सन् २००९ मा रसिया जाँदै गर्दा काठमाडौंका किशन भण्डारीलाई डाक्टर बनेर फर्किन्छु भन्ने लागेको थियो।
सानैदेखि डाक्टर बन्ने रहर गरेका किशनले कक्षा १२ पास गर्नासाथ छात्रवृत्तिमा रसिया जाने अवसर पाएका थिए।
'मेरो पढाइ राम्रो थियो। रसियन कल्चरमार्फत रसियामा डाक्टरी पढ्ने अवसर पाएँ। मैले धेरैतिर सोच्न पनि परेन,' उनले भने, '१२ पास गरेको तीन–चार महिनामै रसिया गएँ।'
सन् २०१३ मा एमबिबिएस सकेपछि उनी मस्कोबाट किर्गिस्तान गए। धेरै नेपालीहरू त्यहाँ स्नातकोत्तर पढ्न गएको थाहा पाएकाले उनको रोजाइमा किर्गिस्तान परेको थियो।
उनले किर्गिस्तानको जलालाबादमा रहेको स्टेट मेडिकल इन्स्टिच्युटबाट न्युरो सर्जरी र जनस्वास्थ्यमा स्नातकोत्तर गरे।
किशनले त्यहीँ काम पाए र त्यहाँ सहायक डिनसम्म भए।
दुई वर्षदेखि भने उनी उज्बेकिस्तानको बुखारास्थित एसिया इन्टरनेसनल युनिभर्सिटीमा डिन छन्।
'किर्गिस्तानमा अस्पतालसँगै एकेडेमिक कार्यक्रममा धेरै केन्द्रित भएकाले मलाई उज्बेकिस्तानबाट अफर आएको हो। अहिले मैले काम गर्ने युनिभर्सिटीमा ३३ हजार विद्यार्थी छन्,' उनले भने, '४९ वटा शैक्षिक कार्यक्रममध्ये चार वटा कार्यक्रमको डिन म हुँ। मैले मेडिकलसँगै आइटी (सूचना प्रविधि), बिजनेस (व्यवसाय) र व्यवस्थापन विभाग हेर्छु।'

किशनले डिन यस वर्षदेखि उक्त युनिभर्सिटीमा दुई जना नेपाली विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सुरू गराएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सिफारिसमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि युनिभर्सिटीले छात्रवृत्ति दिने उनले बताए।
'एनआरएनएको सिफारिसमा गएका विद्यार्थीको सम्पूर्ण जिम्मा हाम्रो युनिभर्सिटीले लिन्छ। उनीहरूको पढ्ने, खाने, बस्ने अनि ट्युसन शुल्क सबै हामीले तिर्ने हो,' उनले भने, 'उज्बेकिस्तान जाने र नेपाल फर्किने भाडासमेत युनिभर्सिटीले बेहोर्छ। यसको एउटा मात्र सर्त भनेको विद्यार्थी सरासर पास हुनुपर्छ।'
छात्रवृत्तिका लागि चिकित्सा शिक्षा आयोगको परीक्षा पास पहिलो मापदण्ड हो। त्यसपछिको मापदण्ड विकट र विपन्न वर्गको हुनु हो।
पढ्न सक्ने तर खर्च गर्न नसक्नेलाई डाक्टर बनाउन आफूहरूले सानो प्रयास सुरू गरेको उनले बताए।
'मुख्य प्रावधान भनेको चिकित्सा शिक्षा आयोगको स्वीकृति पत्र र शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर हो,' किशनले भने, 'कुल ४४ लाख रूपैयाँमा पढाइ सकिन्छ। यही खर्चमा एकतर्फी हवाइ भाडा पनि युनिभर्सिटीले बेहोर्छ।'
अहिले उनले काम गर्ने युनिभर्सिटीमा नेपालसहित १४ देशका विद्यार्थी एमबिबिएस पढ्दैछन्। नेपालीहरू २५ जना छन्।

आफ्नो युनिभर्सिटीमा पढेका विद्यार्थीले नेपाल, बेलायत, अमेरिका, अस्ट्रेलिया, मध्यपूर्व लगायत ठाउँमा सहजै काम पाउने उनको दाबी छ।
विदेशी विद्यार्थीले स्नातकोत्तर पढ्न पाउने प्रावधान भने उज्बेकिस्तानमा नरहेको उनले बताए।
त्यस्तै एमबिबिएस (स्नातक तह) सकेर उज्बेकिस्तानमै काम पाउने सम्भावना रहे पनि पढेर नेपाल फर्किँदा राम्रो हुने उनको सुझाव छ।
'हुन त म आफै पनि पढेर नेपाल फर्किन्छु भन्ने थियो। यसरी हराइएला भन्ने थिएन, सोचेजस्तो त नहुने रहेछ,' ३६ वर्षीय किशनले भने, 'तर जहाँ रहे पनि नेपालसँग जोडिन मन लाग्ने रहेछ। किर्गिस्तानमा रहँदा एनआरएनए किर्गिस्तानको अध्यक्ष भएर काम गरेँ। अहिले उज्बेकिस्तानमा पनि नेपाल चिनाउने प्रयासमै छु।'