रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन आउन साढे तीन महिना बाँकी छ। तर चुनावी राप र तापले यो क्षेत्रलाई छपक्कै छोपिसकेको छ।
२०७९ को आमनिर्वाचनमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको गत चैत १९ मा निधन भएपछि निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि उपनिर्वाचन मिति घोषणा गरेको हो।
अघिल्लो निर्वाचनमा एक शब्द चुनावी भाषण नगरेरै बोहराले तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गरेका थिए। बोहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत पाएका थिए। केन्द्रबाटै गठबन्धन गरेका कारण राप्रपाका बोहरालाई एमालेको साथ थियो।
त्यसअघि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको साथ लिएर चुनाव लडेका बोहरालाई एमालेबाट घनश्याम भुसालले पराजित गरेका थिए।
बहुदलपछि भएका निर्वाचन परिणाम हेर्ने हो भने यो क्षेत्रमा एउटाबाहेक सबै निर्वाचन परिणाम नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाको वरिपरि घुमेको देखिन्छ। बहुदलपछि पहिलोपटक २०४८ सालमा भएको निर्वाचनमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेका थिए भने २०५१ को मध्यावधि निर्वाचनमा एमालेका धनपति उपाध्याय विजयी भए।
उपाध्यायको निधनपछि रिक्त रहेको क्षेत्रमा २०५२ सालमा भएको उपनिर्वाचनमा एमालेकै घनश्याम भुसाल विजयी भए।
२०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले यहाँको नतिजा उल्ट्याए। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने सद्भावना पार्टीका ओमप्रकाश यादव विजयी भए।

यो निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरदेखि भारतीय सीमा क्षेत्र बेलहिया नाकासम्म विभिन्न सातवटा स्थानीय तह समेटिएका छन्।
सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाका सबै वडा समेटिएको यो निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरका १४ देखि १९ सम्मका वडा, मायादेवी गाउँपालिकाका ७ र ८ वडा, ओमसतिया गाउँपालिकाको २ नम्बर वडा, सियारी गाउँपालिकाका १, २, ३, ६ र ७ वडा तथा तिलोत्तमा नगरपालिकाका १३ र १४ नम्बर वडा पर्छन्।
२०७० सालको निर्वाचनअघि यस क्षेत्रको भूगोलमा केही हेरफेर गरिएको थियो।
अहिले क्षेत्र नम्बर ३ मा पर्ने ठाउँहरू त्यति बेला क्षेत्र नम्बर २ र ३ मा बाँडिएका थिए। २०७० को संविधानसभा निर्वाचनमा अहिले ३ नम्बर क्षेत्रमै पर्ने तत्कालीन क्षेत्र नम्बर २ का स्थानबाट बोहरा र क्षेत्र नम्बर ३ का स्थानबाट खाँण विजयी भएका थिए।
धेरै सहरी र थोरै ग्रामीण मतदाता रहेको यो निर्वाचन क्षेत्रमा तराई र पहाडको मिश्रित समुदायको बसोबास छ।
यसअघिका निर्वाचन परिणाम हेर्दा यहाँका मतदाताले झन्डै झन्डै हरेकपटक आफ्नो मत र मन बदल्दै आएका छन्। त्यसैले पनि राजनीतिक दलहरू र यहाँका मतदाताको मात्र होइन, अन्य सर्वसाधारणको ध्यान समेत उपनिर्वाचन मिति घोषणा भएसँगै रूपन्देहीतर्फ केन्द्रित भएको छ।
साना–ठूला सबै पार्टीबाट उम्मेदवारका आकांक्षीले टिकट हात पार्न सक्रियता बढाएका छन्। मतदाताले औपचारिक र अनौपचारिक कार्यक्रम, चोक चौराहा तथा पारिवारिक छलफलमा समेत उपनिर्वाचनको चर्चा गर्न थालेका छन्।
सिद्धार्थनगर नगरपालिका–३ भैरहवामा सुन पसल चलाउँदै आएका मनकाजी सुनार २०४६ सालपछिका हरेक निर्वाचनका मतदाता हुन्। उनी राजनीतिक दलबाट र स्वतन्त्र उठ्ने जो उम्मेदवार भए पनि निर्वाचन क्षेत्रको भूगोल र मतदाता दुवैलाई चिन्ने हुनुपर्ने बताउँछन्।
'भैरहवाका मतदाताले चिनेको र मतदातालाई पनि चिनेको भनेका दीपक बोहरा थिए। अब उहाँको अभाव पूरा गर्ने व्यक्ति उठ्नुपर्छ भन्ने लाग्छ,' उनले भने।

उनले अगाडि भने, 'बाहिरबाट आएर एउटा चुनाव लड्ने, त्यसपछि कहिल्यै फर्किएर नआउने मान्छे यो क्षेत्रलाई चाहिएको छैन। यहाँका हरेक दुःखसुखमा सँगै हुने मान्छे चाहिएको छ। यहीँको मान्छे भयो भने अरू बेला सदनको कामले काठमाडौंमा बसे पनि चाडपर्व, आफन्तको विवाह–व्रतबन्ध र मर्दापर्दा आफ्नो क्षेत्रमा त आउँछ। जनताले भेट्न पनि पाउँछन्। काम होला–नहोला, तर आफ्ना समस्या राख्न पाउँछन्। बाहिरबाट आउनेहरूलाई यहाँको माया पनि हुँदैन।'
यसअघिका कतिपय निर्वाचन जिल्लाभित्रका उम्मेदवारले जिते पनि स्थानीयको भावना सम्बोधन नगर्दा मतदाताले फेरि स्थानीयलाई नै विजयी गराएका उदाहरण रहेको उनले बताए।
'टाढा जानै परेन, दीपक बोहरालाई हराएर २०७४ सालमा घनश्याम भुसालले चुनाव जितेका थिए। तर पछिल्लोचोटि जनताले फेरि तिनै बोहरालाई रोजे,' उनले भने, 'मर्चवार क्षेत्र पर्ने ५ नम्बरमा सर्वेन्द्रनाथ शुक्लाले चुनाव जितिरहेका थिए, २०७४ सालमा नेपाली कांग्रेसका प्रमोद यादवले जिते। तर चुनाव जितेपछि उनले निर्वाचन क्षेत्रलाई बेवास्ता गरेकाले गएको चुनावमा मतदाताले यादवलाई हराएर तिनै शुक्लालाई जिताइदिए।'
'स्थानीय नेता भनेको स्थानीय नै हो। त्यसैले हामीलाई स्थानीय उम्मेदवार चाहिन्छ, टुरिस्ट उम्मेदवार होइन,' सुनारले भने।
ओमसतिया–४ बालापुरका वसन्त यादव खेती किसानी गर्छन्। उनी पनि स्थानीयसँगै पार्टी वा केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताउँछन्।
'राजनीतिक दल वा स्वतन्त्र जहाँबाट उम्मेदवार बने पनि यहीँको मान्छे होस्। संसद् र सरकारमा बसेर यहाँका समस्या समाधान गर्न सक्ने क्षमता भएकालाई उठाउनुपर्छ,' उनले भने।
सिद्धार्थनगर–९, सानो डुमवाका गौरीशंकर यादव पनि अहिलेका मतदाताले कुन राजनीतिक दलको उम्मेदवार भन्दा पनि स्थानीय हो कि होइन र स्वच्छ छविको छ कि छैन भनेर हेर्ने बताए।
भैरहवा आँखा अस्पताल नजिकै होटल सञ्चालन गर्दै आएका बाबुराम पौडेल भने स्वच्छ छविको व्यक्ति भए स्थानीय नै हुनुपर्छ भन्ने नभएको बताउँछन्।
'स्थानीय नेताहरूले चुनाव जितेर मन्त्री भएको पनि देखेकै हो। उनीहरूले यो क्षेत्रका लागि केही गरेजस्तो लागेन। काम गर्न सक्ने क्षमता र चाहना भयो भने निर्वाचन क्षेत्रभित्रकै हुनुपर्छ भन्ने केही छैन। बाहिरबाट आएर चुनाव जितेकाहरूले पनि गर्न सक्छन्,' उनले भने।
सिद्धार्थनगर–३ कै ध्रुव पाण्डे पनि नयाँ सोच र योजनासहितको व्यक्ति चुनाव उठ्नुपर्ने बताउँछन्।
'अब चुनाव जित्नेहरूले भौतिक विकास गरेर मात्र हुँदैन, युवाहरूलाई रोजगारी दिने खालका योजना ल्याउनुपर्छ। दिनहुँ युवाहरू विमानस्थलबाट विदेश गइरहेका छन्। उनीहरूलाई नेपालमै रोक्न उद्योगधन्दा खोलेर रोजगारीको व्यवस्था मिलाउनुपर्छ। त्यस्ता योजना ल्याउन सक्ने युवाहरूले अब चुनावमा उठेर जित्नुपर्छ,' उनले भने।
मतदाताहरू चुनावी छलफलमा केन्द्रित हुँदा राजनीतिक दलका नेताहरू टिकट पाउन दौडधुप गरिरहेका छन् भने कतिपय व्यक्तिले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरिरहेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपनिर्वाचनको उम्मेदवारीका लागि ६ जनाको नाम सिफारिस भएको छ।
आइतबार बसेको जिल्ला कार्यसम्पादन समिति बैठकले केन्द्रीय सदस्यद्वय स्वाती थापा र वसन्तविक्रम शाही, रूपन्देहीका अध्यक्ष सागरप्रताप राणा, स्वर्गीय दीपक बोहराका छोराहरू गौरव बोहरा र प्रज्वलन बोहरा तथा जिल्ला नेता दिलीप मल्लिकको नाम सिफारिस गरेको छ।
केन्द्रीय सदस्य थापा स्वर्गीय बोहराकी नातिनी (दाइकी छोरीकी छोरी) हुन्। थापा २०७९ को निर्वाचनमा राप्रपाको चुनावी कमान्डर थिइन् भने गौरव बुद्ध एयरका सिनियर पाइलट तथा प्रज्वलन इन्जिनियर हुन्।
विगतदेखि नै आफ्नो पकड स्थापित गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेबाट पनि जिल्लादेखि केन्द्रसम्मका नेता आकांक्षी देखिएका छन्।
कांग्रेस, एमाले, माओवादी, मधेस केन्द्रित दलहरू समेत सकभर स्थानीय तथा राष्ट्रिय स्तरमा लोकप्रिय र मतदाताको मनोभावना बुझ्ने उम्मेदवारको खोजीमा छन्।
नेकपा एमालेबाट पोलिटब्युरो सदस्यद्वय खिमलाल भट्टराई, दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरतकुमार पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पूर्वनगर प्रमुख हरि अधिकारी आकांक्षी छन्।

नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँण, नेता प्रमोदकुमार यादव, जिल्ला उपसभापति अनिता शाह, पूर्वसभापति रामचन्द्र ढकाल पनि आकांक्षी छन्। त्यस्तै, राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेकपा माओवादी केन्द्र सहितका विपक्षी दलबाट उम्मेदवारका आकांक्षी अझै खुलेका छैनन्।
एकीकृत समाजवादीबाट महासचिव घनश्याम भुसाल र युवा नेता तथा अस्पताल व्यवसायी कमल भण्डारी उम्मेदवार बन्ने चर्चा छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारका लागि सार्वजनिक रूपमा आवेदन माग गरेको छ। सहकारी अभियन्ता ज्ञानु पौडेल रास्वपाबाट उठ्ने चर्चा छ।
राजनीतिक दलहरूले उम्मेदवार खोजी गरिरहँदा कतिपय व्यक्तिहरूले स्वतन्त्रबाट उम्मेदवारी घोषणा पनि गरेका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका खाद्य सल्लाहकार सन्तोष गिरी पनि उपनिर्वाचनमा चुनाव लड्ने चर्चा छ। बालेन समर्थक र रास्वपाबीच सहमति कायम गर्न सके जित निकाल्न सकिने भन्दै उनीहरू एक जना उम्मेदवार खडा गर्न छलफल गरिरहेको बताइन्छ।
तिलोत्तमा घर भएका ३३ वर्षीय गिरीले पछिल्लो समय निर्वाचन क्षेत्रमा मतदातासँग भेटिरहेका छन्।
बुटवलका लेखनाथ गैरेले स्वतन्त्रबाट उम्मेदवारी नै घोषणा गरिसकेका छन्। भैरहवाका व्यवसायी अजयकुमार गुप्ताले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। इँटा उद्योगी गुप्ताले गत वैशाखमा मात्र राप्रपा रूपन्देहीको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए।
त्यस्तै, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिनेबारे सात दलबीच सहमति भएको थियो। नागरिक उन्मुक्तिबाट अघिल्लो चुनावमा रूपन्देही–१ को प्रतिनिधिसभा सदस्य चुनावमा पराजित धनिराम चौधरी उम्मेदवार बन्ने चर्चा छ।
निर्वाचन आयोगका अनुसार रूपन्देही क्षेत्र नम्बर ३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन्। २०७९ सालको निर्वाचनमा ९० हजार मत खसेको थियो।
***