Setopati साहित्यपाटी
मंगलबार, चैत १४, २०७९
युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • ग्लोबल
  • घुमफिर

'म मोरिक्वल!'

बिक्रम भक्त जोशी 

बिक्रम भक्त जोशी 

खस्र्याकखुस्रुक पार्दै एक डङ्गुर फोहोर जबरेको टाउकैमा खस्यो। मीठो निद्रामा उङ्दै गरेका जबरे झस्याङझुसुङ भयो।

‘असत्तीहरूले आज नि फोहोर फालेर मोरेछ’, जबरेले आँखा तर्दै मनमनै सराप्यो। 

‘हैन, यो फोहोर फाल्ने ठाम हो र? मानेँ - ठाउँ अलि फोहोर छ। म अलि... अलि कम सफा छु, तर यसको मतलब ह्याँलाई फोहोर मिल्काउने ठाम त बनाउनु भएन नि।’ गनगन गर्दै जबरे असरल्ल मिल्केका टुक्राटाक्री फोहोर थुतुनोले ठेल्दै खोरको छेउमा थुपार्न थाल्यो।

खसेकामध्ये प्लास्टिकको एउटा पोका भने सङ्लै थियो। फुट्न पाएन। के पो र'छ भन्ने कौतुहलता मनमा जाग्यो जबरेको। 
केही खाने कुरो पो छ कि? खोले खाँदा खाँदा वाक्क भएका बङ्गुरे जिब्रो रसायो। जबरेले र्याल काढ्यो।

दाँतले चिथोरेर प्याट्ट फुटाल्यो प्लास्टिकको पोको। तर छरपस्टिएर निक्लेका सामान देखेर जबरेले मुख लेप्र्यायो। फोहोरका थाकमा दुईचार च्यातिएका थोत्रा किताबहरू र कसिङ्गरको रासबाहेक अरू केही नभेट्दा दिक्क मान्दै खुइय्य गर्यो। 

झोंकमा तीनमध्येका एउटा सानो पातलो किताब थुतुनोले च्यापेर फुत्तै पारि हुर्यायो र खोले हसुर्न डुँडमा टाउको हुल्यो।

'साले! आँखा छैन? तेरा बाजेको टाउकाँ ताकेर हान्छस्?' पल्लोपट्टि बस्ने गुन्जे बङ्गुर घ्वाँक घ्वाँक गर्दै कड्क्यो र किताबलाई थुतुनोले कर्यापकुरूप पारेर अर्कोतिर हुर्यायो।

'चुप लाग! कत्ति न ढुङ्गैले लाग्या जस्तो। नौटङ्की बज्या!' डुँडबाट थुतुनो उचाल्दै जबरेले पनि यताबाट 'घ्वाँके' जवाफ फर्कायो। 'ताकेको भए तेरो फत्फते थुतुनोमै ताक्थेँ। केलाई टाउकाँ हान्थेँ!'

'यो बिचाँ बार नला'भे देखाइदिन्थेँ तेरा बाउको बे।' काठको बारमा टाउको ठोक्दै गुन्जे कुर्ल्यो।

'नापिस्। तेरा धम्की तैंसँग राख।' जबरे भुत्भुताउँदै मिल्किएका किताबमध्ये एकको पाना पल्टाउन थाल्यो। 'बीचाँ बार नभा'भे तँ बरू उल्टै ऊ त्यो ढलमतीमा बग्दै हुन्थिस् यति बेला।'

'कुन पापले तँजस्ता सुँगुरको छिमेकाँ परेछु। कुन बेला पालो आउला र 'जर्नी'मा जान पाउँला भा'छ। अनि बल्ल यस्तासँग छुटकारा पाइन्थ्यो।'

'कल्लाई सुँगुर भन्या?' जबरे जब्बर तालले जङ्ग्यो। 'सुँगुर होला तेरा बाउ। जात खसाल्न त पाइन्न नि। प्योर बङ्गुर पो हुँ त। हट्टाकट्टा छु। 'जर्नी'मा जाने पालो मेरो हो मेरो। ख्याउटे भाते!'

'तैं ख्याउटे। तेरो कुलखान्दान ख्याउटे!' काठे बारको पारि गुन्जेको भयङ्कर उफ्राउफ्री चल्यो। तर यता जबरे भने खूरले किताबको पाना पल्टाउँदै केही बुझेझैं टाउको हल्लाउन थाल्यो। उसका आँखामा थोरै चमक प्रष्ट देखियो। मन्द मुस्काउँदै छेउमा मिल्किएको काठको छेस्कालाई हिलामा चोप्यो र  पानाको एउटा प्याराग्राफलाई अन्डरलाइन गर्यो। किताबलाई जतनसाथ खोरको कुनामा थन्क्याउँदै गर्दा पारिका छिमेकी भने तथानाम गर्दै थियो। उसले सुनेको नसुन्यै गर्यो।

* * *

नदीको किनारै किनार लहरै भिरसँगै सटेका बङ्गुरका खोर। छेवैमा गाईगोठ र माछापोखरी। अलिक पल्तिर हाँस र कुखुराको छुट्टाछुट्टै खोर र पुछारमा बाख्रीगोठ। ठ्याक्कै माथिमाथि बाटो। मास्तिर बस्तीकाहरू बाटोको छेवैबाट पोकाका पोका फोहोरका रास खसालेर जान्थे, जुन भिरालो ढलानमा गुड्दै चिप्लिँदै जबरेको आँगनैभरि छरपष्टिन आइपुग्थ्यो। 

खोरको वरिपरि बङ्गुरका बिस्टा र पोखिएका खोलेको ल्यासल्यास मिसिएर एकतमासको अमिलो न अमिलो ठस्स परेको गन्ध निस्किन्थ्यो। 
फार्मका धनी किसानलाई भने मानौं बानी परिसकेको थियो। चाल पनि पाउन्नथ्यो। गजक्क परेका ती किसानको अनुहारमा हाँसो कहिल्यै झुल्कन्नथ्यो। वरिपरिको गन्धझैं सधैं अमिलो अनि ठस्स परेको अनुहार बोकेर काममा लाग्थ्यो।

तर आज भने एकाबिहानै किसानले फार्मका जनावरहरूमा नजानिँदो अत्यास भेट्यो। लाग्थ्यो सबै एकापसमा कानेखुसी गर्दैछन्। कुखुराहरू कट्कट् कट्याँस गर्दै अतालिँदै थिए। गाईवस्तु दाम्लोमा अशान्त छ्टपटाउँदै थिए। बाख्राहरू म्याम्या गर्दै ओहोरदोहोर गर्दै थिए। नारिएर उभिएका दुई हल गोरु भने अल्छी पाराले पराल चपाउँदै तमासा हेर्दै थिए। 
‘यो के हुँदैछ?’ किसानले टाउको कन्यायो।

* * *

'ए चन्द्रमुखी! सुनिस् तैंले? बलेले भनेको हामीमा ठूलै धोका भैरा'रैछ रेन्त।' सुन्तलीले पखेटा फड्फटाउँदै सँगैका संगीसँग साउती गर्यो।

'सुन्या त मैले'नि हो। पत्या' थि'नँ। होला र?' चन्द्रमुखीले कट्कट्याउँदै भनी।

'हो भन्छ। खै, के हो के हो? मेरो त हंसले ठाम छोड्या छ सुनेदेखि।'

'आSSS। हाम्लाई केको मतलब! भालेहरूलाई पो त। 'जर्नी'मा हामी पोथीहरू विरलै जान पा'छौं, हैन र?'

'छ्या। भन्या हेर न! तेरा पो कोही छैनन्। आफ्ना त बले छ नि। हट्टाकट्टा भैसक्याछन्। पालो त उनका'नि आउँदैछ। मलाई नि सँगै सुटुक्क लान्छु, उतै साथै घरजम गर्छु भन्थे। यो कुरो हो भने त म जिम्दै मरे सरह हुन्छु, चन्द्रमुखी।' सुन्तलीले आतिँदै कट्कट् कट्याँस गरी।

'हुन त भालेहरू मात्र काँ हुन् र! परार मात्र हैन र लक्ष्मी गाको? कति खुसी भा'थी। बुढेसकालाँ अब आरामको जिन्दगी जिउन पाइयो भन्थी।' चन्द्रमुखीले केही सम्झिँदै भनी। 'तर यो हल्ला साँचो हो भने तिन्लाई पनि... ? दूध दिन छाड्या वर्षदिन'नि भा'थेन।' सुन्तलीका गोला आँखा डरले झन् फराकिला भए।

'कतै सीता, मोनिका, रमा पनि?' यसपटक चन्द्रमुखी पनि झस्किई। 'तिनारू'नि अण्डा दिन छाड्या लगत्तै 'जर्नी'मा गा'का हैनन् र?' टाँडमा टुसुक्क बसेका सुन्तली डरले फत्रक्क परी।

किसान बजार गएको मौका छोपेर उता बङ्गुरको खोरमा पनि इमर्जेन्सी मिटिङ चल्दै थियो। अचम्म! जबरे र गुन्जे आ-आफ्ना मतभिन्नता बिर्सेर गम्भीर वार्तालापमा व्यस्त थिए। 

यस्तो लाग्थेन कि कहिल्यै तिनीहरूबीच वैमनश्यता थियो। प्रतिकूल अवस्था बन्दा बेमेल विचारधाराहरू पनि आपसी समझदारीमा एकाकार हुन पुग्ने यो भन्दा सुन्दर उदाहरण अरू के होला!

अक्करे बङ्गुरले जुक्ति लगाएर काठे बारको चुकुल खोल्न सिकेका थिए। तब न आठैवटा बङ्गुर गुमानेकोमा भेला हुन सकेका थिए। गुमाने फार्म भरिकामध्ये सबभन्दा खाइलाग्दा बङ्गुर। अर्को पटक 'जर्नी'मा जाने यिनैको पालो थियो। चिल्लो जीउ। पुत्त निक्लेका थलथले भुँडी। चिम्से चिम्से आँखा। बङ्गुरहरूमध्ये सबभन्दा 'ह्यान्डसम'। बङ्गुरनीहरू यिनी भनेपछि मरिमेट्थे! 

महिना दिन पनि भएको थिएन, यिनका दिलमा रूपी बङ्गुरनीले बास गरेको। एक्लै एक्लै मुसुमुसु हाँस्थे। दिउँसै सपना देख्न थालेका थिए। तर फार्ममा चलेको हल्लाले यिनका निद्रा खल्बल्याइदियो। सपना खज्मज्याइदियो। यिनका चञ्चले आँखामा मानौं बादल छायो।

'म त बर्बाद भएँ। ई, हेर त, डरले खुट्टा कामेका! भर्खर त लप परेको। रूपीको के हाल होला। लौ न। केही त उपाय सुझाओ।' गुमाने लाजै नमानी ह्वाँह्वाँ रून थाल्यो। तर कसैले सहानुभूति देखाएनन्। सबै आ-आफ्नै तनावमा गिजोलिएका थिए।

जबरेले थुतुनो फ्याटफ्याट गर्यो। जीउमा रेङ्दै गरेको किर्नु टप्प टिपेर सुलुत्त निल्यो। पर बग्दै गरेको धमिलो नदी हेर्दै एकैछिन टोलायो र भन्यो, 'हामीले के दिएनौ यी बज्यालाई? दूध दिएनौं कि? अण्डा दिएनौं कि? हाम्रै बिस्टाले बाली सपारेका छन्। माछालाई चारो पुर्याएका छन्। त्यसका बदलामा हाम्लाई बर्सौंदेखि झुक्या'का रैछन्। धन्न अक्करेले कुरो सुनेछन् र पोल खुल्यो। पत्याउनै गाह्रो भो, म्याउलीलाई चियो लगाएँ। तिनले पनि उही कुरो सुनाए। अन्त, नपत्याई धरै भएन।'

'खै! म्याउलीका कुरो पत्याउनु र?' गुमानेले अनुहार बिगार्यो। 'बिरालाका भर नपर्नु भन्थे बाले।'

'म्याउलीको न सही। अक्करेका कुरा त पत्याउँछस् नि?' जबरे कड्क्यो अनि अक्करेतिर फर्केर भन्यो, 'ल, तैं सम्झा यिनलाई।'

अक्करे भक्भकाउन थाल्यो। 'ह ह ह... हो। म म म मैले स स स सुनेको... हो।'

'यो फेरि अर्का नमूना छन्। राम्ररी बोल न बज्या। तेरा ह ह म म सुन्ने बेला हो यो?'' जबरे झर्क्यो।

अक्करेले दस मिनेट लगाएर आफ्नो कुरा भक्भकाउँदै सुनाई भ्याउँदा डाङ्ग्रे बाख्रो र क्वारक्वारे कुखुरी निदाइसकेका थिए। जे होस्, अक्करेले सुनाएको कुराको सार भने साँच्चै पनि चिन्ताजनक थियो।

किसानले आफ्नो फार्ममा नियम बनाएका थिए कि उमेर पुगेका वस्तुभाउ, कुखुरा, हाँस आदिलाई समय पुगेपछि कामबाट अवकास दिने र उमेर रहेका खाइलाग्दा वजनदारहरूलाई योभन्दा पनि सुविधाजनक र राम्रो खाना पाउने अर्को फार्ममा पठाउने।

अर्थात् अवकास पाउने प्रौढहरू र मोटाघाटा युवाहरूले आरामको जिन्दगी बिताउने मौका पाउँथे। सुख र चैनका दिनहरू बिताउने थलो पुग्न गरिने यात्रालाई यिनी 'जर्नी' भन्ने गर्थे। त्यसैले फार्मका जनावरहरूका लागि 'जर्नी' जान पाउनु भनेको ठूलो अवसरका रूपमा रहन्थ्यो। तर दह्रै धोका दिएका रहेछन् किसानले यिनीहरूलाई।

एकदिन 'जर्नी'मा लाने गाडीका ड्राइभर र किसानबीच भएको वार्तालाप अक्करेले सुनेछन् र 'जर्नी'को वास्तविकताको पर्दाफास भएछ।

'तैंले आफ्ना वस्तुभाउ रोगी छन् कि छैनन् भनेर चेकजाँच गर्नु पर्दैन? तेरा ठामबाट लगेका खसीबोकामा रोग छ रे। मासु खाएर थुप्रै बिमार परेछन्। दुईजना त अस्पतालै भर्ना भएछन्। यसको हर्जाना कल्ले तिर्ने?' उता किसान कालोनीलो भएछ। यता भने अक्करेले तुरूक्क मुतेछ। गएको महिना दसवटा खसीबोका लगालग 'जर्नी'मा गएका थिए। 'जर्नी'का नाममा तिनलाई कता लगिएको भन्ने अक्करेले बुझिहाल्यो।

* * *

अर्को दिन अबेर राति दोश्रो मिटिङ्ग बस्यो। किसान फार्मको छेवैमा रहेको आफ्नो घरको चोटामा घुर्न थालिसकेका थिए। सबैजना खासखुस गर्दै गुमानेको खोरमा जम्मा भए। अक्करेले अक्कल लगाएर धिपधिपे टुक्की बाल्यो। जबरेको हातमा एउटा किताब थियो। किताबको कभरमा एउटा सेतै फुलेको दाह्रीवाल बूढा ठुस्स परेर बसेका थिए। यो त्यही किताब थियो जुन गुड्दै आँगनमा खसेको फोहोरको पोकोमा जबरेले भेटेको थियो।

जबरेले घ्वाँकघुँक गर्दै गला सफा गर्यो। आफ्ना अघि उत्सुकतापूर्वक जम्मा भएका बथानलाई सर्सर्ती हेर्यो। थोरै छाती फुलायो अनि सानो स्वरमा बोल्न थाल्यो ताकि किसान नजागोस्।

'हामीले धेरै सह्यौं। आफ्ना बच्चाहरूको भागको दूध दियौं। बच्चा कोरल्ने सपना तुहाउँदै अण्डा दियौं। घामपानी नभनी खेतमा जोतियौं। बदलामा के पायौं? आधा खाली पेट। साँघुरो बास। यो किसानले हाम्रो दिनरातको मेहनतको बदलामा हाम्रो स्वतन्त्रता छिन्यो। हामीलाई कहिल्यै आफ्नो बराबरीको सम्झेनन्। हामीलाई गुलाम सम्झे। यी बुर्जुवा हुन्। हामीलाई सर्वहारा वर्गमा सीमित पारे। हुँदाहुँदा अब त ज्यानको सुरक्षा समेत रहेन।'

भीडमा खासखुस चल्यो। 'के त्यसो भए यो चलेको हल्ला साँचो हो? के 'जर्नी' मा जानेहरू…?' भुर्मान्चा भेडाले सोध्यो।

'हो। हामी बेचिँदैछौं। ठ्याक्कै भन्ने हो भने हामी मारिँदैछौं। काटिँदैछौं। 'जर्नी'का नाममा हामीलाई धोका हुँदैछ। सुखको झूटो कथा बुनेर हाम्रो घाँटी रेटिँदैछ।'

भीडमा अत्तालिएको आवाजको एक लहर दौडियो।  दुबै पखेटाले चुच्चो छोपेर सुन्तलीले लामो सास तानी र चिन्तित भावमा बलेलाई पुलुक्क हेरी। गंगाप्रसाद गोरूको ढाडमाथि टुसुक्क बसेका बलेले सुन्तलीलाई हेर्दै चिन्ता नलिनू भन्ने भावमा थोरै कट्कट् आवाज निकाल्यो। सुन्तली सम्हालिइन्।

'तर केही कुरो बुझिएन है। बुर्जुवा भन्या के? सर्वहारा भन्या के?' कसैले सोध्यो।

'यस्ता किताब पढे'सि ज्ञानगुनका कुरा सिक्न पाइने रैछ। धेरै कुरो छर्लङ्ग हुन्छ।' जबरेले हातको किताब हल्लाउँदै भीडलाई देखायो। 'जब पैसो कमाउने चस्का लाग्छ, यी दुईखुट्टे मान्छेका जात अन्धो बन्दा रैछन्।

आफ्ना लागि ज्यान फालेर पैसा कमाइदिने कामदारलाई गुलाम ठान्न थाल्दा रैछन्। आफ्ना फाइदाका लागि कामदारको शोषण गर्दा रैछन्। ती मालिक भनाउँदाहरू बुर्जुवा वर्ग भए। जस्तो कि यी किसान। हामी जस्ता हड्डी घोट्दै काम गर्ने तर पनि कर्मले सर्वथा सर्वदा हार्ने कामदारहरू सर्वहारा वर्ग भयौं। जब अचाक्ली हुन थाल्छ, सर्वहाराले विरोध गर्न थाल्छ।

अनि यी दुई वर्गबीच संघर्ष सुरू हुँदो रैछ र बुर्जुवा वर्ग परास्त भई वर्गविहीन समाज बन्दो रैछ। सब बराबर। न कोही ठूला न कोही साना। न कोही धनी न कोही गरिब। न मालिक न कामदार। न मार्ने न मारिने। अनि बल्ल हामीजस्ता सर्वहारा भनिएकाहरूको सुखका दिन आउँदो रैछ।'

सबैले मुखामुख गरे। 'त्यसैले अब हामी पनि चुप लाग्नु हुन्न। विरोध गर्नुपर्छ। यदि बाँच्नु छ भने, यदि सुखका दिन फर्काउनु छ भने अब क्रान्ति गर्नुपर्छ।' जबरेले आफ्नो भाषण टुङ्ग्यायो। 

अक्करेले बालेको मधुरो टुक्कीको प्रकाशमा सबैको अनुहारमा व्याप्त आशाका किरण मिसिएर खोरको कुनो उज्यालियो।

* * *

र, आखिर त्यो महान् क्रान्तिको दिन तय भयो। 

किसानले सपनामा पनि सोचेको थिएन कि त्यो दिन उनको के विधि दयनीय हालत हुनेवाला छ।

सधैंझैं बिहानै दूध दुहुन गोठ पुगेका किसानलाई तिरिमिरी झ्याइँ देख्ने गरी गँगु गाईको लातले स्वागत गर्यो। रन्थनिँदै गोठको ढोकामा पछारिन पुगेका किसानलाई घ्वाँकघ्वाँक गर्दै हुरिएर आएका गुमाने र गुन्जेले आफ्ना थलथले जीउका भारले पालैपालो किच्यो।

अथाह पीडाले कक्रिँदै भाग्न के खोज्दै थिए, बलेको अगुवाइमा आएको कुखुरा बथानले ठुङी ठुङी छालाका पत्र छियाछिया पार्यो। झल्लर बनेको लुगा सम्हाल्दै बिचरो किसान उठ्न खोज्यो। तर खसीबोकाको समूहले उतिखेरै सिङले घोची घोची थचार्यो। के हुँदैछ भन्ने भेउ पाउनु अगावै नारिएर आएका गंगाप्रसाद र जमुनाप्रसाद गोरूले आफ्ना सिङमा उनेर झ्याइँकुटी खेलाउँदै फार्मको गेटबाहिर हुर्यायो।

'अब राज गर्ने पालो हाम्रो।' तालीका गडगडाहटबीच दुवै खुर हावामा उछाल्दै जबरेले प्रसन्न मुद्रामा भन्यो।

किसान घोसेमुन्टो लाएर खोच्याउँदै पर पर पुग्दै गर्दा पूर्वमा नयाँ सूर्य उदाउँदै थियो। फार्मका रूखका पात पातमा बिहानीको घाम टिलिक्क टल्कँदा फार्ममा विजयोल्लास चल्दै थियो।

* * *

सबैले जबरेलाई नाइके माने। ज्ञानगुनको किताब पढेका हुनाले यिनी विद्वानमा दरिए र यिनले बोलेका कुरामा कसैले नाइँनास्ती नगर्ने भए। फार्मका हरेक सदस्यमा ठूलोसानोको भेदभाव राखिएन। ठूलोमा गोरू र सानोमा हाँसकुखुराबीच समान अधिकार रहने नियम बन्यो। सबैजना आ-आफ्ना गच्छे अनुसारका काममा लागे। हिजो पो किसानका लागि काम गरिन्थ्यो, आज त आफ्नै लागि गर्दैछु भन्ने भावनाले सबैमा जाँगर थपिएको थियो। 

नयाँ नयाँ कुरा सिक्न थाले। अक्करेलाई गँगु गाई दुहुन हम्मे हम्मे पर्यो, तर सिकेरै छाडे। बलेलाई अण्डा जम्मा गर्न धौधौ पर्यो, तर हिम्मत हारेन। सुन्तलीले पनि त सघाउँथी। गुमानेले वस्तुभाउ चराउने जिम्मा पायो। हुन त भुर्मान्चा आफैं यसमा पोख्त थिए। त्यसैले दुई बीच आलोपालोको सम्झौता भो।

सब खुसी खुसी काममा लागेका थिए, सिवाय एकजना। फार्ममा जबरेको बढ्दो प्रभाव गुन्जेलाई पटक्कै मन परेको थिएन। अरूलाई काममा लगाएर दिनभर किताबका पाना पल्टाउँदै सुस्ताउने जबरेको बानी गुन्जेलाई खुब खट्किन थालेको थियो। हुन पनि जबरे अब ठ्याम्मै परिवर्तन भएको थियो।

थरिथरिका मीठामीठा फलफूल खाँदै अपदस्थ किसानको नरम गद्दादार बिछ्यौनामा सारा दिनभर ढल्किबस्थ्यो। बाँकी सबैको जीवनशैली पहिलेको भन्दा रत्तिभर फरक भएको थिएन। खाने उही, बस्ने ठाउँ उही। बरू पहिलाभन्दा बढी जोतिनु पर्ने अवस्था थियो। परिवर्तन केका लागि भन्ने प्रश्न उठ्न थाल्यो। के यो क्रान्ति जबरेलाई सुखसुविधा दिनलाई मात्र हो र?

अनि के चाहियो र, प्रतिकूल अवस्थामा दबिएका मतभिन्नताका अवशेषले फेरि एकपटक टाउको उचाल्न थाल्यो। जबरेको अल्छीपन र बुज्रुक पारा नरूचाउनेको संख्या बढ्न थाल्यो। त्यो संख्याले गुन्जेलाई समर्थन गर्यो। यसरी फार्मका जनावरहरू दुई खेमामा बाँडिए। पानी बाराबारको अवस्था आयो। फार्ममा चिरा पर्यो। एकातिरकाले अर्कातिरकालाई देखिनसहने भए। ढुङ्गा हानाहानको अवस्था आयो।

यस्तैमा एकदिन एकाबिहानै फार्ममा एउटा अपत्यारिलो काण्ड मच्चियो।

* * *

गुमाने वस्तुभाउ चराउन जान चटारिएका थियो। अक्करे दूध दुहुन भाँडा खोज्दै थियो। सुन्तली अण्डा बटुल्दै थिई। आज बिहानैदेखि बले भने गायब थियो। कता गएछ? हिजोआज बले छिनछिनमा गायब हुने गरेकोले सुन्तलीको मनमा चिसो नपसेको कहाँ हो र! ‘कतै मुनासँग त सल्केन? हप्तादिन भो, ती दुईको हिमचिम बढेको सुन्तलीले चाल पाएकी थिई। हैन, हैन। बलेले मलाई धोका दिनै सक्दैन। यो मेरो भ्रम हो।’ सुन्तलीले आफैंलाई आश्वस्त पारी।

यस्तै कुरा गम्दै गरेका बेला फार्मको गेटबाट फन्फनिँदै आएका गंगाप्रसाद र जमुनाप्रसाद देखेर सुन्तली झस्याङझुसुङ भई। जोडी गोरूमध्ये एउटा फार्मको दायाँ पस्यो, अर्को बायाँ।

गंगाप्रसादले आफ्नो खोरबाट निक्लँदै गरेका जबरेलाई आफ्ना तीखा सिङले जोडदार दनक दियो। बिचरा जबरे घ्वाँक गर्दै फार्मको पल्लो पाटोमा थचारिन पुग्यो। उसको घाँटी र छातीको मासु फक्लक्कै चोइटिएको थियो। सबैजना अक्क न वक्क पर्दै गर्दा फन्फनिँदै जमुनाप्रसाद फार्मको बायाँतिर पस्यो। आँखा झिमिक्क गर्न नपाउँदै गुन्जे पनि बतासिँदै पारितर्फ जबरेको आडैमा बजारिन पुग्यो। तिनका अघिल्ला दुबै खुर पिटिक्कै भाँचिएका थिए।

फार्ममा कोकोहोलो मच्चियो। सबै त्राहिमाम् गर्दै यत्रतत्र दौडिए। यो के भएको, किन भएको कसैले भेउपत्तो पाएनन्।

यस्तैमा कुनै बेला किसान बस्ने घरको चोटाको झ्यालबाट केही चिज भुरूरू उडेर गंगाप्रसादको ढाडमा थपक्क बस्न आइपुग्यो। त्यसले छाती फुलाएर पखेटा फ्याट्फ्याट् गर्यो, घाँटी अररो पारेर तन्कायो र बडो फूर्तिसाथ बास्न थाल्यो।

'म मोरि...क्वल!'

बले!?

फ्ल्यासब्याक:

आज पनि जबरे र गुन्जेको झगडा पर्यो। हरामीहरूको ब्यानब्यानै महाभारत सुरू भो। बङ्गुर खोरको छेवै छेउ चारा खोज्दै हिँडेका निख्खर रातो सिउर भएका खाइलाग्दो भालेले मनमनै सोच्यो। कस्ता कुकुर बिराला जस्ता यी दुई। सधैंको रडाको!

खोरभित्र दुईका बीच ढुङ्गा हानाहानै सुरू भएछ कि क्या हो? गुन्जेले फालेको एउटा सानो पातलो किताब फन्फनिँदै बलेको खुट्टानिर खस्यो।

बलेले कच्याककुचुक परेको किताब टक्ट्क्याउँदै उठायो, तानतुन पारेर सम्यायो र पाना पल्टाउँदै सर्सर्ती पढ्न थाल्यो। पढ्दै जाँदा किताबका पात्रहरू सजीव लाग्न थाले। घटनाहरू पनि ठ्याक्कै आफ्नै वरिपरिको कथा जस्तो। एक ठाउँमा ठूल्ठूला अक्षरले लेखिएको एउटा वाक्यले भने उसलाई खुबै प्रभाव पार्यो।

'अल एनिमल्स आर इक्वल बट सम एनिमल्स आर मोर इक्वल देन अदर्स।' (सबै जनावरहरू बराबर छन् तर केही जनावर अरूभन्दा बढी बराबर छन्)

'मोरिक्वल! म किन बन्न सक्दिनँ 'मोरिक्वल'? अरूभन्दा बढी बराबर किन बन्न सक्दिनँ? थाहै नपाई म छु नै पो कतै?' बलेले मनमनै सोच्यो।

त्यसै दिन बलेले योजना बनायो। यी सबै भन्दा छुट्टै बन्ने। यिनीहरू भन्दा बढी बराबर बन्ने।

जसका लागि सबैभन्दा पहिले किसानलाई हटाउने। त्यसपश्चात् फार्ममा रहेकामध्ये आफूभन्दा बलियालाई कि त आफ्नो बाटोबाट हटाउने वा आफ्नो पक्षमा ल्याउने। जबरे र गुन्जेबीच फाटो ल्याउन कान भर्ने काम यिनैले गरे, ताकि जनावरहरू दुई खेमामा बाँडियोस् र 'डिभाइड एण्ड रूल' गर्न सकियोस्। गोरूहरूलाई जबरे र गुन्जेविरूद्ध भड्काउने काम पनि यिनैले गरे, ताकि गोरूहरू आफ्ना पक्षमा रहोस् र तिनका बलिष्ठ शरीरको फाइदा लिन सकोस्। मुनासँग हिमचिम बढाएँ, जो कुखुरी ग्याङकी नेतृ थिई, ताकि कुखुरीहरूको 'मोरल सपोर्ट' प्राप्त होस्।

यसरी अनेक तिकडमबाजी गरेर बले त्यो फार्मको नयाँ नाइके बन्न सफल भयो।

आज यिनी नाइके त रहेनन् तर वर्षौं बितिसक्दा पनि आफ्नो जवानीका यी रमाइला किस्सा सम्झिन्छन् र एक्लै मुस्कुराउँछन्। कहिलेकाहीँ जब आफ्ना ससाना नातिनातिनाहरू चारोको विषयमा आफू आफूबीच झगडा गर्छन्, तिनलाई बोलाएर आफ्नो वरिपरि भेला पार्छन् र यो किस्सा सुनाउँछन्।

अनि, अन्तमा यो अर्ती दिन्छन्,

'भाइ फुटे, गँवार फुटे, तेस्रो आएर लुटे। त्यसैले तिमारू जहिल्यै जुट्नू। कहिल्यै नफुट्नू।'

समाप्त

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८, ०४:३९:००
सिफारिस
सुदूरपश्चिममा भीम रावल र बिष्णु पौडेलको सवाल-जवाफ
सुदूरपश्चिममा भीम रावल र बिष्णु पौडेलको सवाल-जवाफ
नेपालमा २०औं वार्षिकोत्सव मनाउँदै 'गुड नेबर्स'
नेपालमा २०औं वार्षिकोत्सव मनाउँदै 'गुड नेबर्स'
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेट
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेट
त्रिभुवन विमानस्थलमा ८ अर्ब २५ करोडमा ह्यांगर, एप्रोन र ट्याक्सी-वे बन्दै
त्रिभुवन विमानस्थलमा ८ अर्ब २५ करोडमा ह्यांगर, एप्रोन र ट्याक्सी-वे बन्दै
गृह मन्त्रालयले भन्योः मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन
गृह मन्त्रालयले भन्योः मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन
प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा सुनाउन चाहन्छन् मिटरब्याज पीडित
प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा सुनाउन चाहन्छन् मिटरब्याज पीडित
बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना (तस्बिरहरू)
बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना (तस्बिरहरू)
अलपत्र परे चिस्यान केन्द्र, कसरी जोगाउनु तरकारी?
अलपत्र परे चिस्यान केन्द्र, कसरी जोगाउनु तरकारी?
प्रदीपसहित कांग्रेसका यी सांसदलाई मन्त्री बनाउन गगन-विश्वप्रकाशको पहल
प्रदीपसहित कांग्रेसका यी सांसदलाई मन्त्री बनाउन गगन-विश्वप्रकाशको पहल
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

अमान्छे! 
आफ्नो भाग्य आफैले लेखायो!
ऊ अरू कसैकी श्रीमती!
म आफैं आमा बनिरहँदा...
खाडीमा भेटौँला!
मकैको खोस्टामा बिगौती खाने रहर!

विचार

सम्पादकीय
उनीहरू लडाकू नै थिएनन् सम्पादकीय
मुराहरि पराजुली
जीवनभर समाजवादीसँग जुधेका हायक मुराहरि पराजुली
डा. गोविन्द टण्डन
सद्‌गुरूको परिकल्पनाको लिंग भैरवी मन्दिर काठमाडौंमा! डा. गोविन्द टण्डन
जीवन क्षेत्री
सहिदहरूको लामो सूचीले उठाएका ठूला प्रश्न जीवन क्षेत्री

ब्लग

विमला तिवारी
पहिचान गुमाएको मान्छे! विमला तिवारी
डा. सामना ओली
'पछि आफैं आमा हुन्छेस् अनि थाहा पाउँछेस्!' डा. सामना ओली
डा.राजकुमार भुजेल
एक बिरामीको अनौठो अनुभव डा.राजकुमार भुजेल
यमुना अर्याल (काफ्ले)
कसैले नखाएको जागिर खाएकी! यमुना अर्याल (काफ्ले)

साहित्यपाटी

सुबोध न्यौपाने
अमान्छे!  सुबोध न्यौपाने
दिपेन्द्र बिसी ‘दिपु’
आफ्नो भाग्य आफैले लेखायो! दिपेन्द्र बिसी ‘दिपु’
रेखाकुसुम रेग्मी
ऊ अरू कसैकी श्रीमती! रेखाकुसुम रेग्मी
दिपिका अधिकारी
म आफैं आमा बनिरहँदा... दिपिका अधिकारी

केटाकेटीका कुरा

ऋतम्भरा ढुंगाना
साथी र म ऋतम्भरा ढुंगाना
यूदाइ उ राउत
आमाको लागि औषधी यूदाइ उ राउत
सन्जिना श्रेष्ठ
जीवन सन्जिना श्रेष्ठ
सञ्जिता थारू
कम्मर कसौं न साथी! सञ्जिता थारू

पाठक विचार

सेतोपाटी संवाददाता
सुरेन्द्र पाण्डेको सचिवालयद्वारा खण्डन सेतोपाटी संवाददाता
युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5429319 +977-1-5428194
setopati@gmail.com, info@setopati.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
मेनु
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • गोपनीयता नीति
विशेष
  • ICC #CT2017
  • सेभेन डेज इन टिबेट
  • Katha Ye:
  • १३औं दक्षिण एसियाली खेलकुद
  • महाधिवेशन विशेष
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© Setopati Sanchar Pvt. Ltd. -2023 All rights reserved.