म सन् २००६ देखि नाइजेरियाको व्यावसायिक घराना 'डांगोटे ग्रुप' मा संलग्न छु। डांगोटे पश्चिम अफ्रिकाकै सबभन्दा ठूलो औद्योगिक घराना हो। यो समूहले कच्चा पदार्थको उत्पादन बढाएर 'मेड इन नाइजेरिया' लाई प्राथमिकता दिएको छ।
हाल म यो समूहमा व्यवस्थापकीय तहमा छु।
यो समूहले नाइजेरियामा आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ। यसनिम्ति सम्भव भएसम्म अधिकतम प्रयास गर्दै छ। म गएको प्रारम्भिक समयमा नाइजेरिया सिमेन्ट आयात गर्थ्यो, अहिले निर्यात गर्छ। सिमेन्टको आयात पूर्ण रूपमा बन्द छ।
हालै नाइजेरियाले प्रशोधित तेलको निर्यात सुरू गरेको छ, पहिले आयात गर्थ्यो।
डांगोटे समूह अहिले चिनी उत्पादनमा काम गर्दै छ। अहिले पनि नाइजेरिया कुल खपतको ७० प्रतिशत चिनी आयात गर्छ।
ऊखु उत्पादन बढाउने र चिनी उद्योग स्थापना गरेर आगामी पाँच वर्षभित्र आयात घटाउने लक्ष्य छ। डांगोटे समूहले तीन वटा उद्योग स्थापना गर्ने तयारी गरेको छ। अन्य औद्योगिक समूह पनि चिनी उद्योग स्थापनामा लागेका छन्।
नाइजेरियाली सरकारले उत्पादन बढाएर आयात प्रतिस्थापनका लागि उद्योगलाई विभिन्न सुविधा दिने गरेको छ। सरकारी बैंकले न्यूनतम ब्याजमा ऋण दिन्छन्। उद्योगका लागि आयात हुने उपकरणमा सरकारले भन्सारदर न्यून गर्ने नीति लिएको छ। कतिपय उपकरणमा भन्सार शून्य हुन्छ।
देशमा उत्पादन हुन सक्ने वस्तुको आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने नाइजेरियाली सरकारको लक्ष्य छ। यसो हुँदा देशको मुद्रा विदेश जान कम हुन्छ, देशमा रोजगारी सिर्जना हुन्छ, राज्यलाई कर पनि प्राप्त हुन्छ।
नाइजेरियाले चामल उत्पादनमा प्राथमिकता दिएको छ। हाल कुल खपतको आधा चामल आयात हुन्छ। यो आयात अन्त्य गर्न धान उत्पादन बढाउने सरकारी नीति छ। यसमा हाम्रो (डांगोटे) समूह पनि काम गर्दै छ। हामी मिल स्थापनामा लागेका छौं।
आगामी पाँच वर्षपछि चामल आयात गर्नु नपर्ने गरी काम भइरहेको छ। आयात बन्द भएपछि निर्यात गर्ने लक्ष्य छ।
नाइजेरियामा सरकार र उद्योगी मिलेर उत्पादनको योजना बनाउँछन्। कुनै उत्पादनमा देशलाई कसरी आत्मनिर्भर बनाउने भन्ने विषयमा उनीहरूको सामूहिक छलफल हुन्छ। त्यसकै आधारमा योजना बन्छ।
नेपालमा औद्योगिक क्षेत्रको योजना निर्माणमै त्रुटि छ जस्तो लाग्छ। उद्योगी र सरकार मिलेर तत्कालीन र दीर्घकालीन योजना बनाएको पाइँदैन।
नाइजेरियामा उद्योगीले के काम गर्ने र राज्यले कस्तो वातावरण बनाउने भन्ने विषयमा दुई पक्षबीच व्यापक छलफल हुन्छ, योजनाबद्ध काम हुन्छ।
नेपालमा भित्रभित्र के हुन्छ थाहा छैन तर बाहिर त्यस्ता छलफल भएको हामीले थाहा पाएका छैनौं। कुनै सामानको आयात कसरी घटाउने अनि दीर्घकालमा निर्यात सम्भव छ कि छैन भनेर सरकार र उद्योगीबीच बहस भएको पाइँदैन।
नाइजेरियामा उद्योग–व्यवसाय स्थापनामा स्वदेशी र विदेशी नागरिकका लागि असमान व्यवहार हुँदैन। प्राथमिकतामा परेका उद्योग स्थापना गर्न सस्तोमा जग्गा उपलब्ध गराउन सरकारले नै मद्दत गर्छ। विदेशी नागरिकले कुनै रोकतोकबिना आफ्नो आम्दानी लैजान पाउँछ। उद्योग संरक्षणको काम राज्यले गर्छ।
निकै महत्त्वपूर्ण कुरा के छ भने नाइजेरियामा उद्योग–व्यवसायप्रति माथिल्लोदेखि तल्लो तहसम्मका सरकारको नजर एउटै छ। यस सन्दर्भमा सत्तापक्ष र विपक्षमा एउटै मत पाइन्छ।
व्यक्तिगत स्वार्थ हुन सक्छ तर उद्योग आयो भने राज्यलाई फाइदा हुन्छ, व्यक्तिले पनि फाइदा लिन सक्छ भन्ने सोच सबैमा छ। नेपालमा राज्यको भन्दा पहिला व्यक्ति विशेषको फाइदा हेर्ने सोच हाबी छ।
नाइजेरियाको कानुन मजदुर अनुकूल र लगानी अनुकूल छ। मजदुरलाई राज्यले तोकेको न्यूनतम सुविधा दिनै पर्ने प्रावधान छ। नियुक्तिपत्र नदिई काम लगाउन पाइँदैन।
लगानीकर्तालाई पनि 'हायर एन्ड फायर' को अधिकार छ तर कानुन अनुसार गरेको हुनुपर्छ। कामदार हटाउँदा कानुनले निर्धारण गरेको सुविधा दिनैपर्छ।
नेपालमा जस्तो सरकारले तोकेको भन्दा कम तलबमा काम लगाउन पाइँदैन। कुनै मजदुर हटाउर्नु पर्यो भने नेपालमा जस्तो समस्या पनि हुँदैन। नियम अनुसार काम गर्ने कसैलाई कुनै समस्या पर्दैन।
म डांगोटे समूहको एउटा कम्पनीमा 'प्रबन्ध निर्देशक' भएर काम गर्दै छु। उच्च व्यवस्थापनले आवश्यकता अनुसार सरूवा पनि गरिरहन्छ।
नाइजेरियामा विदेशी लगानीका लागि वातावरण निकै सहज छ तर नेपालमा धेरै अप्ठ्यारो छ। म आफैले पनि अप्ठ्यारो भोगेको छु।
मेरो सक्रियतामा डांगोटे समूहले नेपालमा सिमेन्ट उद्योगमा लगानी गर्न चाहेको थियो। मेरो अग्रसरतामा सन् २०१४ मा प्रयास सुरू भएको थियो तर काम हुन सकेन। अन्ततः सन् २०१८ मा प्रक्रिया बन्द भयो।
हामीले केही लगानी समेत गरेका थियौं। खानी किन्ने, कार्यालय राख्ने, कम्पनी दर्ता गर्ने र सर्भे गर्ने काम गरेका थियौं।
उद्योगका लागि चाहिने उपकरण खरिदको प्रक्रिया पनि अघि बढेको थियो। यो स्थितिमा पुगेपछि के नमिलेर हो कुन्नि, खानी विभागले 'प्राविधिक रूपमा मिल्ने देखिएन' भन्ने पत्र दियो। हामी फिर्ता भयौं।
उद्योगमा विदेशी लगानी बढाउने हो भने नेपाल सरकार, कर्मचारी संयन्त्र, राजनीतिक दल, नागरिक समाज, उद्योगी सबैको सकारात्मक सोच हुन जरूरी छ।
नेपालमा वैदेशिक लगानी सजिलो छैन, मेरो अनुभवले यसै भन्छ। मेरो मात्र होइन, धेरैको अनुभव यस्तै छ।
उद्योग–व्यवसाय र आर्थिक विकासका क्षेत्रमा नेपालले नाइजेरियाबाट सिक्न सक्ने ठाउँ धेरै छ। नाइजेरियाका राजनीतिक नेताहरूको मुख्य प्राथमिकता लगानी र उद्योग–व्यवसाय प्रवर्द्धनमा छ। मूलधारका मिडियाले आर्थिक विषयका समाचारलाई उच्च स्थान दिन्छन्।
नाइजेरियाको मुख्य विषय नै आर्थिक हो।
नेपालमा आर्थिकभन्दा पनि राजनीतिक विषयले बढी प्राथमिकता पाउँछ। मिडियाको मुख्य प्राथमिकता राजनीतिमा हुन्छ, राजनीतिक समाचार अग्रस्थानमा हुन्छ। आर्थिक एजेन्डाको स्थान अत्यन्त कम हुन्छ।
तपाईं र म भेट हुँदा कुन उद्योगीले कहाँ लगानी गर्यो भन्ने विषयमा कुरा हुँदैन; अहिलेको सरकार कहिलेसम्म टिक्ला, अबको राजनीति कतातिर जाला भन्नेमा केन्द्रित हुन्छ।
नेपाली सबैको चासो आर्थिक मुद्दामा भन्दा राजनीतिक मुद्दामा धेरै छ।
म अफ्रिकामा बसेको २० वर्ष हुन लाग्यो। यो अवधिमा अफ्रिकाका विभिन्न देशमा काम गर्न आउने नेपालीको संख्या पनि बढेको छ। वैधानिक तरिकाले आउनेको अवस्था राम्रो छ। गलत तरिकाले, मानव तस्करीको जालोमा परेर आए उनीहरूको अवस्था दयनीय छ। औपचारिक माध्यमबाट आएका कतिले त व्यवसाय समेत गरेका छन्।
(डांगोटे समूहमा प्रबन्ध निर्देशक रहेका हिक्मत थापा गैरआवासीय नेपाली संघ (एनआरएनए), नाइजेरियाका पूर्वअध्यक्ष पनि हुन्।)