डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी फोनपेले केही समयदेखि 'भर्चुअल क्रेडिट कार्ड' (भिसिसी) सेवा सञ्चालनमा ल्याएको छ।
फोनपेसँग साझेदारी गरेका वाणिज्य बैंकहरूमा खाता भएका ग्राहकले यस्तो कार्ड पाउन सक्छन्।
नेपालमै पहिलो पटक सुरू भएको फोनपे भर्चुअल क्रेडिट कार्ड के हो? यो कसरी प्रयोग गर्न सकिन्छ? कसले प्रयोग गर्न पाउँछ? के के सुविधा हुन्छ? यसका फाइदा के हुन्? यसले डिजिटल भुक्तानीको विस्तारमा कसरी योगदान पुर्याउँछ?
फोनपेका प्रमुख कार्यकारी दिवस कुमारलाई हामीले यिनै प्रश्न सोधेका छौं।
सबभन्दा पहिला कुरा गरौं, भर्चुअल क्रेडिट कार्ड (भिसिसी) भनेको के हो?
भिसिसीको अर्थ बुझ्न हामीले क्रेडिट कार्ड के हो भनेर थाहा पाउनुपर्छ। डेबिट कार्डबाट ग्राहकले आफ्नो बैंक खातामा जम्मा भएको पैसा चलाउँछन् भने क्रेडिट कार्ड चलाउन खातामा पैसा हुनुपर्दैन। ग्राहकको व्यक्तिगत साख हेरेर बैंकले निश्चित समयका लागि निश्चित रकम चलाउने सुविधा दिएको हुन्छ। ग्राहकले उक्त रकम ऋणका रूपमा चलाउन पाउँछ र त्यसको निश्चित ब्याजसमेत तिर्नुपर्छ।
तर यसरी क्रेडिट कार्डबाट चलाएको ऋण अरूभन्दा फरक हुन्छ।
मानौं, तपाईंले केही रकम क्रेडिट कार्डबाट चलाउनुभयो। अब तपाईंले त्यो क्रेडिट लिएको कम्तीमा १५ दिनदेखि ४५ दिनसम्म ब्याज तिर्नुपर्दैन। त्यसपछि हरेक महिना ब्याजको बिल आउँछ। त्यो ब्याज समयमै तिर्नुपर्छ।
साँवा रकम भने तपाईं एकै पटक वा किस्तामा तिर्न सक्नुहुन्छ। कसरी तिर्ने भन्ने बैंकसँगको सहमतिमा भर पर्छ।
क्रेडिट कार्डबाट कति रकमसम्म चलाउन पाउने भन्ने सीमा तोकिएको हुन्छ। त्यो सीमामा रहेर आवश्यकता अनुसार रकम प्रयोग गर्न सक्नुहुन्छ। पाँच लाख रूपैयाँको क्रेडिट कार्ड सुविधा छ भने एकै पटक पाँच लाख चलाए पनि हुन्छ, एक लाख खर्च गरेर बाँकी यसै राखे पनि हुन्छ।
यहाँ एउटा महत्त्वपूर्ण कुरा के हो भने, क्रेडिट कार्डको रकम एकैचोटि एटिएमबाट निकाल्न पाइँदैन।
राष्ट्र बैंकको नियम अनुसार १० प्रतिशत नगद मात्र एटिएम मेसिनबाट निकाल्न मिल्छ। बाँकी अनलाइन वा पिओएस मेसिनमार्फत् भुक्तानी नै गर्नुपर्छ।
नेपालमा क्रेडिट कार्डको चलन एकदमै कम छ। यसको प्रयोग मुख्यतया सहरी भेग र मध्यमदेखि उच्च आम्दानी भएको वर्गमा सीमित छ। क्रेडिट कार्डबाट पैसा तिर्न मिल्ने ठाउँ पनि निश्चित छन्। सुपर स्टोर, मार्ट, मल, ठूला होटल वा पसलमा मात्र यो सेवा उपलब्ध छ।
त्यस्तै, क्रेडिट कार्ड लिन विभिन्न कागजातसहित बैंकमा आवेदन दिनुपर्छ। बैंकले ग्राहकको सबै विवरण र ऋण लिन सक्ने क्षमता मूल्यांकन गरेर कार्ड दिने कि नदिने निर्णय गर्छ।
यो सबै प्रक्रिया धेरैका लागि सहज हुँदैन। जटिल र ढिलो हुनुका साथै कहिलेकाहीँ पहुँच बाहिरको हुन सक्छ। ग्रामीण क्षेत्रका मानिस, साना व्यवसायी र विद्यार्थीहरूलाई त यस्तो क्रेडिट कार्ड लिन कठिन नै हुन्छ।
'नेपालको डिजिटल वित्तीय कारोबारमा ठूलो खाडल छ। यही खाडल र सीमितता कम गर्न हामीले भर्चुअल क्रेडिट कार्ड (भिसिसी) ल्याएका हौं,' फोनपेका सिइओ दिवस कुमारले भने, 'परम्परागत क्रेडिट कार्डको तुलनामा भिसिसी अत्यन्तै छिटो, भरपर्दो, झन्झटरहित र तल्लो तहसम्मको पहुँचमा पुगेको छ।'
उनका अनुसार यसमा दुइटा कुरा महत्त्वपूर्ण छन्।
एउटा, भिसिसी फोनपेले दिने होइन। जुन बैंकमा ग्राहकको खाता छ, त्यही बैंकले दिने हो। क्रेडिट रकम पनि त्यही बैंकले दिने हो। बैंकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाटै भिसिसी सुविधा दिन्छन्।
'फोनपे एउटा च्यानल मात्र हो,' उनले भने, 'हामी डिजिटल कारोबारका लागि नेटवर्क मात्र उपलब्ध गराउँछौं।'
हाल सात वटा बैंकले फोनपे भिसिसी सुविधा दिइरहेका छन् — सिटिजन्स, एभरेस्ट, गरिमा, कुमारी, लक्ष्मी सनराइज, महालक्ष्मी विकास र साइन रेसुंगा बैंक।
सिटिजन्स बैंकमा खाता भएको व्यक्तिलाई फोनपे क्रेडिट कार्ड चाहियो भने सिटिजन्समै सम्पर्क गर्नुपर्छ। सामान्यतया बैंकले आफ्नो एपमै यो सुविधा छ भनेर उल्लेख गरेको हुन्छ। त्यहाँबाटै ग्राहकले सुविधा माग गर्न सक्छन्।
ग्राहकको सबै विवरण र क्षमता हेरेर बैंकले भिसिसी जारी गर्छ। कति पैसा क्रेडिट दिने भन्ने पनि बैंकले नै निर्धारण गर्छ। यसबारे सबै जानकारी र सूचना एपमै दिइएको हुन्छ। यस्तो सूचना छैन वा आएन भने बैंकसँग सोध्न सकिन्छ।
दोस्रो, क्रेडिट वा डेबिट कार्डजस्तो फोनपे भिसिसीमा प्लास्टिकको भौतिक कार्ड हुँदैन। यसमा सबै कारोबार डिजिटल हुन्छ।
'तपाईंलाई बैंकले फोनपे क्रेडिट कार्ड पाउन योग्य ठहर्यायो भने छोटो समयमै पाउन सक्नुहुन्छ,' दिवसले भने, 'परम्परातगत क्रेडिट कार्डमा जस्तो हप्तौं लाग्दैन।'
अब प्रश्न उठ्छ — भिसिसीमार्फत क्रेडिटका रूपमा पाएको पैसा ग्राहकले कसरी प्रयोग गर्ने?
अहिले फोनपेको क्युआर जुन जुन ठाउँमा छन्, ती सबै ठाउँमा भिसिसीबाट पैसा तिर्न सकिन्छ। हाल फोनपेका १८ लाख क्युआर जारी भएका छन्। किराना पसलदेखि सानो चिया पसल वा लुगा पसलमा समेत यस्तो क्युआर प्रयोग भइरहेको उनले बताए।
'इ-कमर्स अनलाइन किनमेलका वेबसाइट वा एपहरूमा पनि यो कार्ड प्रयोग गरेर पैसा तिर्न सकिन्छ,' उनले भने, 'यसरी क्रेडिड कार्डको पैसा चलाउन ठूला स्टोर वा कार्ड चल्ने ठाउँमै जानुपर्ने बाध्यता छैन। घरको रासन किन्ने सानो पसलमै पनि क्रेडिट कार्डको पैसा चलाउन सकिन्छ।'
फोनपे क्रेडिट कार्डमा एटिएम मेसिनमा गएर नगद निकाल्ने सुविधा भने हुँदै हुँदैन। क्रेडिट रकम सबै अनलाइन भुक्तानी नै गर्नुपर्छ।
उनका अनुसार फोनेपे क्रेडिट कार्डको मुख्य उद्देश्य डिजिटल भुक्तानीको पहुँच विस्तार गर्नु हो। यो कार्डले परम्परागत क्रेडिट कार्डमा हुने झन्झट हटाउनुका साथै यसको दायरा विस्तार गरेको छ।
खासगरी विद्यार्थी, घरायसी खर्च व्यवस्थापन गर्ने व्यक्ति, साना व्यवसायी र ग्रामीण क्षेत्रका प्रयोगकर्ताले लामो प्रक्रियामा नपरी तत्काल यो कार्ड प्रयोग गर्न सक्छन्।
अब हामी फोनपे क्रेडिट कार्डका सुविधाबारे चर्चा गरौं।
पहिलो, यसले आकस्मिक रूपमा खर्च चाहियो भने त्यो व्यवस्थापन गर्न सहज बनाउँछ। कतै खोज्दै हिँड्न पर्दैन।
उदाहरणका लागि — कुनै विद्यार्थीलाई कलेजको शुल्क तिर्न वा किताब किन्न तत्काल पैसा चाहियो भने फोनपे क्रेडिट कार्डमार्फत् लिन सक्छ।
दोस्रो, केही समय 'ब्याज–मुक्त अवधि' पनि यो कार्डको विशेषता हो। यसमा प्रयोगकर्ताले पैसा चलाएको ४५ दिनसम्म ब्याज तिर्नु पर्दैन।
मानौं, मैले २० हजार रूपैयाँ फोनपे क्रेडिट कार्डमार्फत् चलाएँ र ४५ दिनभित्र तिरेँ भने त्यसको एक रूपैयाँ पनि ब्याज तिर्नुपर्दैन। ऋण रकम मात्र चुक्ता गरे हुन्छ।
तेस्रो, फोनपे क्रेडिट कार्ड चलाउन र सक्रिय राख्न बैंकमा एकदमै धेरै पैसा हुनुपर्दैन। धेरै कारोबार भएको पनि हुनुपर्दैन। यसले आर्थिक अस्थिरताको अवस्थामा पनि प्रयोगकर्तालाई सहज हुन्छ।
चौथो सुविधा, यसको कारोबार इसेवा जस्तै वास्तविक समयमै हेर्न सकिन्छ। खर्चको विवरण तुरून्तै देखियो भने आफ्नो खर्च निगरानी गर्न, बजेट व्यवस्थापन गर्न र अनावश्यक खर्च घटाउन सहयोग पुग्छ।
पाँचौं सुविधा भनेको यो सुरक्षित भुक्तानी प्रणाली हो। सबै तथ्यांक डिजिटल प्रणालीमा सुरक्षित रहन्छ। कार्ड हराउला भन्ने चिन्ता हुँदैन।
यी त भए ग्राहकले पाउने सुविधाको कुरा, सँगसँगै व्यवसायीहरूका लागि पनि फोनपे क्रेडिट कार्ड फाइदाजनक छ।
उदाहरणका लागि — जुन पसलमा फोनपे क्रेडिट कार्डबाट पैसा तिर्ने सुविधा छ, त्यहाँ ग्राहकले बढी किनमेल गर्न सक्छन्।
यसमा दुइटा कुरा काम गर्छ —
पहिलो, कुनै ग्राहकसँग फोनपे भिसिसी छ भने ऊ त्यस्तो सुविधा भएको पसलमा खोजी खोजी जान्छ। यसले व्यवसायीहरू लाभान्वित हुन्छन्।
अर्को, खल्तीमा पैसा नभएर कम सामान किन्ने ग्राहकलाई पनि यसले थप किनमेल गर्न प्रोत्साहित गर्छ। किनभने, फोनपे क्रेडिट कार्ड प्रयोग गरेर पैसा खर्च गर्न पाउँदा ऊ मनोवैज्ञानिक रूपले बढी किनमेल गर्न तयार हुन्छ।
'कसैसँग फोनपे क्रेडिट कार्ड छ तर आफ्नो घर छेउको पसलमा चलाउन सक्दैन भने ऊ किनमेल गर्न अन्तै जान्छ। जहाँ फोनपे क्युआरबाट सामान किनिरहेको छ, त्यहीँ फोनपे क्रेडिट कार्ड पनि चलाउन पायो भने ऊ अब अन्त जाँदैन,' दिवसले भने, 'यसरी फोनपे क्रेडिट कार्ड भुक्तानी राखेका पसलहरूको कारोबार बढ्छ।'
साना पसल, रेस्टुरेन्ट, क्याफे र विभिन्न सेवा प्रदायकहरूले फोनपे क्रेडिट कार्ड सुविधा दिँदा ग्राहकको विश्वास बढ्छ उनी बताउँछन्।
यसले नगदमाथिको निर्भरता घटाउनुका साथै डिजिटल लेनदेन प्रवर्द्धन गर्ने र डिजिटल भुक्तानीलाई द्रुत, सुरक्षित र सजिलो बनाउने उनको भनाइ छ।
'फोनेपे क्रेडिट कार्डको सबभन्दा ठूलो उपयोगिता भनेको यसले वित्तीय समावेशीकरण कायम गर्न सघाउँछ,' उनले भने।
उनले अगाडि भने, 'नेपाल जस्तो विविध भौगोलिक र सामाजिक संरचनाको देशमा धेरै नागरिकहरू ग्रामीण, दुर्गम वा पहाडी क्षेत्रमा बस्छन्। त्यहाँ बैंकको पहुँच सीमित हुन्छ। परम्परागत क्रेडिट कार्ड वा बैंकिङ प्रणाली प्रायः सहरी र मध्यम–उच्च आय वर्गका लागि मात्र उपलब्ध हुन्छ। फोनपे क्रेडिट कार्डले यो भेदभाव घटाउँछ।'
'सँगसँगै, अर्थतन्त्रमा व्यवस्थित वित्तीय व्यवहारको संस्कृति निर्माण गर्ने मद्दत पुर्याउँछ।'
***