प्रतिनिधिसभामा झन्डै दुई-तिहाइ बहुमत ल्याएको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आसन्न पहिलो महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारीका आकांक्षीको लर्को लाग्न थालेको छ।
रास्वपाको प्रस्तावित विधानमा १६ सदस्यीय पदाधिकारीको संरचना छ। सभापतिसहित १० जना दुई चरणमा हुने महाधिवेशनको हलबाट निर्वाचित हुनेछन्। ६ जना पदाधिकारी पार्टी सभापतिले मनोनीत गर्नेछन्।
एक नेताले दिएको जानकारी अनुसार अहिलेसम्म सभापतिमा रवि लामिछानेलाई चुनौती दिने आकांक्षी देखिएका छैनन्। लामिछाने निर्विरोध चुनिने सम्भावना अधिक छ।
त्यस बाहेकका पदमा भने व्यवस्थापन गर्न कठिन हुने गरी आकांक्षी देखापरेका छन्।
प्रस्तावित विधानमा तीन जना उपसभापति रहने व्यवस्था छ। तीन जना उपसभापतिमध्ये एक जना महिला अनिवार्य रहने प्रबन्ध गरिएको छ। एक महिला पदमा अहिले झन्डै सात जनाको नाम चर्चामा छ।
स्रोतका अनुसार महिला उपसभापतिका लागि मौजुदा कमिटीकी कोषाध्यक्ष लिमा अधिकारी, सह-कोषाध्यक्ष वसुमाया तामाङ, सह-प्रवक्ता प्रतिभा रावल, सचिवालय सदस्यद्वय सोबिता गौतम, सरिताश्री ज्ञवाली, केन्द्रीय सदस्यद्वय इन्दिरा राना, समीक्षा बास्कोटाको नाम चर्चामा छ।
यीमध्ये तामाङ सांसद छिन् भने रावल र गौतम मौजुदा सरकारमा मन्त्री छन्।
त्यस्तै, ज्ञवालीलाई गत वैशाख ७ गते सागर ढकालसँगै सचिवालय सदस्यमा मनोनीत गरिएको छ। उनी प्रधानमन्त्री बालेन शाह समूहबाट सचिवालय सदस्य मनोनीत भएकी हुन्।
विवेकशील साझाबाट रास्वपामा समाहित भएकी समीक्षा बास्कोटा पनि उपसभापतिका रूपमा चर्चामा रहेको नेताहरूले बताएका छन्।
दुई खुला उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्लेको नाम पक्कापक्की छ। डोलप्रसाद अर्याल सभामुख भएकाले रिक्त रहेको पदमा सुनील लम्साल, विराजभक्त श्रेष्ठ, गणेश कार्की लगायतले दाबी गर्न सक्ने सम्भावना छ।
अहिले लम्साल र कार्की बालेन समूहका भनेर चिनिएका छन्। लम्साल पूर्वाधार विकास मन्त्री छन् भने कार्की संसदीय समितिका सभापति छन्।
त्यस्तै, पार्टी संस्थापकमध्येका श्रेष्ठ ऊर्जामन्त्री छन्। उनी मौजुदा केन्द्रीय समितिमा सचिवालय सदस्यको भूमिकामा छन्।
दुई सदस्यीय महामन्त्रीमा पनि आकांक्षा राख्नेको सूची लामै छ। संस्थापकबाट कविन्द्र बुर्लाकोटी र बालेन समूहबाट भूपदेव शाह अहिले महामन्त्रीको भूमिकामा छन्। उनीहरू दुवैको महामन्त्रीमा दोहोरिने चाहना रहेको स्रोतहरू बताउँछन्।
त्यसबाहेक विपिन आचार्य, दीपक बोहरा, मनिष झा, प्रमोद न्यौपानेले पनि आकांक्षा राखेका छन्। उपसभापति बन्ने सम्भावना क्षीण भए सोबिता गौतमले पनि महामन्त्री दाबी गर्ने सम्भावना रहेको नेताहरू बताउँछन्।
आचार्यले पार्टीको नीति निर्माणमा भूमिका खेल्दै आएका छन्। विभिन्न दस्तावेज तयार पार्नमा उनको योगदान देखिन्छ। संघीय र स्थानीय तह निर्वाचनमा उम्मेदवारका लागि रूपरेखा निर्माण, विधान मस्यौदा र प्रारम्भिक निर्वाचन खाका तयार पार्न उनले भूमिका खेलेका छन्।
दीपक बोहरा पार्टीभित्र रविका विश्वासपात्र मानिन्छन्। पार्टी सभापति लामिछानेलाई सहकारीको बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको कसुरमा प्रहरी हिरासत र पुपर्क्षका लागि जेलमा राखिँदा त्यसलाई राजनीतिक प्रतिशोधको घटना भन्दै देशव्यापी हस्ताक्षर संकलन गर्ने अभियानको नेतृत्व बोहराले गरेका थिए। रास्वपाले त्यति बेला देशभरिबाट झन्डै ४० लाख हस्ताक्षर संकलन गरेको थियो।
मनिष झा हाल प्रवक्ताको भूमिकामा छन्। पछिल्लो समय उनलाई संसदीय समितिको सभापति प्रस्ताव गरिएको थियो। उनले उक्त भूमिका अस्वीकार गरेका थिए।
महामन्त्रीकै आकांक्षीका रूपमा रहेका प्रमोद न्यौपाने सांसद बन्ने अवस्था हुँदाहुँदै अन्तिममा नाम काटिएको भन्दै पार्टीभित्र असन्तुष्टि उत्पन्न भएको थियो। पार्टी सभापति लामिछाने सहकारी प्रकरणमा जेलमा रहँदा बचाउ र प्रतिरक्षामा अग्रभागमा खटिनेमा उनी पनि थिए।
चार सदस्यीय सह-महामन्त्रीमा पनि आकांक्षा राख्नेको सूची लामै छ। मौजुदा समितिमा विपिन आचार्य मात्रै सह-महामन्त्रीको भूमिकामा छन्। चुनाव नहुने परिस्थिति आयो भने महामन्त्री दाबी गर्नेहरू सह-महामन्त्रीमा समेटिन सक्ने सम्भावना रहन्छ।
चार सदस्यीय सह-महामन्त्रीमा एक जना महिला अनिवार्य रहने प्रबन्ध छ। त्यसमा क्रान्तिशिखा धिताल, टीका संग्रौला (ज्वाला), कुसुम महर्जन लगायतको नाम चर्चामा छ।
खुलातर्फ शिशिर खनाल, रमेश प्रसाईं, असिम शाह, रोहन कार्की, प्रकाशचन्द्र परियार, खगेन्द्र सुनार, सागर ढकाल लगायतको नाम चर्चामा रहेको नेताहरूले बताएका छन्।
पार्टीमा केन्द्रीय सदस्यको जिम्मेवारी र हाल संसदीय भूमिकामा समेत रहेका डा. तोसिमा कार्की, निशा डाँगी पनि पदाधिकारीको आकांक्षीका रूपमा छन्। उनीहरूले कुन पद दाबी गर्छन् भन्ने चाहिँ यकिन भइनसकेको नेताहरूले बताएका छन्।
रास्वपाको प्रस्तावित विधान अनुसार पहिलो चरणमा सभापतिसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यबाट बाँकी पदाधिकारी छानिने छन्। दुवै चरणमा महाधिवेशन प्रतिनिधिहरूले नै मतदान गर्नेछन्।
यसबाहेक एक प्रवक्ता, तीन सह-प्रवक्ता, एक कोषाध्यक्ष र एक सह-कोषाध्यक्ष सभापतिले मनोनीत गर्नेछन्।
रास्वपाको पहिलो महाधिवेशन यही असार ७, ८, ९ गते चितवनको भरतपुरमा गर्ने तयारी छ। रत्ननगरमा गर्नेबारे पनि छलफल भइरहेको छ। स्थानको टुंगो आज मंगलबार लाग्ने नेताहरूले जानकारी दिएका छन्।
पार्टीका नेताहरूले भरतपुरस्थित उद्योग वाणिज्य संघको सभा हलमा आयोजना गर्न सुझाव दिइरहेकाले उद्घाटन र बन्दसत्र त्यहीँ हुने सम्भावना पनि छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुनेछन्। स्वयंसेवक, पर्यवेक्षक गरेर चार हजार आसपास सहभागी हुने आकलन गरिएको बुर्लाकोटीले बताए।
पहिलो महाधिवेशनअन्तर्गत रास्वपाले वडा तहदेखि नै अधिवेशन गर्दै आएको छ। हालसम्म ४ हजार ३६३ वडामा अधिवेशन सकिएको बुर्लाकोटीले जानकारी दिए। त्यस्तै, ६०९ हाराहारी पालिका तहका समितिको अधिवेशन भइसकेका छन् भने ६४ वटा जिल्ला समितिको अधिवेशन सकिएको छ।
मधेसका सातसहित मनाङ, मुस्ताङ, कर्णालीका डोल्पा, हुम्ला, लुम्बिनी प्रदेशको रूकुमपूर्व गरी १३ वटामा अधिवेशन गर्न बाँकी छ। प्रदेश स्तरमा पनि ६ वटामा अधिवेशन सकिएको छ।
रास्वपाको पहिलो महाधिवेशनमा प्रवास समितिबाट १७० जनाको प्रतिनिधित्व रहने बुर्लाकोटीले बताए। भारत प्रवासबाट ११, कतारबाट ८, साउदी अरबबाट ७, संयुक्त अरब इमिरेट्सबाट ७, कुवेतबाट ५, मलेसियाबाट ५, दक्षिण कोरियाबाट ४ जनाको प्रतिनिधित्व रहनेछ।
मध्यपूर्वका अरू देश, अमेरिका, युरोप लगायतका देशहरूबाट प्रायः तीन–तीन जनाको प्रतिनिधित्व रहनेछ। प्रवासबाट प्रतिनिधि बनेकाहरूलाई भौतिक रूपमा महाधिवेशनमा उपस्थित हुन नसके भर्चुअल रूपमा सहभागी गराइनेबारे छलफल चलिरहेको बुर्लाकोटीले बताए।
अहिलेको अवस्थामा सहमतिमै महाधिवेशन सक्ने गरी तयारी भइरहेको बुर्लाकोटीको भनाइ छ।
'अहिलेको अवस्थामा हामीले नेता, आम कार्यकर्ता र नागरिकहरूको पनि मनोभावना बुझ्नुपर्छ, सबैले सहमतिका साथ महाधिवेशन सम्पन्न होस् भन्ने चाहनुभएको छ,' बुर्लाकोटीले भने, 'त्यो भावनाको सम्बोधन गर्दै हामी महाधिवेशन सम्पन्न गर्छौं।'