संयुक्त अरब इमिरेट्स (युएई)को दुबई वर्ल्ड ट्रेड सेन्टर (डिडब्लुटिसी) मा नोभेम्बर १६ देखि १८ सम्म भइरहेको 'अर्गानिक एण्ड नेचुरल प्रोडक्ट एक्सपो २०२६' मा नेपाली व्यवसायीहरूले हिमाली क्षेत्रका प्राकृतिक उत्पादन प्रदर्शन गरेका छन्।
प्रदर्शनीमा नेपाली व्यवसायीहरूको पहलमा 'हिमालयन सिलाजित' नामक स्टल राखिएको छ।
स्टलमा हिमालयन सिलाजित, भीरमह, यार्सागुम्बा लगायत हिमाली क्षेत्रका प्राकृतिक उत्पादनहरू राखिएका छन्।
गृहमन्त्री सुदन गुरूङले पनि उक्त प्रदर्शनीको अवलोकन गरेको अबुधाबी स्थित नेपाली दूतावासले जनाएको छ।
प्रदर्शनीमा राखिएका नेपाली उत्पादनको अवलोकन गर्दै गृहमन्त्री गुरूङले नेपाली उत्पादनको गुणस्तर, सम्भावना र अन्तर्राष्ट्रिय बजारमा विस्तारको आवश्यकताबारे चासो व्यक्त गरेका थिए।
संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, नेपाली महावाणिज्यदूत हरिप्रसाद ओझारी तथा राजदूतावासका प्रतिनिधिहरूले समेत प्रदर्शनीको अवलोकन गरेका थिए।
नेपाली व्यवसायीहरूको पहल र उद्यमशीलतामा यूएईमा स्थापना भएको उक्त एक्स्पोमार्फत हिमाली क्षेत्रको सिलाजितलाई युएईको बजारमा व्यावसायिक रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको दूतावासको भनाइ छ।
नेपाल प्राकृतिक स्रोत, जडीबुटी तथा जैविक विविधताले सम्पन्न मुलुक भएकाले यस्ता अन्तर्राष्ट्रियस्तरका प्रदर्शनीमा नेपाली उत्पादनको प्रदर्शनी र प्रवर्द्धनले नेपालको निर्यात सम्भावना विस्तार गर्न, नेपाली उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा नेपालको मौलिक पहिचानलाई विश्व बजारमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ।
दूतावासले नेपाली उत्पादनको प्रवर्द्धन र प्रोत्साहनका निमित्त निजी क्षेत्रसँगको सहकार्य र समन्वयलाई सधैं उच्च महत्व दिँदै आएको जनाएको छ।