खोटाङ, दिक्तेलका रूद्र आचार्य सन् २००८ मा रोजगारीका लागि कतार गएका थिए। त्यस बेला उनको उमेर जम्मा १८ वर्ष थियो।
कतार नै उनका लागि वैदेशिक रोजगारीको पहिलो गन्तव्य मुलुक थियो। काम थियो इलेक्ट्रिसियन हेल्पर। दैनिक ८ घन्टा काम गर्दा मासिक तलब ७५० कतारी रियाल हुन्थ्यो।
आज त्यही कतारमा उनी आफै रोजगारदाता बनेका छन्।
हाल रूद्र निर्माण सम्बन्धी व्यवसाय गर्छन्।
'मेरो अनुभव निर्माण सम्बन्धी नै थियो। कतारको वातावरण बुझ्दै गएपछि आफै गर्न सक्छु भन्ने लाग्यो,' उनले भने।
अहिले उनी आफ्नो कम्पनीमार्फत भवनहरूमा बिजुली, प्लम्बिङ लगायतका काम गर्छन्। भवनमा आगलागी हुँदा निभाउन प्रयोग हुने स्वचालित प्रविधि जडान लगायतका काम पनि गर्दै आएका छन्।
कम्पनीमा हाल नियमित ४२ जनालाई रोजगारी दिएका छन्। आवश्यकता अनुसार अन्य विभिन्न कम्पनीहरूबाट श्रमिक ल्याउँछन्। काम अनुसार श्रमिक थपिरहनुपर्ने हुँदा कुल ८० जनाभन्दा बढीलाई रोजगारी दिइरहेको उनले बताए। उनको कम्पनीमा नेपाली, भारतीय, बंगाली लगायत श्रमिक कार्यरत छन्।
कतार रूद्रको पहिलो वैदेशिक यात्रा थियो। सुरूको काम त्यति सहज थिएन। त्यस बेला फोनको पहुँच व्यापक भइसकेको थिएन। घरपरिवारसँग सम्पर्कको एक मात्र माध्यम चिठी थियो।
'घरको खबर बुझ्न महिनौं कुर्नुपर्थ्यो,' उनी सम्झिन्छन्, 'यहाँबाट पठाएको चिठी खोटाङ पुग्नै तीन महिना लाग्थ्यो।'
कहिलेकाहीँ साथीहरू देश फर्किँदा उनीहरूमार्फत पनि चिठी पठाइन्थ्यो। परिवारले पनि कहिलेकाहीँ हुलाक र कहिलेकाहीँ कतार जाने मानिसहरूमार्फत पठाउँथे। त्यसरी आदानप्रदान भएको चिठीको निकै महत्व हुन्थ्यो।

'परदेशमा चिठी पुग्दा परिवार नजिकै भएको आभास हुन्थ्यो,' उनले भने।
अर्काको देशमा भाषा नआउने, कामको दबाब र नयाँ वातावरणका कारण सुरुआती दिन निकै कठिन थिए। सुरूमा थालेको इलेक्ट्रिसियन हेल्परको काम रूद्रले करिब तीन महिना मात्रै गरे।
तीन महिनापछि नै उनले अलि सहज काम पाए — मेनेजरको सेक्रेटरी भए।
नेपाल हुँदै उनले कम्प्युटर सम्बन्धी आधारभूत र डिप्लोमा कोर्स गरेका थिए। त्यसैले कम्पनीले उनलाई त्यो अवसर दिएको थियो। डकुमेन्ट टाइप गर्ने लगायत सामान्य काम गर्नुपर्ने भएकाले सहज भयो।
त्यो काम गर्न थालेको दुई वर्षमै उनले एचआर अफिसरको जिम्मेवारी पाए।
'म आफूलाई कसरी दक्ष बनाउने भन्ने सधैं सोचिरहन्थेँ। नयाँ कुरा सिक्न रूचि राख्थेँ। मेरो उत्सुकता र सिक्ने चाहनाकै कारण मेरो बढुवा भयो,' उनले भने, 'तलब पनि ९०० रियालबाट १५०० रियाल पुग्यो।'
एचआर अफिसरका रूपमा एक वर्ष काम गरेपछि उक्त कम्पनीको परियोजना सकियो। ६ हजारभन्दा बढी आप्रवासी श्रमिक कार्यरत उक्त कम्पनी बन्द भयो। त्यहाँ कार्यरत अधिकांश श्रमिकलाई कम्पनीले उनीहरूकै देश फर्कायो। नेपाली श्रमिक पनि ठूलो संख्यामा फर्किनुपर्यो।
रूद्रका अनुसार त्यस बेला कम्पनीले एनओसी (नो अब्जेक्सन लेटर) दिएपछि मात्रै कतारमै रहेर अन्य कम्पनीमा काम गर्न पाइन्थ्यो। रूद्रसहित थोरैले मात्रै त्यो अवसर पाए।
सीप र अनुभवकै कारण उनले अर्को निर्माण कम्पनीमा एचआर अफिसरकै पदमा जागिर पाए। त्यहाँ उनको तलब ३५०० रियाल थियो। करिब ६ वर्षपछि उनी एड्मिन म्यानेजर बने। त्यस बेला तलब पाँच हजार रियालभन्दा बढी थियो।
कास्टिङ ट्रेडिङ नामक उक्त कम्पनीमा रूद्रले सन् २०१६ देखि २०२२ सम्म एड्मिन म्यानेजरका रूपमा काम गरे। यही अवधिमा उनले कतारको श्रम बजार, कानुन र व्यावसायिक सम्भावनाबारे राम्रोसँग बुझ्ने अवसर पाए।

निर्माण व्यवसायलाई नजिकबाट बुझ्ने मौका पाएपछि उनले सन् २०२२ मा जागिर छाडेर आफ्नै कम्पनी सुरू गरेका हुन्।
'यहाँ कमाएको पैसा यहीँ लगानी गरेको हुँ। धेरै ठूलो लगानीबाट सुरू गरेको होइन। थोरै लगानीबाट सानो–सानो व्यवसाय सुरू गरेको हुँ। जति लगानी गर्न सकियो, आम्दानी पनि त्यति नै हुन्छ। नेपालको तुलनामा यहाँ व्यवसाय गर्न सुरक्षित र सहज छ,' उनले भने।
अहिले उनी व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन्। आफू सन्तुष्ट रहेको उनले बताए।
रूद्र सामाजिक काममा पनि सक्रिय छन्।
परदेशमा कार्यरत युवालाई स्वदेश फर्किने वातावरण बनाउन सरकारले धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
नेपालमा लगानीको सुरक्षित वातावरण बने नेपाल फर्किएर कृषिमा काम गर्ने सपना पनि रहेको उनले बताए।
खोटाङमै तरकारी खेती गर्ने सोच बनाएका रूद्र भन्छन्, 'परिवारसँग टाढा बस्नु रहर होइन, बाध्यता हो। लगानी सुरक्षित हुने वातावरण बने नेपाल फर्किन्छु।'
