प्रज्ञा तिमिल्सिना हाल बेल्जियमको जिब्रुजमा बस्छिन्।
त्यहाँ उनले पढाइसँगै राजनीतिक यात्रा पनि सुरू गरिसकेकी छन्। हाल उनी ब्रुज नगरपालिकाकी नगर परिषद सदस्य हुन्।
नगर परिषद सदस्यको मुख्य काम स्थानीय तहका नीति, योजना र विकास सम्बन्धी निर्णय प्रक्रियामा सहभागी भई नगरको सेवा–सुविधा र विकास व्यवस्थापनमा भूमिका निर्वाह गर्नु हो।
'यो काम पूर्णकालीन होइन। सधैं जान पर्दैन। आवश्यकता अनुसार जान्छु,' प्रज्ञाले भनिन्, 'अहिले मेरो मुख्य काम शैक्षिक अध्ययन र यही नगर सदस्यको जिम्मेवारीमा केन्द्रित छ।'
उनका अनुसार बेल्जियममा ६/६ वर्षमा चुनाव हुन्छ। उनी सन् २०२४ अक्टोबरमा भएको निर्वाचनमार्फत सिडी एन्ड भी पार्टीबाट उक्त पदमा निर्वाचित भएकी हुन्।
ब्रुज नगर परिषदमा निर्वाचित हुने आफू पहिलो नेपाली युवा भएको उनी बताउँछिन्।

उनले जनताको प्रत्यक्ष मतबाट नगर परिषद सदस्य जितेकी हुन्।
प्रज्ञा सन् २०११ मा फ्यामिली भिसामार्फत बेल्जियम पुगेकी हुन्। बुबा पहिल्यैदेखि त्यहीँ थिए। पछि प्रज्ञा र उनकी आमा गएका हुन्।
उनी बेल्जियम जाँदा ८ वर्षकी थिइन्। कक्षा तीनसम्म नेपालमा पढेकी उनले त्यसपछिको पढाइ बेल्जियमकै विभिन्न स्कुलबाट पूरा गरिन्।
'सुरूमा त त्यहाँको वातावरण रमाइलो लागेन। संयुक्त परिवारमा हुर्किएकी मलाई बुबाआमा काममा जाँदा एक्लै महसुस हुन्थ्यो,' प्रज्ञाले भनिन्।
स्कुल जान थालेसँगै उनलाई रमाइलो लाग्दै गयो।
हाल उनी युनिभर्सिटी अफ गेन्टमा स्नातक दोस्रो वर्षमा बायोमेडिकल साइन्स विषय पढिरहेकी छन्।
स्कुल पढ्ने बेलादेखि नै उनलाई राजनीतिमा रूचि थियो।
स्थानीय निर्वाचनमा सहभागी हुने प्रारम्भिक योजना नभए पनि नेपाली समुदायको आग्रहपछि आफूले नगर सदस्यका लागि उम्मेदवारी दिएको उनी बताउँछिन्।
'मेरो खासै सोच थिएन। तर धेरै जनाले उम्मेदवारी देऊ भनेपछि दिएँ,' २२ वर्षीया प्रज्ञाले भनिन्, 'जित पनि हासिल भयो।'

हाल उनी पढाइ र नगर परिषदको जिम्मेवारीलाई समय व्यवस्थापन गर्दै अघि बढाइरहेकी छन्। सानै उमेरमा राजनीतिमा प्रवेश गर्दा आफू अझ बढी परिपक्व भएको महसुस उनले गरेकी छन्।
'नगरको बैठक प्रायः साँझ हुन्छ। बिहान कलेज जान्छु। कलेजबाट आएर बैठकका लागि तयारी गर्छु,' उनले आफ्नो अनुभव सुनाइन्, 'तर फिल्म हेर्न, मेरो उमेरका अन्य साथीहरूले गर्ने सामान्य गतिविधिका लागि समय निकाल्न चाहिँ कठिन हुन्छ।'
उनले राजनीतिक यात्रामा आफूलाई स्थानीय नागरिक तथा पार्टीबाट धेरै सहयोग र समर्थन मिलेको बताइन्।
आगामी दिनमा पढाइ पूरा गरी राजनीतिमा थप अघि बढ्ने उनको योजना छ।