परदेशीको दसैं
फ्रान्समा नेपाली भाषा पढाउँदै आएकी सुमित्रा बुर्लाकोटीका लागि दसैं आफ्नो संस्कृति अरूलाई चिनाउने र खुसी बाँड्ने अवसर पनि हो।
नेपाली भाषा सिकिरहेका विद्यार्थीलाई दसैंबारे पढाएर मात्रै पुग्दैन, उनीहरूले यसको अनुभव पनि गर्न पाउनुपर्छ भन्ने उनलाई लाग्छ।
त्यसैले यसपालि पनि उनले फ्रान्सेली विद्यार्थीलाई आफ्नै घरमा बोलाएर टीका र जमरा लगाइदिने, नेपाली परिकार खुवाउने र दसैंको खुसी साट्ने तयारी गरेकी छन्।
'नेपाली भाषा सिकेपछि नेपालीहरूको दसैं कसरी मनाइन्छ भन्ने कुरा पनि जान्नुपर्छ नि,' उनी भन्छिन्, 'कक्षाकोठामा दसैंबारे पढाउनुभन्दा घरमै बोलाएर टीका लगाइदिने, जमरा लगाइदिने र खानपिन गराउँदा उनीहरूले हाम्रो संस्कृति नजिकबाट बुझ्न पाउँछन्।'
सुमित्रा आठ वर्षदेखि इनाल्को विश्वविद्यालयमा फ्रान्सेली विद्यार्थीलाई नेपाली भाषा पढाउँदै आएकी छन्। भाषा सिकाउनुका साथै नेपाली चाडपर्व र संस्कृतिसँग परिचित गराउनु पनि शिक्षणको महत्त्वपूर्ण पक्ष भएको उनी बताउँछिन्।
सन् २०१५ मा भ्रमण भिसामा फ्रान्स पुगेकी सुमित्रा यसअघि पढ्न बेलायत गएकी थिइन्। विदेशमा रहँदा पनि उनले दसैं मनाउन भने छाडेकी छैनन्।
'घरमा परिवारसँग दसैं नमनाएको १२ वर्ष भयो। विदेशमै साथीभाइ जम्मा भएर मनाइरहेकी छु,' उनले सुनाइन्।
फ्रान्समा सुमित्रा एक जना साथीसँग बस्छिन्। घटस्थापनाका दिन दुवै मिलेर जमरा राख्छन्। टीकाको दिन घरमा साथीभाइ भेला हुन्छन्। एकअर्कालाई टीका र जमरा लगाइदिँदै दसैंको खुसी साट्छन्।
उनी टीकाको दिन बिदा लिन्छिन्। यसपालि पनि टीकाको दिन बिदा मिलाइसकेको उनले बताइन्।
नेपालमा उनका दाइ–भाउजू र दिदी छन्। टीकाको दिन उनीहरूसँग फोनमा कुरा गरेर आशीर्वाद लिने उनको योजना छ।
फ्रान्समा साथीभाइ वा आफन्त कोही नभएका नेपालीहरू पनि टीकाको दिन नेपाली दूतावासमा पुगेर टीका लगाउँछन्। परिवारबाट टाढा रहेकाहरूका लागि दूतावासमा हुने यस्तो जमघट चाडको खुसी एकअर्कासँग बाँड्ने अवसर बन्ने गरेको सुमित्रा बताउँछिन्।

विदेशमा साथीभाइसँग दसैं मनाउँदै आए पनि सुमित्राको सम्झनामा गाउँघरको दसैं अझै ताजै छ।
दसैं आउनुअघि घर सजाउने, आँगन सफा गर्ने र गाउँभरि पिङ हाल्ने चटारो हुन्थ्यो। रोटे पिङ खेल्ने, चंगा उडाउने र गाउँमा मालश्री धुन गुञ्जिन थालेपछि उनलाई दसैं आएको अनुभूति हुन्थ्यो।
अहिले विदेशमा ती दिनको रमाइलो दोहोर्याउन नपाउँदा उनलाई सबैभन्दा बढी पिङकै याद आउँछ।
विदेशमा रहेर पनि नेपाली चाडपर्व मनाउँदै आएकी सुमित्रालाई आफ्नो संस्कृति नयाँ पुस्तासम्म पुग्छ कि पुग्दैन भन्ने चिन्ता छ। फ्रान्समा हुर्किएका नेपाली बालबालिकाले दसैं, तिहार र नेपाली भाषाको महत्त्व कत्तिको बुझ्छन् भन्ने प्रश्नले उनलाई बारम्बार घोचिरहन्छ।
'विदेशमा बसेर पनि आफ्नो चाडपर्व, परम्परा, चलन र संस्कृतिलाई निरन्तरता दिन पाउँदा एकदमै खुसी र रमाइलो लाग्छ,' उनी भन्छिन्, 'तर एउटा पुस्ताबाट अर्को पुस्तामा संस्कृतिको हस्तान्तरण कसरी हुन्छ भन्ने कुराले चिन्ता लाग्छ।'
