दक्षिण कोरियामा पहिलोपटक डण्डीबियो प्रतियोगिता आयोजना हुने भएको छ।
नेपालीको मौलिक तथा परम्परागत खेल डण्डीबियोलाई विदेशमा पनि संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले डण्डीबियो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
उक्त प्रतियोगिता सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा नोभेम्बर ८ (कात्तिक २३) मा प्रथम सिन्धुपाल्चोक कप–२०२६ डण्डीबियो प्रतियोगिता हुने भएको छ।
प्रतियोगिता किम्पोस्थित किम्पो युनिभर्सिटीमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका अध्यक्ष उद्धव नेपालले जानकारी दिए।
'प्रतियोगितामा नेपाली समुदायबीच गठन भएका टोलीहरू सहभागी हुनेछन्। करिब १० टोलीको सहभागिता रहने अनुमान गरिएको छ,' उनले भने।
उनका अनुसार प्रतियोगिता हेर्न नेपालीसँगै कोरियाली नागरिकहरू पनि उपस्थित हुने छन्।
प्रतियोगितामा एउटा टोलीमा पाँच जना नियमित र दुई जना अतिरिक्त गरी सात जना खेलाडी रहने व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागी हुन प्रतिटिम एक लाख ६० हजार कोरियन वन दर्ता शुल्क तोकिएको छ।
प्रतियोगिताको विजेता टोलीले १० लाख कोरियन वन र उपविजेताले पाँच लाख कोरियन वन पुरस्कार पाउनेछन्।
त्यस्तै, सर्वाधिक बियो क्याच र सर्वाधिक ठ्याक गर्ने खेलाडीलाई जनही एक लाख कोरियन वन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अुनसार प्रतियोगिताका लागि विभिन्न नेपाली व्यवसाय तथा संस्थाहरूले प्रायोजन गरेका छन्।
मुख्य प्रायोजकमा कोइनसट रेमिट र सहप्रायोजकमा ग्लोबल टेलिकम रहेका छन्।