नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ सम्बन्धी नीति ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको 'आर्थिक मन्दीमा पुँजीबजारः सम्भावना र चुनौती' विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले केही सातामै मार्जिन ट्रेडिङ सम्बन्धी नीति आउने बताएका हुन्।
'केही दिनमा ब्रोकरमार्फत प्रवाह हुने मार्जिन ट्रेडिङ सम्बन्धी नीति कार्यान्वयनमा आउँछ,' अध्यक्ष हमालले भने, 'हामीले क्यालेन्डर नै बनाएर काम गरिरहेका छौं।'
हाइड्रोपावर तथा वास्तविक क्षेत्रका कम्पनीमा स्वतन्त्र सञ्चालकहरूको छुट्टै योग्यता तोक्ने पनि उनले बताए। उनका अनुसार स्वतन्त्र सञ्चालकहरूको रोस्टर पनि धितोपत्र बोर्डले नै बनाउने छ।
'हाइड्रोपावर तथा वास्तविक क्षेत्रका कम्पनीमा स्वतन्त्र सञ्चालकको योग्यता तोक्दै छौं। रोस्टर नै बनाउँदै छौं। स्वतन्त्र सञ्चालकले स्वतन्त्र लेखा परीक्षकलाई नै रिपोर्ट बुझाउने व्यवस्था गर्दैछौं,' अध्यक्ष हमालले भने।
उनका अनुसार यस विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) सँग छलफल समेत भइसकेको छ।
उनले 'इन्ट्रा डे ट्रेडिङ' पनि सञ्चालन हुने जानकारी दिए।
'धितोपत्र बजारको रिर्फम गर्ने आँट र विज्ञता मेरो नेतृत्वको सेबोन टिमसँग छ,' उनले थप भने, 'समग्र अर्थतन्त्रमा देखिएको निरासाले सेयर बजारमा पनि आत्मविश्वासमा कमी देखिएको छ। अर्थतन्त्रका सूचक खराब अवस्थामा नभएको र अझै सुधारोन्मुख छ। सबै सकारात्मक हुनुपर्छ। आत्मविश्वासको कमी छ, त्यसलाई बढाउनुपर्छ।'
अध्यक्ष हमालले ब्रोकरलाई समस्यामा पारेर कमिसन घटाउने निर्णय नगर्ने पनि स्पष्ट पारे।
ब्रोकरको कमिसन घटाउने प्रस्ताव सञ्चालक समितिमा लैजाँदा धितोपत्र बोर्डको कमिसन पनि घटाउने प्रस्ताव सँगै जानेछ। ब्रोकरलाई मर्का पर्ने गरी कमिसन घटाउने पक्षमा बोर्ड नरहेको उनको भनाइ छ।
अध्यक्ष हमालले ब्रोकरको सुविधा थप्ने बताए पनि त्यो सुविधा के हुने भनेर खुलाएनन्। तर सीमित कार्य गर्ने र ब्रोकरलाई पनि मार्जिन ट्रेडिङ, पोर्टफोलियो व्यवस्थापन लगायत सुविधा थप्ने विषयमा बोर्डले छलफल गरिरहेको बताए।
त्यस्तै हकप्रद सेयरबारे पनि नयाँ नियम ल्याउने तयारी गरिरहेको उनले बताए। सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधिमा पनि चाँडै ब्रेक-थ्रु हुने उनको भनाइ छ।
कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले नेप्से सूचक र बजार पुँजीकरणलाई समयानुकूल रूपमा वैज्ञानिक बनाउनुपर्ने औंल्याए। जलविद्युत क्षेत्रलाई पूर्ण रूपमा नियमन गर्ने विषय बोर्डको कार्यक्षेत्रमा ल्याउन सम्भव नहुने पनि उनले बताए।
कार्यकारी निर्देशक श्रेष्ठले हाइड्रोपावरको सेयर संरचना लगायत विषयमा पनि छलफल भइरहेको बताए।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले मार्जिन ट्रेडिङ पुनर्स्थापनामा नीतिगत सहयोग चाहिने बताए। यस्तै लिलामी बजार र सेटलमेन्ट ग्यारेन्टी फन्ड जस्ता उपकरण ल्याएर बजारमा स्थायित्व कायम गर्नुपर्ने उनको भनाइ छ।
मार्जिन ट्रेडिङका लागि ऐनमै व्यवस्था गर्नुपर्नेमा जोड दिएका उनले त्यसो हुँदा सेटलमेन्टमा सहज हुने बताए। नेप्से सूचकको आधार मूल्यको विषयमा उनले प्रश्न पनि गरे।
धितोपत्र ब्रोकर एसोसिएसनका महासचिव कृष्ण गिरीले नेप्सेमा नै सूचिकृत कम्पनीको लकिङ डाटा उपलब्ध हुनुपर्ने बताए। मनिटरी मार्केटको ट्रेजरी बिल लगायत औजारहरू पनि धितोपत्र बजारमा नभएको भन्दै उनले थप उपकरण विस्तारमा जोड दिए। केही ऋण पत्रहरू भए पनि यसमा पनि आकर्षण नदेखिएको उनको भनाइ छ।
कमिसन घटाउँदा ब्रोकर टिक्न नसक्ने बताएका उनले अहिलेको कमिसनमा दैनिक औसत ५/६ अर्ब रूपैयाँको कारोबार हुँदा मात्रै ब्रोकरहरू ८/१० प्रतिशतको रिटर्नमा जाने बताए। त्यसैले तत्काल कमिसनको विषयमा नयाँ व्यवस्था गर्न नहुने उनले बताए। यस्तै ब्रोकरका लगानी रोकिने अवस्था हुने भन्दै थप सुविधा दिएर पुँजी परिचालन गर्नुपर्ने उनले बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य समेत रहेका सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले सेयर बजार कति घट्यो र प्रभावित भयो भनेर हेर्न बढ्दाको सूचक र बजार पुँजीकरण मात्रै पर्याप्त नहुने बताए। त्यसका लागि उक्त अवधिमा नेप्सेमा सूचीकरण भएको थप धितोपत्रको आधार मूल्य पनि हेर्नुपर्ने उनको भनाइ छ। आम लगानीकर्ताले आधारभूत जानकारी लिएर मात्र लगानीको निर्णय गर्नुपर्नेमा उनले जोड दिए।
पौडेलले संस्थागत लगानीकर्तालाई शून्य बनाएर व्यक्तिगत लगानीकर्तालाई प्रोत्साहन गर्ने अहिलेको अवस्था सन्तुलन गर्नुपर्नेमा जोड दिए। मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा पर्याप्त रहेको तर सेयर बजारमा नै लगानी गर्ने उद्देश्यले आएको कम्पनीमा पनि १२ करोडको सीमा गलत भएको उनले बताए।
'राष्ट्र बैंकले नै सेयर बजारमा लगानी गर्ने प्रोडक्ट पेपर बनाउने र माइक्रो म्यानेजमेन्ट गर्ने कुरा गलत छ,' उनले भने।
कार्यक्रमममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माले धितोपत्र बजारमा लगानीको औजारमा सबभन्दा धेरै ऋण पत्र भए पनि सेयरमा धेरै सक्रिय हुँदा बजारले पूर्णता पाउन नसकेको बताए।
कोभिडको समयमा हरियो मात्रै देखेका र सोही बेला बजार प्रवेश गरेका लगानीकर्ता अहिले बजार घट्दा अत्तालिएको उनले बताए।
'पछिल्लो तीन आर्थिक वर्षमा धेरै लगानीकर्ता बजार प्रवेश गरेका छन्। तर उनीहरूमा लगानीकर्ता शिक्षा र पुँजीबजारको आधारभूत ज्ञानको कमी छ,' शर्माले भने, 'त्यसले गर्दा बजारमा केही असर पनि गरेको छ। उनीहरूलाई लगानीकर्ता शिक्षा र आधारभूत ज्ञान प्रदान गर्न सक्ने हो भने बजार विकासका लागि अवसर पनि हुनसक्छ।'