आगामी ११–१२ डिसेम्बर २०२६ मा कतारको दोहामा आयोजना हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन 'सहयात्रा–२०२६' का लागि समिति तथा उपसमिति गठन गरिएको छ।
गैर आवासीय नेपाली संघ(एनआरएनए) मध्यपूर्व क्षेत्रको चौथो बैठकले सम्मेलन लाई व्यवस्थित, भव्य र सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले विभिन्न समिति तथा उपसमितिहरू गठन गरिएको हो।
मूल आयोजक समिति, सल्लाहकार समिति, व्यवस्थापकीय तथा नोट टिपोट समिति, अतिथि व्यवस्थापन तथा यातायात समिति, प्रायोजक व्यवस्थापन समिति, आर्थिक व्यवस्थापन समिति, भिसा तथा दर्ता व्यवस्थापन समिति, स्वयंसेवक व्यवस्थापन समिति, सत्र व्यवस्थापन समिति, मिडिया व्यवस्थापन समिति, लगानी प्रवर्द्धन समिति, सांस्कृतिक व्यवस्थापन समिति, घोषणापत्र तयारी समिति तथा अतिथि निर्धारण समितिलगायत विभिन्न समितिहरू गठन गर्ने निर्णय गरिएको एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठले जानकारी दिए।
सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण, सुरक्षित श्रम आप्रवासन, सामाजिक सुरक्षा, युवा सहभागिता तथा नेतृत्व विकास, महिला सशक्तीकरण, लगानी प्रवर्द्धन र उद्यमशीलताको विकासमार्फत नेपालको समृद्धिमा गैरआवासीय नेपालीहरूको योगदानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको विश्वास छ।
'सम्मेलन केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई एकता, सहकार्य, साझा जिम्मेवारी र समृद्ध भविष्य निर्माणको साझा अभियान हो। त्यसैले सम्पूर्ण पदाधिकारी, सदस्य, शुभेच्छुक तथा सरोकारवालाहरूलाई आ–आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता, रचनात्मक सहयोग र सकारात्मक योगदानका लागि हार्दिक आह्वान गर्दछु,' उनले भनेका छन्।