ग्लोबल नेपाली
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ का सरोज थापा वैदेशिक रोजगारीमा रहेको २४ वर्ष भयो।
हाल उनी साउदी अरबको दमामस्थित 'केम्पिन्स्की होटल' मा एक्जुकेटिभ पेस्ट्री सेफका रूपमा कार्यरत छन्। यो जर्मन ब्रान्डको अन्तर्राष्ट्रिय चेन होटल हो जसमा युरोपेली स्तरको सुविधा पाइन्छ।
पेस्ट्री सेफले क्यान्डी, चकलेट, केक, कुकिज, कपकेक, पाई, ब्रेड र अन्य विभिन्न प्रकारका बेकरी परिकार बनाउँछ।
सरोजले काम गर्ने होटलको पेस्ट्री एन्ड बेकरी विभागमा उनीसहित २२ जना छन्। सरोजको मुख्य जिम्मेवारी बेकरी परिकारको रेसिपी बनाउनु र गुणस्तर जाँच गर्नु हो। यस प्रकारको पेस्ट्रीको माग होटल भित्र र बाहिर निकै उच्च छ।
'हामीले बनाएको पेस्ट्री हाम्रो होटलमा आउने ग्राहकले धेरै मन पराउँछन्। बाहिरबाट पनि माग धेरै छ। कोही यहीँ आएर लैजान्छन्, कसैले अनलाइन अर्डर गर्छन्,' सरोजले भने।
सरोजले यो होटलमा काम गरेको चार वर्ष भयो।
उनी मध्यम आर्थिक अवस्था भएको परिवारका हुन्, बुबा नेपाली सेनामा जागिरे थिए, आमा गृहिणी।
चार दिदीका एक्ला भाइ सरोज मायालु वातावरणमा हुर्के। घरमा खेतीको काम हुन्थ्यो। उनी खेतबारीमा सबै किसिमको काम गर्थे। पढाइमा पनि तेज थिए। दिदीहरूलाई घरको काम सघाउँथे।
उनले २०५४ सालमा आफ्नै गाउँको स्कुलबाट एसएलसी परीक्षा उत्तीर्ण गरे। त्यपछिको पढाइका लागि काठमाडौं पसे।
'एसएलसी पास गरेपछि छोराले काठमाडौंमा गएर काम गर्नुपर्छ र कमाउँदै पढ्नुपर्छ भन्ने मान्यता थियो,' उनले भने।

गाउँका चिनारूका साथ लागेर उनी काठमाडौं आए। आमाले तीन सय रूपैयाँ दिएर पठाएको ताजा सम्झना छ उनलाई। एक जना दिदी काठमाडौंमै थिइन्। उनी दिदीकै घरमा बसे। व्यवस्थापन संकायमा पढ्न सरस्वती क्याम्पसमा भर्ना भए। एक पत्रिका पसलमा काम थाले।
बिहान–दिउँसो काम गर्थे, राति क्याम्पस जान्थे।
ट्राभल एजेन्सी कार्यालयहरूमा पत्रिका पुर्याउनु उनको मुख्य काम थियो। एउटा पत्रिकाको २५ पैसाका दरले पारिश्रमिक पाउँथे। एक दिनमा एक सयदेखि डेढ सय वटासम्म पत्रिका पुर्याउँथे तर उनले त्यो काम एक महिना मात्र गरे।
'पत्रिका पुर्याउन साइकल चढेर जानुपर्थ्यो। मलाई साइकल चलाउन आउँदैन थियो, ठेलामा लैजान गाह्रो भएर छोडिदिएँ,' उनले भने।
त्यसपछि उनले एक जना साथीको सहयोगमा आइसक्रिम बेच्ने काम पाए। तलब मासिक आठ सय रूपैयाँ थियो। काम गर्दागर्दै उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा तालिम लिने अवसर पाए।
नाताले दाइ पर्ने एक जना एउटा होटलमा काम गर्थे। उनैले तालिमको अवसर मिलाइदिएका थिए। तालिम शुल्क नौ हजार रूपैयाँ थियो। त्यो पनि पारिश्रमिकबाट कट्टा हुने गरी ऋण मिलाइदिएका थिए।
त्यही तालिम उनको जीवनमा कोशेढुंगो भइदियो।
सरोज तालिम अवधिभर क्याम्पस जान पाएनन्। बिहान १० देखि ४ बजेसम्म तालिममा जान्थे। साँझ ५ देखि ८ बजेसम्म आइसक्रिम बेच्थे। तालिमकै सिलसिलामा नाथमले उनलाई इन्टर्नका लागि सांग्रिला होटलमा पठायो। आइसक्रिम बेच्न छाडे।
'होटलमा भाँडा माझ्ने, टेबल सफा गर्ने, तरकारी काट्ने लगायत अनेक काम गर्नुपर्थ्यो,' उनले भने, 'अरूले गरेको हेरेर सिक्दै काम गर्थेँ।'
एक दिनको कुरा, विदेशी ग्राहकहरू डिनर गरिरहेका थिए। त्यो बेला अचानक बिजुली बत्ती झ्याप्प भयो। त्यस्तो बेला होटलमा ग्यास सिलिन्डरबाट बत्ती बाल्ने प्रबन्ध थियो। बत्ती बाल्ने जिम्मेवारी अर्कैको थियो, हेर्दाहेर्दै उनले पनि जानेका थिए तर कहिल्यै बालेका थिएनन्। त्यस बेला बत्ती बाल्ने कर्मचारी उपलब्ध भएनन्।
सरासर अघि बढेर सरोजले बालिदिए। बत्ती बाल्ने कर्मचारी उपलब्ध नभएर अलमलमा परेका म्यानेजरले सरोजको काम देखे। उनले भोलि एचआर (मानव संसाधन विभाग) मा गएर भेट्नू भन्ने आदेश गरे।
सरोज केही बोलेनन्। हुन्छ भन्ने संकेतमा टाउको हल्लाए।
उनलाई मैले त ठूलै गल्ती गरेछु कि भन्ने लाग्यो। भोलिपल्ट डराउँदै एचआर प्रमुखको कार्यकक्षमा गए। एचआर प्रमुखले एउटा पत्र दिए अनि पढेर हस्ताक्षर गर्न भने।

सरोजले सरसर्ती पढे। उनलाई ६ महिनाका लागि अस्थायी नियुक्त गरिएको पत्र रहेछ, मासिक तलब २६ सय रूपैयाँ तोकिएको थियो। इन्टर्नमा उनलाई मासिक ६ सय रूपैयाँ भत्ता दिने भनिएको थियो।
उनको खुसीको सीमा रहेन। उनी इन्टर्नबाट कर्मचारी भए, ६ महिनापछि स्वतः स्थायी हुने भनिएको थियो। त्यही बीचमा उनले विदेशमा कामका लागि आवेदन गरेका थिए। अवसर पनि पाए। स्थायी नहुँदै जागिर छाडेर सन् २००१ मा युएई (युनाइटेड अरब इमिरेट्स) गए।
'काकाका छोरा युएईमा हुनुहुन्थ्यो। उहाँको सहयोगमा म पनि गएँ,' सरोजले भने।
उनले आबुधाबीस्थित एउटा पाँचतारे होटलमा वेटरको काम पाएका थिए। तलब ८ सय दिराम थियो। बस्नेखाने सुविधा होटलले नै दिएको थियो। कामको समय राति ११ बजेदेखि बिहान ८ बजेसम्म तोकिएको थियो। त्यसपछि ९ बजेदेखि तीन बजेसम्म उनी आफ्नै रूचिले होटलमै पेस्ट्री–बेकरी बनाउन सिक्थे।
'मैले नेपालमा पनि पेस्ट्री बनाउने तालिम लिएकाले आबुधावीमा आफ्नै इच्छाले सिकेको हुँ,' उनले भने।
त्यो होटलमा तीन वर्ष काम गरे अनि कमी–टू पदमा अर्को पाँचतारे होटलमा गए। मासिक तलब १२ सय दिराम थियो। त्यहाँ किचनमा परिकार पकाउने काम गर्नुपर्थ्यो। किचनमा उनी एक मात्र नेपाली थिए।
'हेड–सेफ फ्रान्सका थिए। मलाई धेरै माया गर्थे। त्यहाँ पेस्ट्री–बेकरी बनाउन अझै राम्ररी सिक्न पाएँ,' उनले भने।
सरोजका अनुसार त्यो होटलमा विभिन्न देशका राजनीतिक उच्च पदाधिकारीहरूदेखि हलिउडका कलाकारसम्म आउँथे।

सरोजले त्यो होटलमा चार वर्ष काम गरे। त्यतिन्जेलमा मासिक तलब २१ सय दिराम पुगेको थियो। पद पढेर डेमी–सेफ (असिस्टेन्ट सुपरभाइजर) भएका थिए। त्यसपछि उनी सोही पदमा दुबईको अर्को पाँचतारे होटलमा गए। उनी काम गर्दै एक होटलबाट अर्को होटल मात्र होइन, एक देशबाट अर्को देश पनि गए।
यसरी हालसम्म युएई, ओमान, कुवेत, बहराइन, कतार, जर्मनी र फ्रान्स गरेर सात देशका १४ वटा पाँचतारे होटलमा काम गरिसके। जर्मनीबाट बेकरीमा र फ्रान्सबाट पेस्ट्रीमा डिप्लोमा पनि गरेका छन्।
एक पटक जर्मनीमा भएको पेस्ट्री–बेकरी प्रतिस्पर्धामा सरोज जज बनेका थिए। युएईको समूहबाट गएका उनी एक मात्र नेपाली थिए।
सरोज विदेशमा आफ्नो पेसामा मात्र व्यस्त छैनन्। उनी भक्तपुरको प्रसिद्ध दही जुजु–धौको केक बनाएर व्यवसाय गर्न सकिने सम्भावनाबारे परीक्षण गर्दैछन्। यो काम उनकी श्रीमतीको जिम्मामा छ।
आलस, कोदो लगायत खाद्य वस्तु र यार्सागुम्बा, जटामसी, सिस्नो, लगायत जडिबुटी प्रयोग गरेर ३५ स्वादमा जुजु–धौ केक परीक्षण भइरहेको उनले बताए।
'दुई वर्ष अनुसन्धान गर्यौं, एक महिनायता परीक्षण उत्पादन सुरू भएको छ। सफल भए उद्योग खोल्छौं,' सरोजले भने, 'नेपालमा पेस्ट्री–बेकरी उद्योग खोल्ने र जुजु–धौ केक विदेशी बजारमा पुर्याउने लक्ष्य छ।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com