गत वर्षको मे महिनाको दोस्रो हप्तातिरको कुरा होला नेपाली समाजका केही समाजसेवी साथीहरूबाट फोन आयो- 'म्याडम! एउटा महिलाको शव २ महिनादेखि अस्पतालमा नै छ। त्यो शव छिट्टै जलाउनु पर्ने छ, नत्र अप्ठ्यारो पर्छ।'
मैले सोधेँ, 'किन र? यति लामो समयदेखि किन शव नेपाल पठाउन सकिएन? ती बहिनीको नेपालमा कोही छैनन् र?'
उनीहरूले भने, 'परिवार त काठमाडौंतिर नै हुनुहुन्छ, तर बाबु–आमा अत्यन्तै वृद्ध हुनुहुन्छ। छोरीको खबरले उहाँहरू निकै दुःखी हुनुहुन्छ, छोरीको मुख हेर्न समेत नसक्ने अवस्थामा पुग्नुभएको छ, त्यसैले शव उतै जलाइदिनु भन्नु भएको छ।'
यसरी परिवारले मृतकको शव लिन नमानी त्यतै जलाइदिनु भनेको सुन्दा अचम्म लाग्यो। सोच्दै गए अत्यन्त पीडा भयो। सायद छोरीको पार्थिव शरीर देख्न नसक्ने कारणले नै परिवारलाई यस्तो निर्णय गर्न बाध्य बनाएको थियो।
त्यसपछि त्यो शव नेपाल पठाउन सकिन्छ कि भनेर मैले मृतककी सानीआमालाई आफै फोन गरेँ। उहाँ शारजहामा हुनुहुन्थ्यो।
उहाँले भन्नुभयो, 'यहाँ जलाउनै नमिल्ने भए मात्र नेपाल लैजाने, नत्र यतै जलाउने। भिनाजुले- छोरीको त्यस्तो अवस्था हेर्न सक्दिनँ, त्यतै जलाइदेऊ भन्नुभएको छ। सबै कागजात बनाइसक्यौँ, बरू छिट्टै दाहसंस्कार गर्न पाए हुन्थ्यो — दुई महिना भइसक्यो, अझैसम्म काजकिरिया गर्न पाएको छैन। मेडम, बरू जसरी भए पनि छिट्टो प्रक्रिया मिलाइदिनु न, उता झन् दु:खमा हुनुहुन्छ।'
उहाँबाट यस्तो जबाफ सुनेपछि मन अत्यन्तै भारी भयो।
परिवारबाट उतै जलाइदिनु भन्ने लिखित कागज आएपछि हामीसँग बोल्ने ठाउँ केही रहेन। अनि दूतावासका पी.आर.ओ.लाई बोलाएर भनेँ- 'आइतबार एक जना बहिनीको शव यतै जलाउने कुरा भएको छ, यहाँको निकायमा आवश्यक प्रक्रिया पूरा गरिदिनु होला।'
त्यति भने पश्चात उनले तुरून्तै प्रक्रिया अगाडि बढाए।
नेपाली दूतावासको समन्वयमा युएईमा रहेको नेपाली समाजका पूर्वअध्यक्ष तथा हालका सल्लाहकार बेदप्रसाद अर्याल आफैले मृतककी सानीआमालाई लिई अस्पताल, शव गृह तथा यहाँका निकायहरूमा गएर सम्पूर्ण प्रशासनिक प्रक्रियाहरू पूरा गरे पश्चात दुबईको जबेलअलीमा रहेको सनातनी घाट दाह संस्कार गर्ने ठाउँमा दाहसंस्कारको लागि समय मिलाइयो र मे १८, २०२५ आइतबारका दिन नेपाली दूतावासका सहकर्मी साथीहरू, केही समाजसेवी नेपालीहरू र मृतककी सानीआमाको उपस्थितिमा दाह संस्कार सम्पन्न गरियो।
परदेशमा मलामी गएको यो पहिलो पटक थियो, त्यो पनि मृतकको परिवारको प्रत्यक्ष उपस्थिति बिना। सायद त्यसैले म अलिक बढी नै भावुक भएँ।
मलामी गएको त्यो रात निद्रा लागेन- अनेक कुरा मनमा खेलिरहे। अनि करिब राति एक बजेतिर उठेर कापीका पाना पल्टाएँ र उनको नाममा केही शब्दहरू कोरेँ।
परदेशको मलामी
जिउदो हुँदा देशले आफ्नो नठानेको,
मरे पछि परिवारले लाश लिन नमानेको
आज एउटा मलामी गएँ, परदेशको मलामी ।
असह्य पीडा भयो, अनेकन प्रश्न उब्जिए
धर्मरायो पाइला आफ्नै, ओहो आफ्नै आँखा टिल्पिलायो
धन्न लाशले केही सोध्दैन, आत्मा बोल्न सक्दैन।
नत्र मलाई प्रश्न गर्थिन होला – दिदी !
मेरा बाबु आमा किन मेरो मलाम सम्म आएनन्?
उनीहरूकै निम्ति म यहाँ सम्म आएँ,
उनीहरू मेरो लाश लिन सम्म आएनन् ?
उनको प्रश्नको म के जबाफ दिन्थेँ होला ?
निशब्ध भै भक्कानिँदै, पक्कै उनी सँगै म पनि रून्थेँ होला !.....
यो घटनापछि उब्जिएको एउटा प्रश्नले मलाई अझै पनि झस्काई रहन्छ - श्रमिकहरूको मृत्यु भएमा उनीहरूको सम्मानजनक अन्तिम संस्कार सुनिश्चित गर्ने दायित्व आखिर कसको? परिवारको कि राष्ट्रको ? वा दुबैको?
त्यसपछि मैले दूतावासका कर्मचारी तथा नेपाली समुदायका साथीहरूसँग सोधखोज गरेँ - योभन्दा अगाडि कतिवटा शव युएईमा जलाइएको थियो भनेर?
करिब डेढ दुई वर्षअघि २ जना नेपालीको युएईमा नै अन्तिम संस्कार भएको रहेछ।
सन् २०२० देखियता परिवारकै अनुरोधमा नेपाली समुदायले करिब २१, २२ वटा जति नेपालीहरूको दाह संस्कार गरेका रहेछन्।
धेरैको कोरोनाको समयमा र कुनै परिवारको अनुरोधमा।
अधिकांश केसहरूमा प्रवासमा नेपालीहरूको मृत्यु भएमा दूतावासहरूद्वारा मृतकको शरीर नेपाल पठाई परिवारलाई नै शव हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको हुन्छ।
तर यदाकदा परिवारले भावनात्मक कारणहरू देखाई शव यतै जलाइदिन अनुरोध गर्ने गरेको अवस्थामा परिवारको इच्छा अनुसार नेपाली समुदायले यतै अन्तिम संस्कार गर्ने गरेका रहेछन्।
युएईमा हरेक महिना दर्ता हुने मृत्युका घटनाहरूमध्ये अधिकांशको हृदयघातबाट मृत्यु हुने गरेको देखिन्छ भने केहीको आत्महत्या र केही दुर्घटना।
कतिपय यस्ता घटनाहरूमा मृतकको शरीर नेपाल पठाउन कम्पनीले नै पहल गरिदिन्छ।
कम्पनीले पहल नगरिदिएको र श्रम स्वीकृति लिएर आएको अवस्थामा वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने रकमबाट नेपाल पठाउन सहजीकरण गर्ने गरिन्छ।
श्रम स्वीकृति नभएर वैदेशिक रोजगार बोर्डबाट शव पठाउने रकम प्राप्त नभएको र परिवारले खर्च हाल्न पनि नसक्ने अवस्थामा भने यहाँका नेपाली समुदायकाले पैसा उठाएर मृतकको शरीर नेपालमा पठाई परिवारको जिम्मा लगाउने गरेका छन्।
यी सबै कार्यहरूको लागि नेपाली दूतावासले यहाँका कम्पनी तथा नेपाली समुदायसँग समन्वय गर्ने गर्दछ।
आप्रवासन प्रक्रियामा मृत शरीर स्वदेश फिर्ता पठाउनको लागि समेत कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। मृत्युको प्रमाणपत्र, प्रहरी प्रतिवेदन, शव परीक्षण प्रतिवेदन, भिसा रद्द गर्नुपर्ने, विमानमार्फत मृतकको शव लैजान अग्रिम बुकिङ तथा एनओसी आवश्यक पर्ने गर्दछ। यो प्रक्रिया आफैमा जटिल, समय लाग्ने तथा भावनात्मक रूपमा कठिन हुन्छ।
परदेशी भूमिमा हुने गरेका असामायिक निधनहरूले परिवारलाई पुग्न जाने असह्य चोटको हिसाबै हुँदैन। हरेक दिन सुनिने मृत्युका यस्ता खबरहरू कर्मचारीहरूको लागि समेत पीडादायी नै हुन्छ।
हरेक धर्ममा मृत्युको संस्कार छुट्टै हुन्छ। नेपालीहरूको पनि मृत्युको संस्कार फरक छ। विविध सामाजिक धार्मिक र सांस्कृतिक परम्परामा आधारित नेपाली समाजमा समुदाय, जाति र भौगोलिक क्षेत्र अनुसार जन्म र मृत्यु संस्कार फरक फरक छ। त्यसमाथि पनि यहाँ आउने अधिकांश श्रमिकहरूको केही समय पश्चात नेपालनै फर्किने चाहना हुने गर्दछ भने कतिपयको आफ्नो देशकै माटोमा आफ्नो अन्तिम संस्कार होस् भन्ने इच्छा पनि हुने गर्दछ।
तसर्थ, भावनात्मक वा अन्य कुनै पनि कारण देखाएर परिवारले अन्तिम संस्कारका लागि शव ग्रहण नगरेको अवस्थामा राज्य वा सम्बन्धित निकायले आफ्ना देशका नागरिकहरूलाई आफ्नै देशको भूमिमा अन्तिम संस्कार गर्ने व्यवस्था मिलाउन सकेमा यसले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूप्रति राज्यको उत्तरदायित्व र संवेदनशीलता दुबै प्रतिविम्बित गर्ने थियो। यसले वैदेशिक रोजगारीमा रहेका लाखौं श्रमिकहरूको सुरक्षा तथा उनीहरूको श्रमको सम्मानको समेत प्रत्याभूति हुने थियो।