फोहोरलाई समस्या होइन, स्रोतका रूपमा हेर्नुपर्छ भन्ने विश्वास बोकेर अलिना ताम्राकार मास्के दुई दशकदेखि अस्ट्रेलियामा वातावरण संरक्षण र दिगो जीवनशैलीको अभ्यासमा जुटेकी छन्।
हाल उनी सिड्नीमा फोहोरमैला तथा स्रोत व्यवस्थापनको काम गर्छिन्।
'मैले स्थानीय तहमा काम गरेको १३ वर्ष भयो। फोहोर घटाउनेदेखि त्यसको उचित व्यवस्थापनसम्मको जिम्मेवारी छ,' अलिनाले भनिन्।
सही वर्गीकरण गर्ने र जैविक फोहोर व्यवस्थापनबारे काम गर्नु पनि उनको मुख्य जिम्मेवारी हो।
यससँगै उनी वातावरण संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्छिन्।
'अन्य स्थानीय तह तथा प्रदेश सरकारसँग पनि समन्वय गरेर काम गर्नुपर्छ,' उनले भनिन्।
उनका अनुसार फोहोर व्यवस्थापनबारे नागरिकलाई जानकारी दिन स्थानीय तहको वेबसाइटमा आवश्यक सूचना र चेतनामूलक सामग्री राखिएको हुन्छ।
स्थानीय तहबाट प्रत्येक घरलाई दुईदेखि तीन वटा फोहोर राख्ने डस्टबिन उपलब्ध गराइन्छ। त्यसमध्ये एउटा रिसाइकल गर्न मिल्ने, अर्को जैविक फोहोरका लागि र अर्को पुनः प्रयोग गर्न नमिल्नेका लागि छुट्ट्याइएको हुन्छ।

फोहोर उठाउने स्थानीय तहको निश्चित तालिका छ। पुनः प्रयोग गर्न नमिल्ने फोहोर सातामा एक पटक उठाइन्छ भने बाँकी दुई प्रकारका पालैपालो सातामा उठाइन्छ।
'रिसाइकल गर्न मिल्ने फोहोर रिसाइकल केन्द्रमा पठाइन्छ,' अलिनाले भनिन्, 'जैविक फोहोरबाट हामीले नै कम्पोस्ट मल बनाउँछौं।'
अलिनाको घर ललितपुर हो। परिवारकी कान्छी छोरी उनका बुबा मूर्तिकला सम्बन्धी व्यवसाय गर्थे। आमा पनि पसलमै सघाउँथिन्।
उनले ललितपुरकै एक स्कुलबाट एसएलसी (एसइई सरह) उत्तीर्ण गरिन्। त्यसपछि निस्ट कलेजमा जीवविज्ञान विषय पढिन्। स्नातक भने वातावरण विज्ञानमा सेन्ट जेभियर्स कलेजबाट गरिन्।
पढाइ सकेपछि भने उनले फोहोरमैला व्यवस्थापन सम्बन्धी एक गैरसरकारी संस्थामा काम थालिन्।
त्यहीँबाट उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका समस्या र चुनौती नजिकबाट बुझ्ने अवसर पाइन्।
'त्यहाँ काम गर्दा उपत्यकाका सरकारी र गैरसरकारी गरी ५० भन्दा बढी स्कुलमा वातावरण शिक्षा सम्बन्धी प्रशिक्षण पनि दिएँ,' उनले भनिन्।
विद्यार्थीहरूसँग काम गर्दै जाँदा वातावरण संरक्षणप्रतिको अलिनाको रूचि बढ्दै गयो।
त्यहाँ उनले करिब दुई वर्ष काम गरिन्।
त्यसपछि एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट उनलाई जागिरको प्रस्ताव आयो। त्यहाँ वातावरण प्रशिक्षकका रूपमा करिब छ महिना काम गरिन्।
त्यसपछि उच्च शिक्षाका लागि उनले विदेश जाने सोचिन्।
उनले अस्ट्रेलिया सरकारको छात्रवृत्ति पाइन् र सन् २००४ मा गइन्। वातावरण विज्ञानमा स्नातकोत्तर सकेर नेपाल फर्किइन्।
'अस्ट्रेलिया सरकारको छात्रवृत्ति भएकाले पढाइ सकेपछि फर्किनैपर्थ्यो,' उनले भनिन्।
नेपाल फर्किएपछि उनले एकाध ठाउँमा काम गरिन्। त्यसपछि सन् २००७ मा श्रीमानसँग फेरि अस्ट्रेलिया पुगिन्।

त्यहाँ पुगेलगत्तै आफ्नो क्षेत्रसँग सम्बन्धित काम पाइनन्। सुरूमा खाद्य कम्पनी काम गरिन्।
पढाइसँग सम्बन्धित अनुभव जुटाउन वातावरण विज्ञानको क्षेत्रमा स्वयंसेवकका रूपमा पनि काम गर्थिन्। विभिन्न तालिम लिइन् र वातावरण शिक्षा सम्बन्धी परियोजना सञ्चालन गर्ने काममा दुई–तीन वर्ष संलग्न रहिन्।
त्यसपछि एक निजी कम्पनीमा काम गरिन्।
'त्यहाँ काम गर्दा नै मेरो पहिलो सन्तान भयो। म सुत्केरी बिदामा थिएँ। नयाँ ठाउँमा जागिर खोजिरहेकी थिएँ,' उनले सुनाइन्, 'स्थानीय तहमा पाएँ।'
हाल उनी त्यहाँ सिनियर प्रोजेक्ट अफिसरका रूपमा कार्यरत छिन्। उनको कार्यतालिका बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म छ।
अलिना आफूलाई वातावरणविद, दिगो जीवनशैली प्रशिक्षक र समुदायसँग मिलेर काम गर्न रुचाउने व्यक्तिका रूपमा चिनाउँछिन्।
आफ्नो नियमित कामबाहेक उनी वातावरणसँग सम्बन्धित सामाजिक सञ्जाल पनि सञ्चालन गर्छिन्। यसलाई उनी आफ्नो अभियानका रूपमा लिन्छिन्।
यसमार्फत शून्य फोहोर जीवनशैली, कम्पोस्टिङ, प्राकृतिक सरसफाइ, प्लास्टिकमुक्त जीवनशैली र घरबाटै सर्कुलर इकोनोमी अपनाउने विषयमा कार्यशाला तथा वर्कसप सञ्चालन गर्छिन्।
नेपालमा फोहोरमैला व्यवस्थापनको विषयमा पनि उनी सक्रिय रूपमा आवाज उठाउँदै आएकी छन्।
भन्छिन्, 'मैले घरबाट एउटा पनि फोहोर बाहिर फालेकी छैन। घरबाट निस्किने फोहोर होइन, यो एउटा स्रोत पनि हो।'
अलिनाले थप भनिन्, 'वातावरण संरक्षण केवल सरकारी नीतिमा सीमित हुन हुँदैन, यो हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। सही शिक्षा दिन सकियो भने व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ।'
