पछिल्लो समयको सुपरहिट फिल्म 'ऊनको स्वीटर' मा तीन प्रमुख पात्र छन् — धरणीधर काफ्ले (विपीन कार्की), फूल (मिरूना मगर) र फूलैफूलको बगैंचाबीच बनेको घर।
धरणीधर मिस्त्री हुन्। उनी गाउँभरिको घर बनाउँदै हिँड्छन्। उनले आफ्नी प्रेमिका फूलसँग बाचा गरेका छन्, 'मलाई एकान्त ठाउँमा फूलैफूलको बगैंचाबीच एउटा घर बनाउन मन छ। म त्यही घरमा तिमीलाई पर्खिरहन्छु।'
धरणीधर आफ्नो बाचा पूरा गर्छन्।
उनी सानैदेखि बुबाबाट सिकेको सिप प्रयोग गरेर फूलका लागि फूलजस्तै सुन्दर घर बनाउँछन्। र, त्यही घरमा फूलसँग नयाँ जीवन बिताउने सपना साँचेर उनको खोजीमा निस्कन्छन्।
हो, यही घरलाई निर्देशक नवीन चौहानले फिल्ममा छुट्टै पात्रका रूपमा उभ्याएका छन्।
यो घरलाई कथाबाट झिकिदिने हो भने फिल्म त्यसरी नै रित्तो हुन्छ, जसरी फूलबिना धरणीधरको जीवन रित्तो छ।
हामीले फिल्म सुटिङ गर्न नक्कली घर बनाएको धेरै देखेका छौं। पुरानो घर मर्मत गरेर सिँगारेको पनि देखेका छौं। तर 'ऊनको स्वीटर' को विशेषता के भने, यो फिल्मका लागि जुन घरको खाँचो थियो, निर्देशक चौहानले त्यो साँच्चिकै बनाए।
फिल्मको कथाअनुसार घरको दृश्य खिच्नुपर्ने भएपछि नवीनले नक्कली होइन, वास्तविक घर बनाउने निधो गरेका थिए। त्यसका लागि उनले जग्गा किने र आफ्नो टिमसँग सल्लाह गरेर काठ र माटोको चिटिक्क घर बनाए। वरिपरि फूलैफूलको बगैंचा पनि सजाए।
इलामको राँके बजारमा निर्माण गरिएको यो घर अहिले सबैको आकर्षण केन्द्र बनेको छ।
नवीनले घर बनाउन जग्गा खोजीमै धेरै समय लगाएका थिए। कथाको मागअनुसार एक रोपनी भए पुग्थ्यो, तर त्यति मात्र जग्गा कहीँ फेला परेन। त्यही भएर निर्माण टिमले १० लाख रूपैयाँ खर्च गरेर १० रोपनी जग्गा किन्यो।
त्यो जग्गा फिल्मका सह–निर्माता प्रकाश बस्नेतको काकासँग किनेको नवीन बताउँछन्। अहिले जग्गा र घर फिल्म निर्माण कम्पनी आर्टमान्डूको नाममा छ।
'के माया लाग्छ र?', 'देखेर तिमीलाई भेटेर तिमीलाई' जस्ता चर्चित गीतको म्युजिक भिडिओबाट करिअर सुरू गरेका नवीनको यो पहिलो फिल्म हो।
'हामीकहाँ कथाले घर मागे पनि प्रायः पुरानो घर खोजेर मर्मतसम्भार गरी देखाउने चलन छ। यस्तो चलाखी प्रायः फिल्ममा भइरहेकै हुन्छ। तर मैले आफ्नो पहिलो फिल्ममा कुनै चलाखी गर्न चाहिनँ। म यो फिल्म पूर्ण इमानदारीका साथ बनाउन चाहन्थेँ। त्यसैले धरणीधरले फूलसँग बाचा गरेअनुसार वास्तवमै नयाँ घर बनाउने निधो गरेँ,' नवीनले भने, 'यही घरका कारण भौतिक रूपमा पनि फिल्मले केही छाप छाडेको महसुस भइरहेको छ।'
'ऊनको स्वीटर' जग खनिरहेको दृश्यबाट सुरू हुन्छ र आखिरीमा त्यही फूलैफूलको घरमा टुंगिन्छ। यसबीच नवीनले घर निर्माणका सबै प्रक्रिया देखाएका छन्। जग खन्दादेखि पूर्ण रूपले घर बनिसक्दासम्मको दृश्य फिल्ममा समेटेका छन्।
यो घर समय लगाएरै बनाउन चाहेको भए पनि छायांकनको हतारले दुई दिनमै पूरा गर्नुपरेको नवीन बताउँछन्।
'घर बनाउन हतार भएपछि हामीले एकैचोटि ३०–४० जना कामदार प्रयोग गरेका थियौं। वरपर बगैंचा पनि देखाउनुपर्ने थियो। त्यही भएर दुई–तीन गाडी फूल गाउँभरिबाट खोजेर ल्यायौं,' उनले हाँस्दै भने, 'यो घरको डिजाइनर पनि मै हुँ, इन्जिनियर पनि मै हुँ। झ्याल–ढोका कहाँ राख्ने, बाथरूम कता बनाउने र कस्तो बनाउने; सबै डिजाइन मैले कागजमा कोरेको थिएँ।'
फिल्म हेरेका दर्शकले पनि यो घर खुब मन पराएका छन्। कति जना त घुमेरै आइसके। धेरैले घर हेर्न पाइन्छ कि पाइँदैन भनेर जिज्ञासा राखेका छन्।
'यो घर हेर्न जानेहरूको घुइँचो देखेर हामी नै छक्क परेका छौं,' नवीनले भने।
दर्शकको मनमा अर्को कौतूहल पनि छ — धरणीधरले फूलको निम्ति घर त बनाए, तर फूल अर्थात् मिरूना मगरले यो घर देखिन् कि देखिनन् होला?
फिल्ममा फूलको भूमिका निर्वाह गरेकी मिरूनाले यो घर देखेकी हुँदिनन्। उनलाई धरणीधरले घर बनाएर बाचा पूरा गरे भन्ने पनि थाहा हुँदैन।
फिल्ममा मात्र होइन, मिरूनाले फिल्म निर्माण पूरा भइसक्दा पनि यो घर देखेकी रहिनछ। हालै 'जारी २' को छायांकनका लागि इलाम जाँदा मात्र उनले घर देख्ने मौका पाएको नवीन बताउँछन्।
घर देखेपछि दंग पर्दै मिरूनाले नवीनलाई फोनमा भनेकी थिइन्, 'घर एकदमै सुन्दर रहेछ!'
यो घरलाई लिएर निर्माण टिमको आफ्नै योजना छ। कोही अर्को फिल्मको स्क्रिप्ट वा गीत लेख्न त्यहाँ जानुपर्छ भन्छन्, कोही पिकनिक मनाउन जाने कुरा गर्छन्। नवीनको योजना पनि यस्तै छ – यो घरलाई स्क्रिप्ट, गीत, संगीत, कविता लगायत सिर्जनात्मक काममा प्रयोग गर्ने।
'अर्को फिल्मको स्क्रिप्ट यही घरमा बसेर लेख्ने मेरो सोच छ,' उनले भने, 'म छिट्टै बाँकी काम पूरा गरेर यसलाई बस्न लायक बनाउँछु।'
उनका अनुसार घरको भित्री डिजाइनका काम बाँकी छन्। इलामको राँके सधैं कुहिरो लागिरहने चिसो ठाउँ भएकाले घरभित्र काठको प्रयोग बढी गर्ने उनको सोच छ। बाहिरबाट हेर्दा परम्परागत देखिए पनि भित्र सबै किसिमिका अत्याधुनिक सुविधा होस् भन्ने उनले चाहेका छन्।
तपाईंहरूलाई पनि फिल्म हेर्दा त्यो घरको सुन्दरताले पक्कै तान्यो होला! एकपटक घर हेर्न मन भए राँके जानुस् है!
***