रूपन्देहीको पुरानो बटौली बजारको एउटा साँघुरो गल्ली छिर्ने बित्तिकै तामा र काँसका पातामा घन ठोकिएको तिखो आवाज सुनिन्छ। भुइँभरि छरिएका धातुका टुक्राहरू, ग्यासको राप र हतौडाको प्रहार।
यही कोलाहल र व्यस्तताबीच विगत तीन दशकदेखि दुई जोडी हातहरू नेपाली कला र संस्कृतिको धुनलाई जीवन्त राख्न अहोरात्र खटिएका छन्।
आमाबुबाले गाउँ गाउँ पुगेर तामा र काँसका भाँडा बेचेको देख्दै हुर्किएका कृष्णबहादुर विकलाई बाल्यकालदेखि नै रैथाने उद्यम गर्ने रहर थियो। तर पैसा अभावले यो रहर सहजै पूरा भएन।
२०५३ सालमा भने उनले आँट गरेर 'पर्वत पञ्चेबाजा उद्योग' को जग बसाले।
सुरूमा पुराना र कुच्चिएका भाँडा मर्मत गर्ने कामबाट सुरू भएको उनको व्यवसायले अहिले नौमती र पञ्चेबाजा उत्पादकका रूपमा ख्याति कमाएको छ। यो यात्रामा उनलाई पत्नी विष्णुमायाले घरको काम सकाएर बिहानदेखि साँझसम्म आरनमै बसेर साथ दिँदै आएकी छन्।
५९ वर्षीय धनबहादुर सुनचौरी पनि विगत ४३ वर्षदेखि बुटवलमा पञ्चेबाजा बनाउँदै आएका छन्। धनबहादुरले आफ्ना बुवा धनप्रसादकै विरासत थामिरहेका हुन्।
आधुनिकताको तीव्र लहर र पश्चिमा संस्कृतिको बढ्दो प्रभावका बीच कृष्णबहादुर र धनबहादुरले एउटा पेसा मात्र धानेका छैनन्, नेपाली संस्कृतिको मेरूदण्ड मानिने पञ्चेबाजा र परम्परागत थकाली भाँडाकुँडाको साखसमेत जोगाएका छन्।


यी घरेलु उद्योगमा भाँडा मर्मत मात्र हुँदैन, शुद्ध काँस र तामाका थकाली भाँडा सेट, पूजा सामग्री तथा पञ्चेबाजा र नौमती बाजाका सेटहरू तयार हुन्छन्। बाजाहरूको बजार बुटवलसँगै छिमेकी जिल्लाहरू गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, पर्वतदेखि पोखरा र काठमाडौंसम्म हो।
'विशेष गरी थकाली समुदायको बाक्लो बसोबास रहेका क्षेत्रहरूबाट परम्परागत भाँडा सेटको उच्च माग आउँछ,' कृष्ण र धन एकै कुरा भन्छन्।
२५ देखि २६ प्रकारका भाँडाहरू रहने एउटा पूर्ण थकाली सेटको मूल्य आकार र तौल अनुसार १ लाख ५० हजारदेखि २ लाख रूपैयाँसम्म पर्छ।
थकाली समुदायमा यी भाँडा भान्छामा मात्र प्रयोग हुँदैन। भान्छाका सोकेस वा बैठक कोठामा सजाएर राख्ने प्रचलन समेत छ।
अचेल त गैरआवासीय नेपालीहरूका माध्यमबाट विदेशमा बस्नेहरूले पनि नेपाली मौलिक बाजा र भाँडा सेट अर्डर गर्न थालेका छन्। यसले उनीहरूको उद्यमलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन मद्दत गरेको छ।
तर आरनको रापमा तामा, काँस निरन्तर घनले पिटेर विभिन्न बाजा र भाँडाको स्वरूप दिनु सामान्य परिश्रमले सम्भव छैन।
'पञ्चेबाजा बनाउन धातु मात्र भएर पुग्दैन। यसमा एउटा अलग्गै सुर भर्नुपर्छ,' कृष्ण भन्छन्, 'जुनसुकै बाजाको पनि अन्तिम रूप तयार भएपछि आफै फुकेर त्यसबाट मधुर धुन निस्किएपछि मात्र थकाइ मेटिन्छ।
आकार र संख्याका आधारमा बाजा सेट १ लाखदेखि १ लाख ५० हजार रूपैयाँसम्म बिक्छ।
कृष्णका अनुसार कुन ठाउँका लागि बाजा बनाएको हो, त्यहाँको संस्कृति र मागअनुसार कर्नाल र सनईको बनोट र राग फरक हुन्छ।
'गुल्मी र काठमाडौैंमा बजाइने बाजाको प्रकृति र धुन एकै प्रकारको नहुन सक्छ। कुन क्षेत्रमा कस्तो राग निकाल्ने वा कस्तो घोर पार्ने भन्ने कुरा सनई र कर्नालको लम्बाइ र बनोटमा भर पर्छ। मूल्य पनि त्यही अनुसार थोरै तलमाथि हुन्छ,' कृष्णबहादुरले भने।

पञ्चेबाजा र नौमती बाजा बनाउन धेरै समय र उच्च स्तरीय सीप चाहिन्छ। दमाहा, ट्याम्को र ढोलक जस्ता बाजाको मुख्य ध्वनि निकाल्ने भागका लागि जनावरको छाला प्रयोग गरिन्छ। छाला जति बाक्लो र राम्ररी सुकाएर कसिलो गरी मर्मत गरिएको हुन्छ, बाजाको ध्वनि (घोर) त्यति नै गहिरो र सुरिलो आउँछ।
पछिल्लो समय भने बाजाका लागि आवश्यक पर्ने गुणस्तरीय छाला पर्याप्त मात्रामा नपाइँदा अर्डर अनुसार समयमै बाजा तयार गर्न नसकिएको कृष्णको दुखेसो छ।
'पहिले गाउँघरमै सजिलै पाइने छालाका लागि अहिले धेरै ठाउँ चहार्नुपर्छ। बजारमा छाला पाउनै छाडिसकेको छ भने अर्कोतिर मूल्य अकासिएको छ।
'एउटा दमाहाका लागि ६–७ हजार रूपैयाँको छाला चाहिन्छ। त्यसलाई मोड्दा र बाँधिसक्दा थप ८–९ हजार रूपैयाँ खर्च हुन्छ,' कृष्णबहादुर थप्छन्।
अर्कोतर्फ, स्थानीय सरकारको बेवास्ताले यी पाका कालिगढहरूको मन अमिलो बनाउने गरेको छ।
बुटवल उपमहानगरपालिकाले आफ्ना विभिन्न वडाहरूमा स्थानीय संस्कृति संरक्षणका नाममा लाखौं खर्च गरेर तालिम दिन्छ र बाजा समूहहरू तयार पार्छ। तर ती समूहहरूलाई वितरण गरिने बाजा सेट बाहिरबाट आयात गरिन्छ।

'आफ्नै पालिकाले स्थानीय स्तरमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्नुको साटो अन्यत्रबाट बाजा किनेर ल्याएर वितरण गर्छ। यसले हामी जस्ता रैथाने उद्यमीको चित्त दुखाउँछ,' कृष्णबहादुरले गुनासो पोखे।
सामान्य पुँजीबाट सुरू गरिएको यो पेसाबाट लोभलाग्दो आर्थिक आम्दानी वा धेरै बचत गर्न नसके तापनि कृष्णबहादुर र उनकी श्रीमती विष्णुमाया सन्तुष्ट छन्। आरनको कोइला र हतौडाको चोटसँगै उनीहरूले आफ्ना तीन जना छोरीहरूलाई राम्रो शिक्षादीक्षा दिन र सुखको गाँसबास जुटाउन सफल भएका छन्।
'धेरै कमाउने ठूलो सपना छैन,' कृष्णले भने, 'तीन छोरी छन्, उनीहरूलाई राम्ररी पढाउन र राम्रो लाउन खान दिन सकिएको छ। यही नै हाम्रो सम्पत्ति हो। सबैभन्दा ठूलो कुरा त, आफ्नै देशको माटोमा बसेर, आफ्नै पसिना बगाएर आफ्नो पुर्खाको कला र संस्कृति बचाइराख्ने काम गर्न पाइएको छ।यसमै खुसी र सन्तुष्ट छौं।'