नेपाल र श्रीलंकामा अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोन-पे र लंका-पेबीच समझदारी भएको छ।
दुई देशबीच भुक्तानी प्रणाली विकासका लागि सहकार्य गर्न नेपालको भुक्तानी नेटवर्क फोन-पेले श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंका-पेसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रका प्रयोगकर्ताहरूलाई निर्वाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउने कम्पनीले जनाएको छ।
फोन-पेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवसकुमार सापकोटा र लंका-पेका सिइओ चन्ना डी सिल्भाले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौंस्थित श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरी प्रमुख श्रीमती निलुषा दिलमिनीको विशेष उपस्थिति थियो। एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डिरेक्टर डेनियल डि. श्रेष्ठ र फोन-पेका अध्यक्ष विश्वास ढकाल पनि कार्यक्रममा उपस्थिति थियो।
फोन-पेका अनुसार यो सहकार्य दुई देशबीच भ्रमण गर्नेहरूको सहजताका लागि प्रभावकारी हुनेछ। श्रीलंकाका नागरिकहरूले नेपाल भ्रमण आउँदा लंका-पेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोन-पे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्युआर’ भुक्तानी गर्न सक्नेछन्।
त्यसैगरी श्रीलंका जाने नेपाली नागरिकहरूले फोन-पेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्युआर’ भुक्तानी गर्न सक्नेछन्।
यसपछि फोन-पे वा लंका-पेमध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।
यस सहकार्यमा उत्साहित हुँदै फोन-पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने, 'यो सहकार्य भनेको नयाँ अवसरहरू विस्तार गर्न, वित्तीय समावेशीकरण बढाउन र समृद्ध डिजिटल अर्थतन्त्र सिर्जना गर्न प्रविधिको प्रयोग गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो।'
यो सहकार्यले, नवप्रवर्तन र अन्तरआबद्धताद्वारा राष्ट्रको आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुग्नको लागि मद्दत पुर्याउने उनको भनाइ छ।
'यो साझेदारी हाम्रो लागि निकै महत्त्वपूर्ण छ। हामीले नेपालमा मात्र नभई हाम्रो सबैभन्दा नजिकको दक्षिण एसियाली देश श्रीलंकामा पनि क्रसबोर्डर डिजिटल भुक्तानीलाई छिटो, सुरक्षित र सजिलो बनाउन मद्दत गर्नेछौं,' उनले भने।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै, लंका-पेका प्रमुख कार्यकारी अधिकृत चन्ना डी सिल्भाले भने, 'यो साझेदारी, श्रीलंकामा डिजिटल भुक्तानीमा फड्को मार्ने उद्देश्यको महत्त्वपूर्ण कोसेढुंगा सावित भएको छ। यो रणनीतिक साझेदारीले हाम्रा ग्राहकहरूका लागि सहज र समावेशी भुक्तानीको वातावरण सिर्जना गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ। हाम्रा सम्बन्धित प्लेटफर्महरूबीचको दूरी घटाई, हामी नयाँ सम्भावनाहरू खोल्दैछौं जसले व्यक्ति र व्यवसायहरूलाई सहज रूपमा भुक्तानी कारोबार गर्ने वातावरण बनाउँछ।'
उनले फोन-पेसँग अन्तरआबद्धताको यो यात्रा सुरू गर्न पाउँदा हर्षित भएको पनि बताए।
कार्यक्रममा ग्रुप स्ट्राटेजी डिरेक्टर डेनियल डि. श्रेष्ठले भने, 'श्रीलंकाको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कसँगको यो समझदारी— हामीले बैंक तथा वित्तीय संस्थाहरूसँग संयुक्त रूपमा नेपालमा हासिल गरेका सफलताहरूलाई अन्तर्राष्ट्रिय बजारमा पनि दोहोर्याउने हाम्रो दीर्घकालीन रणनीतिको हिस्सा हो।'
फोन-पेका अध्यक्ष विश्वास ढकालले यो फोन-पेका लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि डिजिटल भुक्तानी क्षेत्रमा अन्तरआबद्धता हासिल गर्ने ऐतिहासिक कदम भएको बताए।
'श्रीलंका र नेपालबीचको यो भुक्तानी अन्तरआबद्धताले उहिलेसम्म दुईदेशबीच रहँदै आएको साँस्कृतिक सम्बन्धसँगै व्यापारिक कारोबारलाई पनि सहज र सर्वसुलभ बनाई दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन कोशेढुंगा साबित हुनेछ,' उनले भने।