नुवाकोटको बेलकोटगढी नगरपालिकाका अर्जुन तामाङ इराकको सुलेमानिया सहरमा 'नेपाली रेस्टुरेन्ट एन्ड बार' चलाइरहेका छन्।
वैदेशिक रोजगारीका लागि इराक पुगेका अर्जुनले लामो समय रेस्टुरेन्टमा काम गरेर पछि आफ्नै व्यवसाय सुरू गरेका हुन्।
उनको रेस्टुरेन्टमा नेपाली, भारतीय, चाइनिज र जापानी परिकार र पेय पदार्थ पाइन्छ। खासगरी शाकाहारी र मांसाहारी खाना सेट, मःम, चाउमिन, चाउचाउका साथै समोसा, रोटी, तरकारी, रामेन लगायत परिकार ग्राहकको रोजाइमा पर्ने अर्जुनले बताए।
नेपाली परिकार धेरै पाइने भएकाले रेस्टुरेन्टका मुख्य ग्राहक नेपाली हुन्। चाइनिज, जापानिज, भारतीय, पाकिस्तानी र स्थानीय पनि आउँछन्। शुक्रबार त्यहाँ सार्वजनिक बिदा हुने भएकाले रेस्टुरेन्टमा भीड नै हुन्छ।
यहाँको स्थानीयसँग हाम्रो खाना अलिअलि मिल्छ। उनीहरू प्रायः उसिनेको खान्छन्। हाम्रो हल्का मसलेदार हुन्छ,' अर्जुनले भने, 'त्यही भएर पनि आउँछन्।'
अर्जुन सन् २०१३ मा इराक गएका हुन्। सन् २००४ मा इराकमा १२ जना नेपालीको हत्या भएपछि नेपालले इराकमा नेपाली पठाउन प्रतिबन्ध लगाएको छ। तर नेपालीहरू पुगिरहेकै छन्।
'म नेपाल सरकारको दृष्टिमा अवैध तरिकाले गएको ठहरिए पनि इराक सरकारको कानुनी कागजात अनुसार पूर्ण रूपमा वैध व्यक्ति मानेको छ,' उनले भने, 'व्यवसाय गर्न इराक सरकारबाट इजाजतपत्र लिएको छु।'
इराकमा व्यवसाय चलाउन धेरै सजिलो हुने उनले बताए। स्थानीय मान्छेले उधारो नमाग्ने, मदिरा पिए पनि होहल्ला गर्ने, पैसा नदिने जस्तो समस्या नभएको उनी बताउँछन्।
अर्जुनलाई इराकमा चल्ने अरबी र कुर्दिशका साथै अंग्रेजी र अलिअलि चिनियाँ भाषा पनि बोल्न आउँछ। त्यसैले संवादमा सहज छ।
उनको रेस्टुरेन्टमा हाल १३ जना कर्मचारी छन् जसमध्ये किचनमा ८ जना छन्। दुई जना सेफ नेपाली छन् भने हुक्का बनाउने एक जना सिरियन नागरिक छन्। दुई जना दोभासे छन्। सुरक्षाकर्मी भने स्थानीय नै राख्नुपर्ने नियम भएको उनले बताए।
बिहान र दिउँसो रेस्टुरेन्ट चल्छ भने राति मुख्य रूपमा बार चल्छ। शुक्रबारका दिन सुरक्षालाई ध्यानमा राखेर ४–५ जना सेक्युरिटी गार्ड खटाइन्छ।

'स्थानीय शान्त भए पनि विदेशी ग्राहक धेरै हुँदा कहिलेकाहीँ झैझगडाको अवस्था देखिन्छ। सुरक्षाकर्मीले प्रहरीजस्तै नियन्त्रण गर्छन्। उजुरी गर्नुपर्ने स्थिति आए प्रहरी बोलाउँछौं,' उनले भने, 'अहिलेसम्म नराम्रो घटना भने भएको छैन।'
उनका अनुसार इराकमा पर्यटन नीति लचिलो छ। होटल तथा रेस्टुरेन्ट २४ सै घन्टा खुल्न पाउँछन्। उनको रेस्टुरेन्ट बिहान ९ बजेदेखि राति १ बजेसम्म खुल्छ। ग्राहक धेरै हुँदा बिहान ३/४ बजेसम्म पनि खुलिरहन्छ।
१३ वर्ष इराकमा बिताइसकेका अर्जुनको प्राथमिक तहसम्मको शिक्षा बेलकोटगढी गाउँमै भयो। घरका जेठा सन्तान उनका पाँच जना बहिनी छन्।
२०६० सालतिर उनी स–परिवार काठमाडौं आए। अर्जुनका बुबा काठमाडौंमा होटल चलाउन थाले। उनले पनि सानैदेखि बुबालाई सघाए, पढाइ बिथोलियो।
होटलको आम्दानीले मात्र परिवार धान्न नसक्ने भएपछि अर्जुन एक विदेशीको घरमा बसेर काम गर्न थाले। चार–पाँच वर्ष त्यसरी काम गरेपछि उनी आफ्नै घर आए।
केही समयपछि उनले बिहे गरे। गाडी सिकेर लाइसेन्स लिए र सार्वजनिक तथा निजी गाडी चलाउन थाले। यही क्रममा उनलाई एक दिन विराटनगरमा रहेको चिनियाँ लगानीको मासु कम्पनीमा काम गर्ने प्रस्ताव आयो।
'तलब राम्रो भएपछि म त्यहाँ गएँ,' उनले भने।
त्यहाँ मासु काट्ने तथा डेलिभरी गर्ने काम थियो। दुई–तीन महिनामै त्यहीँ साहुको निजी गाडी चलाउने काम पाए।
एकदिन सँगै काम गर्ने एक जना गाउँले दाइ कुर्दिस्तान जाने भए। कुर्दिस्तान कुनै एक राज्य नभएर टर्की, इराक, इरान र सिरियामा पर्ने एक भूभाग हो।
अर्जुन पनि साउदी अरब, कतार, मलेसिया लगायत देश जान खोजिरहेका थिए। तर कतैको भिसा आएको थिएन। त्यसैले उनले ती दाइसँग कुरा गरेर कुर्दिस्तानका लागि प्रक्रिया पूरा गरे।
'कुर्दिस्तान भनेको, इराकको भिसा आयो। त्यसैले म जान्नँ भनेँ। एजेन्टले द्वन्द्व हुँदैन भनेर आश्वासन दिएपछि म जाने भएँ,' उनले भने।
अर्जुन साढे दुई लाख रूपैयाँ खर्च गरेर इराक गए। काम नपाउञ्जेल बस्ने, खाने खर्च एजेन्टले बेहोर्ने सहमति थियो।
अरबिल सहर पुगेको भोलिपल्टै एजेन्टले उनीहरूलाई सुलेमानिया लगे। त्यहाँ एक साता काम नपाएर होटलमै बसेको अर्जुन सम्झिन्छन्।
त्यसपछि उनले एक चाइनिज रेस्टुरेन्टमा वेटरको काम पाए। खाने–बस्ने सुविधा सहित मासिक चार सय डलर तलब पाउँथे। दैनिक १२ घन्टा खट्नुपर्थ्यो।
अर्जुन गएको एक वर्षपछि उनकी श्रीमती पनि त्यहीँ काम गर्न आइन्।
'रेस्टुरेन्ट साहुको मेनपावर कम्पनी थियो। उनकै कम्पनीमार्फत श्रीमती आइन्,' उनले सुनाए।

रेस्टुरेन्टमा स्थानीय, नेपाली, भारतीय तथा चिनियाँहरू आउँथे। नेपालमा चिनियाँ कम्पनीमा काम गरेकाले अर्जुनलाई त्यहाँ काम गर्न सहज भयो।
'तर त्यहाँ काम गरूञ्जेल कहिल्यै छुट्टी भएन,' उनले भने।
रमदानका बेला वर्षमा एक महिना रेस्टुरेन्ट बन्द हुन्थ्यो। त्यो बेला बिदा भए पनि तलब पाउँदैन थिए।
अर्जुन र उनकी श्रीमती दुवैको जोडेर मासिक १,१०० अमेरिकी डलर कमाइ हुन्थ्यो। खाने–बस्ने सुविधा भएकाले अरू खर्च धेरै थिएन।
तर त्यहाँ पाँच वर्ष काम गरेपछि त्यो रेस्टुरेन्ट बन्द भयो।
अर्जुनले एक साझेदारसँग मिलेर रेस्टुरेन्ट खोल्ने योजना बनाए। दुई जनाले करिब ३५ हजार अमेरिकी डलर जुटाउनुपर्यो। अर्जुनसँग पुग्दो पैसा थिएन। नेपालमा आफ्ना बुबाले बनाउँदै गरेको घर धितो राखेर पैसा जुटाए।
'त्यतिखेर पैसाको समस्या थियो। नेपालमा घर बन्दै थियो, बहिनी अस्ट्रेलिया जाने तयारीमा थिइन्। यता हाम्रो जागिर थिएन,' उनले सुनाए, 'घर धितो राखेर निकालेको पैसाले मैले रेस्टुरेन्ट खोलेँ, बहिनी अस्ट्रेलिया गइन्।'
रेस्टुरेन्ट राम्रै चल्यो। त्यसको एक वर्षपछि उनकी श्रीमती नेपाल फर्किन्।
सन् २०२४ मा साझेदार छुट्टिएपछि अर्जुन एक्लै यो रेस्टुरेन्ट चलाइरहेका छन्।
उनले एक सुपरमार्केटभित्र एकल लगानीमा एउटा सानो रेस्टुरेन्ट पनि खोलेका थिए। ८–९ महिना चलाए तर दुईतिर व्यवस्थापन गर्न गाह्रो भएपछि छाडे।
'म आफ्नो व्यवसायप्रति एकदमै सन्तुष्ट छु,' उनले भने, 'यहाँ रेस्टुरेन्ट खोल्छु भन्ने सोचेकै थिइनँ। केही समय काम गरेर फर्किने सोच थियो। यहाँ दुःख गरेँ। मैले पढ्न नपाए पनि बहिनीहरूले धेरै पढेका छन्। खुसी लाग्छ।'
