बिहान ५ बजे उठेर दुई छोराको हेरचाहदेखि व्यवसायसम्म सम्हाल्ने आश्मा चालिसेको दिन राति ११ बजेसम्म चल्छ।
अस्ट्रेलियामा आफ्नै सप्लाई (आपूर्ति) कम्पनी चलाएकी उनी आफै भ्यान चलाएर ग्राहककहाँ सामान पुर्याउँछिन्। ग्राहकलाई चाहिने सामान कहिले स्थानीय बजार त कहिले चीन, भारत र फिलिपिन्सबाट मगाउँछिन्।
क्याफे, रेस्टुरेन्ट, चाइल्ड केयर, एज केयर, अस्पताल, मन्दिरदेखि सरकारी संस्थासम्मलाई उनले विभिन्न सामान आपूर्ति गर्दै आएकी छन्। फुड प्याकेजिङ, कफी कप, न्यापकिन, सफाइ सामग्रीदेखि ग्राहकले माग गरेका विशेष चिजबिजसम्म उनको कम्पनीले उपलब्ध गराउँछ।
ग्राहकले बजारमा आफै किन्दाभन्दा सस्तोमा उपलब्ध गराउनु उनको व्यवसायको मुख्य विशेषता हो।
'मैले जसलाई सामान दिन्छु, उहाँहरूले आफै बजारबाट किन्दाभन्दा मसँग किन्दा सस्तो पर्ने गरी खोज्छु। होलसेलमा दिन्छु। कतिपय सामान यहीँको बजारमा पाइन्छन्। नभएको अरू मुलुकबाट आयात गरेर पनि दिन्छु,' उनले भनिन्।
आश्मा ग्राहकको आवश्यकता बुझेर सामान खोज्छिन्। एउटै किसिमको सामान पनि धेरै ब्रान्डका हुन्छन्। तिनको आकार, गुणस्तर, डिजाइन पनि फरक फरक हुन सक्छ। त्यसैले ग्राहकले खोजेकै जस्तो सामान कहाँबाट सस्तो र गुणस्तरीय कसरी दिने भन्नेमा उनी सधैं चनाखो हुन्छिन्।
उनको कम्पनीले अस्ट्रेलियाका सबैजसो सहरमा सामान डेलिभरी गर्ने उनले बताइन्। उनी आफै पनि भ्यान चलाएर सामान पुर्याउन जान्छिन्।
आश्माको व्यवसाय नेपाली समुदायमा सीमित छैन। त्यहाँका स्थानीयमाझ पनि राम्रो पकड बनाइसकेकी छन्।

उनले व्यवसायमा करिब दुई लाख अस्ट्रेलियन डलर लगानी गरेकी हुन्। उनका अनुसार वेयरहाउस (गोदाम), सामानको व्यवस्थापन, ढुवानी खर्चिलो छ।
'व्यवसाय राम्रो चलिरहेको छ। अहिले सुरूआत नै छ। राम्रोसँग गर्छु भन्ने आँटेर खटिरहेकी छु। अहिले तत्कालै धेरै नाफा कमाइहाल्छु भन्दा पनि ग्राहकको विश्वास जितेर दीर्घकालीन रूपमा राम्रो गर्न सकूँ भनेर लागेकी छु,' उनले भनिन्।
व्यवसाय गर्नुअघि आश्मा त्यहीँ सफ्टवेयर इन्जिनियरका रूपमा जागिरे थिइन्।
सन् २००८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया गएकी उनले सन् २०१६ मा सफ्टवेयर इन्जिनियरिङमा स्नातक सकिन्। अनि इन्जिनियरका रूपमा काम थालेकी थिइन्।
'पढाइ नसकिँदै पनि घरबाटै धेरै काम गरिरहेकी थिएँ। पढाइ सकेपछि अझै धेरै प्रोजेक्टहरूमा काम गरेँ,' आश्माले सुनाइन्।
उनले अस्ट्रेलियाको संघीय सरकारका विभिन्न परियोजनामा काम गर्ने अवसर पाइन्। सफ्टवेयर कन्सल्टिङमा समेत काम गरिन्।
तर जागिर खाइरहनुभन्दा अरूलाई जागिर दिने मान्छे बन्ने सोचले उनलाई उद्यमशीलतातर्फ डोहोर्यायो।

'परिवारबाटै कति जनाले त पढाइ अनुसारको जागिर छाडेर किन यस्तो दुःखको काम गरेको, नगर भन्नु हुन्छ। तर मलाई अब व्यवसाय नै गर्नु छ,' उनले भनिन्।
व्यवसायसँगै उनी सामाजिक क्रियाकलापमा पनि सक्रिय छन्।
समुदायका महिलालाई प्रोत्साहन गर्ने, नेतृत्व विकासका कार्यक्रमजस्ता गतिविधिमा समेत सहभागी हुँदै आएकी छन्। अस्ट्रेलियामा आफ्नो संघर्षसँगै समुदायलाई केही योगदान गर्नुपर्छ भन्ने सोच आफूमा सुरूदेखि नै रहेको उनी बताउँछिन्।
अब उनको अर्को योजना नेपालका उत्पादनलाई अस्ट्रेलियाको बजारमा पुर्याउने हो।
'नेपालबाट यहाँको बजारमा ल्याउन सकिने सम्भावित सामग्रीबारे अध्ययन गरिरहेकी छु,' आश्माले भनिन्।