विकास र अनुसन्धानका क्षेत्रमा लामो समय काम गरेकी मेरी श्रेष्ठ अहिले नर्वेको सरकारी संस्थामा अन्तर्राष्ट्रिय परियोजनाको जिम्मेवारी सम्हालिरहेकी छन्।
नर्वेको ओस सहरमा रहेको भेटेरिनरी इन्स्टिच्युटमा उनी सिनियर एड्भाइजरका रूपमा काम गर्छिन्।
संस्थामा सञ्चालन भइरहेका विभिन्न अन्तर्राष्ट्रिय परियोजनाको फलोअप गर्नु उनको मुख्य जिम्मेवारी हो।
'हाम्रो आफ्नै अन्तर्राष्ट्रिय परियोजना छन्। त्यसलाई फलोअप गर्ने लगायत काम हुन्छन्,' उनले भनिन्।
उनले त्यहाँ काम गरेको दुई वर्ष भयो।
नर्वेको सरकारी संस्थामा पुग्नुअघि भने मेरीले विकास र अनुसन्धान क्षेत्रमा लामो अनुभव बटुलेकी थिइन्। त्यसअघि गैरसरकारी अन्तर्राष्ट्रिय संस्थादेखि सरकारी संस्थामा अनुसन्धान र विकासका क्षेत्रमा काम गरिन्।
पेसागत कामसँगै मेरी विगत चार वर्षदेखि नर्वेको स्थानीय राजनीतिमा पनि सक्रिय छिन्। उनी ओस कम्युनको शिक्षा तथा संस्कृति हेर्ने मुख्य समितिकी सदस्य हुन्। ओस आर्बाइडर पार्टीबाट स्थानीय प्रतिनिधिका रूपमा निर्वाचित उनी पार्टीको सेक्रेटरीको जिम्मेवारीमा छिन्।
त्यसैगरी, उनी लेबर पार्टीको महिला राजनीतिक सम्पर्क समितिको बोर्ड सदस्य हुन्। राजनीतिमा उनको भूमिका स्वयंसेवी हो। उनी कमिटी र पार्टीका बैठकमा सहभागी हुन्छिन्।
स्थानीय तहमा हुने काम र निर्णयमा आफूले पनि केही प्रभाव पार्न सकिन्छ भन्ने लागेर राजनीतिमा लागेको उनी बताउँछिन्।
'आफ्नो कुरा राख्न र आफ्नो ठाउँमा उठेका विषयको कार्यान्वयनमा प्रभाव पार्न सकिन्छ कि भनेर राजनीतिमा लागेकी हुँ,' मेरीले भनिन्।
अब उनको ध्यान नर्वेमा अर्को वर्ष हुने निर्वाचनमा छ। त्यसका लागि पार्टीको कार्यक्रम तयार गर्ने काम भइरहेको उनले बताइन्।
उनले भनिन्, 'आगामी निर्वाचनमा अघि सार्ने कार्यक्रमहरू लेख्दै छु।'


काठमाडौंमा जन्मिएकी मेरी घरकी जेठी सन्तान हुन्। उनका एक भाइ छन्।
मेरीको बाल्यकाल विभिन्न ठाउँमा बित्यो। बुबा इन्जिनियर भएकाले जागिर सिलसिलामा विभिन्न ठाउँ सरिरहन्थे। त्यसैले मेरी पाँच कक्षा पढ्दासम्म आठ वटा स्कुल फेरियो।
पाँच कक्षापछि भने उनी काठमाडौं बसेर पढिन्। त्रियोग हाइस्कुलबाट एसएलसी (एसइई सरह) पास गरेपछि सेन्ट मेरिज कलेजमा मानविकी संकायमा भर्ना भइन्।
'विकास क्षेत्रमा काम गर्ने रूचि भएकाले मानविकी रोजेँ,' उनले भनिन्।
त्यसपछि उनी स्नातक पढ्न काठमाडौं युनिभर्सिटीमा भर्ना भइन्। पढाइसँगै विकास क्षेत्रमा काम पनि थालिन्। स्नातक सकेपछि सन् २०१३ मा छात्रवृत्तिमा पढ्न नेदरल्यान्ड्स पुगिन्।
नेदरल्यान्ड्समा उनले अन्तर्राष्ट्रिय विकासमा दुईवर्षे स्नातकोत्तर गरिन्। पढाइकै क्रममा केही महिना भियनास्थित एक विश्वविद्यालयमा इन्टर्नसिप गरिन्।
'पढाइ पूरा भएपछि नेपाल फर्किएँ। फर्किएको एक सातामै बिहे भयो। त्यसपछि सन् २०१६ मा श्रीमानसँगै नर्वे आएँ,' उनले भनिन्।
नर्वेमा व्यावसायिक यात्रा फेरि नयाँ ठाउँबाट अघि बढ्यो।
'यहाँ आएर सुरूमा ९ महिना भाषा सिकेँ। अनि एउटा कम्पनीमा अनुसन्धान तथा विकास सम्बन्धी काम गर्ने अवसर मिल्यो,' मेरीले भनिन्, 'पछि हाल काम गरिरहेको सरकारी संस्था भेटेरिनरी इन्स्टिच्युटमा जोडिएकी हुँ।'