आठ वर्षभन्दा बढी भयो, भक्तपुरका दिपेन्द्र खड्काले अस्ट्रेलियामा होलसेल व्यवसाय सुरू गरेको।
उनीसँगै खोटाङका सुशील बजिमाया पनि छन्। सुशीलले सुरू गरेको व्यवसाय सरस्वती इन्टरप्राइजेजमा दिपेन्द्र जोडिएका हुन्। अहिले यसको धेरै जिम्मेवारी दिपेन्द्रले नै सम्हालिरहेका छन्।
सरस्वती इन्टरप्राइजेजसँगै उनीहरू बिन्ध्यवासिनी इम्पेक्स, ८४ कुजिन्स मार्फत व्यवसाय गर्दै आएका छन्।
उनी सन् २०१६ मा श्रीमती अनुसँग सिड्नी पुगेका हुन्। सुरूमा रेस्टुरेन्टमा काम गरे। बारटेन्डर हुँदै बार म्यानेजरसम्म भए। त्यही बेला उनको भेट सुशीलसँग भएको थियो।
'सन् २०१७ को अन्त्यतिर म सुशील दाइसँग जोडिएँ। श्रीमती अनुले रिटेल पसलमा काम गर्दा भएको चिनजानकै कारण दाइसँग भेट भएको थियो। हामी अहिलेसम्म सँगै छौं,' उनले भने।
सुरूमा सुशीलले अर्डर लिएर सामान बेच्थे। दिपेन्द्र जोडिएपछि सुशीलको घरको ग्यारेजमा सामान राख्न थालियो। मार्केटिङको जिम्मेवारी दिपेन्द्रले लिए।
आफूले मार्केटिङ गर्न थालेपछि दुई–तीन महिनामै व्यापार बढेको र ६ महिनामै गोदाम लिन सफल भएको उनले बताए।
'हामी पहिले ६०–७० वटा उत्पादन मात्र ल्याउँथ्यौं, जुन नेपालीहरूले मात्रै प्रयोग गर्थे,' उनले भने, 'अहिले हामीले ७५० भन्दा बढी सामग्री बिक्री गर्छौं। जसमध्ये नेपालबाट मात्रै ४०० प्रकारका आउँछन्।'


नेपालबाट मात्रै नभई भारत, बंगलादेश, दक्षिण कोरिया, थाइल्यान्ड, भियतनाम र चीनबाट पनि सामान आयात गर्ने उनले बताए।
नेपालबाट खाद्य सामग्रीसँगै भाँडाकुँडा र पूजाको सामग्री बढी जान्छ। भारतबाट दाल, चामल, गेडागुडी, जीरा, बेसार लगायत पुग्छ। थाइल्यान्डबाट ड्रिंक्स, माछा, थाई स्न्याक्स, खीर पकाउने चामल लगायत लगिन्छ। चीन र दक्षिण कोरियाबाट पनि स्न्याक्स तथा ड्रिंक्स आयात गरिन्छ।
'नेपालबाट ल्याउन मिल्ने र अनुमति भएका सबैजसो सामग्री ल्याउँछौं। चिउरा, दालमोठ, फुरन्दाना, चाकु, अचार लगायत धेरै आउँछ,' उनले भने, 'अस्ट्रेलियाका हरेक राज्यमा हाम्रो सामान पुग्छ। सरस्वती इन्टरप्राइजेजले ल्याएको सामान नपुग्ने नेपाली भान्सा सायदै नहोला।'
नेपाली समुदायका साथै भारतीय, भुटानी र चिनियाँ समुदायमा पनि उनीहरूको सामान पुग्छ। टोकला चिया र सेन्चुरी मसला दक्षिण एसियाली समुदायमा निकै लोकप्रिय रहेको उनले बताए।
त्यस्तै चिउरा, दालमोठ, फुरन्दाना, आलु चिप्स, खोकनाको तोरी तेल, विभिन्न नेपाली ब्रान्डका अचार, तितौरा र पापड पनि धेरै बिक्री हुन्छ।
दिपेन्द्रको पढाइ भने होटल व्यवस्थापन हो। सन् २००७ मा हस्पिटालिटी म्यानेजमेन्टमा स्नातक पढ्न सिंगापुर गएका उनले सन् २०१२ सम्म त्यहीँ काम गरे। उनी क्याटरिङ सुपरभाइजर थिए।
सन् २०१२ मा नेपाल फर्किएर विभिन्न व्यवसाय गरे। त्यहीबीच बिहे भयो। श्रीमती नर्सिङमा स्नातकोत्तर पढ्न अस्ट्रेलिया गएपछि उनी पनि उतै गए।
सिड्नी पुगेपछि केही समय होटल क्षेत्रमा काम गरे। पछि श्रीमतीकै सल्लाहमा नयाँ क्षेत्रमा हात हालेका हुन्।
'सफल वा असफल भन्ने कुरा कसरी मूल्यांकन गर्ने भन्नेमा भर पर्छ। जे होस्, सफलताका लागि संघर्ष गरिरहेको छु। केही उपलब्धि पनि हासिल भएको छ,' उनले भने।
सामाजिक सञ्जालको सहजताले पनि व्यवसाय गर्न सजिलो भएको उनले बताए।
उनका अनुसार सुरआती चरणमा नेपालबाट ६ महिनादेखि एक वर्षमा एउटा कन्टेनर मात्रै सामान आउँथ्यो। अहिले करिब सात दिनको अन्तरमा एउटा कन्टेनर अस्ट्रेलिया पुग्छ।
केही समयअघि मात्रै उनीहरूले 'मःम ८८४८' कम्पनीसँग सम्झौता गरेर सिड्नीको डिलर बनेका छन्।
गत वर्ष एक करोड डलर अस्ट्रेलियन डलर (करिब १ अर्ब नेपाली रूपैयाँ) बराबरको कारोबार गरेको उनले बताए।

ग्यारेजलाई गोदाम बनार पसल पसल सामान बेच्दै हिँडेको अवस्थाबाट यहाँसम्म आइपुग्नु उनीहरूलाई सहज थिएन।
दिपेन्द्रका अनुसार सबभन्दा ठूलो चुनौती उधारोमा दिएको सामानको रकम नउठ्नु हो।
अहिले पनि अस्ट्रेलियाको बजारमा आफूहरूको ५ लाख डलर हाराहारी पैसा उठ्न बाँकी छ।
'अस्ट्रेलियामा कसैले मैले सकिनँ भनेर हात उठाइदिएपछि पैसा उठाउन धेरै गाह्रो हुन्छ,' उनले भने, 'भिक्टोरियाका एक नेपाली व्यवसायीले १९ हजार डलरको सामान लिनुभयो। पैसा माग्दा तपाईंलाई बैंकरप्सी (टाट पल्टिनु) भनेको थाहा छ होला भनेर उल्टै प्रश्न गर्नुभयो। म बैंकरप्सीमा परेँ, कानुनी प्रक्रियामा जानुस् भनेर जबाफ दिनुभयो।'
नेपाली समुदायकै व्यवसायी भनेर विश्वासका आधारमा उधारोमा सामान दिँदा कतिपय अवस्थामा ठूलो समस्या भोग्नुपरेको उनको गुनासो छ।
अर्को चुनौती भने हालै थपिएको छ। केही समयअघि एक जना व्यवसायीले नक्कली कागजात बनाएर सामान आयात गरेपछि केही नेपाली सामग्री रोकिएको उनले बताए।
उनीहरूले मगाएका दुई कन्टेनर सामान सिंगापुरबाट फिर्ता भएको थियो।
'अहिले नेपाल सरकारले फाइटोस्यानिटरी सर्टिफिकेट दिन छfडेका कारण बिरूवा तथा बिरूवाजन्य (प्लान्ट-बेस्ड) सामग्री ल्याउन पाइएको छैन। मे महिनादेखि यो समस्या भइरहेको छ,' उनले भने, 'अहिले दाल, चिउरा, गुन्द्रुक, जिम्मु, सिन्की, टिमुरको धूलो, लप्सीको धूलो लगायत खाद्य सामग्री रोकिएका छन्। यसतर्फ नेपाल सरकारको छिट्टै ध्यान जाओस् भन्ने हाम्रो अपेक्षा हो।'
गत वर्ष करिब ६ करोड अस्ट्रेलियन डलर बराबरको यस्तो सामान अस्ट्रेलिया आइपुगेको थियो।
सरकारले छिटोभन्दा छिटो फाइटोस्यानिटरी सर्टिफिकेट जारी गर्ने प्रणाली विकास गर्नुपर्ने भन्दै उनले भने, 'आवश्यक परे त्यसका लागि हामी पनि सहकार्य गर्न तयार छौं।'