गाउँघरमा हुर्किएका धेरै युवाको कथा उस्तै हुन्छ — आर्थिक अभाव, सीमित अवसर र भविष्यप्रतिको अनिश्चितता।
ती कथामध्ये केही यस्ता पनि हुन्छन्, जसले संघर्षलाई सीपमा, सीपलाई अवसरमा र अवसरलाई सफलतामा बदल्न सक्छन्।
यसैको उदाहरण हुन् — तेह्रथुमका हुमानप्रसाद लिम्बू, जसको यात्रा स्थानीय बजारबाट सुरू भएर अन्तर्राष्ट्रिय होटल उद्योगसम्म पुगेको छ।
हुमानले विदेशी भूमिमा संघर्ष गरेको २० वर्षभन्दा बढी भयो। हाल उनी संयुक्त अरब इमिरेट्स (युएई) को दुबई सहरस्थित 'द लाना: दुबई डोर्चेस्टर कलेक्सन' मा काम गर्छन्।
उनका अनुसार यो पाँचतारे स्तरको अल्ट्रा–लक्जरी डिलक्स होटल हो। यो ब्रान्ड 'डोर्चेस्टर कलेक्सन' समूहले सञ्चालन गर्दै आएको छ। यो समूहको स्वामित्वमा विश्वभर ११ वटा होटल सञ्चालनमा छन्। यी होटल विश्वकै महँगाको सूचीमा पर्छन्।
'यो समूहमा एक सयभन्दा बढी देशका दुई हजारभन्दा बढी कर्मचारी छन्। तीमध्ये करिब पाँच सय नेपालीले रोजगारी पाएका छन्,' हुमानले भने।
साढे दुई वर्षदेखि उनी यहाँ पेस्ट्री विभाग अन्तर्गत हेड–सेफका रूपमा काम गरिरहेका छन्। पेस्ट्री सेफले क्यान्डी, चकलेट, केक, कुकिज, कपकेक, पाई, ब्रेड लगायत बेकरी परिकार बनाउँछ।

'पेस्ट्री–बेकरी बनाउने, मेनु विकास गर्ने र यस सम्बन्धी रिसर्च एन्ड डेभलपमेन्टको जिम्मेवारी मेरो हो,' उनले भने, 'रेस्टुरेन्टको मेनु बनाउन पनि सहयोग गर्छु।'
होटलमा सात सयभन्दा बढी प्रकारका पेस्ट्री–बेकरी परिकार बन्छन्। यी परिकार होटलमा आउने ग्राहकदेखि अन्य होटल तथा रेस्टुरेन्टमा पनि बिक्री हुने उनले बताए।
हुमान बस्ने ठाउँ होटलबाट १७ किलोमिटर टाढा छ। उनी आफ्नै गाडीबाट आउजाउ गर्छन्। गाडी उनले आफ्नै कमाइले किनेका हुन्।
होटलमा दैनिक १२ देखि १३ घन्टासम्म खटिनुपर्छ। त्यस बाहेक ग्राहकको चाप हेरेर काम गर्नुपर्ने उनले बताए।
'उच्च व्यक्तित्वका मानिसहरू आउँदा बिहान छिट्टै जानुपर्छ। राति १२/एक बजे फर्किन्छु,' उनले भने, 'सातामा दुई दिन बिदा हुन्छ।'
हुमानको परिवारको आर्थिक स्रोत कृषि थियो। उनले भने सानैदेखि सीप र व्यापारमा पाइला चालेका थिए।
६ वर्षकै उमेरदेखि उनले नाङ्लो, डालो, डोको बुन्न सुरू गरे। पछि पछि परिवारसँगै हाटबजारमा लगेर बेच्न पनि थाले।
उनको पढाइ पनि राम्रो थियो। त्यसैले कक्षा फड्किँदै पढे। एसएलसी (एसइई सरह) दिने बेला उनको उमेर १३ वर्ष थियो।
'एक कक्षामा पहिलो भएपछि एकै पछक पाँच कक्षामा भर्ना गरिदिए,' उनले भने, 'अनि त एसएलसी दिन उमेर बढाएँ।'
एसएलसीपछि उनको गाउँका केही युवा विदेश जान्थे भने धेरैजसो काठमाडौं आउँथे। हुमानले थप पढ्न काठमाडौं आउने निधो गरे।
२०५७ सालमा आफन्तको सहारामा हुमान डोको–डालो बेचेर पाएको २० रूपैयाँ बोकेर काठमाडौं आए।
उनका गाउँका दाइ काठमाडौंमा खसी–खुकुरीको व्यापार गर्थे। उनी सानै भएकाले खसी बेच्न सक्दैन थिए। त्यसैले उनले खुकुरी बेच्न थाले। एउटा खुकुरी बेच्दा १० रूपैयाँ पाउँथे। त्यसैले खर्च धाने।
तीन महिनापछि एसएलसीको नतिजा आयो। उनी सेकेन्ड डिभिजनमा पास भए।
त्यसपछि उनी गाउँकै अर्का एक दाइसँग भक्तपुर गए। ती दाइ एक नेताका घरमा बसेर काम गर्थे। प्रशस्त जग्गा–जमिन भएकाले हुमानले पनि खेतबारीको काम गरे। कामबापत निःशुल्क बस्न पाए।
उनी भक्तपुर मल्टिपल क्याम्पसमा मानविकी संकायमा प्रविणता प्रमाणपत्र तहमा (प्लस–टू सरह) भर्ना भए। बेला बेला अन्य किसानकहाँ ज्यालादारी गरेर पनि पढाइ खर्च जुटाए।

दोस्रो वर्षमा पढ्दै गर्दा उनलाई पाककला (कुलिनरी आर्ट) मा चासो बढ्यो।
'एउटा इन्स्टिच्युट थियो। त्यहाँ दलित–जनजाति कोटामा विदेश जान पाइन्छ भन्ने सुनेको थिएँ। काम र पढाइ दुवैलाई असर नपर्ने गरी तालिम लिन थालेँ,' उनले सुनाए।
तालिम सकिनासाथ उनलाई दुबई जाने अफर आयो, जहाँ काम सिक्दै कमाउन सकिन्थ्यो।
यो अवसर गुमाउन उनी चाहन्थेनन्। तर पैसा कसरी जोहो गर्ने?
'कम्पनी र म्यानपावरको गरेर करिब एक लाख रूपैयाँ खर्च लाग्थ्यो। गाउँमा जमिन भए पनि नगद थिएन,' हुमानले भने, 'गाउँका बुढापाकासँग सुन थियो। दोब्बर फिर्ता दिने आश्वासन दिएर परिवार र आफन्तको सुन जम्मा गरेँ। त्यो बेचेर विदेश गएँ।'
बस्ने र खाने सुविधा कम्पनीले दिएको थियो। व्यक्तिगत खर्च कटाएर उनले महिनाको ६ सय दिराम बचत गर्थे।
ट्रेनीका रूपमा गएका उनले सुरूमा होटलमा भाँडा माझ्ने, सरसफाइ गर्ने तथा तरकारी–फलफूल ओसारपसार र काट्ने काम गरे। त्यसमा दक्ष भएपछि भान्सामा पकाउन थाले।
'धैर्य, अनुशासन र सिक्ने चाहनाले मलाई अरूभन्दा फरक बनायो। साहुको नजरमा परेँ,' उनले भने।
एक वर्षमै उनको बढुवा भयो र उनी कमी–सेफ बने।
कामको सिलसिलामा उनी विभिन्न देश आउजाउ गर्थे। नेपालको पढाइ पनि छाडेनन्। बिदा मिलाएर परीक्षा दिन आउँदै स्नातक पूरा गरे।
कम्पनीले नयाँ होटल खोल्नेबित्तिकै भान्सा व्यवस्थापनका लागि उनी पुग्थे। यही उनको मुख्य विशेषता थियो। अनुभव बढ्दै जाँदा अन्य कम्पनीबाट पनि प्रस्ताव आउन थाल्यो।
दुबई र आबुधाबीका पाँचतारे होटलमा पाँच वर्षभन्दा बढी बिताएपछि उनलाई कतारबाट जागिरको प्रस्ताव आयो। सेवा–सुविधा राम्रो भएकाले उनी गए।
'कतारमा ३२ महिना बसेँ। कम्पनीका तीन नयाँ होटलको किचन व्यवस्थापन सम्हालियो,' उनले भने, 'सुरूमा तलब ४ हजार रियाल थियो, छोड्दा ११ हजार पुगेको थियो।'
कतारमा सँगै काम गरेका म्यानेजर दुबईको पाँचतारे होटलमा पुगेपछि उनकै प्रस्तावमा हुमान पुनः दुबई पुगे। उनको मुख्य जिम्मेवारी पेस्ट्री–बेकरी विभाग थियो।
त्यही समूहले फरक फरक ब्रान्डमा चार वटा होटल खोलेको थियो। तीमध्ये तीन वटा एउटै छानामुनि थिए भने एउटा केही टाढा थियो।

'चार वटा होटलमा ४० वटा रेस्टुरेन्ट र दुई हजारभन्दा बढी कोठा थिए,' उनले सुनाए, 'ती सबै होटलको पेस्ट्री–बेकरी जिम्मेवारी मेरो थियो।'
हुमानले सबभन्दा बढी समय दुबईमै बिताएका छन्। यसबीच उनले सरकारी कम्पनीदेखि उच्च व्यक्तिको लगानी भएका पाँचतारे होटलहरूमा काम गरे।
'मैले अहिलेसम्म १७ वटा पाँचतारे होटलको ओपनिङ गरिसकेको छु,' उनले भने।
यसको अर्थ, होटलको भौतिक संरचना तयार भएपछि किचनको सम्पूर्ण व्यवस्था मिलाउने, आवश्यक जनशक्ति भर्ना गर्ने र तालिम दिएर सक्षम बनाउने काम हो। त्यसपछि अर्को नयाँ होटलमा यही प्रक्रिया दोहोरिन्छ।
विदेशमा बगाएको पसिनाबाट उनले नेपालमा घरजग्गा किनेका छन्। उनको परिवार धरानमा बस्छ।
'युएई सरकारले गोल्डेन भिसा दिएको छ, जस कारण परिवार पनि सहजै दुबई आउजाउ गर्न सक्छ,' हुमानले भने, 'आगामी दिनमा आफ्नै लगानीमा विदेशमै होटल तथा रेस्टुरेन्ट खोल्ने योजना छ।'