स्थायी घर मोरङ भएका कृष्ण भट्टराई वैदेशिक रोजगारीमा गएको १३ वर्ष भयो। उनी हाल नाइजेरियाको लेगोस सहरमा बस्दै आएका छन्।
त्यहाँ उनी एक रिटेल स्टोरमा काम गर्छन्। स्टोरको नाम हो – रेनी सुपर मार्केट।
'म आएदेखि यही स्टोरमा काम गरिरहेको छु,' कृष्णले भने।
त्यहाँ रिटेल स्टोर भनेको उपभोक्तालाई सिधै वस्तु तथा सेवा बिक्री गर्ने खुद्रा पसल हो। यस्ता पसलहरूमा दैनिक उपभोग्य सामग्रीदेखि कपडा, इलेक्ट्रोनिक्स लगायत सामान सानो परिमाणमा बिक्री गरिने उनले बताए।
सन् २०१३ मा विदेश जाने बेला कृष्ण २२ वर्षका थिए। जानुअघि उनी भारतमा पढ्दै, काम गरिरहेका थिए। उनी एक होटलमा असिस्टेन्ट म्यानेजरका रूपमा काम गर्थे।
होटल म्यानेजमेन्टमा स्नातक (ब्याचलर) पूरा गरेपछि उनी रोजगारीका लागि नाइजेरिया गएका हुन्।
'भिसा, हवाई टिकट निःशुल्क भएकाले यो गन्तव्य रोजेको हुँ,' कृष्णले सुनाए।
उनी रेनी सुपर मार्केटमा असिस्टेन्ट म्यानेजरको पदमा गएका थिए। स्टोर व्यवस्थापन, कर्मचारी समन्वय तथा आवश्यक सामग्री आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी उनको थियो।
पारिवारिक वातावरण भएकाले कृष्णलाई काम गर्न सहज थियो। त्यहाँ भारतीय, श्रीलंकाली, चिनियाँ तथा स्थानीय कामदारहरू कार्यरत थिए।
स्टोरका म्यानेजर भारतीय नागरिक थिए। कृष्णले आफ्नो कामको प्रतिवेदन उनैलाई बुझाउँथे।
कृष्णले करिब डेढ वर्षपछि म्यानेजरको जिम्मेवारी पाए।
'म्यानेजरले जागिर छाडेकाले मलाई त्यो पदमा राखियो,' उनले भने।
त्यसपछि उनले म्यानेजरका रूपमा स्टोर सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्न थाले।
सन् २०१७ मा लेगोस सहरमा रेनी सुपरमार्केटको शाखा खुल्यो। त्यसको व्यवस्थापनको जिम्मा पनि कृष्णको काँधमा पर्यो। त्यसको केही समयपछि फेरि अर्को स्टोर थपियो। यी तीनटै स्टोरको समग्र व्यवस्थापन जिम्मेवारी कृष्णले सम्हाल्दै आएका छन्।
'यसै वर्ष थप दुइटा स्टोर सञ्चालनमा ल्याउने तयारी छ,' उनले सुनाए।

कृष्णका अनुसार स्टोर बिहान ७ बजेदेखि राति १२ बजेसम्म खुल्छ। काम गर्न दुई चरणमा कर्मचारी राखिएको छ।
पछिल्लो समय विश्वव्यापी रूपमा आर्थिक मन्दी छाएकाले व्यवसाय सुस्ताएको कृष्णको भनाइ छ।
उनलाई नाइजेरिया नेपालको जस्तै परिवेश लाग्छ। त्यहाँ उनीसँगै चार जना अन्य नेपाली काम गर्छन्।
नाइजेरियामा नेपालीहरू व्यवसायमा भन्दा पनि राम्रा कम्पनीमा ठूला पदमा जागिरे रहेको कृष्ण बताउँछन्।
'यहाँ व्यवसाय गर्ने त मैले कोही देखेको छैन। राम्रा कम्पनीमा ठूला पदमा भने काम गर्छन्,' उनले भने।
कृष्ण दैनिक १० घन्टा काम गर्छन्। सातामा एक दिन बिदा हुन्छ। उनलाई कम्पनीले घरको काममा सघाउने कर्मचारी तथा सवारी चालक दिएको छ।
आगामी पाँच वर्ष नाइजेरियामै बसेर काम गर्ने उनको सोच छ। अहिलेकै स्टोरमा अनुभव र व्यवसायिक क्षमता सुदृढ बनाउँदै लैजाने उनले बताए।
'पद राम्रो छ। काम गर्न सहज छ। साहु पनि बुबाले जस्तै माया गर्छन्,' उनले सुनाए, 'पाँच/६ वर्ष अझै यतै बस्ने योजना छ।'
कृष्ण दुई वर्षमा एक पटक नेपाल आउँछन्। उनका श्रीमती र छोराछोरी नेपालमै छन्।