सेयर बजारमा कम्पनीहरूको मूल्य घटबढ हुने अनेक कारण हुन्छन्। कतिपय कारण सतही हुन्छन् भने कतिपय कारण आम मानिसहरूले भेउ नपाउने किसिमका पनि हुन्छन्।
'स्मार्ट' लगानीकर्तालाई थाहा हुन सक्ने भए पनि धेरैलाई भेउ नहुने कारणले सेयर मूल्य घटबढ भइरहेको हुन्छ।
आज हामी यस्तै एउटा कारणको कुरा गर्दैछौं। अहिले एकाध वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण देखिन थालेको छ। यस्तो आकर्षण बढ्नुका कारणबारे हामी चर्चा गर्दैछौं।
निकै लामो समयदेखि सेयर बजारमा सूचीकृत वाणिज्य बैंकहरूको मूल्य न्यून तहमा आएर बसेको छ। अहिले पनि बजारमा सेयर कारोबार हुने १९ वाणिज्य बैंकमध्ये ११ वटा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०० रूपैयाँ पनि छैन।
गत मंसिरदेखि भने एक बैंकको सेयर मूल्य सुधार हुने प्रयासमा छ। सोही समयदेखि त्यसको सेयर भाउ ३०० रूपैयाँमाथि नै अडिरहेको छ।
यो हो सिद्धार्थ बैंक।
सिद्धार्थको सेयर मूल्य यो विन्दुमा टिकिरहनुमा मुख्य कारण यसको ऋणपत्र परिपक्व हुनु हो।
गत साल पुस २६ गते यसको ऋणपत्र–२०८२ परिपक्व भएको छ। सात वर्षे अवधिको यो ऋणपत्र दुई अर्ब २५ करोड रूपैयाँको थियो।
यस्तो ऋणपत्र भुक्तानीमा समस्या आउन सक्छ भनेर बैंकहरूले भुक्तानी सूनिश्चतताका लागि हरेक वर्ष रकम छुट्ट्याएर भुक्तानी समायोजन कोष बनाएर राखेका हुन्छन्। यो अवधि सकिएपछि यस्तो कोषको रकम फिर्ता हुन्छ र वितरण योग्य नाफामा जोडिन्छ।
भुक्तानी अवधि सकिएपछि यस्तो समायोजन कोषमा बाँकी रहेको रकम पुँजी समायोजन कोषमा राखिन्छ। यसबाट बोनस लाभांश मात्रै वितरण गर्न पाइन्छ।
यही कारण नियमित नाफाबाट गत चैतसम्ममा सेयर लगानीकर्तालाई वितरण गर्न मिल्ने नाफा ८३ करोड ६४ लाख रूपैयाँ मात्रै रहेकामा यो रकम फिर्तापछि सिद्धार्थ बैंकको यस्तो नाफा बढेको छ।
सिद्धार्थले दुई अर्ब १६ करोड रूपैयाँ वितरण योग्य नाफामा देखाएको छ। यही कारण यसको लाभांश क्षमता २०.९८ प्रतिशत पुगेको छ।
त्यसैले चालु आर्थिक वर्ष अन्त्यपछि लगानीकर्ताहरूले सिद्धार्थबाट राम्रो लाभांश पाउन सक्ने देखिन्छ। गत वर्षको नाफापछि यसले १०.५३ प्रतिशत लाभांश दिएको थियो।
सिद्धार्थको आगामी असोजमा अर्को ऋणपत्र 'सिद्धार्थ ऋणपत्र २०८३' पनि परिपक्व हुँदैछ। यो पनि दुई अर्ब ५० करोड रूपैयाँ बराबरको रकमको ऋणपत्र हो। आगामी आर्थिक वर्षपछि पनि यसले राम्रो लाभांश दिन सक्ने अवस्था बन्ने छ।
अहिले यस्तै सम्भावना नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा पनि देखिएको छ। यसको असार १४ गते 'नेपाल इन्भेस्टमेन्ट ऋणपत्र–२०८३ परिपक्व' हुँदै छ। यो दुई अर्ब रूपैयाँ बराबरको ऋणपत्र हो।
साउनमा प्रकाशन हुने वित्तीय विवरणमा नै नेपाल इन्भेस्टमेन्टको यस्तो जानकारी सार्वजनिक हुने सम्भावना छ।
इन्भेस्टमेन्टको कुरा गर्नुपर्दा हालै बैंकबाट प्रवाह भएको १३ करोड रूपैयाँभन्दा बढी कर्जा हिमालयन रिको सेयर किन्न ऋणीहरूले दुरूपयोग गरेको पाइएको थियो। त्यस्तै, ऋण असुलीको क्रममा दुरसञ्चार कम्पनी स्मार्ट सेलको बिक्रीबाट प्राप्त भएको चार अर्ब रूपैयाँ बढी रकममा कानुनी विवाद कायमै छ।
ऋणपत्र परिपक्वबाट हुने सम्भावित लाभ हेर्दा यी पक्षहरूले बैंकको वितरण क्षमतामा पर्ने प्रभाव पनि हेर्नुपर्ने हुन्छ।
अहिले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर मूल्य प्रतिसेयर नेटवर्थभन्दा पनि कममा कारोबार भइरहेको छ।
गत चैतसम्मका यसको प्रतिसेयर नेटवर्थ १९९ रूपैयाँ ७२ पैसा छ। सेयर भने १९५ रूपैयाँ हाराहारीमा कारोबार भइरहेको छ।