अमेरिका र इसराइलले 'अपरेसन फ्युरी' नाम दिएर इरानमा सैन्य कारबाहीको सुरू गरेको दुई साता भइसक्यो।
पहिलो दिनदेखि नै धेरै हताहतिका खबर आइरहेका छन्। इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनी लगायत उच्च पदस्थ अधिकारीहरू, सेनाहरू, सर्वसाधारण, विद्यार्थीले ज्यान गुमाएका खबर छन्।
पहिलो दिनको आक्रमणलगत्तै इरानले पनि मध्यपूर्वका देशहरू कतार, दुबई, कुवेत, बहराइन लगायतमा रहेका अमेरिकी सैन्य अड्डा र इसराइलमा एकैसाथ जबाफी हमला गरेको थियो। यो आजसम्म पनि जारी छ।
युद्धले आक्रामक रूप लिएपछि सुरक्षा संवेदनशीलतालाई लिएर कतार लगायत देशहरूले आफ्नो हवाई मार्ग बन्द गरेका छन्। उडानहरू प्रभावित भएका छन्।
यद्यपि युद्धको पहिलो साता पश्चात यात्रामा विभिन्न एयरपोर्टमा अड्किएका यात्रुहरूका लागि र उद्दारका केही उडानहरू भएका समाचारहरू पनि आइरहेका छन्।
कतारको अवस्था
म हाल कतारको दोहामा छु र यहाँको अवस्था नजिकबाट नियालिरहेको छु।
युद्ध सुरू भएको बिहान्, अर्थात् फागुन १६ गते इरानमा भएको आक्रमणको केही घण्टासम्म बाहिरको अवस्था पूर्ण शान्त जस्तो देखिन्थ्यो।
यस्तो लाग्थ्यो — धेरै जनालाई आक्रमणबारे जानकारी नै छैन। वा, त्यो आक्रमण इरानमा हो, यता केही फरक पर्नेवाला छैन र हुँदैन।
यद्यपि म कार्यरत संस्थाले इरानमा आक्रमण सुरू हुनेबित्तिकै आफ्नो एपमार्फत सुरक्षा सतर्कतासहितका सूचना सम्प्रेषण गर्दै आइरहेको थियो। बिस्तारै समाचारहरू बाहिर आउन थाले।
बिहान करिब ११ बजे आसपास कतारको आकाशमा पनि बिस्फोटका आवाज आउन लागे र लगत्तै कतारको मिनिस्ट्री अफ इन्टेरियरले सबैको फोनमा इमर्जेन्सी अलर्ट पठाउन लाग्यो।
सुरूमा अलर्टहरू अरेबिक भाषामा थिए। पछि अरेबिक र अंग्रेजी दुवै भाषामा आउन लागे। उक्त अलर्टमा सैन्य अखडाभन्दा टाढा बस्नु, घरभित्र बस्नु, अत्यावश्यक नभई घरबाहिर ननिस्कनु जस्ता सन्देश थिए। त्यसको केही समयपछि कतारबाट हुने सबै उडानहरू रद्द भएको र हवाई क्षेत्र बन्द भएको समाचारहरू आए।
समाचारहरूमा आए अनुसार कतारमा अमेरिकाको मध्य पूर्वमध्येको सबभन्दा ठूलो सैन्य अखडा (अल उदैद एयरबेस) छ। यसलाई मध्यनजर गर्दै इरानले आक्रमण गर्दै आइरहेको छ। अहिलेसम्म पनि कहिले दिउँसो, कहिले साँझ त कहिले मध्यरातमा बेला बेला बिस्फोटका आवाज आइरहन्छन्।
इमर्जेन्सी अलर्टमा पनि थप सन्देशहरू आइरहेका छन्— सतर्क रहने, घरबाहिर अति आवश्यक हुँदा मात्र निस्किने, साथै आधिकारिक स्रोतबाट आएका सूचना र खबरहरूलाई मात्र विश्वास गर्ने, अफवाह नफैलाउने, मिसाइल र ड्रोनहरू आकाशमा बिस्फोट भएपछि झरेका टुक्राहरूको छेउछाउ नजाने, नछुने आदि।
युद्ध छेडिएको दुई हप्ता पूरा हुँदा कतारमा मिसाइल आक्रमणका घटना र बिस्फोटका आवाज केही कम भएको महसुस हुन्छ। तैपनि सतर्कताका लागि यहाँको सरकारले झन कडाइ गरेको छ। यस्ता कडाइमा विशेषगरी अफवाह फैलाउन समाचारबाट टाढा बस्ने, बिस्फोट, आगलागी वा युद्धसँग सम्बन्धित कुनै पनि श्रव्यदृश्य सामग्री रेकर्ड नगर्ने र सामाजिक सञ्जालमा पोस्ट नगर्ने, बाहिर निस्किँदा कुनै असामान्य लाग्ने वा शंकास्पद वस्तु देखेमा त्यसलाई नछुने र आपतकालीन नम्बरमा फोन गरेर तत्काल जानकारी दिने आदि।
हालैका दिनमा त्यस्ता विषयवस्तु समेटिएका आपतकालीन अलर्टहरू पनि धेरै आइरहेका छन्। साथै कतार सरकारले सुरक्षाका लागि भनेर केही संवेदनशील क्षेत्रबाट मानिसहरूलाई स्थानान्तरणको सूचना पनि जारी गरेको छ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले हालै जारी गरेको तथ्यांक अनुसार करिब १७ लाख २९ हजार नेपाली मध्यपूर्वमा छन्, जसमध्ये करिब ३ लाख ५७ हजार कतारमा छन्। आक्रमण र तनाव अझै कायम भएकाले मध्यपूर्व लगायत कतारमा हुने नेपालीले निम्न अनुसार सुरक्षा सतर्कता अपनाउन जरूरी देखिन्छ।
१. कतार सरकारको सुरक्षा निर्देशन राम्रोसँग पालना गर्ने।
२. अति आवश्यक नभई घरबाहिर ननिस्कने।
३. केही दिनका लागि पानी, खानेकुराको व्यवस्था गर्ने।
४. बाहिर गएको बेला कथमकदाचित आकाशबाट झरेका मिसाइलका टुक्रा देखियो भने नजिक नजाने, नछुने, फोटो\भिडिओ नखिच्ने।
५. आकाशमा मिसाइल र ड्रोनहरू इन्टरसेप्ट हुँदा बाहिर निस्केर फोटो, भिडिओ नखिच्ने।
६. अनावश्यक र अफवाह फैलाउने खालका सूचनाहरूबाट टाढा रहने। यस्ता समाचारहरू सामाजिक सञ्जालमा नराख्ने वा सेयर नगर्ने।
७. यदि आफू बसेको घरको छानो कमजोर खालको छ भने, आवश्यक परेको बेला नजिकैको अपार्टमेन्टको बेसमेन्ट पार्किङमा गएर सेल्टर लिने। वा, मेट्रो स्टेसन नजिकै छ भने, मेट्रो स्टेसन मुनि सुरक्षित ठाउँमा गएर सेल्टर लिने।
८. बाहिर निस्किँदा आफ्नो पासपोर्ट वा कतार आइडी (QID) साथमा राख्ने। सुरक्षा निकायको चेकजाँच बढेको छ। हतारमा बाहिर निस्किँदा आफ्ना कागजात छुट्न सक्छ। त्यसो भएमा METRASH लगइन गरेर आफ्नो प्रोफाइल (जानकारी) सुरक्षा जाँचमा देखाउन सकिन्छ। त्यसका लागि METRASH लगइन आइडी र पासवर्ड सम्झिराख्ने।
९. कतारस्थित नेपाली दूतावासको फोन (९७४४४६७५६८१, ९७४६६२१४४१९), साथै कतारस्थित इमर्जेन्सी नम्बरहरू ९९९ (पुलिस, फायर, एम्बुलेन्स), ९९२ (सुन्न समस्या हुनेका लागि इमर्जेन्सी सेवा), ४४५८८८८८ (MOWASALAT ट्याक्सी), ४४३९४४४४ (हमाद अस्पताल), ४०११४४४४ (अल वाक्रा अस्पताल), ४४७४५५५५ (अल खोर अस्पताल), १६००० (मानसिक समस्या सहयोग) आफ्नो फोनमा सेभ गर्ने।
१०. आफ्नो फोन पूरा चार्जमा राख्ने र फोन आफ्नो साथमा राख्ने।
११. घरपरिवार र साथीहरूसँग सम्पर्कमा रहने।
१२. कतारस्थित नेपाली दूतावासले सबैको अवस्थाको जानकारी संकलन गरिरहेको छ। आफ्नो अवस्थाबारे तलको सम्बन्धित वेबसाइट वा कोडमार्फत अद्यावधिक गर्ने
१३. कतारस्थित नेपाली दूतावासले फागुन ३० गते एक सूचना जारी गर्दै साउदी अरेबियाका विभिन्न विमानस्थल हुँदै नेपाल जान चाहने नेपालीहरूका लागि पर्यटन भिसाको सहजीकरणका लागि आह्वान गरेको छ। जसका लागि दोहास्थित ताशिर साउदी भिसा केन्द्रमार्फत भिसा आवेदन दिन अप्वाइन्टमेन्ट बुक गर्न सकिने छ। त्यसका लागि ५०६६०६२२ मा फोन गरेर थप जानकारी लिन सकिन्छ।
नेपाल सरकार र नेपाली दूतावास कतारलाई अनुरोध
१. हाल कतार सरकारले जारी गर्ने इमर्जेन्सी अलर्ट अरेबिक वा अंग्रेजी भाषामा छन्। सबै नेपालीहरूले यसलाई बुझ्न गाह्रो हुन्छ। त्यसैले यस्ता अलर्टहरू नेपाली भाषामा अनुवाद गरी फोन वा सामाजिक सञ्जालमार्फत नेपालीहरूमा पुर्याउन सके राम्रो हुनेछ।
२. यदि उद्दार गर्नुपर्ने अवस्था आयो भने के कसरी गर्ने भन्ने स्पष्ट योजना बनाएर सार्वजनिक गर्नुहोला। केही देशका दूतावासहरूले आफ्ना नागरिकहरूलाई वैकल्पिक मार्गमार्फत उद्दार गर्ने भनेर आह्वान गरिसकेका छन्।
३. कुनै कम्पनीहरूले नेपाली कामदारहरूलाई अझै पनि नियमित जस्तै बाहिरको काममा लगाएका छन् भने, त्यस्तो पहिचान गरी सुरक्षाको प्रत्याभूति गराउनुपर्छ।
४. विकसित घटनाक्रमले नेपालीहरूलाई मनोवैज्ञानिक रूपमा आघात पुगेको छ भने, तथ्यांक संकलन गरी उपयुक्त माध्यममार्फत मनोसामाजिक परामर्श प्रदान गर्नुपर्छ।
अमेरिका, इसराइल र इरानको युद्धले मध्यपूर्वका देशहरूमा अवस्था तनावपूर्ण बन्दै गएको छ। युद्ध केही लम्बिन सक्ने आकलन पनि गरिएको छ।
आजका दिनम्मस कतारको दैनिक अवस्था असामान्य त छैन, तर जोखिम टरेको छैन। यस्तो बेला सुरक्षा सतर्कता अपनाउने, आधिकारिक स्रोतबाट आएको खबर विश्वास गर्ने, कतार सरकारको नीतिनियम पालना गर्ने, उद्धारको तयारी गर्ने, सम्पूर्ण पक्षहरूसँग समन्वय र सहकार्य गरी सम्पूर्ण नेपालीहरूको सुरक्षामा तदारूकता देखाउनुपर्ने खाँचो टड्कारो देखिएको छ।