ग्लोबल नेपाली
सन् २००३ मा एसएलसी पास गर्दै गर्दा श्रेया पाण्डेलाई भेटेरिनरी डाक्टर पढ्न मन लागेको थियो।
उनको परिवारले भने उनलाई इन्जिनियर बनाउन चाहन्थ्यो। दुवैको चाहना पूरा गर्नका लागि साइन्स पढ्नै पर्थ्यो। त्यसैले उनले कक्षा ११ र १२ मा साइन्स पढिन्।
१२ पास गरेपछि भने उनको मन बदलियो। त्यसपछि श्रेयाले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) मा होटल म्यानेजमेन्ट अध्ययन गरिन्। उनले नियमित रूपमा पढाइ पूरा गरिन्। सन् २००९ मा उनले न्याथमबाट होटल म्यानेजमेन्टमा स्नातक उत्तीर्ण गरिन्। त्यही बेला उनले ६ महिना दुबईको पाँचतारे होटलमा ‘पेड इन्टर्नसिप’ समेत गरिन्।
‘हामीमध्ये दुबईका लागि तीन जना छानिएका थियौं। दुबईमा गएर पेड इन्टर्न गर्ने पहिलो महिला म नै थिएँ। त्यसले मलाई धेरै कुरा सिकायो। अहिलेसम्म मैले त्यसकै जगमा काम गरेजस्तो लाग्छ,’ उनले भनिन्, ‘स्नातक सकेर मैले केही समय काठमाडौंको इभेन्ट म्यानेजमेन्ट कम्पनीमा काम गरे। त्यसपछि सन् २०१० मा बेलायत गएँ। बेलायतमा होटल म्यानेजमेन्टमा पोस्ट ग्राजुएट गरेर म एक वर्षमै नेपाल फर्किएँ। त्यहाँ रहँदा मैले पढ्दै होटलको फ्रन्ट डेस्कमा बसेर काम गर्ने मौका पनि पाएँ।’
सन् २०११ मा नेपाल फर्किएपछि उनी अस्ट्रेलियाको सिड्नी गइन्। अस्ट्रेलियामै अध्ययन गरिरहेका शंकु घिमिरेसँग उनको बिहे भयो।
अस्ट्रेलिया गएर केही समय होटलको रिसेप्सनमा काम गरिन्। त्यसपछि सिड्नीकै लेनकोप काउन्सिलमा एडमिन अफिसरको काम गरेर उनले त्यहाँको स्ट्राटा म्यानेजमेन्ट कम्पनीमा म्यानेजरका रूपमा काम गरिन्।
उनका अनुसार स्ट्राटा म्यानेजमेन्ट कम्पनीले अपार्टमेन्ट वा बहुआवासीय भवनको सम्पत्ति, सेवा, आर्थिक व्यवस्थापन र दैनिक सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने काम गर्छ।
‘मलाई त सबै कुरा राम्रै लागेको थियो। काम पनि सुरक्षित थियो अनि पद पनि राम्रो थियो। तर मेरो श्रीमानलाई अस्ट्रेलिया बस्न मन परेन। उहाँले सुत्दा पनि नेपाल, उठ्दा पनि नेपाल भन्न थाल्नुभयो,’ उनले भनिन्, ‘म उहाँसँगै सन् २०१८ मा नेपाल फर्किन तयार भएँ। उहाँ यतै आएर व्यवसायमा सक्रिय हुनुभयो। बच्चा जन्माउने र हुर्काउने क्रममा केही समय मेरो अलमल भयो।’

छोरी र छोरा भएपछि उनी सन् २०२१ देखि मात्रै व्यवसायमा सक्रिय भइन्।
उनले नवडर्मा स्किन हेयर ट्रान्सप्लान्ट एन्ड लेजर एस्थेटिक्स सुरू गरिन्।
केही समयअघि मात्रै बानेश्वरमा यसलाई अझै व्यवस्थित र नयाँ ढंगले सञ्चालनमा ल्याएको उनले बताइन्। क्लिनिकमा तीन जना विज्ञ चिकित्सक,७ जना नर्स सहित १७ जना कार्यरत छन्।
‘स्किन क्लिनिक भन्नासाथ धनीका लागि मात्रै चलाइएको भन्ने धारणा थियो। हामीले गुणस्तरीय सेवा दिन थाल्यौं। सन्तुलित मूल्य र राम्रो सेवाका कारण मानिसहरू आउन थाले। एकले अर्कालाई भन्दै जाँदा राम्रो भयो,’ उनले भनिन्, ‘अहिले बिरामीहरू राम्रो संख्यामा आउन थालेका छन्। यहाँ छाला तथा यौनरोग, शरीर र अनुहारका अनावश्यक रौँ हटाउने, कान काटिएको तथा आँखाको लिडसम्बन्धी शल्यक्रियालगायत सेवा पनि हुन्छ।’
उनका अनुसार क्लिनिकमा ट्याटु हटाउने, अनुहारमा पिम्पलका दाग तथा चिकेन पक्सका कारण बनेका खाल्टा उपचार गर्ने सेवा पनि उपलब्ध छ। साथै कपाल प्रत्यारोपण पनि गरिन्छ।
सन्तुलित मूल्यमा गुणस्तरीय सेवा दिएकै कारण १२–१३ वर्षका बालबालिकादेखि ७०–७५ वर्षसम्मका ज्येष्ठ नागरिक उपचारका लागि आउने गरेको उनको अनुभव छ।
आफूले विदेशमा रहेका नेपालीहरूका लागि समेत सेवा केन्द्रित गरेको उनले बताइन्।
‘विदेशमा छालाको उपचार धेरै महँगो छ। त्यो समस्या मैले आफै भोगेको र देखेको छु। तर नेपालमा विदेशकै जस्तो गुणस्तरीय उपचार हुन्छ, मूल्य भने करिब ७० प्रतिशत भन्दा बढी सस्तो छ,’ उनले भनिन्, ‘पैसा खर्च गर्छु भन्दा पनि विदेशमा चिकित्सककहाँ पालो पाउन गाह्रो हुन्छ। तर नेपालमा कन्सल्टेन्ट डर्माटोलोजिस्टसँग परामर्श लिन र उपचार गराउन सहज छ।’

होटल म्यानेजमेन्ट पढेको व्यक्तिलाई कसरी स्किन क्षेत्रमा काम गर्न मन लाग्यो भन्ने जिज्ञासामा उनले आफ्नो मुख्य काम व्यवस्थापन सम्हाल्ने रहेको बताइन्।
सुरूआती दिनमा अस्ट्रेलिया छोडेर नेपाल नआएको भए हुन्थ्यो कि भन्ने लागेको भए पनि अहिले भने उनी यतै रमाएकी छन्। विभिन्न कठिनाइका बीच पनि नेपालमा परिवार र आत्मबलका कारण काम गर्न सहज हुने उनको अनुभव छ।
‘म छोरा–छोरी हुर्काउँदै घरमै हराउने स्थितिमा थिएँ। मेरो श्रीमान् र ससुराको साथले मलाई व्यवसायमा आउन सिकायो,’ उनले भनिन्, ‘ससुराले त पढेको मान्छे छोराछोरी हेरेर मात्रै बस्ने होइन, घर पनि हेर्दै बाहिर पनि काम गर्न सक्नुपर्छ भन्नुभयो। त्यसले मेरो मनोबल थप बढायो।’
महिलालाई बच्चा हुर्काउँदै काम गर्न भने कठिन हुने उनको अनुभव छ।
‘मेरो ७ वर्षकी छोरी र ४ वर्षको छोरा छन्। मलाई परिवारको पनि साथ छ,’ उनले भनिन्, ‘तर बच्चाहरूले आमाबाट बढी नै अपेक्षा गरेका हुन्छन्। उनीहरूको चाहना पूरा गर्दै व्यवसायमा निस्किनु अर्को चुनौती हो जस्तो लाग्छ।’