गरेको यात्रा योजनामा केही परिवर्तन गर्यौं। गन्तव्य र मार्गलाई थोरै परिमार्जन गर्दै नयाँ रूपरेखा बनाइयो। परासीबाट सुरू हुने हाम्रो सडक यात्रा तौलिहवा सीमाना हुँदै भारत प्रवेश गर्ने तय भयो। त्यसपछि उत्तर प्रदेशको राजधानी लखनउ, धार्मिक महत्व बोकेको मथुरा वृन्दावन, ऐतिहासिक आगरा, रंगीन सहर जयपुर, प्रसिद्ध जीण माता मन्दिर, खाटु श्यामधाम हुँदै राजस्थानको शिक्षाका लागि चर्चित वनस्थलीसम्म पुग्ने योजना बनाइयो।
यो सम्पूर्ण यात्राको व्यवस्थापन र तयारी भाइ अवध अग्रवालले निकै व्यवस्थित ढंगले मिलाएका थिए।
यात्रामा मसँग भाइ सुदीप, अवध र उनका छोरा निसान सहभागी थियौं। अवधकै नेपाली नम्बर प्लेट भएको गाडीमा करिब ३००० किलोमिटर लामो सडक यात्राको तयारी भयो।
-1780143751.jpg)
२२ अप्रिलको साँझ करिब ७ बजे हामी परासीबाट यात्रामा निस्कियौं। रातको शान्त वातावरण, सडकको निरन्तर लय र नयाँ ठाउँहरू देख्ने उत्साहले मनमा छुट्टै आनन्द भरिरहेको थियो। परासीदेखि तौलिहवा को बाटो भएर नेपाली सीमाना पार गरेपछि भारतको फरक परिवेश, सडक किनारका चिया पसल, साना बजार र यात्रुहरूको चहलपहलले यात्रालाई अझ रोचक बनाइरहेको थियो।
हामी क्रमशः लखनउतर्फ अघि बढ्दै गयौं। रात करिब १२ बजेतिर लखनउ नजिक पुग्दा करिब ३५० किलोमिटर दूरी पार भइसकेको थियो। नवाबी संस्कृति, र ऐतिहासिक संरचनाका कारण लखनउ सधैं विशेष लाग्ने शहर हो। रातको उज्यालोमा चम्किरहेको शहर हेर्दै हामीले त्यहाँको वातावरणलाई नजिकबाट महसुस गर्यौं।
त्यसपछि हाम्रो यात्रा मथुरातर्फ मोडियो। चिल्लो र फराकिलो सडक, झिलिमिली बत्ती र यमुना एक्सप्रेसवेमा गाडी गुडाउँदाको अनुभव साँच्चिकै रोमाञ्चक थियो। त्यहाँ गाडी चलाउँदा कहिलेकाहीँ गति सीमाको समेत हेक्का नरहने अवस्था आउँदो रहेछ। सडक यात्रा विस्तारै आध्यात्मिक यात्रामा रूपान्तरण हुँदै गइरहेको अनुभूति भइरहेको थियो। भगवान श्रीकृष्णको जन्मभूमि मथुरा र नजिकैको वृन्दावन हिन्दु धर्मावलम्बीहरूको प्रमुख आस्थास्थल मानिन्छ।
बिहान करिब ९ बजेतिर हामी वृन्दावनको पार्किङ क्षेत्रमा पुग्यौं। लामो यात्रापछि केही समय विश्राम र फ्रेस हुन नजिकै होटल खोज्यौं। होटलमा तयारी सकेपछि हामी बाँके बिहारी मन्दिरतर्फ लाग्यौं। तर मन्दिर पुग्नुअघि नै अर्को रोचक दृश्यले हाम्रो ध्यान खिच्यो, वृन्दावनका बाँदरहरू। यात्रुहरूको चश्मा खोसेर भाग्ने अनि कसैले जुस वा खानेकुरा दिएपछि मात्र चश्मा फिर्ता गर्ने उनीहरूको 'लीला' साँच्चिकै हेर्नलायक थियो। त्यो रमाइलो दृश्यले यात्रामा थप हाँसो र अविस्मरणीय सम्झना थपिदियो।
वृन्दावनको प्रेम मन्दिर पनि उत्तिकै अद्भुत र मनमोहक लाग्यो। सेता संगमरमरले बनेको विशाल मन्दिर, झलमल्ल भएको वातावरण र शान्त दृश्यले मनलाई एकदमै लोभ्यायो। हामीले त्यहाँ घुम्दै धेरै तस्वीर खिच्यौं र ती क्षणहरूलाई सम्झनाका रूपमा कैद गर्यौं। साँच्चिकै, प्रेम मन्दिरको सौन्दर्य शब्दमा भन्दा प्रत्यक्ष अनुभूतिमा अझ धेरै सुन्दर लाग्ने रहेछ।
वृन्दावनका साँघुरा गल्ली, मन्दिरहरूमा गुञ्जिने भजन, घण्टीको आवाज र भक्तजनहरूको भीडले वातावरणलाई पूर्ण रूपमा भक्तिमय बनाइदिएको थियो। त्यहाँ पुग्दा केवल एउटा सहरमा होइन, आस्थाले भरिएको एउटा अलग संसारभित्र प्रवेश गरेको अनुभूति हुन्थ्यो।
मथुराबाट करिब ६० किलोमिटर टाढा रहेको आगरा इतिहास प्रत्यक्ष देखेजस्तो महसुस भयो। सहरबाटै देखिने प्रसिद्ध ताजमहल, आगरा फोर्ट र मुगलकालीन वास्तुकलाले आगरा सधैं पर्यटकहरूको आकर्षणको केन्द्र रहेछ। इतिहास र कलाको संगमजस्तो लाग्ने आग्राले यात्रामा छुट्टै गहिराइ थपिदियो।

त्यसपछि हाम्रो यात्रा राजस्थानको जयपुरतर्फ मोडियो। यमुना एक्सप्रेसवे र त्यसपछि केही दूरीसम्म दिल्ली–मुम्बई एक्सप्रेसवेको यात्रा गर्दै साँझपख हामी जयपुर प्रवेश गर्यौं। होटलमा चेकइन गरेपछि थकानको वास्ता नगरी हामी नजिकैको बजार घुम्न निस्कियौं। जयपुरमा हाम्रो बसाइ दुई रातको भएकाले विस्तारै सहरलाई बुझ्दै घुम्ने सोच बनाएका थियौं।
'पिंक सिटी' भनेर परिचित जयपुर आफ्नो ऐतिहासिक दरबार, हवामहल, आमेर फोर्ट तथा रंगीन राजस्थानी संस्कृतिका कारण विश्वप्रसिद्ध छ। त्यहाँका व्यवस्थित सडक, परम्परागत कला, संगीत र स्वादिष्ट खानपानले यात्रालाई अझ स्मरणीय बनाइदियो। पुराना दरबार र किल्लाहरूको अद्भुत सौन्दर्यको प्रशंसा गर्न कन्जुस्याइँ गर्नै मिल्दैन। सहरमा आधुनिकताभन्दा पनि कलात्मकता र ऐतिहासिक पहिचानले विशेष स्थान ओगटेको महसुस हुन्थ्यो।
जयपुर विशेषगरी त्यहाँका प्रसिद्ध राजस्थानी प्रिन्ट भएका सुती कपडा र परम्परागत पोशाकका लागि पनि चर्चित रहेछ। बजार घुम्ने क्रममा हामीले केही किनमेल पनि गर्यौँ। साथै, सन् १९७८ देखि निरन्तर आफ्नो ऐतिहासिक र व्यावसायिक पहिचान जोगाइराख्न सफल एक पुरानो चर्चित सिनेमाघर हेर्ने अवसर पनि मिल्यो। त्यहाँ फिल्म हेर्दा आधुनिकता र इतिहासको सुन्दर संगम अनुभूति भयो।
समग्रमा, जयपुर सहरले हामीलाई इतिहास, कला, संस्कृति र सम्पदाको गहिरो अनुभूति दिलाउँदै अविस्मरणीय यात्रा अनुभव प्रदान गर्यो।
जयपुरबाट हामी जिण माताको दर्शनका लागि अघि बढ्यौं। राजस्थानको पहाडी क्षेत्रमा अवस्थित यो मन्दिर धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा परिचित रहेछ। पहाडको शान्त वातावरण, मन्दिर परिसरमा गुञ्जिने भक्तिमय धुन, र श्रद्धालुहरूको अटल विश्वासले त्यहाँ पुग्नेबित्तिकै मनमा एक प्रकारको अद्भुत शान्ति महसुस हुन्थ्यो।

यो मन्दिर अवध अग्रवाल भाइहरूको कुलदेवीको मन्दिर रहेछ। करिब चार पुस्ताअघि उनका पुर्खाहरू राजस्थानबाट बसाइँ सरेर नेपालको परासी क्षेत्रमा आएका रहेछन्। त्यसैले यो यात्रा केवल धार्मिक दर्शनमा सीमित रहेन, बरू नेपाली मारवाडीहरूको पुर्ख्यौली भूमि, संस्कृति र आस्थासँग जोडिने भावनात्मक अनुभूति बन्यो।
त्यसपछि खाटु श्यामधाम तर्फ़ हाम्रो यात्राको गन्तव्य बन्यो र केही घण्टाको ड्राइभमा धाम पुग्दा भक्तजनहरूको विशाल भीड र श्रद्धाले भरिएको वातावरणले मनलाई गहिरोसँग छोयो। हजारौं मानिस एउटै आस्थामा जोडिएको दृश्यले धर्म केवल पूजा वा कर्मकाण्ड मात्र नभई भावनात्मक एकताको बलियो माध्यम पनि रहेछ भन्ने अनुभूति गरायो।
हामीले होटलमा चेक–इन गर्नेबित्तिकै मन्दिर जाने निर्णय गर्यौँ। वास्तवमा भोलिपल्ट दर्शन गर्ने योजना बनाएका थियौँ, तर उत्सुकता र श्रद्धाको भावनाले धैर्यको बाँध तोडिदियो। त्यसैले हामी आस्थाका केन्द्र, बर्बरिक जी महाराज अर्थात् खाटु श्याम जी को शरणमा पुग्यौँ। करिब दुई घण्टा लामो लाइनमा बसेपछि दर्शन गर्ने अवसर प्राप्त भयो। भीड र प्रतीक्षाका बाबजुद थकानको अनुभूति भएन, बरू आस्थाले नै नयाँ शक्ति र ऊर्जा प्रदान गरेको महसुस भयो।
त्यहीँ पुगेपछि खाटु श्याम जीको इतिहास बुझ्ने अवसर पनि मिल्यो। महाभारतकालीन वीर बर्बरिक, जो भीमका नाति तथा घटोत्कचका पुत्र मानिन्छन्, आफ्नो अद्वितीय वीरता र वचनपालनका कारण प्रसिद्ध थिए। युद्धमा सदैव कमजोर पक्षको साथ दिने प्रतिज्ञा गरेका बर्बरिकसँग अपार शक्ति थियो। भगवान् कृष्णले युद्धको परिणाम र धर्मको सन्तुलन कायम राख्न उनकाे शीश दान माग्नुभयो, र बर्बरीकले सहर्ष आफ्नो शीश अर्पण गरेँ। कृष्णले उनको त्याग र भक्तिबाट प्रसन्न भएर कलियुगमा “श्याम” नामले पूजा गरिने वरदान दिनुभएको विश्वास गरिन्छ। यही आस्था र इतिहासले खाटु श्याम धामलाई लाखौं भक्तजनहरूको श्रद्धाको केन्द्र बनाएको रहेछ।
राति फर्किएपछि भोलिपल्ट बिहान पुनः दर्शन र आरतीमा सहभागी हुने निर्णय गर्यौँ। त्यसपछि होटलतर्फ फर्कियौँ, र बिहान सबेरै फेरि दर्शनका लागि लाइनमा बस्यौँ। बिहानको शान्त वातावरण, आरतीको मधुर धुन र भक्तिभावले मनलाई अझ बढी आध्यात्मिक शान्तिको अनुभूति गरायो।
यात्राको अन्तिम चरणमा हामी बनस्थली पुग्यौं। महिला शिक्षाका लागि भारतकै प्रतिष्ठित संस्थामध्ये एक मानिने बनस्थली विद्यापीठ केवल शैक्षिक संस्था मात्र नभई अनुशासन, संस्कार र महिला सशक्तिकरणको प्रतीकजस्तै लाग्यो। विशाल परिसर, शैक्षिक वातावरण र त्यहाँको व्यवस्थित प्रणालीले शिक्षा केवल पुस्तकमा सीमित हुँदैन भन्ने अनुभूति गरायो।
यस यात्राले हामीलाई केवल नयाँ शहर, मन्दिर वा ऐतिहासिक स्थलहरू मात्र देखाएन, जीवनलाई बुझ्ने नयाँ दृष्टिकोण पनि दियो। कहिले आस्थाले मनलाई शान्त बनायो, कहिले इतिहासले विगतसँग जोड्यो, त कहिले सडक यात्राका सामान्य क्षणहरूले पनि गहिरा सम्झनाहरू सिर्जना गरिदिए। परिवार, मित्रता, संस्कृति, परम्परा र यात्राको स्वतन्त्र अनुभूतिले यो भ्रमणलाई अझ विशेष बनायो।
लामो सडक, रातभरको यात्रा, होटलका छोटा विश्राम, यात्राभरका हाँसो ठट्टा, मन्दिरमा गुञ्जिएका भजन, भीडभित्रको श्रद्धा, र नयाँ शहरहरूको चहलपहलले मनमा कहिल्यै नमेटिने चित्रहरू कोरिदियो। प्रत्येक गन्तव्यले केही न केही सिकाउँदो रहेछ। कतै इतिहास बोलिरहेको थियो, कतै आस्था, कतै संस्कृतिको गहिराइ, त कतै मानिसहरूको सरलता।
यात्राको अन्त्यतिर पुग्दा एउटा कुरा गहिरोसँग महसुस भयो कि यात्राको वास्तविक सुन्दरता केवल गन्तव्यमा होइन, यात्राको क्रममा बिताइएका क्षणहरूमा लुकेको हुँदो रहेछ। कहिलेकाहीँ सडकमा बिताएका सामान्य पलहरू नै जीवनका सबैभन्दा असाधारण सम्झना बनेर मनमा बसिदिन्छन्।
आज पनि ती दृश्यहरू सम्झँदा मन फेरि त्यही यात्रामा हराउन पुग्छ। वृन्दावनका गल्लीहरू, जयपुरको रंगीन संस्कृति, खाटु श्याम धामको भक्तिभाव, जिण माताको शान्त वातावरण, र रातको सुनसान सडकमा अगाडि बढिरहेको हाम्रो गाडी। समय बित्दै जाला तर यो यात्रा भने सधैं मनको एउटा सुन्दर अध्याय बनेर जीवित रहनेछ।