पोखराको कास्कीकोट गाउँका सूर्य गिरी सन् २००५ मा विद्यार्थी भिसामा जर्मनी पुगेका थिए।
विदेशमा पढाइसँगै आफ्नो गुजारा आफै चलाउनुपर्ने थियो। त्यसैले उनले रेस्टुरेन्टमा पार्टटाइम काम गर्न थाले।
काम गर्दै जाँदा उनले रेस्टुरेन्ट क्षेत्रमा अनुभव बटुल्दै गए। अनुभव बढेसँगै कामका अवसर पनि फराकिलो हुँदै गए। पछि साथीहरूसँग मिलेर होटल सञ्चालन गरे।
आफै व्यवसाय गर्दा पनि उनको मन त्यहाँ रमाउन सकेन। उनी आइटीका विद्यार्थी थिए। आइटी क्षेत्रमा अवसर हुँदाहुँदै पनि अर्कै क्षेत्रमा काम गर्दा मनदेखि सन्तुष्टि मिलिरहेको थिएन। अन्ततः उनले होटल व्यवसाय छाडेर आफ्नै पढाइको क्षेत्रमा फर्किने निर्णय गरे।
'कामको अनुभव नभएकाले आइटी क्षेत्रमा फर्किन मैले शून्यबाटै संघर्ष गर्नुपर्यो,' सूर्यले भने।
अहिले उनी जर्मनीको म्युनिखस्थित एक आइटी सेक्युरिटी कम्पनीमा नेटवर्क सेक्युरिटी स्पेसलिस्टका रूपमा कार्यरत छन्। उक्त कम्पनीमा काम गर्न थालेको एक वर्ष हुन लागेको छ।
कम्पनीको नेटवर्क तथा सूचना प्रणाली सुरक्षित राख्न आवश्यक सुरक्षा प्रणाली कार्यान्वयन गर्नु सूर्यको मुख्य जिम्मेवारी हो।
विशेषगरी ठूला कम्पनीहरूमा जिरो ट्रस्ट सुरक्षा प्रणाली लागू गर्ने काममा उनी संलग्न छन्।
'यो प्रणालीले अनधिकृत पहुँच रोक्न र कम्पनीका सूचना तथा प्रणालीलाई साइबर आक्रमणबाट सुरक्षित राख्न सहयोग गर्छ,' उनले भने।
सूर्यको बाल्यकाल पोखराकै कास्कीकोट गाउँमा बित्यो। उनका बुबा गाउँकै कालिका माध्यमिक विद्यालयमा शिक्षक थिए भने आमा गृहिणी।
उनी पनि बुबाले पढाउने स्कुलमै पढ्थे। संयुक्त परिवारमा हुर्किएका सूर्य बाल्यकालमा घरायसी कामसँगै खेतीपाती र गाईवस्तुको हेरचाहमा सघाउँथे।
२०५४ सालमा एसएलसी दिएपछि उनी आइएससी पढ्न पोखरा आए। पृथ्वीनारायण क्याम्पसमा भर्ना भएर भौतिकशास्त्र विषय पढ्न थाले।
त्यति बेला गाउँबाट पोखरा आउजाउ गर्न सवारीसाधनको सुविधा थिएन। दुई–तीन घन्टा पैदल हिँड्नुपर्ने भएकाले उनी गाउँकै साथीहरूसँग पोखरामा डेरा गरी बसे।
पढाइका लागि सहर बसे पनि बिदा हुनेबित्तिकै गाउँ फर्किन्थे।
'शुक्रबार क्याम्पस छुटेपछि बेलुका घर जान्थ्यौं। बिदा सकेर फेरि पोखरा फर्किन्थ्यौं,' सूर्यले सुनाए।
दुई वर्ष आइएससी पढेपछि उनी कम्प्युटर सिक्ने उद्देश्यले काठमाडौं आए। कीर्तिपुरमा कोठा लिएर बसे। पुतलीसडकस्थित एक इन्स्टिच्युटमा ६ महिनाको कम्प्युटर कोर्स गरे। त्यसपछि थप ६ महिना हार्डवेयर तथा मेन्टेनेन्स (मर्मत) सम्बन्धी तालिम लिए।
तालिम लिएको इन्स्टिच्युटमै उनलाई पढाउने अवसर पनि मिल्यो। त्यहाँ उनले सफ्टवेयर र ग्राफिक्स डिजाइन लगायत कम्प्युटर सम्बन्धी विषय पढाउन थाले। दिउँसो कलेज जाने र बिहान–बेलुका इन्स्टिच्युटमा पढाउने उनको दैनिकी थियो।
कामसँगै पढाइलाई पनि निरन्तरता दिँदै उनी शंकरदेव क्याम्पसमा बिएससी पढ्न थाले।
यसरी उनले साढे दुई वर्ष बिताए।
नेपालमा आइटी विषय पढ्न खर्चिलो र अवसर सीमित देखेपछि उनले विदेश जाने सोच बनाएका थिए। सोही क्रममा सन् २००५ मा विद्यार्थी भिसामा जर्मनी पुगे।
जर्मनीमा स्नातक तहको पढाइ सुरु गर्नुअघि उनले एक वर्ष जर्मन भाषा सिक्नुपर्ने थियो। भाषा नजानी विश्वविद्यालयमा भर्ना हुन पाइँदैन थियो। त्यसैले उनी एक इन्स्टिच्युटमा भाषा सिक्न थाले।
त्यति बेला भाषा पढिरहेका विद्यार्थीलाई काम गर्ने अनुमति थिएन। नेपालबाट नियमित रूपमा खर्च पठाउन सक्ने अवस्था पनि थिएन। त्यसैले आफ्नो गुजारा चलाउन उनले आफ्नै हिसाबले रेस्टुरेन्टमा काम गर्न थाले।
'भाषा सिक्ने विद्यार्थीले काम गर्न पाइँदैन। तर रेस्टुरेन्ट क्षेत्र नियन्त्रित नभएकाले धेरै विद्यार्थीले रेस्टुरेन्टमा काम गर्छन्,' उनले सुनाए, 'त्यहाँ म दुई वटा काम गर्थें। एउटा रेस्टुरेन्टमा र अर्को कम्पनीको विज्ञापन बाँड्ने। त्यसबाट खर्च चल्थ्यो।'
भाषा पढाइ पूरा गरेपछि उनी विश्वविद्यालयमा भर्ना भए। त्यति बेला जर्मनीमा नेपाली विद्यार्थीको संख्या कम थियो। अहिले जस्तो नेपालीहरूसँग खुलेर कुरा गर्ने अवस्था थिएन। सुरूमा सूर्यलाई नयाँ ठाउँमा एक्लोपनसँगै भाषाको समस्याले पनि सतायो।
बिस्तारै उनी त्यहाँको वातावरणमा घुलमिल हुँदै गए। भाषा सुधार हुँदै गएपछि उनको दैनिकी पनि सहज बन्दै गयो।
स्नातक तहको पढाइ चार वर्षको पूर्णकालीन कोर्स भएकाले नियमित काम गर्न सम्भव थिएन। त्यसैले उनी बिदाका बेला मात्र काम गर्थे।

पढाइ पूरा गरेपछि भने सूर्यले जर्मनी छाडेर इटाली जाने निर्णय गरे। इटालीमा काम गर्दा वर्षको केही महिना नेपालमै बिताउन पाइने भएकाले आफू त्यता आकर्षित भएको उनी बताउँछन्।
उनका अनुसार इटालीको पहाडी क्षेत्रमा जाडोयाममा पर्यटकको चहलपहल कम हुने भएकाले होटलहरू बन्द हुन्थे। त्यस्तो बेला कर्मचारीले बिदा पाउँथे र सरकारले तलबको ६० प्रतिशत रकम उपलब्ध गराउँथ्यो।
यही सुविधाका कारण उनी इटालीमा काम गर्न इच्छुक भएका थिए।
त्यहाँ उनले पहाडी क्षेत्रमा रहेको एक पाँचतारे होटलमा काम पाए। सुरूमा वेटरका रूपमा काम गरेका उनले एक वर्षपछि होटलको रिसेप्सन तथा सर्भिस विभागको जिम्मेवारी पाए। १४ जनाको टोलीमा उनी टिम लिडर थिए।
इटालीमा उनले पाँच वर्ष बिताए। यही अवधिमा नेपाल आएका बेला उनले बिहे गरे र श्रीमतीलाई पनि इटाली लगे।
'त्यहाँ काम गर्दा वर्षैपिच्छे नेपाल आउन पाइन्थ्यो। काम र परिवार दुवैलाई समय दिन सहज थियो,' उनले सुनाए।
तर इटालीमा लामो समय बस्ने उनको योजना बनेन। होटलको आम्दानीले खर्च धान्न कठिन हुन थालेपछि उनी श्रीमतीसहित सन् २०१६ मा फेरि जर्मनी फर्किए।
जर्मनीमा उनले फेरि होटल क्षेत्रमै काम थाले। करिब एक वर्ष होटलमा काम गरेपछि साथीहरूसँग मिलेर आफ्नै होटल खोले र डेढ वर्ष चलाए।
होटल व्यवसायमा लागिरहँदा सूर्यलाई आफूले पढेको क्षेत्रबाट टाढिएको महसुस हुन थाल्यो। आइटी क्षेत्रमा राम्रो अवसर हुँदाहुँदै पनि त्यसभन्दा बाहिर काम गरिरहनु उचित लागेन।
'मैले पढेको क्षेत्र आइटी हो। त्यसमा राम्रो अवसर पनि छ। तर म होटल क्षेत्रमा काम गरिरहेको थिएँ। अब आफ्नै पढाइको क्षेत्रमा फर्किनुपर्छ भन्ने लाग्यो,' उनले भने, 'यहाँ जुनसुकै कामलाई पनि सम्मान गर्नुपर्छ भन्ने संस्कार छ। तर आफूले पढेको र रूचि भएको क्षेत्रभन्दा बाहिर काम गर्दा मनले सन्तुष्टि नपाउने रहेछ।'
त्यसपछि साथीहरूसँग छलफल गरेर उनी होटल व्यवसायबाट बाहिरिए। आइटी क्षेत्रका नयाँ प्रविधिबारे जानकारी लिन उनी सरकारी तालिममा सहभागी भए। यो तालिम दुई वर्षको थियो। उक्त तालिमको खर्च सम्बन्धित विभागले नै बेहोर्थ्यो।
तालिम लिएपछि सूर्यलाई आइटी क्षेत्रमै जागिरको अवसर मिल्यो। उनले डेटा सेन्टरमा काम थाले। त्यहाँ काम गर्दा ग्राहकसँग व्यवहार गर्ने तरिका, सञ्चार सीप र डेटा गोपनीयता सम्बन्धी विषयमा सिक्ने अवसर पाएको उनले बताए।
त्यहाँ सूर्यले साढे दुई वर्ष काम गरे।
त्यसपछि उनलाई एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा जागिरको अवसर आयो। त्यहाँ पनि उनले दुई वर्ष बिताए।
त्यसपछि उनी हाल कार्यरत आइटी सेक्युरिटी कम्पनीमा आबद्ध भएका हुन्।
उनी कार्यरत कम्पनीको नेटवर्क तथा पूर्वाधार सुरक्षा विभागमा सात जनाको टोली छ। जर्मनी, टर्की, युक्रेन र नेपाललगायत देशका कर्मचारी रहेको उक्त टोलीमा आफू एक्लो नेपाली रहेको उनी बताउँछन्।
लामो समयपछि आफूले पढेको र रूचाएको क्षेत्रमा फर्किन पाउँदा सूर्य खुसी छन्।
भन्छन्, 'आफ्नो सपना पूरा भएजस्तो लागेको छ। एकदमै खुसी छु।'
जागिरसँगै उनी सामाजिक कार्यमा पनि सक्रिय छन्। जर्मनीमा जन्मिएका नेपाली बालबालिकालाई नेपाली संस्कृति र परम्परासँग परिचित गराउने संस्थामा उनी आबद्ध छन्।
उक्त संस्थामार्फत बालबालिकालाई नेपाली संस्कृतिबारे सिकाउने काममा सहयोग गर्दै आएको उनले बताए।
जर्मनीमा उनी श्रीमती र छोरीसँग बस्छन्। परिवारका अन्य सदस्य नेपालमै छन्। पारिवारिक भेटघाटका लागि उनी वर्षमा एक पटक नेपाल आउँछन्।
विदेशको व्यस्त जीवनमा परिवार र आफन्तबाट टाढिनुको पीडा सूर्य शब्दमा व्यक्त गर्न सक्दैनन्।
'चाडपर्व र परिवारमा शुभकार्य हुँदा घरपरिवारको धेरै याद आउँछ। बहिनीहरूको विवाहमा पनि सहभागी हुन सकिनँ,' उनले भने।