धादिङका श्याम कुमार श्रेष्ठ (श्याम शितल) ले जापानको नागोयामा चार वटा रेस्टुरेन्ट चलाएका छन्। उनी गीत पनि गाउँछन्। गैर आवासीय नेपाली संघ (जापान) का महासचिव पनि हुन्।
जापानमा व्यावसायिक र सामाजिक काममा फड्को मार्दै गरेका श्याम सन् २०१४ अगस्टमा जापान गएका हुन्।
सन् २०१६ देखि उनले आफ्नै व्यवसाय सुरू गरे।
'श्रीमती जापानमा पढ्दै गरेकाले म डिपेन्डेन्ट भिसामा गएको हुँ। नेपालमा रेडियोमा काम गर्थेँ, गीत पनि गाउथेँ,' उनले भने।
उनले सुरूमा नागोयामा रेस्टुरेन्ट खोलका हुन्। अहिले तीन वटा नेपाली परिकारको र एउटा रामेनको गरी चार वटा रेस्टुरेन्ट चलाइरहेका छन्।
उनका सबै रेस्टुरेन्ट १०–१५ किलोमिटरको दुरीमा छन्।
श्यामलाई जापानका विभिन्न कार्यक्रम र महोत्सवहरूमा गीत गाउन निम्तो आउँछ। उनले अहिलेसम्म तीन दर्जनभन्दा बढी गीत गाइसकेका छन्। रचना उनी आफैले गरेका हुन्।
उनका गीतमध्ये 'शिरमा शिरफूल सजाउने नानीलाई' युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ।
'गीत सोख हो। जुन क्षेत्रमा लागे पनि सोखको काम गर्न मन लाग्ने रहेछ। त्यसैले मैले गीत–संगीत पनि छाडेको छैन,' उनले भने, 'म जापानमा नान–तरकारी बेच्छु, अनि गीत पनि गाउँछु। सामाजिक काममा पनि सक्रिय छु।'
उनका अनुसार अहिले त्यहाँ व्यवसाय गर्न केही जटिल बन्दै गएको छ। यसअघि विदेशीलाई कुनै व्यवसाय सञ्चालन गर्न ५० लाख रूपैयाँ भए पुग्थ्यो भने अहिले तीन करोड रूपैयाँ चाहिन्छ। पहिलेदेखि व्यवसाय गरिरहेकाहरूले पनि तीन करोड पुँजी पुर्याउनुपर्ने नियम बनाइएको छ।
'कुनै पनि व्यवसाय गर्न एन–टू तहको जापानी भाषा जान्ने कामदार राख्नुपर्छ। एक जना कामदार जापानी नागरिक वा त्यहाँको पिआर भएको हुनुपर्छ,' उनले भने, 'पुँजीको आकार बढाइएको र कामदारको योग्यता तोकिएको छ। यसले नेपाली व्यवसायीलाई अप्ठ्यारो पारेको छ।'
जापानमा व्यवसाय गर्नुको अर्को असजहता भनेको नेपाली–नेपालीबीच अस्वस्थ प्रतिस्पर्धा बढ्नु हो।
'एउटा नेपालीको रेस्टुरेन्ट नजिकै अर्कोले त्यस्तै सुरू गर्छ। अनि हाम्रो खानाको स्वादमा एकरूपता हुँदैन,' उनले भने, 'जापानीहरूले नान, रोटी र तरकारी मन पराउँछन्। तर उसले पहिले खाएको रेस्टुरेन्टमा मिठो स्वाद पाएन भने जिन्दगीभर नान नखान सक्छ।'
विदेशीजस्तै नेपाली खानामा पनि एउटै स्वाद ल्याउन प्रयास गर्नुपर्ने उनको धारणा छ।
एनआरएनए जापानको महासचिव भएकाले त्यहाँ हरेक नेपालीले भोगेका समस्याबारे उनी जानकार छन्।
भाषाको समस्या तथा नेपाली व्यवसायीले दिने पारिश्रमिकको समस्या उनले नजिकबाट नियालेका छन्।
'जापानमा नेपाली समुदायका समस्याको पहिचान र समाधानमा प्रयास गर्नु हाम्रो मुख्य जिम्मेवारी हो,' उनले भने, 'हामीले आफ्नो पेसा र व्यवसायबाट समय निकालेर समुदायका लागि थोरै भए पनि सकारात्मक काम गर्ने प्रयास गरेका छौं।'