सामाजिक सञ्जालमार्फत हामीसँग कुराकानी भइरहँदा मोरङको लेटाङका लोकबहादुर राई मौरीका घार (डुँड) बनाउँदै थिए।
विगत ६ वर्षदेखि मौरीपालन व्यवसायमा लागेका उनी अहिले घार बनाउनदेखि मौरी व्यवस्थापन र मह उत्पादनसम्मका अधिकांश काम आफै गर्छन्।
उनी कतारमा करिब १४ वर्ष बिताएर स्वदेश फर्किएका हुन्। अहिले आफ्नै गाउँमा बसेर वार्षिक ३५ लाख रूपैयाँ बराबरको मह उत्पादन गरिरहेका छन्।
'विदेशको जागिरभन्दा आफ्नै देशमा गरेको व्यवसाय धेरै सन्तोषजनक छ। आम्दानी पनि राम्रो छ। यो काम र आम्दानीलाई परदेशसँग त तुलना गर्न सुहाउँदैन,' उनले भने।
लोक सन् २००७ जनवरीमा रोजगारीका लागि कतार पुगेका थिए। सुरूमा कतार एयरवेज अन्तर्गत क्लिनिङ (सफाइ) कर्मचारीका रूपमा काम थाले।
उनीसँग इलेक्ट्रिसियनको सीप थियो। पछि कम्पनीमा आन्तरिक पदपूर्तिमार्फत इलेक्ट्रिसियन माग हुँदा उनी त्यस काममा लागे। उनी विमानस्थलका कर्मचारी बस्ने भवनमा इलेक्ट्रिसियन भए।
त्यो काम गर्दागर्दै पछि लोक सवारी चालकको काम गर्न थाले।
'बिदामा नेपाल आएका बेला ड्राइभिङ सिकेर लाइसेन्स निकालेँ। कतार गएर पनि सिकेर लाइसेन्स निकालेँ। म त्यहाँ पानी बोक्ने गाडी चलाउँथे,' उनले सुनाए।
कतारमा उनले झन्डै १४ वर्ष बिताए। सुरूमा मासिक तलब १२ सय कतारी रियाल थियो। फर्किने बेलासम्म मासिक ४६ सय रियाल (हालको विनिमयदर अनुसार एक लाख ९४ हजार रूपैयाँ) तलब पाउँथे।
खानबस्न आफै खर्च गर्नुपर्थ्यो। सबै खर्च कटाएर महिनामा झन्डै एक लाख रूपैयाँ बचत हुन्थ्यो।
'राम्रो तलब भए पनि कामको चापको धेरै थियो। कहिले राति, कहिले दिउँसो ड्युटी परिवर्तन भइरहन्थ्यो। नाइट सिफ्टपछि दिउँसो निद्रा लाग्दैनथ्यो,' उनी भन्छन्, 'सुपरभाइजरले पनि निकै पेल्ने हुँदा काम गर्न असहज थियो।'

पर्याप्त आराम नपाउँदा स्वास्थ्यमा असर पर्न थाल्यो। उच्च रक्तचापको समस्या देखियो। व्यवस्थापकको निरन्तर दबाब र बढ्दो रक्तचापको समस्याले अन्ततः लोकले स्वदेश फर्किने निर्णय गरे।
नेपाल फर्किएपछि काठको काम गर्ने योजना बनाएका थिए। आवश्यक औजारसमेत किनिसकेका थिए। तर वन क्षेत्रमा काठको काम गर्दा कानुनी झन्झट आउन सक्ने सुझाव पाएपछि त्यो योजना त्यत्तिकै छाडे।
त्यसपछि मौरीपालन गर्ने योजना बनाए। नौ हजार रूपैयाँ लगानीमा ३ वटा मौरीका डुँड किनेर व्यवसाय सुरू गरे।
'पाँचवटा घार र मौरी किन्ने भनेको थिएँ। चिनजानको दाइले तीन वटा डुँड दिनुभयो। मौरीको पनि पैसा लिनुभएन। त्यसले गर्दा लगानी धेरै परेन,' उनले भने।
पहिलो वर्षमै मौरीको संख्या बढेर ३१ घार पुग्यो। त्यही वर्ष उनले ३५ बाल्टिन मह उत्पादन गरे। एउटा बाल्टिनमा करिब २७ देखि २८ केजी मह अट्छ।
तर उनले बिक्री गर्ने बजार भेटेनन्। त्यसैले यतिकै राखे।
उनी आत्तिएनन् पनि। उत्पादन निरन्तर गरिरहे।
अर्को वर्ष पनि उत्पादन भएको मह बिक्री गर्ने बजार थिएन। दोस्रो वर्ष ६० डुँड मौरी बनाए। ७० बाल्टिन मह उत्पादन भयो। बजार अझै भेटेका थिएनन्।
त्यसपछि उनी मह बेच्न हिँडे।
'मानिसहरूले नक्कली मह ल्यायौ, चिनी खुवाएर बनाएको मह हो भनेर आरोप लगाउँथे। तर मैले हरेस खाइनँ। बजार खोज्दै हिँडिरहेँ,' उनी भन्छन्।
उनले विराटनगरमा पहिलो पटक मह बेचे। बिस्तारै धरान, दमक र अन्य सहरमा ग्राहक बढ्दै गए। माग बढ्दै गएपछि अहिले उनको फार्ममा करिब २०० घार मौरी छन्। उत्पादन बर्सेनि बढिरहेको छ।
यो वर्ष उनले ३५ लाख रूपैयाँ बराबरको मह उत्पादन गरिसके। गत वर्ष २० लाख रूपैयाँको उत्पादन भएको थियो।
मह उत्पादनको मुख्य सिजन कात्तिकदेखि जेठसम्म हो। कात्तिकमा तोरी फुल्न थालेपछि मौरीले रस संकलन गरेर मह बनाउन थाल्छ। तोरीको सिजनमा उत्पादन सबैभन्दा धेरै हुन्छ। असारतिर मौरी जंगलमा सारिन्छ, जहाँ सिसौ, रूदिलो लगायत जंगली फूलबाट रस संकलन गरी फरक स्वाद र गुणस्तरको मह उत्पादन हुन्छ।
जंगलका फूलबाट तोरीको फूलको सिजनजसरी धेरै मह उत्पादन हुँदैन। तर जंगलको मह महँगो बिक्छ। तोरीको मह प्रतिकिलो ७०० रूपैयाँमा बेच्ने उनी जंगली फूलको एक हजारमा बेच्छन्। त्यसपछि बजारमा यही मह १४ सयदेखि १६ सय रूपैयाँ किलोसम्म बिक्री हुने उनले बताए।
मौरीपालनले लोकलाई मात्र होइन, स्थानीयलाई पनि रोजगारी दिएको छ।
मह निकाल्ने र प्याकेजिङको समयमा १० जनासम्मले ज्यालादारी काम पाउँछन्।
लोक 'प्रशंसा हनी फार्म' नामबाट मह बेच्छन्। केही व्यापारीले आफ्नै ब्रान्डमा पुनः प्याकेजिङ गरेर पनि बजारमा पठाउँछन्।

अहिले उनले उत्पादन गरेको महले मोरङ र आसपासका बजारको माग धानिरहेको छ। त्यहाँको मागभन्दा धेरै उत्पादन हुन थाल्यो भने काठमाडौं लगायत विभिन्न स्थानमा पुर्याउने योजना उनको छ।
मौरीपालन सुरू गर्न ठूलो लगानी नचाहिने उनी बताउँछन्। २५ देखि ३० हजार रूपैयाँबाट पनि व्यवसाय सुरू गर्न सकिन्छ। तर प्राविधिक ज्ञानबिना ठूलो लगानी गर्नु जोखिमपूर्ण हुन्छ।
मौरीमा लाग्ने रोग, व्यवस्थापन, रानी मौरीको संरक्षण, मौसम अनुसार स्थान परिवर्तन लगायत विषय सिक्दै जानुपर्ने उनले बताए।
मौरीपालनमा प्राकृतिक चुनौती पनि कम छैनन्। हावाहुरीले घार पल्टाउन सक्छ। अरिंगाल र चराले नोक्सान पुर्याउन सक्छन्। त्यस्तै, अनिकालको समयमा मौरी भोकै नमरून् भनेर चिनीको घोल खुवाउनुपर्छ।
'त्यसैलाई आधार बनाएर कतिपयले चिनीबाट मह बनाएको आरोप लगाउँछन्। तर चिनीबाट मह बन्दैन। मौरी बाँचोस् भनेर अनिकालमा मात्र चिनीको घोल दिने हो,' लोकले भने।
लोकको अनुभवमा, उत्पादनभन्दा बजार बनाउन अझ चुनौतीपूर्ण हुन्छ। कतिपय पसलले मह बिक्री नभए फिर्ता लैजानुस् भन्छन्। कतिले समयमै पैसा पनि दिँदैनन्।
'बजार नपाएको भन्दै सुरूका दुई वर्षमै व्यवसाय छाडेको भए आजको अवस्थामा पुग्ने थिइनँ,' उनी भन्छन्।