नुवाकोटमा जन्मिएका जगन अधिकारी खेलकुदमा खुब रूचि राख्थे।
संयुक्त अरब इमिरेट्स (युएई) जानुअघि उनी तेक्वान्दोका राष्ट्रिय रेफ्रीका रूपमा काम गरिरहेका थिए। एक स्कुलमा तेक्वान्दो सिकाउँथे पनि।
जगनको खेलकुदमै भविष्य बनाउने ठूलो इच्छा थियो। इच्छा हुँदाहुँदै पारिवारिक जिम्मेवारीले उनलाई खेलकुदमा रहिरहन दिएन। वैदेशिक रोजगारीमा पुर्यायो।
'म घरको जेठो छोरा, मेरो काँधमा जिम्मेवारी भयो। त्यसैले पनि म कमाउन जानुपर्ने परिस्थिति बन्यो,' उनले भने।
जगन सन् २०१३ मा सेक्युरिटी गार्डका लागि युएई गए। खेलकुदमा लागिरहेको व्यक्तिलाई सेक्युरिटी गार्डको काम उपयुक्त हुने सुनेपछि आफू गएको उनी बताउँछन्।
मासिक तलब २७७० दिराम थियो। त्यो तलब त्यस बेलाका लागि राम्रै थियो। दुई वर्षको करार अवधि थियो। कार्यकाल पूरा गरे।
अनि नेपाल फर्किए।
६ महिना नेपाल बसेर फेरि सुरक्षा गार्डकै लागि युएई गए।
सन् २०१५ सेप्टेम्बरमा दोस्रो पटक पुगेका उनी सधैं यही काममा सीमित हुन चाहँदैनथे। आफ्नो सीप र योग्यता बढाउँदै अरू क्षेत्रमा फड्को मार्न चाहन्थे।
'युएईमा ड्राइभिङ लाइसेन्स चाहिँ निकै महत्त्वपूर्ण हुने रहेछ। लाइसेन्स भए अरू क्षेत्रमा पनि अवसर खुल्ने देखेपछि म त्यतातिर लागेँ,' उनी सम्झिन्छन्।
जगनले लाइसेन्स निकाले।
सन् २०१७ सम्म सिसिटिभी अपरेटरका रूपमा काम गरेका जगन स्वास्थ्य सम्बन्धी तालिम दिने एक अस्ट्रेलियन कम्पनीमा आबद्ध भए। उक्त कम्पनीले डाक्टर र नर्सलाई विभिन्न तालिम दिन्थ्यो। त्यहाँ उनले प्रशासन अधिकृतका रूपमा काम सुरू गरे।

यो कम्पनीमा काम गर्दैगर्दा थप व्यावसायिक तालिम लिएर आफ्नो योग्यता बढाउँदै लगे। आधारभूत जीवनरक्षा (बेसिक लाइफ सपोर्ट) सम्बन्धी तालिम पनि लिए। पछि आफैले तालिम दिन थाले।
स्वास्थ्य विभागबाट आवश्यक लाइसेन्स लिन नर्सहरूलाई प्रशिक्षण दिनु उनको कामको एउटा हिस्सा बन्यो।
काम गर्दै जाँदा प्रशासनिक जिम्मेवारीसँगै प्राविधिक ज्ञान र व्यवस्थापकीय सीप पनि विकास गर्दै गए।
व्यवस्थापन संकाय अन्तर्गत बिबिए गरे। त्यही अनुभवले उनलाई अगाडि बढ्न मद्दत गर्यो।
कोभिड महामारीपछि उनको कार्यालयमा बढुवा भयो। उनी फ्यासिलिटी म्यानेजर बने। अहिले उनी त्यही कम्पनीमा फ्यासिलिटी म्यानेजरका रूपमा कार्यरत छन्।
'सुरूमा सेक्युरिटी गार्डका रूपमा युएई पुगेँ। अहिले कम्पनीको व्यवस्थापकीय जिम्मेवारीमा पुगेको छु,' उनले भने।
उनको कम्पनीले क्लिनिक तथा अस्पतालको व्यवस्थापन सम्बन्धी काम गर्छ। हाउसकिपिङ र मर्मतसम्भारदेखि सुरक्षा तथा गुणस्तर नियन्त्रणसम्मका कामको नेतृत्वमा उनी छन्।
जगन तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन्।
पाँचौं डान ब्ल्याक बेल्टसमेत रहेका उनी युएईमा विभिन्न देशका दूतावासका कर्मचारी, उनीहरूका छोराछोरीलाई र क्लबमा पनि प्रशिक्षण दिन्छन्।
अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न विभिन्न मुलुक पुग्छन्। काम, अध्ययन र खेलकुदलाई सँगसँगै अघि बढाएर उनले वैदेशिक रोजगारीलाई आफ्नो करिअर विकासको माध्यम बनाएका छन्।
'सेक्युरिटीमा लामो समय बसिरहेको भए त्यहाँबाट उम्किने उपाय नै हुँदैनथ्यो,' उनी भन्छन्, 'मैले भने काम गर्दै विभिन्न तालिम लिएँ, ड्राइभिङ लाइसेन्स निकालेँ, पढाइलाई पनि निरन्तरता दिएँ। त्यसैले आज यो ठाउँमा आइपुगेको छु।'
जगन नेपालमा प्लस टू मात्रै गरेर गएका थिए। परिवारको जिम्मेवारी पूरा गर्ने क्रममा आफ्नै पढाइ छुटेको उनलाई महसुस हुन्थ्यो।
त्यसैले युएईमा काम गर्दै उनले स्नातक तहको पढाइ पनि अघि बढाएका थिए। व्यवस्थापन संकाय अन्तर्गत बिबिए गरेपछि अवसरका थप ढोका खुला भएका थिए।
'कम्पनीमा म्यानेजर पदमा पुग्न स्नातकको प्रमाणपत्र आवश्यक थियो। त्यसैले डिग्री हासिल गर्नु मेरो करिअरका लागि पनि महत्त्वपूर्ण थियो,' जगनले भने।
कामको व्यस्तता र थकानबीच अध्ययन गर्नु सजिलो थिएन। बिहानदेखि बेलुकासम्म काम गरेपछि साँझ कक्षामा सहभागी हुनुपर्थ्यो। कक्षा बेलुका ६ बजेदेखि ९ बजेसम्म चल्थ्यो। धेरैजसो अनलाइन हुन्थ्यो भने कहिलेकाहीँ भौतिक रूपमा उपस्थित हुनुपर्थ्यो।
'काम गरेर थाकेको हुन्थेँ, तर पढ्ने इच्छाशक्ति थियो। त्यसैले समय मिलाएर पढेँ,' उनी भन्छन्।
काम, अध्ययन र तेक्वान्दोलाई सँगसँगै अघि बढाउनु चुनौतीपूर्ण थियो। तर उनी थाकेनन्।
शनिबार र आइतबारको बिदा उनी तेक्वान्दोलाई दिन्छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको जिम्मेवारी पाउँदा भने कार्यालयबाट वार्षिक बिदा लिएर जान्छन्।
जगनका अनुसार युएईमा तेक्वान्दो प्रशिक्षण र निर्णायकका रूपमा काम गर्ने अवसर छ। खेलाडीका रूपमा मात्रै नभई प्रशिक्षक र रेफ्रीका रूपमा पनि राम्रो आम्दानी गर्न सकिन्छ। अन्तर्राष्ट्रिय रेफ्रीका लागि राम्रो पारिश्रमिक पाइने र क्लबमा प्रशिक्षण गराएर पनि कमाउन सकिन्छ।
त्यहाँ पूर्णकालीन तेक्वान्दो प्रशिक्षकका रूपमा काम गर्ने नेपाली खेलाडी पनि छन्, जसले मासिक १० देखि १२ हजार दिरामसम्म कमाउने उनले बताए।
तर यसका लागि अंग्रेजी भाषामा राम्रो पकड, आवश्यक योग्यता र निरन्तर अभ्यास चाहिन्छ।
'जागिर र तेक्वान्दो प्रशिक्षणबाट राम्रो आम्दानी छ। आफ्नो काम र कमाइसँग सन्तुष्ट छु,' जगनले भने।
उनको अनुभवमा विदेशमा राम्रो अवसर प्राप्त गर्न युरोप वा अमेरिका नै पुग्नुपर्छ भन्ने छैन। आफूले काम गरिरहेको देशमा पनि सीप र योग्यता बढाउन सके राम्रो प्रगति गर्न सकिन्छ।
'म तीन पटक अमेरिका गएँ। कोरिया पनि पुगेको छु। ती मुलुक जाँदा केही कुरा बुझ्ने मौका पनि पाइयो। तर यहाँको सुविधा र अवसर पनि राम्रो छ,' उनले भने।
जगनले नुवाकोटमा कक्षा ६ मा पढ्दादेखि नै तेक्वान्दो खेल्न थालेका थिए।
तेक्वान्दोप्रति आकर्षित हुनुमा नुवाकोटकै संगिना वैद्य र राजकुमार लामाको भूमिका थियो। उनीहरूले तेक्वान्दो खेलेको देखेपछि उनलाई पनि यस खेलमा रूचि बढेको थियो।
'उनीहरूले तेक्वान्दोमार्फत शारीरिक तन्दुरुस्ती विकास गरेको देखेर म आकर्षित भएको हुँ,' उनले भने।

जगनले नुवाकोटमै तेक्वान्दो अभ्यास गरे। पछि राष्ट्रिय रेफ्री बने। सन् २०१० मा काठमाडौंमा आयोजित रेफ्री सेमिनारमा सहभागी भएर परीक्षा उत्तीर्ण गरेपछि उनको निर्णायक यात्राले गति लिएको थियो।
सन् २०२२ मा उनी युएई तेक्वान्दो फेडेरेसनका पहिलो नेपाली राष्ट्रिय रेफ्री बने। त्यसपछि थप अवसर बटुल्दै गए।
सन् २०२४ मा जी–२ यूएई ओपन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै कांस्य पदक जितेका थिए।
अमेरिकामा अन्तर्राष्ट्रिय मास्टर कोर्स पूरा गरेका उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने अवसर फराकिलो बन्दै गयो। सन् २०२५ मा अमेरिकाको लस एन्जलसमा आयोजित वर्ल्ड तेक्वान्दो हानमादाङमा अफिसियल रेफ्रीका रूपमा जिम्मेवारी निर्वाह गरे।
दक्षिण कोरियास्थित कुकिवानबाट प्रमाणित अन्तर्राष्ट्रिय मास्टर बने।
विश्व तेक्वान्दो महासंघ र विश्व तेक्वान्दो मास्टर्स युनियनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मास्टर्स कोर्स पूरा गरेका उनले उत्कृष्ट प्रदर्शनका लागि 'आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड' पनि पाएका छन्।
यसबाहेक दुबईमा आयोजित फिटनेस च्यालेन्जमा पनि प्रशिक्षकका रूपमा सहभागी भएका थिए। दुबईको अर्थतन्त्र तथा पर्यटन विभागले आयोजना गरेको उक्त कार्यक्रममा क्राउन प्रिन्स कोर्टको पहल थियो।
एक महिना लामो प्रशिक्षण कार्यक्रममार्फत उनले पाँच सयभन्दा बढी सहभागीलाई तेक्वान्दो सिकाएका थिए।
उनको विचारमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आफूलाई सहज लागेको काममा मात्रै सीमित हुनु हुँदैन। कामसँगै सीप विकास, भाषा सिकाइ, शैक्षिक योग्यता र व्यावसायिक तालिममा पनि ध्यान दिनुपर्छ।
यसले अवसरको दायरा बढाउँछ र एउटै क्षेत्रमा लामो समय अड्किएर बस्नुपर्ने बाध्यता हटाउन सघाउँछ।
'जुन कामका लागि विदेश गए पनि त्यही काममा जीवनभर सीमित रहनुपर्छ भन्ने छैन। आफूलाई चित्तबुझ्दो काम र आम्दानी भएन भने काम परिवर्तन गर्न सकिन्छ,' जगनले भने, 'त्यसका लागि आफ्नो सीप, क्षमता पनि अभिवृद्धि गर्नुपर्छ।'
जगन अहिलेको अनुभव र सीपलाई भविष्यमा नेपालमै उपयोग गर्न चाहन्छन्।
'अहिले जिम्मेवारीले युएईमा भए पनि पछि नेपाल फर्केर केही गर्ने योजना छ,' उनले भने।
***