दाङ तुलसीपुर उपमहानगरपालिका–३, भट्टेगाउँका ५० वर्षीय नरसिंह विकले पछिल्लो एक वर्षमा १२ लाख रूपैयाँको तरकारी बेचे। उनले टमाटर, खुर्सानी, काउली, बन्दा, करेला फलाएका थिए। त्यसबाट साढे तीन लाख रूपैयाँ खुद नाफा भयो।
हाल उनको तरकारी बारीमा १३ वटा टनेलमा करेला र आठ वटामा सिमी, बोडी फलेको छ। उनले ३७ वटा टनेलमा तरकारी लगाएका थिए। सिमी र बोडीका टनेलबाहेक सबैमा टमाटर थियो। अन्य टनेलको टमाटर बेचिसके। त्यसमा नयाँ बिरूवा रोप्दैछन्।
उनको व्यावसायिक तरकारी खेती करिब दुई बिघा जमिनमा फैलिएको छ। यसमा आधा जमिन लिजमा लिएका छन्। मासिक ३० हजार रूपैयाँ भाडा तिर्छन्।
व्यावसायिक तरकारी खेती सुरू गर्नुअघि नरसिंहले रोजगारीका लागि कतार र कुबेतमा गरी चार वर्ष बिताए। त्यसपछि २०७८ सालमा व्यावसायिक खेती सुरू गरेका हुन्।
'परिवारका सबै सदस्यहरू खेतीमा काम गर्छन्। तरकारी खेती सुरू गरेपछि म विदेश जानुपरेको छैन। बरू एक जोडा दम्पतीलाई नियमित रोजगारी दिएको छु,' नरसिंहले भने, 'उनीहरूलाई मासिक २५ हजार रूपैयाँ र खाना दिएको छु।'
उनी आवश्यकता अनुसार ज्यालादारीमा पनि मजदुर लगाउँछन्।
नरसिंहले बंगुर पालेका छन्। एउटा राइसमिल चलाएका छन्। घरमा एउटा भैंसी र पाडो छ। गँड्यौले मलका बनाएका छन्। तरकारी खेतीमा त्यही मल प्रयोग गर्छन्।
यी सबै काममा उनकी ४२ वर्षीया पत्नी टीकाको सहयोग बरोबरी छ।
उनीहरूले १५ वटा टनेलबाट व्यावसायिक तरकारी खेती सुरू गरेका थिए। पहिलो वर्षमै निकै राम्रो आम्दानी भयो। सबै खर्च कटाएर पाँच लाख रूपैयाँ कमाइ भएको नरसिंहले बताए। अर्को वर्ष टनेल थपेर २४ वटा पुर्याए।
त्यस वर्ष तरकारीले राम्रो मूल्य पाएन। पहिलो वर्ष भन्दा पनि कम कमाइ भयो तर आफ्नै गाउँमा तरकारी खेती गरेर राम्रो कमाइ गर्न सकिन्छ भन्ने विश्वास भयो। तेस्रो वर्ष टनेल थपेर ३७ वटा पुर्याए। यस वर्ष ६ वटा थपेका छन्।
'मेहनत गर्दा आफ्नै गाउँघरमा परिवारसँग रमाउँदै राम्रो कमाइ गर्न सकिँदो रहेछ,' नरसिंहले भने, 'घरको सबै खर्च टरेको छ। एक छोरा तुलसीपुरमा पढ्दै छ, अर्को विदेशमा छ।'
एकपछि अर्को गर्दै भट्टेगाउँ व्यावसायिक तरकारी खेतीको गाउँ भएको छ। यस गाउँका धेरै परिवार परम्परागत अन्नबाली कम गर्दै अर्गानिक तरकारी खेतीमा लागेका छन्।


स्थानीयवासी भीमबहादुर वलीले तरकारी खेती गरेको चार वर्ष भयो। यति बेला सात टनेलमा टमाटर फलेको छ। सबै खर्च कटाएर एउटा टनेलबाट ५० हजार रूपैयाँ कमाइ हुने उनको अनुमान छ।
'मकै र तोरी लगाउँदा वर्षभरिमा १०–१२ हजार आम्दानी हुन मुस्किल पर्ने जमिनमा तरकारी खेतीबाट राम्रो भएको छ,' उनले भने।
अर्का स्थानीयवासी मस्तबहादुर चन्दले रोजगारीका लागि १४ वर्ष मलेसियामा बिताए। गाउँमा धेरैले व्यावसायिक तरकारी खेती गरेको देखेपछि उनले पनि सुरू गरे। यति बेला १५ वटा टनेलमा तरकारी छ।
उनले गत वर्ष सात लाख रूपैयाँ आम्दानी गरेको बताए। यस वर्ष पनि त्यही हाराहारी हुने अनुमान छ।
नगरपालिकाको तथ्यांक अनुसार यस गाउँमा १४५ घरपरिवार छन्। तीमध्ये ६० परिवार व्यावसायिक तरकारी खेतीमा छन्। घरायसी खपतका लागि सबैको आआफ्नो तरकारीबारी छ।
गत आर्थिक वर्षमा भट्टेगाउँमा तरकारी खेतीबाट दुई करोड १५ लाख रूपैयाँ भित्रिएको अभिलेख छ।
भट्टेगाउँका किसानलाई भट्टे सहकारी संस्था लिमिटेडले व्यावसायिक तरकारी खेतीमा लाग्न प्रेरित गरेको हो। हाल यस सहकारीमा १११ जना सेयर सदस्य छन्। उनीहरू मासिक एक सय रूपैयाँ बचत गर्छन्। उक्त सहकारीको सदस्य नरहेका केही किसान पनि तरकारी खेतीमा छन्।
सहकारीले व्यावसायिक तरकारी कृषकलाई मात्र ऋण दिन्छ। हाल ५० लाख रूपैयाँ ऋण लगानी गरेको जनाइएको छ। यो सहकारी २०७० असार १६ गते सहकारी डिभिजन कार्यालय, घोराहीमा दर्ता भएको थियो। प्रतिव्यक्ति एकमुस्ठ साढे दुई हजार रूपैयाँ बचत गरेर सुरू भएको थियो।
सहकारी संस्थाका अनुसार भट्टेगाउँमा हाल करिब चार सय वटा टनेल छन्। यी सबै टनेलमा कृषि ज्ञान केन्द्र, घोराही दाङको ५० प्रतिशत अनुदान छ। हरेकको घरमा गँड्यौले मल उत्पादनका लागि दुईदेखि आठवटासम्म बेड छन्। यो वर्ष पछिल्लो एक वर्षमा सय वटा बेड थपिएका छन्।
सहकारी स्थापना भएयता चार वर्षअघिसम्म २५ घरपरिवार मात्रै व्यावसायिक तरकारी खेतीमा थिए। पहिलो वर्ष जम्मा १४० टनेल बनेका थिए। चार वर्षमा ६० घर परिवारका चार सय वटा टनेल बनेका हुन्। किसानको संख्या बढ्दो छ।
भट्टेगाउँलाई व्यावसायिक तरकारी खेतीमा आकर्षित गर्नमा सहकारीमार्फत दुईजना पूर्वप्रहरीको मुख्य भूमिका छ। सहकारीका अध्यक्ष ५३ वर्षीय कर्णबहादुर वली राष्ट्रिय अनुसन्धान विभागबाट सेवानिवृत्त प्रहरी सहायक निरीक्षक हुन्। सहकारीका सचिव ५६ वर्षीय केशरबहादुर वली पनि नेपाल प्रहरीको सहायक निरीक्षक पदबाट सेवानिवृत्त व्यक्ति हुन्। उनीहरूले नै गाउँलेलाई सहकारीमा संगठित गरेका हुन्।
कर्णबहादुरले हाल एक बिघा जमिनमा टनेल बनाएर तरकारी खेती गरेका छन्। गँड्यौले मलका बेड १४ वटा छन्। दुई माऊ भैंसी र चार वटा बाख्रा पनि पालेका छन्।
'पेन्सन भएपछि तरकारी खेती सुरू गर्ने सोचका साथ २०६४ सालमा स्वैच्छिक अवकाश लिएको थिएँ। बितेको एक वर्षमा ४९ लाख ४२ हजार रूपैयाँको तरकारी र गँड्यौले मल बेचेँ,' कर्णबहादुरले भने, 'त्यसमध्ये गँड्यौला र गँड्यौले मल मात्र २५ लाख रूपैयाँको थियो।'
उनले गँड्यौला प्रतिकिलो १२ सय रूपैयाँ र मल प्रतिक्विन्टल तीन हजार रूपैयाँका दरले बेचेका थिए। हाल गँड्यौले मलको माग ह्वात्तै बढेको उनले बताए।
उनका अनुसार सल्यानका किसानले साढे चार लाख रूपैयाँको गँड्यौले मल भट्टेगाउँबाट लगेका छन्। माग भए अनुसार गाउँमा मल उत्पादन हुन सकेको छैन।
बजार क्षेत्रका बासिन्दाहरूले भट्टेगाउँको तरकारी खोज्ने गरेको कर्णबहादुर बताउँछन्। व्यापारीहरू गाउँमै आउँछन्। किसान आफैले बजार पुर्याउँदा पनि खोसाखोस जस्तै हुन्छ।


'यहाँको रातो माटो र नांगो डाँडामा अन्नबाहेक केही हुँदैन भन्थे,' उनले भने, 'आज बाह्रै मास अर्गानिक तरकारी उत्पादन गरेर भट्टेगाउँले आफ्नो छुट्टै परिचय स्थापित गरेको छ।'
सहकारीका सचिव केशरबहादुरले पनि हाल चार वटा टनेलमा काँक्रो, काउली, बन्दागोभी, सिमी र खुर्सानी लगाएका छन्। एउटा भैंसी र तीन वटा बाख्रा पालेका छन्।
'मेरा लागि त तरकारी खेती निकै राम्रो भएको छ। बिहानैदेखि बारीमा काम गर्छु, कुनै शारीरिक व्यायाम जरूरत पर्दैन,' उनले भने, 'हामी बुढाबुढी मिलेर रमाउँदै काम गर्छौं।'
तुलसीपुरबाट करिब १४ किलोमिटर पश्चिम–उत्तरमा पर्ने भट्टेगाउँ पुग्ने बाटो भने त्यति राम्रो छैन। गत असोजमा एउटा अटोरिक्सा दुर्घटना हुँदा १३० केजी टमाटर नस्ट भएको थियो।
२०७० सालमा सहकारी संस्था दर्ता भए पनि उति सक्रिय थिएन। स्थापनाको ६ वर्षपछि संस्थापक सेयर सदस्यहरू जम्मा भएर संस्थाको उद्देश्य अनुसार कृषिमा काम गर्ने निर्णय गरे। सहकारीले तुलसीपुर उपमहनगरपालिकासँग सहयोग माग्यो। उपमहानगरको कृषि शाखाले कृषि ज्ञान केन्द्र, घोराहीमा सिफारिस गरिदियो।
सहकारीले भट्टेगाउँलाई तरकारी पकेट क्षेत्र घोषणा गर्न माग गर्यो। सुरूमा कृषि ज्ञान केन्द्रका अधिकृत अनुगमनमा गए तर पकेट क्षेत्र हुन नसक्ने ठहर गरे। सहकारी सदस्यले जनप्रतिनिधिसँग छलफल चलाए। अन्ततः तरकारी पकेट क्षेत्र स्वीकृत भयो।
त्यही वर्ष कोरोना संक्रमण फैलियो। त्यो बेला टमाटरको मूल्य ह्वात्तै बढेर किलोको सय रूपैयाँ पुग्यो। यसले पनि किसानहरूलाई तरकारी खेतीमा आकर्षित गर्यो। कृषि ज्ञान केन्द्र, घोराहीमार्फत भट्टेगाउँमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तकारी ब्लक (पकेट क्षेत्र) कार्यक्रम' लागू भयो।
पहिलो वर्ष २०७६/७७ का लागि ५० प्रतिशत अनुदानमा २५ लाख रूपैयाँ उपलब्ध भयो। त्यही अनुदानबाट २५ परिवारले कुल १४० वटा टनेल बनाए। लिस्ने खोला खानेपानीबाट थोपा सिँचाइको व्यवस्था भयो। सिँचाइका लागि ड्रम, मिनी टेलर, खाल्डो खन्ने मेसिन पनि ५० प्रतिशत अनुदानमा आयो।
२०७७/७८ मा ज्ञान केन्द्रले भर्मी कम्पोस्ट (गँड्यौले मल) शीर्षकमा साढे १२ लाख रूपैयाँ अनुदान दियो। लगत्तै अर्को वर्ष उही शीर्षकमा साढे ११ लाख अनुदान उपलब्ध भयो।


वर्ष २०८०/८१ का लागि तरकारी खेती प्रवर्द्धन शीर्षकमा दस लाख रूपैयाँ अनुदान आयो।
यहाँका किसानलाई बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले पनि लगातार बजेट दिएको छ।
सहकारीका अध्यक्ष कर्णबहादुरका अनुसार आयोजनाबाट हालसम्म तीन करोड रूपैयाँ प्राप्त भएको छ जसबाट साढे पाँच किलोमिटर लामो कुलो बनेको छ।
कुलो बनेपछि सुख्खा मौसममा पनि सिँचाइ सुविधा प्राप्त भएको छ।
गत असोजमा कृषि ज्ञान केन्द्रले प्रांगारिक खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत कर्णबहादुरलाई पाँच हजार रूपैयाँ नगद पुरस्कारसहित सम्मान गर्यो।
कृषि ज्ञान केन्द्र, दाङ (घोराही) का सूचना अधिकारी पृथ्वी लामिछानेका अनुसार चालु आर्थिक वर्ष भट्टेगाउँका किसानका लागि तरकारी विस्तार कार्यक्रम अन्तर्गत केन्द्रले दस लाख रूपैयाँ अनुदान गरेको छ। भट्टेगाउँका किसानले रासायनिक मल र विषादी प्रयोग नगरी तरकारी उत्पादन गर्ने गरेको बताए।
भट्टेगाउँका घरपरिवार व्यावसायिक तरकारी खेतीमा जोडिँदै छन्। तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सिंगो गाउँ अर्गानिक तरकारी उत्पादनको हब बनेको कृषि ज्ञान केन्द्रको ठहर छ।