कतार नेपाली श्रमिकका लागि सपना, बाध्यता र संघर्षको संगम हो। रोजगारीको सिलसिलामा हाल कतारमा ठ्याक्कै कति नेपाली छन् भन्ने यकिन आँकडा छैन।
गैरआवासीय नेपाली संघ समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थीका अनुसार हाल करिब तीन लाख ६७ हजार नेपाली वैधानिक रूपमा कार्यरत छन्। यसबाहेक कागजातविहीन रूपमा बसोबास गर्नेहरूको संख्या पनि कम छैन।
कतारमा नेपालीहरू सबैभन्दा बढी निर्माण क्षेत्रमा संलग्न भएको उनले बताए। त्यसपछि हस्पिटालिटी क्षेत्रमा काम गर्नेहरू पनि छन्।
ठूला र व्यवस्थित कम्पनीहरूले राम्रो सेवासुविधा र तलब दिएर काम लगाएका छन्। स–साना कतिपय कम्पनीहरूमा भने जति सेवासुविधा तथा पारिश्रमिक नपाउने समस्या रहेको उनले बताए।
कतार सरकारले आप्रवासी श्रमिकको न्यूनतम तलब १००० कतारी रियाल तोकेको छ। खानाका लागि ३०० र बसोबासका लागि ५०० रियाल दिनुपर्ने व्यवस्था छ।
कतिपय कम्पनीले खाने/बस्ने व्यवस्था गरिदिएर १००० रियाल आधारभूत पारिश्रमिक मात्रै पनि दिन्छन्।
'पहिला तलब कम हुने, समयमै नपाउने र श्रमिकका कथा अत्यन्त पीडादायी थिए,' पन्थीले भने, 'तर कतारमा विश्वकप हुनुअघि न्यूनतम तलब प्रणाली लागू भएपछि अवस्था केही सुधारिएको छ।'
कतारमा न्यूनतम तलब सम्बन्धी डब्लुपिएस सिस्टम प्रणाली भए पनि केही ठूला कम्पनीहरूमा मात्रै कार्यान्वयन भएको उनले बताए। स–साना कम्पनीहरूमा अझै केही समस्या रहेको उनको भनाइ छ।
'केही कम्पनीले श्रमिकलाई फ्रिल्यान्सर भन्दै स्पोन्सर भिसामा ल्याउँछन्,' पन्थीले भने, 'दुई महिना काम गराएर एक महिनाको तलब दिने, केहीले त तलब नै नदिई काममा लगाउने समस्या पनि छ।'
अहिले कतारमा नेपालबाट विभिन्न बहानामा घरेलु कामदार पठाउने गरेको पाइएको पनि उनले बताए। एजेन्टहरूले 'अनस्किल्ड क्लिनिङ' नाममा महिलाहरू घरेलु काममा पुर्याउने र उनीहरू समस्यामा पर्ने समस्या छँदैछ।
सरकारले खाडी मुलुकहरूमा घरेलु काममा प्रतिबन्ध लगाएको छ। यो अहिले सबभन्दा गम्भीर चुनौती भएको उनले बताए।

'हस्पिटल र मल क्लिनिङमा अवस्था तुलनात्मक रूपमा ठीक छ,' उनले भने, 'तर घरायसी कामका लागि आएका महिलाले धेरै समस्या भोगिरहेका छन्।'
त्यसरी पुगेका महिलाहरूले तलब नपाउने, मानसिक दबाब खेप्नुपर्ने लगायत समस्या छन्।
योसँगै अन्य क्षेत्रमा कार्यरत नेपालीहरूको मानसिक स्वास्थ्यमा पनि समस्या देखिएको उनले बताए।
'यहाँ आत्महत्याका घटना बढिरहेका छन्। यसले यहाँ नेपालीहरूको मानसिक स्वास्थ्य अवस्था कति गम्भीर छ भन्ने देखाउँछ,' उनले थपे।
त्यहाँ काम गर्ने नेपालीहरूमा मिर्गौलाको समस्या, हृदयाघात जस्ता गम्भीर समस्या पनि बढ्दै गएको छ। गर्मीमा लामो समय खटेर काम गर्ने र पानी कम पिउने, मदिरा सेवन, खानपानमा ध्यान नदिने लगायत कारण पनि विभिन्न रोगको समस्या देखिएको छ।
त्यस्तै सडक दुर्घटना पनि अहिले अर्को ठूलो समस्या बनेको छ।
यस्ता समस्या समाधानका लागि सरकारले बेलैमा स्वास्थ्य सचेतना कार्यक्रम गर्नु जरूरी रहेको पन्थी बताउँछन्। एनआरएनए कतारले भने यस्ता समस्या सम्बोधनका लागि सचेतनाका कार्यक्रम गरिरहेको उनले बताए।
'पछिल्लो समय दूतावासले पनि सांस्कृतिक कार्यक्रमभन्दा बढी भुइँमान्छे केन्द्रित कार्यक्रममा जोड दिँदै आएको छ,' उनले भने, 'नेपालमा पनि पासपोर्ट बनाउने ठाउँमै डेस्क राखेर सरकारले सचेतनाका कार्यक्रम गर्न सक्छ।'
यसमा एनआरएनएले पनि सहयोग गर्ने उनले बताए।
कतारमा चुनौतीसँगै अवसरहरू पनि छन्। कतिपय नेपालीहरू सहज काम गरेर राम्रो कमाइ गरिरहेका छन्।
लेबर काम (मजदुरी) बाहेक सूचना प्रविधि (आइटी), इन्जिनियरिङ, चिकित्सा सेवा तथा व्यवसायमा पनि नेपालीहरूको उपस्थिति बाक्लो छ।
सुरूमा लेबर कामका लागि गएका कतिपय नेपाली हाल कमाइ गरेर व्यवसाय गरिरहेका छन्। हाल कतारमा नेपालीहरूले होटल, रेस्टुरेन्ट, सैलुन लगायत क्षेत्रमा व्यवसाय गरिरहेका उनले बताए।
नेपालमा उत्पादित सामग्री तरकारी, फलफूल निर्यात गरेर बिक्री गर्ने नेपालीहरू पनि छन्। नेपालका कृषि उत्पादनको कतारी बजारमा राम्रो माग रहेको उनले बताए। तर विमानस्थलमा कोल्ड स्टोर नहुँदा सामान सकुशल पुर्याउन समस्या छ।

'उडान ढिला वा रद्द हुँदा तरकारी, फलफूल लगायत सामग्री राख्ने कोल्ड स्टोर विमानस्थलमा छैन। यसले गर्दा नेपालबाट यस्ता सामग्री कतार पुर्याउनेलाई चुनौती छ,' उनले भने।
कतारमा नेपालको पानीको बजार पनि एकदमै राम्रो रहेको उनले बताए। कतारीहरूले हिमालको पानी भन्ने बित्तिकै एकदमै रूचाउने र बढी मूल्य तिर्न समेत तयार हुन्छन्। सरकारले कतार सरकारसँग समन्वय गरेर पानी लगायत थुप्रै वस्तु निर्यात गर्न सक्ने अवसर रहेको उनी बताउँछन्।
एनआरएनए कतारका अध्यक्ष पन्थी सन् २०१४ मा त्यहाँ गएका हुन्। त्यसअगाडि कुवेतमा थिए।
कतारमा उनी हस्पिटालिटी सम्बन्धी कम्पनीमा काम गर्छन्। अब त्यहाँ आफ्नै केही व्यवसाय गर्ने सोचिरहेका छन्। नेपालमा भने जलविद्युत, कृषि लगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन्।
'नेपालमा होटल, रेस्टुरेन्टमा लगानी गर्ने योजना छ। तर अहिले राजनीतिक अस्थिरता छ। लगानी गरिहाल्ने अवस्था छैन। यो पछिल्लो आन्दोलन नभएको भए यति बेला लगानी गरिसक्छु भन्ने थियो,' पन्थीले भने।
